Ad Code

Responsive Advertisement

अपरिवर्तनीय धाराका रूपमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरिनुपर्छ

नवराज लम्साल उपाध्यक्ष, नेपाल प्रेस यूनियन
रसुवा खबर वर्ष १, अंक ८, २०६७ मंसिर १८ गते शनिवार

नवराज लम्साल पत्रकारिता क्षेत्र, विशेष गरी विद्युतीय सञ्चार माध्यमका लोकप्रिय सञ्चारकर्मीका रूपमा स्थापित र नेपाली भाषा साहित्यको क्षेत्रका एकजना सर्वोत्तम् स्रष्टा हुन् । बिसं २०२६ साल साउन ८ गते पिता टंकप्रसाद र माता हेमकुमारी लम्सालको कोखबाट धादिङ जिल्लाको ज्यामरुङ गाविस, वडा नं ९ मा जन्मिएका लम्साल विगत १७ वर्षेखि रेडियो नेपालमा कार्यरत छन् । बिसं ०४३ सालदेखि पत्रकारिता पेशामा लागेको र सानै उमेरमा घरमा पिता टंकप्रसादले रामायण, महाभारत लय हालेर गाएको सुन्दासुन्दै साहित्य सिर्जनामा लागेको बताउने लम्सालले हाल प्रेस यूनियनको केन्द्रिय उपाध्यक्ष पदमा रहेर प्रेस स्वतन्त्रताको काम गर्दै आइरहेका छन् । महाकवि देवकोटाको 'शाकुन्तल' आफूलाई सबैभन्दा बढी मनपर्ने र साहित्य तथा पत्रकारिता दुबै अन्यान्योस्रित रहेको बताउने लम्सालसँग रसुवा खबर साप्ताहिकले संवाद गरेको छ । प्रस्तुत छ :  रसुवा खबरका लागि प्रेमप्रसाद पौडेल र नवराज लम्सालबीच भएको संवादको सार संक्षेप :

पत्रकारिता पेशामा लाग्नुभएको कति भयो ?
मैले रेडियो नेपालबाट, विद्युतीय सञ्चार माध्यमबाट पत्रकारिता प्रारम्भ बिसं २०५० सालदेखि गरेको हुँ । यसरी हर्ेदा अहिले १७ वर्षभयो । तर एउटा घटना छ मसँग, म २०४३ सालमा माघ महिनामा एसएलसी सिध्याएर बसेको थिएँ । समय दैनिक भन्ने पत्रिकाले कम्तीमा एसएलसी पास गरेको रिपोर्टर चाहियो भनेर विज्ञापन गरेको थियो । म संझन्छु, एसएलसीको प्रवेशपत्र लिएर त्यहाँ गएको थिएँ, मैले भनें मेरो एसएलसी सकिएको छ, तर रिजल्ट भएको छैन, मेरो प्रवेशपत्र हेर्नुस्, म शुद्ध लेख्न बोल्न सक्छु, मलाई जागिर दिनुस् भनें । त्यहाँ मैले समय दैनिक काम गर्न सुरू गरेको हुँ । यसरी हेर्दा २०४३ सालदेखि सुरू गरेको हुँ र रेडियोको कुरा गर्ने हो भने २०५० बाट पत्रकारिता सुरू गरेको हुँ ।

साहित्यकार पनि हुनुहुन्छ, पत्रकारिता र साहित्यमध्ये कुनबाट आफूलाई बढी चिनाउन रूचाउनु हुन्छ ?
यी दुवै विधा अन्यान्योस्रित छन् । अलि हतारमा लेखे पत्रकारिता जस्तो लाग्छ, अलि फूर्सदमा लेखे, अलि कलात्मक लेखे साहित्य जस्तो लाग्छ । अनि अलि तथ्यपरक कुरा ज्यादा भयो भने पत्रकारिता जस्तो लाग्छ र भाव ज्यादा भयो भने मलाई साहित्य जस्तो लाग्छ । यी दुईवटा एउटै सिक्काका दुईपाटा जस्ता मेरो जीवनमा सँगै गाँसिदै आयो । र म यसलाई सँगै लैजान चाहन्छु ।

साहित्य सिर्जनाको सुरू कहिलेबाट गर्नुभयो ?
सानैदेखि लेख्थें म । मलाई थाहा छैन, यो कतिखेर कविता वा गीत भयो - गाउँमा बस्दा घरमा, ज्यामरूङमा बाले रामायण पढ्नुहुन्थ्यो, महाभारत पढ्नुहुन्थ्यो, कृष्ण चरित्रहरू लय हालेर पढ्नुहुन्थ्यो । त्यो लय सुन्दासुन्दै लयमा लेख्ने आदत बस्यो । अरूको कविता यस्तो हुन्थ्यो भने आफैंले लेख्दा कस्तो होला भन्ने लाग्थ्यो । त्यो बेला कविता भन्ने त जान्दैनथें, त्यही बेलादेखि कविताको प्रारम्भ भएको रहेछ ।

