Ad Code

Responsive Advertisement

गोसाइँकुण्डको मेला : तीर्थालुलाई सास्ती व्यवसायीलाई मस्ती

(रसुवा खबर, वर्ष१, अंक १ असोज १६ २०६७ शनिवार)



रसुवा जिल्ला भनौं या लाङटाङ क्षेत्र पर्यटकीय पाटोमा नेपालमा तेस्रो स्थानमा रहेको सर्वविदितै छ । नेपालकै तेस्रो स्थान प्राप्त गरेको यस क्षेत्रले पर्यटकीय विकासमा भने फड्को मार्न सकेको छैन । तैपनि धार्मिक महत्व प्राप्त गरेको गोसइँकुण्ड मेलाले भने धार्मिक भन्दा पर्यटकीय महत्वलाई प्राथमिकता दिएको छ । रसुवामा विदेशी पर्यटक आउँदा उनीहरूबाट नै डराएर जंगल भाग्ने पुस्ता पनि अहिलेसम्म जिवितै छन् । गोसाइँकुण्डले पर्यटकीय महत्व प्राप्त गर्न थालेको धेरै वर्ष भएको छैन । यस क्षेत्रले सत्य युगमा सागर मथन गर्ने बेलादेखि नै धार्मिक महत्व भने पर्याप्त प्राप्त गरेको किंवदन्ती पाइन्छ ।


पवित्र गोसाइँकुण्ड मेलामा धार्मिक आस्था बोकेर दर्शन गर्न आउने आन्तरिक पर्यटकलाई यस क्षेत्रमा पूर्वाद्र्धदेखि नै सेवा पु¥याउँदै आएका व्यवसायीहरूले विदेशी पर्यटक सरह सेवा शुल्क लिने गरेका छन् । यानेकि विदेशी पर्यटकहरूले यहाँ आउँदा जति सम्मान पाउँछन् त्यति आन्तरिक पर्यटकले पाउने गरेका छैनन् । यहाँ यस्तो पनि हुन्छ कि, विदेशी पर्यटकलाई यहाँका व्यवसायीले विना शुल्क ओछ्यान दिन्छन् र खानामा पनि केही प्रतिशत सहुलियत दिन तयार रहन्छन्, तर स्वदेशी तीर्थालुलाई कस्तो खालको व्यवहार गर्न सक्छन् त्यो त भदौमासको जनैपूर्णिमा मेलामा त्यहाँ पुगेमात्र पुग्छ, सबैखाले व्यवहार सजिलै देख्न पाईन्छ । खासै नियालेर अनुसन्धान गरिरहनु पर्दैन । यस वर्षको गोसाइँकुण्ड मेलामा आउने तीर्थालुले महँगी र असुविधाको निकै गुनासो गरेको पाइएको छ । रसुवा जिल्लाको पहिचान बनाउने गोसाइँकुण्ड मेलामा यस प्रकारको अभिव्यक्ति पाउँदा खासै हामी जिल्लावासी हौं, हाम्रो तीर्थ हो भनेर पहिचान गर्न पनि लाज मर्दो स्थिति रहेको थियो ।

गोसाइँकुण्ड यात्रामा जब यात्रु घरबाट निस्कन्छ, त्यहाँदेखि नै ऊ ठगिने गर्दछ । यात्रा गर्ने बसमा पनि त्यस समयमा भाडा बृद्धि गरिएको हुन्छ । जब मान्छेको चाप बढ्दै जान्छ, तब होटलमा पनि बास तथा भोजन लगायत अत्यावश्यक वस्तुको मूल्य पनि बढ्दै जान्छ । एकातिर वर्षाको समय साँघुरो र खाल्डाखुल्डी डरलाग्दो भीरको बाटोमा बसमा यात्रा गर्दाको सास्ती, अर्कातिर खचाखच यात्रुको चाप बीचको बास नपाएको पीडा, गोसाइँकुण्ड मेलाको सन्दर्भमा सदैव भइराखेको पीडा हो । मेला लाग्नुभन्दा अघिल्लो दिन तीस रूपैयाँ भाडामा यात्रा गरिएको दूरी मेला शुरू भएपछि पचास रूपैयाँँ तिर्नुपर्ने बाध्यता छ । यस्तो प्रकारको बाध्यता कहाँबाट र कसरी मिल्यो त्यो त थाहा पाइएको छ छैन त्यो पनि थाहा छैन । गोसाइँकुण्ड मेलाको मौका पारेर पीडित तथा असहाय आदिले पनि डोरी टाँगेर वा चन्दा बाकस राखेर सहयोग माग्ने गरेका छन् । यात्रा भरको लागि अड्कलेर ल्याइएको खर्च पनि यात्राको मध्यान्तरमा नै सकिएको पीडा पनि तीर्थालुले पोख्ने गरेका छन् ।

