Ad Code

Responsive Advertisement

भजन संरक्षणका लागि नयाँ पुस्ताले सिक्नुपर्छ

कपिलमुनी पौडेल, भजनीय गुरू, भदौरे, रसुवा
रसुवा खबर वर्ष १, अंक ३, २०६७ असोज ३ गते शनिवार

वि.सं १९८५ साल भदौ १४ गते पिता कमलीकान्त र माता पद्मकुमारी पौडेलको कोखबाट रसुवा जिल्ला भोर्ले गाविस वडा नं ९, भदौरेमा जन्मिएका कपिलमुनी पौडेल विगत लामो समयदेखि सांस्कृतिक कृयाकलाप भजन कीर्तन र नाँचगानमा संलग्न रहँदै आउनुभएको छ । प्रस्तुत छ ; कपिलमुनी पौडेलसँग रसुवा खबर साप्ताहिकले गरेको कुराकानीको मुख्य अंश :

तपाइँ भजनीय गुरू भनेर चिनिनु भएको छ , भजनमा कसरी लाग्नुभयो ?
त्यतिखेर गाउँमा रहेका बुढापाकाले भन्ने गरेको सुनेर र आफैमा प्रस्फुरण भएको कला हो । मलाई भजन भन्न खासै कसैले पनि सिकाउनु परेन र्।र् इश्वरको शुभनाम जप्दा मुक्ति पाइन्छ भनेर देवताको नाम स्मरण गर्न हे राम ! हे राम ! भन्नु पर्छ । विशेष गरी जीवन मुक्तिको लागि नै भजन गाइने गरिएको हो ।


पहिलो पटक भजन कहाँ निकाल्नु भयो ?
मैले पहिलो पटक धामीको दुर्गे भन्थे, उनको घरमा सत्यनारायणको पूजा लगाएका थिए । मैले पहिलो पल्ट 'हे राम ! हे राम ! भागिरथीमा ए हेर लौ भागिरथीमा, सुनको तोला रामको घोडा भागिरथीमा' भनेर सुरुको भजन गाएको हुँ । भजन गाउने कला सजिलै कला हो । मनमा जाँगर आउनु पर्छ, भजन सरल तरिकाले नै भन्न सकिन्छ ।

भजन भन्न के के चाहिन्छ ?
भजन भन्न पहिला त रामायण, कृष्ण चरित्र, देवीभागवत, स्वस्थानी जस्ता महात्म्यको कहानी जान्नु पर्छ, दोस्रो भजनीय भाईको स्वर मिल्ने समूह चाहिन्छ । अनि खैजडी, मञ्जिरा, कर्ताल आदि राम्रोसँग बजाउन जानेपछि सबैको मन जित्ने भजनको रन्को सबैतिर सुनिने गरी गाउन सकिन्छ ।

भजन कहिले कहिले गाइन्छ वा नाचिन्छ ?
रसुवा जिल्लामा भजन गाउने र नाँच्ने अवसर समय समयमा मिल्ने गर्छ । हिउँदका समयमा छत्र उठाएर छत्र नाँच्ने पनि गरिन्छ, ठूली एकादशीमा फूलको डोली गंगामा लाने बेलामा, सत्यनारायणको पूजा, सप्ताह लगाउँदा आदि इत्यादि समयमा भजन गाउने र नाँच्ने गरिन्छ । स्वस्थानी साङ्गेमा ब्रत बसेका सम्पर्ूण्ा घरमा पालैपालो स्वस्थानीको भजन गाउँने गरेका थियौं, तर अहिले हाम्रो बल घटेपछि यो हराउँदै जाने अवस्थामा छ ।

तपाइँको विचारमा छत्र नाँच कहाँबाट रसुवामा भित्रिएको होला ?
नढाँटीकन भन्नु पर्छ, हाम्रो यहाँ चाहि नुवाकोटको गेर्खुबाट आएको हो, तर त्यहाँ कहाँबाट आयो म भन्न सक्दिन । छत्रनाँचको भजन हेर्दा त्यहाँ हिन्दी भाषा मिसिएको हुँदा भारतीय संस्कृति हो भन्न सकिन्छ ।

