Ad Code

Responsive Advertisement

फोहोरबाट मोहोर

रसुवा खबर वर्ष१, अंक १०, २०६७ साल पौस १० गते शनिबार
रासायनिक मलविना कृषि उत्पादन नै हुँदैन कि भन्ने मानसिकता नेपाली कृषकहरूमा परिसकेको हो कि भन्ने लाग्छ । कृषिप्रधान देशको भूगोलमा बसेर आधुनिक पद्धतिमा कृषि उत्पादन गर्न नसक्दा वा गुणस्तरीय मलको प्रयोग विना नेपाली कृषकले पेट भरिने गरी अनाज उब्जाउन सकेका छैनन्, महंगो वा आयातित रासायनिक मल किन्न र प्रयोग गर्न वाध्य छन्, गुणस्तरीय नभई रोगव्याधी भित्र्याउने अनाज उब्जाउन परिराखेको छ । कृषकसँग उपलब्ध गोठेमलको पनि उचित स्याहार वा व्यवस्थापन गर्न नसक्दा कृषि उत्पादन दिनानुदिन खस्कँदै गएको स्थिति छ ।

हाम्रा वातावरण वरीपरि रहेका जैविक झारपात, भान्छामा प्रयोग गरिएका र बाँकी रहेका वस्तु -आलुका बोक्रा जस्ता तरकारीजन्य रहेलपहेल) आदिलाई हामीले बेवास्ता गरेर फालिरहेका छौं । तपाइँ हामीले प्रयोग गर्ने गरेका पोलिष्टर बाहेकका कपडा पनि मल बन्छ । अण्डाका बोक्रा, खेर गइरहेका वा प्रयोग गरिसकेका कागज आदिलाई पनि मलको रूपमा प्रयोग गर्न सकिन्छ ।

यी माथि भनिएका वस्तुलाई प्रयोग गर्न 'जाँपाफोगोगँ' भन्ने पाँच वटा अक्षरहरूलाई प्रयोग गर्न जान्नु पर्दछ । 'जाँ' भन्ने अक्षरले तपाइँ हामीमा 'जाँगर' चाहिन्छ भन्न खोजिएको छ । 'पा' भन्ने अक्षरले 'पानी', 'फो' भन्ने अक्षरले 'फोहोर' चाहिन्छ भन्न खोजिएको छ । त्यसैगरि 'गो' र 'गँ' अक्षरले क्रमश : 'गोबर' र 'गँड्यौला' चाहिन्छ भनिएको हो । 'जापाफोगोग' लाई उपयुक्त तरिकाले प्रयोग गर्न सके कृषि उत्पादनमा विस्तार गर्न र गुणकारी अनाज उब्जाउन सहयोग पुग्दछ ।

वातावरणमा प्राप्त जैवीक वस्तुको बेवास्ता गरी हाम्रो समुदाय आयातित महंगो मलको खोजीमा दौडिरहेको छ । हामीले कृषि उत्पादनको लागि महत्वपूर्ण भूमिकामा रहेको गोठेमलको सुधारमा हाम्रो खासै ध्यान पुग्न सकेको छैन । प्रत्येक वर्षरासायनिक मल प्रयोगमा गरिव कृषकहरूले ठूलै धनराशी खर्चदै आइहेका छन् । दिनानुदिन रासायनिक मलको मूल्य उक्लदै आइरहेको र आवश्यकीय आपूर्ति नहुँदा हालको वर्षा त तेब्बर मूल्यमा रासायनिक मल प्रयोग गर्नमा कृषकहरू वाध्य छन् । अरूले नै उत्पादन गरेको वस्तुलाई विश्वास गर्ने तर आफ्नो वरपर सजिलै पाइने वस्तुप्रति हाम्रो अविश्वास भने रहेकै छ ।