तपाइँको नजरमा सबैभन्दा मनपर्ने साहित्यकार को हुन् र कुन कृति सबैभन्दा बढी मनपर्छ ?
मलाई सबैभन्दा मनपर्ने स्रष्टा महाकवि लक्ष्मीप्रसाद देवकोटा । धेरै मान्छे उनको मुनामदन मन पराउँछन्, म पनि मुनामदन मन पराउँछु । तर देवकोटाको 'देवकोटा' भनेर परिचय गराउन लायकको कृति चाहि 'शाकुन्तल महाकाव्य' हो । म देवकोटा मन पराउँछु र देवकोटाको पनि शाकुन्तल महाकाव्य मन पराउँछु ।

रेडियोबाट बोल्दै गर्दा तपाइँको आवाज घरघर, कुना कन्दरामा पुग्छ । एकजना सफल सञ्चारकर्मीको रूपमा चिनिनु भएको छ । नेपाली स्रोताको कतिको माया पाउनुभएको छ ? र सफल सञ्चारकर्मी हुनुमा कसलाई धन्यवाद भन्नुहुन्छ ?
सफल भन्ने शब्द त साह्रै गह्रुङ्गो छ, सफल भन्नु त हुदैन । तर मैले कसैलाई धन्यवाद भनिन भने म अहंकारी जस्तो देखिन सक्छु । तर जीवनका धेरै मोर्चाहरूमा हारेको छु, जीवनका धेरै मोर्चाहरूमा असफल भएको छु । जीवनका धेरै घुम्तीहरूमा असहजता भेटेको छु । लिखितमा, जाँचमा एक नम्बरमा नाम निकाल्दै अन्तार्वाता फेल हुँदै गरेका मेरा प्रशस्त अनुभवहरू छन् । सायद तर ती हरेश खाने दिनहरूमा पनि, ती अप्ठ्याराका दिनहरूमा पनि, मैले देखिदा हारेको देखिने दिनहरूमा पनि मैले आफूलाई कमजोर बनाइन । निरन्तर पढिरहें, लेखिरहें, कोसिश गरिरहें । मलाई अहिले सम्झेर हेर्दा चाहि मलाई आग्रही जस्तो नठानियोस्, मेरो आफ्नै आत्मविश्वास हो कि भन्ने लाग्छ ।

पत्रकारिता पेशामा विकृति छन् र व्यवसायिक हुन सकेको छैन, व्यवसायिक हुन के चाहिन्छ ? व्यवसायिक हुन कुन् कुन् लक्षण चाहिन्छ, वा असल पत्रकारका गुणहरू के के हुन् ?
पत्रकारिता गम्भीर विषय हो । हो, तपाइँले भनेजस्तो, देशमा सबै क्षेत्रमा केही न केही कमजोरी छन् । सबै क्षेत्रमा केही न केही खराबीहरू छन्, पत्रकारिता पेशा पनि एकदम दुधैले न्वाएको अवस्था छैन । तर हामी सिक्दै, सच्चिदै, माझदै र परिस्कृत हुँदै शुद्ध व्यवसायिक पत्रकारिता गर्ने संघारमा छौं । तर आस्था आफ्नो आफ्नो हो । आफ्नो आफ्नो आस्था अनुकूल गोलबद्ध हुन पाउनु पर्छ, गोलबद्ध हुन दिनुपर्छ । गोलबद्ध भएकै आधारबाट खराब, नजिक र टाढा भनेर हेरिनु हुदैन । तर समाचार लेख्ने बेलामा चाहिँ ऊ निष्पक्ष हुनसक्यो भने, विवेकसम्मत हुनसक्यो भने र उ उसले तटस्थता अपनाएर लेख्न सक्यो भने त्यो मान्छे व्यवसायिक हुन्छ भन्ने लाग्छ । अर्को पाटो, पत्रकारिता गरेरै खान पुग्ने अवस्था जहिले होला पत्रकारहरूको, त्यो दिन नै पत्रकारिता अझ सङ्लो होला ।

