Ad Code

Responsive Advertisement

रसुवाको सन्दर्भ समेटिएको उत्कृष्ट साहित्य सिर्जना 'नीलकण्ठ महिमा'


वर्ष१, अंक ३१, २०६८ साल बैशाख ३१ गते शनिबार, रसुवा खबर 
विकास र परिवर्तनका लागि साहित्यले पुर्याएको योगदान अनुसरहनीय  रहेको हुन्छ । साहित्यको सिर्जना मार्फत कुनैपनि विषयको वर्णन गर्नु साहित्यकारको खुबी र योगदानलाई मापन गर्ने आधार हो । रसुवाको विषयमा लेखिएका साहित्य सिर्जनाको खोजी गर्ने क्रममा डा. सत्यराज थपलियाले लेख्नुभएको 'नीलकण्ठ महिमा' खण्डकाव्य हातमा पर्यो । विसं २०४३ सालमा नै थपलियाले गोसाइँकुण्ड उत्पत्तिको विषयलाई भावानात्मक, धार्मिक दृष्टिकोणले लेखिसक्नुभएको पाइयो ।
हुन त रसुवा वा रसुवामा बसेर रसुवा वा अन्य जिल्लाका साहित्यकारहरूले रसुवाको विषयमा धेरै लेखेका छैनन् । नीलकण्ठ महिमा सरसरती हेर्दा पाण्डुलिपीकै रूपमा रहेको भएपनि रसुवाको विषयमा सर्वोत्कृष्ट सिर्जना हो ।


विसं २०४३ सालमा नै रचना गरिएको नीलकण्ठ महिमाले कम्प्युटरको रूप पाएको छ तर पुस्तकको रूपमा व्यवस्थित हुन सकेको छैन । हुन त थपलियाले अरू कृति प्रकाशन गर्दा यो कृतिलाई भने पाण्डुलिपीको रूपबाट कम्प्युटरमा मात्र सिमित राख्नु पछाडि धेरै समस्याहरू छन् होला ।
सत्ययुगमा देवता र दानव मिली सागर मथन गर्ने अवस्था कसरी सिर्जना भयो र महादेवले कालकूट विष निल्दाको डाहबाट गोसाइँकुण्डको उदय भएको पौराणिक कथनलाई अत्यन्त सरल, मीठो र विवेचनात्मक रूपमा प्रस्तुत नीलकण्ठ महिमा साहित्य संरक्षणको एक कोशेढुङ्गा बन्न सक्दछ 
'द्यौता दानवका निकै दुःख पर्यो भन्ने सुनी प्रार्थना  
खाएथे विष कालकूट जसले यो विश्व रक्षार्थमा ।
त्यस्ता दक्ष, दयावतार भगवान् श्रीशम्भुका पाउमा
श्रद्धा, भक्ति, सुभावले, प्रणयले अर्पन्छु सद्वन्दना ।।

यसरी सुरू भएको छ नीलकण्ठ महिमा । बलि राजा स्वर्गका इन्द्र हुँदा यो ब्रम्हाण्ड क्षीर समुन्द्रमा डुबेर प्रलय भएको थियो । देवता र दानव विचल्लीमा परी लोकको रक्षाका लागि विष्णुसँग प्रार्थना गर्दा विष्णुले उपाय आफैं खोज्नुपर्छ,  अर्काको भर पर्नु हुन्न भनी भनेको कुरालाई कवितामा अत्यन्त रोचक र सरल शैलीमा प्रस्तुत गरिएको छ । विष्णुले देवेन्द्रलाई सुनाएको मुसा र सर्पको कथालाई साहित्यकारले  वर्णन  गर्नुभएको छ । किसानको घरमा रहेको बन्द सन्दुसमा एउटा सर्प परेको र निस्कन नसकी भोकै अत्तालिरहेको अवस्थामा एक मुसा पाउँछ उसले । मुसासँग भेट भएको अवस्थामा खानका निम्ति झम्टेको र खानुभन्दा बाहिर निस्कने उपाय खोज्नुलाई र्सपको बुद्धिमानीको रूपमा रहेको कथनलाई थपलियाले विवेचनात्मक तवरले व्याख्या गर्नुभएको पाइन्छ ।

अर्जी आज म गर्छु यो चरणमा यौटा कुरा हे मुसा
सुन्नोस् ध्यान दिँदै तपाइँसँग नै गाँसें स्वयं मित्रता ।
मेरो मीत हजुरनै हुनुभयो दुःखीछु ज्यादै म ता
काटी सन्दुस दाँतले अब छिट्टै पार्नोस् दुलो एउटा ।।