जब धुन्चेबाट तेर्सो र उकाली मार्ग पार गर्दै माथिल्ला भू–भागमा पुगिन्छ, तब यात्रीहरू यो वा त्यो दृष्टिबाट ठगिन पुग्छन् । मरमसला र तेल पनि आवश्यक मात्रामा नराखी पाक्ने गरी पनि नपकाइएको चना खान थालियो भने सुरूमा नै तीस रूपैयाँ तिर्नु पर्छ , यो कहाँ पर्ने मूल्य हो ? जुन प्लेटमा पचासदेखि साठीको हाराहारीमा चनाको संख्या पाइन्छ । हामी सबैले तिरेको मूल्य हो एक दाना चनाको मूल्य पचास पैसा मात्र । चिया पिउनको लागि माग्दा न त राम्रोसँग उमालेको पाइन्छ , न त व्यवसायीको शिष्टता छ । चिया पिएर नसकिदै बसेको ठाउँ खाली गर्न त के चियाको कप नै खाली गरिदिनको लागि पनि व्यवसायीले आग्रह गर्न पछि पर्दैनन् । जति माथि उकाली पार गर्दै गइन्छ त्यत्ति नै थकाइ र भोक लाग्दै जान्छ । एउटा दुनोटलाई कति रूपैयाँ तिरेर खान पाइन्छ होला ? दश ? बीस ? पच्चीस ? हैन, पचास मात्र तिरे दुनोट खान पाइन्छ ।

थकाइ र उचाइमा लखतरान हुँदा सँगसँगै बास बस्न नपाएको पीडा झनै दुखदायी पीडा हो । न त यहाँ पाटी पौवा पाइन्छ , न त मैत्रीपूर्ण वातावरणमा मुन्टो घुसार्ने छाप्रो । बल्लबल्ल थर्पु (छाप्रो) मा बस्न पाइयो भने पनि मानिसको चापले गर्दा खुट्टो पसारेर सुत्न पाइदैन । खाना खाए पनि नखाए पनि थर्पुमा बास बसीसकेपछि खानाको मूल्य तिर्नु नै पर्छ, हैन भने जुनसुकै बेलामा पनि थर्पुबाट निस्कनु पर्ने हुन सक्छ । तर एउटा अति नै सह्रानीय कुरो , निजी क्षेत्रबाट बास बस्ने थर्पुको व्यवस्था गरिएको छ । तथापी तीर्थालुले केही राहतको महसुस गर्न पाएका छन् । जे भएपनि यी क्षेत्रका मानिसले केही मात्रामा भएपनि बासको प्रबन्ध मिलाएर ठूलै धर्म कमाएका छन् ।

गोसाइँकुण्ड जाने बाटो पनि त्यत्तिकै अप्ठ्यारो रहेको छ । जाँदा राम्रैसँग गएपनि आउँदा भने अति नै मुस्किलले धुन्चे आइपुग्छन् । गोसाइँकुण्ड परिसरमा केही पाटीहरू बनेका भए पनि अन्य स्थानमा एउटा पाटीपौवा पनि बन्न नसक्नु , अत्यन्त दुःखको कुरा हो । पाटीपौवाहरू नबन्नुमा यहाँ जिल्लाका सरोकारवालाको अल्छीपना वा लाचारीपना प्रष्ट हुन्छ । जतिसुकै विकासका कुरा गरेपनि यस्ता सवाल वा समस्यामा कही कतै पनि अनौपचारिक छलफल समेत हुने गरेको पाइएको छैन । अन्य क्षेत्रमा गोसाइँकुण्ड जस्तो धार्मिक, पर्यटकीय तथा ऐतिहासिक स्थलको जुन खालको प्रचार प्रसार गरिएको छ , त्यत्ति हाम्रो स्थानको प्रवद्र्धन गरिएको पाइएको छैन । गोसाइँकुण्ड आउने जाने पर्यटकलाई हामीले सन्तुष्ट पार्न सक्यौं भने मात्र यहाँ धेरै पर्यटकले भ्रमण गर्नेछन् र हामीले चाहेको पर्यटकीय तथा आर्थिक उन्नती गर्न सहयोग मिल्नेछ । गोसाइँकुण्डमा केबुलकार बन्नुभन्दा पनि पहिला यस स्थानको प्रवद्र्धन हुनु आवश्यक छ, साथसाथै यात्रु बस्ने टहरा पनि ।।।

यो लेख प्रकाशन भएको रसुवा खबरको अंक पाउन तलको लिंकमा क्लिक गर्नुस्

रसुवा खबर, वर्ष१, अंक १ असोज १६ २०६७ शनिवार

Post a Comment

0 Comments