Ad Code

Responsive Advertisement

जमानाका मान्छे

तीन वर्षअघि बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र काठमाडौंले रसुवाका दुई गाविस हाकु र सरमथलीमा नवीकरणीय उर्जा प्रयोगको अवस्था र सम्भावनाको अध्ययन गर्न केन्द्रबाट तिलक लिम्बु , इन्जिनियरिङ अध्ययनको प्रयोगात्मकको लागि लव जोसी र रमेश पाण्डे गरि तीन जना रसुवा आएका थिए । तत्कालीन निमित्त जिल्ला विकास अधिकारी प्रविण पौडेलको अध्यक्षतामा जिविसमा सो विषयमा छलफल गरि अध्ययन कार्यलाई अगाडी बर्ढाईएको थियो । हाकुबेसीका कार्बो तामाङ र लव जोसी हाकुतिर गए । तिलक लिम्बु, रमेश पाण्डे र म सरमथलीतिर लाग्यौं । धुन्चेबाट हिडेपछि घरमा खाना बनाउनको लागि भन्यौं र हामी मूलखर्कको पहिरो पार गर्दै घरमा पुग्यौं । खाना खाएर हामीले सरमथलीको बाटो ततायौं । दिउँसो हामी सरमथली ६ का भूमेलामाको घरमा पुग्यौं र बेलुकी बास बस्नको लागि पाटीखर्कका मानकाजी ग्यावाको घरमा पुग्यौं । अध्ययनको विषयमा गाउँलेलाई जानकारी दिनुपर्ने भएकोले मानकाजी दाई र कबिन्द्र न्यौपाने खटिए । उनीहरूले गाउँका सबैलाई खबर गरे । हामी खाना खाएर सुत्यौं । सुताई अत्यन्त राम्रो भयो । बिहान ५ बजे नै उठेर म बाहिर निस्कें । माघ महिनाको जाडोमा मानकाजी दाई एउटा पछ्यौरा मात्र ओढेर बाहिर पिंढीमा सुतेका थिए । मैले सोचें उनी त्यसरी सुतेर हामीलाई राम्रोसँग सुताए । मैले मनमनै ठानें यी त साह्रै राम्रा मान्छे रहेछन् ।



बिहान ७ बजेदेखि नै कार्यक्रम सुरु भयो । तिलक लिम्बु र रमेश पाण्डे गाविसभरिको उर्जा प्रयोगको अवस्था र सम्भावनाका विषयमा छलफल गर्दै थिए । म भने फोटोहरू खिच्दै थिएँ । अध्ययनका लागि पुङखोलाबाट लघु जलविद्युत उत्पादन गर्न समूदायले सिफारिस गरे । ११ बजे कार्यक्रम सकेर खाना खाइयो । प्रत्येक वडामा पुगेर घरधूरी र्सर्वेक्षण तथा तयहाँ कस्ता प्रविधि छन् भनेर जानकारी लिनुपर्ने भएकोले हामी वडा नं २ दनुस्वारातिर लाग्यौं । सबै वडाको र्सर्वेक्षण गरिसकेर अन्तिम दिनमा हामी वडा नं ९ को घिचेतमा पुग्यौं । एकजना दाजुको विवाह गरिसकेर पनि ४/५ सन्तान जन्मिसकेका रहेछन् । तापनि उनीहरूको विवाहको पुनरावलोकन गर्ने दिन वा स्थानीय भाषा अनुसार दुलान फिराउने दिन रहेछ । बारीको पाटामा खानाका थुप्रै परिकार तयार गरिएको थियो । खाइखेली गरेर निकै राम रमिता गर्दै थिए गाउँका युवा, युवती र बुढा पाकासम्म । हामीले चारैतिर घुमेर फोटो खिच्यौं । बेहुला बेहुलीले फोटो बनाएर ल्याइदिन अनुरोध गरे । सुरुसुरुमा त फोटो खिच्दा सबै भागेका थिए । पछि उनीहरूकै अनुहार हाम्रो डिजिटल क्यामेरामा देखिएपछि फोटो खिच्न अनुरोध गर्नेको लहर लाग्न थाल्यो । हामीले धेरैको फोटो खिच्यौं । फोटो खिच्दै जाँदा एकजना यस्ता मान्छेको फोटो पनि हाम्रो क्यामेराले कैद गर्यो । हेर्दा नै विचित्रको । हामीले त्यस्ता मान्छे विरलै देखेका थियौं । चाउरी परेको अनुहार, कालो गाउँमा नै तयार गरेको टोपीमाथि पुरानो चस्मा राखेका, अलिअलि दाह्री पनि आएको, थाङनो कोट लाएका, ८५ वर्षपार गरिसकेका तर जीवनमा सन्तुष्ट मान्छे , मैले मनमनै सोचें, यी बा हाम्रा बा जस्तै हुन्, यिनको फोटो मैले सधैंभरि राख्नुपर्छ किनकि पृथ्वीमा अब यस्ता मान्छेको जन्म हुँदैन । अबको युगमा जन्मने मान्छे फरक हुन्छ । जुन मान्छेको युगमा जीउ ढाक्न होस् या रातमा ओढ्न होस् केबल खास्टो मात्र हुन्थ्यो । उनले यस्ता पोशाक पैर्हन पाएका पनि धेरै भएको छैन । आफन्तले यताउतिबाट ल्याईदिएका पुराना भए पनि आधुनिक कपडा लगाउन पाउँदा उनी ज्यादै खुसी देखिन्थे । उनीसँग मैले केही कुरा गर्न समय मागें । 