सर्प र मुसा एका अर्काका शत्रु हुन् । कविताका आधारमा र्सपको चतुर्याइँ बाहिर निस्कनको लागि देखिन्छ । र्सपले मुसालाई एक्कासी खान्छु भनी सम्झँदा सम्झँदै बाहिर निक्लनुलाई नै प्राथमिकता दिँदै मुसालाई मीतको साइनो लगाउँछ र सन्दुसमा बाहिर निस्कनको लागि प्वाल पारिदिन निवेदन गर्दछ । र्सपको कुरा सुनेर मुसा थर्थर काम्दै सर्प र मुसाको मित्रता हुन नसक्ने कुरा बताउँछ । हित्तचित्त मिलेमात्र विश्वास गर्न सकिने बताउँदै मुसाले प्वाल पार्न अर्समथता व्यक्त गर्दै गर्दा विश्वास दिलाउनको लागि र्सपले धेरै फुँदा गाँसेर मुसा मार्नु र पुत्र मार्नु एकै सम्झेको बताउँदै मुसाको शरणमा पर्दछ । धर्म र नीतिका कुरा बताउँदै मुसालाई विश्वास दिन्छ र मुसाले सन्दुस प्वाल पार्छ तथा दुबै बाहिर निस्कन्छन् । बाहिर निस्कनासाथ र्सपले मुसालाई निल्छ ।  विष्णु र इन्द्र बीच भएको वार्तालाप अनुसार सर्पले मुसालाई  निलेको कुरा साहित्यकारले निम्नानुसार वर्णन गर्नुहुन्छ ।

भोको सर्प थियो अनेक दिनको देखी नजिकै मुसो
सम्झन्थ्यो किन दुष्टले गुन - कठै ! झम्टी सलक्कै निल्यो ।
यस्तै हो बुझ राजनीति मुखले छोडी स्वयं गौरव
आफैं कार्य निमित्त शत्रुसँग नै झुक्नु स्वयं श्रेय छ ।।

 यस कवितामा देवता र दानव मिली समुद्र मथन गर्नु पर्नेमा विष्णुले जोड दिएका कारण देवता र दानव मिलेर सागर मथन गरेको कुराको सन्देश दिइएको छ । सर्प र मुसाको कथा जोडेर 'शत्रुसँग पनि मिलेर समस्या समाधान गर्न सकिने' सन्देश विष्णुले इन्द्रलाई दिएका हुन् भन्ने कविताको भाव रहेको छ ।

देवता र दानव मिली सागर मथन गर्दा कालकूट विष निस्केको देवता दानव डर्राई शिवजीका शरणमा परेको कथनलाई यसरी वर्णन गरिएको छ ।

लागे मथ्न समुद्र ती असुर औ द्यौता मिली आखिर
प्राणीलाई जलाउने जलधिको पैदा भयो कल्मष ।
निस्केथ्यो जब बालकूट विष त्यो देखेर भै कालय
छोडी मथ्न गए सुरासुर भए कैलाशमा हाजिर ।।

अमृत पिउने आशयले जब सागर मथन गरिएको थियो । तर कालकूट विष निस्केपछि संसार दग्ध गर्न लाग्यो । कालकूट विष निस्केपछि मथनमा लागेका सदस्यहरू भगवान शंकर गुहार्न पुग्छन्, त्यसपछि कालकूट -कल्मष) ले दिएको पीडा र समाधानका लागि अनुरोध गर्दा भगवान शिवले भन्नुभएको कुरालाई कवितामा यसरी बयान गरिएको छ ।

यस्तो आर्त पुकार भक्तगणको सुन्दा स्वयं शंकर
भै सन्तोष भने अनिष्ट विषको केही नलेऊ डर ।
रक्षा यो विषबाट गर्दछु भनी दी शीघ्र आश्वासन
हेरे त्यो विषतर्फ फेरि रिसले आँखा घुमाईकन ।।

यो नीलाञ्जन तुल्य भीष्म विषले बाधा गर्यो लोकको
रक्षा खातिर प्राण नै पनि दिनू यै धर्म हो साधुको ।
भन्दै श्रीशिवले उमासँग स्वयं मागी छिट्टै सम्मति
हातैमा विष त्यो लिए, अनि पिए मुस्काउँदै घट्घटी ।।

जब शिवले लोकको रक्षार्थ विष निल्नुभयो । निल्दामा ननिलिएर घाँटीमा नै अडि्कयो । घाँटीमा अड्केपछि विषले पोलेर भगवान शिवको नीलो डाम बस्यो । त्यही बेलादेखि शिवको नाम नीलकण्ठ भनी रहेको धार्मिक कथन पाइन्छ । भगवान शिव डाहमा नै रहनुभयो र सुरासुर सबै पुःन सागर मथनमा निस्कन्छन् । सागर मथन गर्दैगर्दा विभिन्न चौध रत्न निस्केको र सबैले बाँडीलिएका तर अमृत निस्केपछि देवताले मात्र खाएको कथनलाई यसरी प्रस्तुत गरिएको छ ।

लागे मथ्न समुद्र फेरि बलको बेजोड संर्घषले
थाले निस्कन चौध रत्न कतिले ती चीज बाँडीलिए ।
निस्क्यो आखिरमा सुधा हरि स्वयं भै मोहिनी आखिर
द्यौतालाई दिए अहो ! असुर ती सारा भए बञ्चित ।।
क्रमश : ..... 
 
    

Post a Comment

0 Comments