घरभित्र वा बाहिर हुने जैवीक फोहोरलाई उचित व्यवस्थापनबाट मल बनाई मोहोरमा परिणत गर्न सकिन्छ । तर नेपाल सरकारले यसलाई प्राथमिकतामा राख्न सकिराखेको अवस्था छैन । भान्छाबाट निस्केको तरकारीजन्य फोहोर होस् वा घाँसपातबाट निस्केको रहेलपहेल होस् त्यसलाई 'भर्मी कम्पोष्टिङ' विधिबाट रासायनिक मलको अभाव र्टार्न सकिन्छ । रासायनिक मलको अभाव र्टार्न मात्र नभएर रासायनिक मलमुक्त कृषि क्षेत्र बनाउन तथा गुणस्तरीय र स्वस्थकर उत्पादनमा निकै सहयोग पुग्दछ । गँड्यौले मल प्रविधिले अत्यन्त आफ्नो प्रभावकारिता कायम गर्न सक्दछ ।

वातावरणीय हिशावले पनि यो गँड्यौले मल अत्यन्त राम्रो मानिएको छ । रासायनिक मलको प्रयोगले जमिनको उर्वराशक्ति क्रमश : नष्ट गर्दै लैजान्छ भने भर्मी कम्पोष्टले उत्पादन क्षमतालाई बढाउँदै लैजान्छ । एक्काइसौ शताब्दीका मान्छे हामी जैवीक विधिबाट उत्पादित उत्पादन प्रयोग गर्न खोजिराखेका छौं तर रासायनिक उत्पादन गर्नमा नै हामी केन्द्रित छौं । नेपाल सरकारले रासायनिक मललाई अनुदान दिएपछि पनि हामी कृषकहरूलाई सहुलियतको नाममा विभिन्न झमेलामा परिरहेकै छौं ।

गँड्यौले मल वा भर्मी कम्पोस्ट बनाउँनको लागि अत्यन्तै सरल प्रविधीहरू छन् । घरधन्दाबाट निस्कने फोहोर तथा घाँसपातबाट निस्केका पतिङ्गरहरूलाई घाम नलाग्ने स्थान वा गोठमा ड्याङ बनाई गाईभैंसीको गोबर मलसँग मिसाएर गँड्यौले मल बनाउन सकिन्छ । गोवरग्यास प्रविधि प्रयोग गरिएका स्थानमा त त्यसबाट निस्कने लेदोसँगै यो मल बनाउन सकिन्छ । अझ यसको राम्रो पक्ष भनेको हामीले प्रयोग गरी सकेका पोलिस्टर बाहेकका कपडाहरू पनि त्यसमा राम्रोसँग कुहिने गरी मिसाएमा त्यसलाई समेत गँड्यौलाले खाइदिन्छ र मल बनाइदिन्छ । गँड्यौलाको आन्द्रामा कृषी उत्पादनलाई अत्यन्त आवश्यक पर्ने तत्व हुन्छ र विष्टामार्फ त्यो तत्व पनि त्यहाँ मिसिने हुनाले यो मललाई अत्यन्तै प्रभावकारी मलको रूपमा लिइएको छ ।

गँड्यौले मल विश्वका विभिन्न देशहरूमा प्रभावकारी सिद्ध भइसकेको छ । क्यूवा, भारत, चीन, न्यूजील्याण्ड र फिलिपिन्स लगायतका देशहरूमा यसको प्रयोग अत्याधिक रूपमा भइरहेको छ भने नेपालमा पनि विभिन्न जिल्लाहरूमा यसको लोकप्रियता बढ्दै गइरहेको छ । पछिल्लो समयमा काठमाडौं, काभ्रे, चितवन र विराटनगरमा व्यवसायिक रूपमा गड्यौले मल बनाउने र प्रयोग गर्ने प्रचलन आइसकेको छ । काठमाडौंस्थित 'विषादी निरिक्षण नेपाल' नामक संस्थाले यूएनडीपीको विश्व वातावरण कोष तथा साना अनुदान कार्यक्रमको सहयोगमा चितवनको सौराहामा भर्मी कम्पोष्टिङ विधिबाट गरेको हात्तीको लिडा व्यवस्थापन सम्बन्धि कार्यक्रमबाट पनि यसको लोकप्रियता बढेको हो भन्न सकिन्छ ।

