Ad Code

Responsive Advertisement

धुँवा हटाउने अभियानमा महिला स्वास्थ्य स्वयं सेविका दावाडोल्मा

रसुवा खबर सम्वाददाता वर्ष१, अंक ७, २०६७ साल मंसीर ११ गते शनिबार
गाउँघरका बालबालिकाको स्वास्थ्य सुधारका निम्ति काम गर्दै आएकी सरमथली, २, दनुस्वाराकी महिला स्वास्थ्य स्वयं सेविका दावा डोल्मा -नोरकिमो) लमिनी आजभोली चूल्हो पनि बनाउनुहोस् भनेर घरदैलो अभियानमा जुटेकी छिन् । बालबालिकामा घरेलु धुँवाका कारण रुघाखोकी र निमोनियाको समस्या देखिएपछि उनी उक्त अभियानमा लागेकी हुन् । सरमथली गाविसमा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम/विश्व वातावरण कोष/साना अनुदान कार्यक्रम तथा घरेलु वायु प्रदुषण तथा स्वास्थ्य मञ्च नेपाल र जिल्लास्थित घरभित्रको धुँवा निवारण तथा वातावरण संरक्षण मञ्च नेपालको सहयोगमा धुँवा न्यूनीकरण कार्यक्रम सञ्चालन भएपछि उनलाई उक्त मौका मिलेको हो ।

वि.सं २०६० सालदेखि महिला स्वास्थ्य स्वयं सेविकाको काम गर्न थालेकी ६० वर्षीय दावा डोल्मासँग धुँवाले स्वास्थ्यमा के के असर पुर्याउँछ - भन्ने विषयको तालिम पुस्तिका छ । आफूले पढ्न नजाने पनि गाउँघरका पढेलेखेका विद्यार्थीमार्फत् उनी ती कुराहरू सुनाउँदै हिडि्छन् । घरभित्रको धुँवाबाट हुने समस्याबारे बताउँदै गर्दा ४० वटा चिम्नीहूड बनाउनको लागि उनैले माग गरिन् । चिम्नीहूड बनाउने सामान किन्न उनी आफैं काठमाडौंसम्म गइन् । अहिले दनुस्वाराका ४० घरका धूरीमा चिम्नीहूड जडान गरिएको टाढैबाट देखिन्छ । गाउँका धेरै मानिसले चूल्हो राखेकोमा उनी ज्यादै खुशी देखिन्छिन् । आफूलाई मनपर्ने अभियानमा लाग्न पाएकोले विहानदेखि बेलुकीसम्म उनी चिम्नीहूड बनाउने मिस्त्रीसँगै हुन्छिन् । एकातिर आज कसको घरमा जडान गर्ने र भोली कसको घरमा - भन्ने विषय छ त अर्कोतिर मिस्त्रीहरूका लागि खाना, खाजा बनाउन । चिम्नी जडान गर्न थालिएपछि उनी खासै व्यक्तिगत काममा देखिन्नन् । उनको श्रीमान जयबहादुर लामा पनि त्यही काममा छन् । चिम्नी बनाउँदा दाउरा कम लाग्ने र वन जोगिने भएकोले उनी मरिमेटेर लागेका हुन् । स्थानीय सामुदायिक वा उपभोक्ता समूह अध्यक्ष समेत् रहेका जयबहादुर कतिको घरमा चिम्नी बोकेर पुर्याउँछन् त कतिको घरमा चूल्हो बनाउन । 'धुँवा रहित चूल्हो त बनाउन पाइयो, अब समूदायका सबैका घरमा शौचालय बनाउन सहयोग गर्ने संस्था पाए' भन्ने कुराले डोल्मालाई पिरोलेको छ । सरमथली गाविसमा नै शौचालयको भने ठूलो समस्या भएको र यसको समाधानको लागि कार्ययोजना बनाउन चिम्नी अभियान सकिएपछि विभिन्न निकायमा जाने विचारमा अडिग छिन् उनी ।

छिमेकी गाविस भोर्लेका वासिन्दाहरू पनि उनलाई भेट्न थालेका छन् । हाम्रो वडाका महिला स्वास्थ्य स्वयं सेविकाले चूल्हो माग नगरेको तर तपाइँले भएपनि हामीलाई चिम्नीहूड दिनुपर्यो भनेर भनिरहेका पनि उनले सुपरभिजनका लागि आएका सुरज शर्मालाई बताइरहेकी थिइन् । आमा समूहको नेतृत्वमा चिम्नीहूडको माग सिर्जना भएको पनि उनले बताइन् । चिम्नीहूड बनाएपछि धुँवाको समस्याबाट मुक्त भएकोले बालबालिका र महिलाको स्वास्थ्य सुधार हुने, दाउरा वचतबाट वन संरक्षण हुने, घर सफा हुने र छिटो र सबै प्रकारका खानेकुरा पकाउन मिल्ने भएकोले चिम्नीहूड प्रभावकारी सावित हुने कुरामा स्थानीयवासी विश्वस्त रहेका छन् ।

धुँवा रहित चिम्नीहूड पाएर खुशी छु
सरमथली, २, दनुस्वारा बस्ने ४८ वर्षीया गोरीमाया तामाङ धुँवा रहित चिम्नीहुड जडान गर्न पाएपछि ज्यादै खुशी भएकी छिन् । केही समय अगाडि उनको नयाँ घर बनेको थियो । घर कालो पनि नभइसकेकै अवस्थामा चिम्नीहूड बनाउन पाएपछि उनी यसरी खुसी भएकी हुन् । धुँवा रहित चिम्नीहूड बनाउन पाएपछि बालबालिबाहरू पढ्न ज्यादै सजिलो भएको पनि उनले बताइन् । दनुस्वाराका समुदायहरू चूल्हो बनाउन पाएपछि ज्यादै खुसी भएका पनि चिम्नीहूड निर्माता भूमे लामा, केशव पौडेल र शुक्रबहादुर रुम्वा बताउँछन् ।

Post a Comment

0 Comments