तपाइँका भजन गाउने सहयात्रीहरू को को हुन् ?
मेरा साथीहरू अहिले कोही पनि छैनन् । म मात्र बाँकी छु । जिबजिबेका चुडामणी पौडेल, धुसेनीका विष्णुप्रसाद देवकोटा, गैराघरे न्यौपाने यी आदि साथीहरू मेरा भजन भन्ने, जात्रामात्रामा गीत गाउने साथी हुन् । हामी नुवाकोटको खुर्साने, जिलिङ, दार्मे, गर्ेर्खु र रसुवाकै विभिन्न ठाउँहरूमा गीत पनि भन्यौ र भजन पनि भन्यौ । सिखरबेसी, देवीघाट, नुवाकोटमा हुने जात्रामा गीत भनेर पुरस्कार पनि जितेको थिएँ । विवाह आदिमा सिलोक पनि भनें । सिलोक भन्दा प्रायश ठुवा शैली नै पाइन्थ्यो ।

ठुवाको विषयमा अलिकति जानकारी दिनुस् न ?
ठुवामा हारजितको ठूलो सवाल हुन्थ्यो । कृष्ण चरित्र, रामायण आदिको ठुवा पथ्र्यो । आफैंले सिलोक रचेर भन्न सकेमा जित हुने गथ्र्यो ।

ठुवामा हारजित कसरी हुन्छ ?
एउटाले सुन्दरकाण्डको सिलोक भन्न सुरू गर्यो भने त्यही काण्डको नअड्कीकन पुरा गर्नुपर्ने, अड्किएर अर्को सिलोक भन्न थालेमा उसको हार हुन्छ । अर्कोले कृष्ण चरित्रको सुरु गरेमा त्यसैमा पुरा गर्नु पर्ने हुन्छ, अन्यथा हार भएको मानिन्थ्यो ।

भजन, बालन र ठुवा जस्ता प्राचीन कलाहरू लोप हुँदै गइरहेका छन्, यसको संरक्षणका लागि के गर्न सकिन्छ ?
मैले त यस्ता कलाहरूको संरक्षण हुने माध्यम नै देख्दिन । अहिलेका पुस्ताले भजन, कीर्तन आदिमा कुनै मान्यता राख्दैनन् । हाम्रा पालामा भनिएका भजन भन्यौं या भनेनौं, सत्यताको कुनै आधार छैन । न हामीसँग भजन नाँचेको फोटो मात्र छ, न अब यहाँ कसैले नाँच्छन् । हामीले केटाकेटी कालमा एका देशको कथा हो .. भनेर सुरु गरेको दन्त्य कथा जस्तै यो भजन पनि कुनै देशको कथा बन्नेछ । अहिले कुनै कुनै ठाउँमा टिभीमा देखाउन फिलिम बनाएका छन् रे अबका केटाकेटीले त्यही मात्र हेर्न पाउँछन् । यहाँको पनि त्यस्तै गर्न सके रसुवाली नाँच्ने गरेका थिए भन्ने प्रमाण राख्न सकिन्छ । संरक्षणको उपायका लागि कि फिलिम बनाउने कि अबका मान्छेले सिक्दै सिक्दै नयाँ नयाँ पुस्तालाई सिकाउने हो । अन्यथा यो लोप हुनेछ ।

अन्तमा पत्रिका मार्फत आगामी पुस्तालाई के भन्नु हुन्छ ?
मैले जीवनमा नै नसोचेको काम आज हुँदैछ, मेरो कुरा, हाम्रा भजनका कुरा पत्रिकामा छापिन्छन् भनेर मैले कहिल्यै पनि सोचेको थिइन । मेरो कला थियो भन्ने कुरा पत्रिका च्यातेर नहुराए नाती पनातीले पनि देख्न पाउलान् । म मेरो आगामी पुस्तालाई मेरो र मेरो जस्तै कुरा लेखिएका पत्रिका नच्यात्नु । त्यही नै भोलिका लागि पढ्ने सामग्री बन्न सक्छ । भजन नाँच, बालन नाँच र छत्र नाँचको संरक्षण गर्न कोही कोहीले भने पनि सिक्नु , सिक्न गाह्रो छैन भन्न चाहन्छु ।

Post a Comment

0 Comments