गँड्यौले मलमा कृषि उत्पादनलाई चाहिने आवश्यक तत्वहरू जस्तै ः नाइट्रोजन, फोस्फोरस, पोटासियम, क्याल्सियम, म्याग्नेसियम, आइरन, बोरोनमोलिब्डेनियम जस्ता अति गुणकारी तत्वहरू पाइन्छन् । अन्य रासायनिक मलभन्दा गँड्यौले मल तीन देखि पाँच गुणा बढी प्रभावकारी मानिएको छ । रासायनिक मललाई न्यून गर्दै यसको प्रयोग बढाउने र अन्य वर्षरूमा रासायनिक मल मुक्त गराउदै लैजाने हो भने कृषि उत्पादनमा तीनदेखि पाँच गुणा बढ्ने पनि यस क्षेत्रका विज्ञहरूले दावी गरिसकेका छन् ।

हाम्रो समाजमा अवश्य नै गाई वा भैंसी पालिएका हुन्छन् । गाईभैसीको मलको सहायताबाट सजिलै बनाउन सकिने गँडयौले मल प्रविधिलाई कृषि प्रधान देशको सरकारले प्राथमिकतामा राख्न सकेन भने वा कृषकहरू आफैले भने पनि यसप्रति पहुँच विस्तार गर्न सक्नुपर्छ । त्यसबाट कृषिको उत्पादन क्षमता बढ्न जान्छ, त्यत्तिमात्र नभएर स्वस्थ वा गुणस्तरीय उत्पादनको अभावमा विभिन्न रोगव्याधीको समस्या न्यून गर्न सकिन्छ ।

गँड्यौला मल बनाउने प्रविधि त्यत्ति महंगो छैन किनकि प्रति गँड्यौला एक रूपैंया पर्दछ । एक हजार रूपैंयाको गँड्यौला किनियो भने केही समयमा नै यसको संख्यामा उल्लेखनीय बृद्धि आउँछ । क्रमश : गँड्यौलाले अण्डा उत्पादन गर्दै जाँदा प्रति अण्डा सात देखि दश वटासम्म गँड्यौलाहरू उत्पादन हुन्छन् । गँड्यौलालाई कुखुराको अण्डाको बोक्रा र गाईको गोबर अत्यन्तै मन पर्दछ, त्यसैले यी चिजहरू खान पाएमा गँड्यौलाको बृद्धि विकास भई मल निर्माण कार्य तथा संख्या बृद्धिमा पनि तीव्र गति कायम हुन्छ । कति समयमा वा कति मल उत्पादन गर्ने भन्ने विषय भने गँड्यौलाको संख्यामा भर पर्दछ । गँड्यौलाको संख्या यथेष्ट रहेमा २ महिनाभित्रमा पनि मल तयारी हुन्छ भने अलि कम रहेमा ४ महिनासम्म पनि लाग्दछ । मल प्रयोग गर्दा गँड्यौलाको अण्डालाई भने राम्ररी छान्नु पर्दछ । छिट्ट नै मल प्रयोग गर्नु पर्ने छ भने मात्र गँड्यौलाको अण्डा छान्नु आवश्यक छ तर केही समयपछि मात्र मल प्रयोग गर्नुछ भने मलमा गोबरको थुप्रो छाडिदियो भने क्रमश : सबै अण्डा त्यही मलमा नै गँड्यौलाको रूप धारण गरेर झुम्मन्छन् । त्यसैले यो प्रविधि अति सरल तथा प्रभावकारी विधिको रूपमा स्थापित हुने एउटा कल्याणकारी अभियान हो । गँड्यौला आफैमा पनि अति लाभदायक वस्तु हो ।

Post a Comment

0 Comments