उनले सुरुमा नै भने 'अर्कोचोटी आउँदा सरकारसँग मागेर मलाई आँखाको औषधी ल्याइदिनु' मैले हुन्छ भने । नयाँ मान्छे र्सट पाइन्ट, ज्याकेट लगाएको देख्दा, चुल्हो, गोवरग्यास र विजुलीको कुरा गर्दा यी त सरकारका मान्छे रहेछन् भन्ने सोचेर उनले त्यस्तो अनुरोध गरेका हुन् भन्ने मलाई लाग्यो । उनमा कत्रो न आश हो र त्यति आँखामा राख्ने एक सिसी औषधी , मैले मनमनै विचार गरें, म किनेर ल्याइदिन्छु । उनीसँग मैले धेरै कुरा गरें । उनी एक जमानाकै रहेछन् । उनले लगाएको चस्मा २० वर्षघि गाउँका एकजना मान्छे ट्रेकिङ जाँदा ल्याइदिएका रहेछन् । चस्मा लगाउन पाएको एक महिना जति त उनी खुसीले ज्यादै हषिर्त भएका रहेछन्, उनले ती कुरा पनि गरे । उनको पालामा २५ पैसा कमाउन कि त नुन बोक्न केरूङ जानुपर्ने कि त टिम्बा -काठ) बोकेर नेपाल जानुपर्ने । जब यातायातको सुबिधा हुँदै जाँदा उनीहरूको नेपाल जाने बाटो नै टुंगिएको रहेछ । ५ रूपैंयामा दर्ुइवटा भैंसी बेचेका यी मान्छे, आज ५० हजारमा गाउँमा भैसी बेच्ने र किन्ने हुँदा अचम्म मान्छन् । सँधैभरि लेकमा गोठ लिएर बस्ने गरेका यिनी अघिल्लो साल मात्र घरमा बस्न थालेका रहेछन् । ८४ वर्षम्मको आयु घाँस, दाउरा, दुहुने, बाँध्नेमा नै यीनको जीवन बितेको छ । रेडियो मात्र देखेका यिनले आजभोली कतै कतै मोबाईलमा कुरा गरेको देख्दा मोबाइलभित्र कति साना मान्छे हुन्छन् होला भनेर उनी कल्पना गर्दा रहेछन् ।


समय बित्दै जाँदा दुई वर्षपछि म पूःन त्यहाँ पुगें । मैले औषधी पनि लिएर गएको थिएँ । कार्यक्रमको सिलसिलामा म त्यहाँ पुगेको थिएँ । त्यति फूर्सद पनि थिएन । मैले उनको बारेमा सोधें । उनको घर पारिपट्टि रहेछ । मैले त्यहाँकै एकजना दाईलाई औषधी पुर्याइदिन भनें र म फर्किएँ । पछि विश्व वातावरण कोषबाट धुँवा न्यूनीकरण कार्यक्रम त्यही नै लागु भयो र उनीसँग दोस्रो भेट गर्ने मौका मिल्यो । मैले औषधी पाउनुभयो भन्दा उनी ज्यादै खुसी भए । मलाइ धेरै पटक आशिर्वाद दिए, सँधै सफलता मिलोस् भनेर । मैले पनि पूःन आँखाको औषधी पर्खिरहेका ती जमानाका मान्छेलाई कामना गरें दीर्घायु र सु-स्वास्थ्यको उनै भगवानसँग दोहोर्याउँदै तिनै जमानाका मान्छेको लागि ।

रसुवा खबर वर्ष१, अंक ३, २०६७ कार्तिक ३ गते शनिवार

Post a Comment

0 Comments