नेपालको मानचित्रमा राजधानीबाट रसुवा नजिक छ, दोस्रो पटक रसुवा आउनुभएको छ, पहिला आउँदा र अहिले आउँदा के के विषमता पाउनुभएको छ ?
पहिला म गोसाइँकुण्डसम्म पुगेको थिएँ । त्यतिखेर मेरो बुबा ६५ वर्षो हुनुहुन्थ्यो, झण्डै ६० वर्षहाराहारीको आमा हुनुहुन्थ्यो । बुबाआमासँगै म गोसाइँकुण्ड गएर फर्केको थिएँ । बाटो साह्रै धेरै कच्ची थियो, बसको छतमा बसेर आएको थिएँ, बस ढल्किँदा अब खसियो कि लडियो कि जस्तो लाग्थ्यो । अलिकति बाटोमा सुधार भएछ र धुन्चेको संरचनामा अलिकति सुधार भएछ । तर यति धेरै अध्ययन गर्न भ्याइन, म आजै बिहान आएँ, अहिले तपाइँसँग सम्वाद गरिराछु । तर यति कुरा चाहि सत्य हो, विकास बाहिरबाट आएर हुदैन, विकास स्थानीय रूपमा त्यही ठाउँबाट उठ्नुपर्छ । उठ्नको निम्ति बाहिरबाट वातावरण बनाइदिने हो । तर रसुवामा विकासका वातावरण बनाउन, विकासोन्मूख चेतना फैल्याउन राजधानी वा राजधानी निकट रहेका अरू शहरहरूले कोशिस गरेको चाहि पाइन ।

प्रेस यूनियनको केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ, देशलाई नजिकबाट वा सञ्चारको आँखीझयालबाट नियाल्नु भएको छ, नयाँ संविधानमा प्रेस स्वतन्त्रता वा पत्रकारिताको सुरक्षाको लागि कस्तो प्रयास गरिरहनु भएको छ ?
म प्रेस युनियनको उपाध्यक्ष हुँ, म प्रेस चौतारी र क्रान्तिकारी पत्राकार संघ समेत्लाई पनि र पत्रकार महासंघ सबैसँग, जहाँ हामी आवद्ध भएपनि, प्रेसको मुद्दामा, प्रेस स्वतन्त्रताको मुद्दामा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्राको मुद्दामा र पत्राकारहरूको भौतिक र पेशागत सुरक्षाको मुद्दामा हामी साझा एजेण्डाका साथ एक भएर लाग्नुपर्छ भन्ने मान्यता राख्छु । यद्यपी म प्रेस यूनियनको केन्द्रीय उपाध्यक्ष हुँ, प्रेस यूनियन एउटाले मात्रै, चौतारी वा क्रान्तिकारी एउटाले मात्रै प्रेसको लागि राम्रो बनाउन सक्छ भन्ने मेरो दावा छैन । हामी सबै मिल्नर्ुपर्छ । आस्थाका आधारमा विभाजित हुन पनि पाउनु पर्छ, तर मुद्दामा मिलेर पनि जानर्ुपर्छ । र संविधानको प्रस्तावनामा अपरिवर्तनीय धाराका रूपमा, अपरिवर्तनीय विषयका रूपमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई ग्यारेण्टी गरिनुपर्छ भन्ने मलाई लाग्छ ।

अन्तमा रसुवा खबरमार्फत् रसुवाली स्रष्टा, सञ्चारकर्मी, सञ्चारप्रेमी तथा आम पाठकहरूलाई के भन्न चाहनुहुन्छ ?
म पनि झण्डै रसुवा जस्तै विकट धादिङको ज्यामरुङबाट शहर पसेको हुँ । आज म रेडियो नेपालमा छु, आज म बिबिसीमा छु । आज म विभिन्न राष्ट्रव्यापी संगठनको केन्द्रिय नेतृत्व गरिराछु । तर पनि धादिङको ज्यामरुङमा त्यतिखेरको रातोमाटो मेरो शरिरमा अझै छ, मैले भैसी दोएको अनुभव छ, मैले गाई दोएको अनुभव छ, मैले नाम्लो, दाम्लो बुनेको अनुभव छ , मैले खेत खनेको, बाख्रा गोठालो गएको, गाई गोठालो गएको आली लगाएको, कोदो बारी खनेको, धान झाँटेको, बोरा बोकेको अनुभव छ । म त्यही गाउँको खाँट्टी किसानको छोरा हुँ । गाउँको किसान कर्म, किसान दाजुभाइ, बा आमा, दिदी बहिनी र गाउँ बस्तीप्रति मेरो प्रेम छ, मेरो लगाव छ । त्यसै कारणले मेरो लेखनमा पनि, मेरो उद्घोषणमा पनि गाउँको सुगन्ध आओस् भन्ने चाहन्छु । र म गाउँलाई प्रेम गर्छु, गाउँ रूपान्तरण गर्नका निम्ति मैले के गर्न सक्छु, म सँधै चिन्तित भइरहनेछु, मेरो कोशिस जारी रहनेछ । कही कतै मैले बाटो बिराएँ, म अल्मलिएँ, म फुर्किएँ, म मात्तिएँ भने मलाई सच्याइदिनुहुन पनि अनुरोध गर्छु ।

Post a Comment

0 Comments