Ad Code

Responsive Advertisement

जनता बैंकले ६० करोड बराबरको शेयर वितरण गर्दैछ


रसुवा खबर साप्ताहिक वर्ष २ अंक ३५ बैशाख २०६९, ९ गते
उदय श्रेष्ठ नेपाली, अध्यक्ष, जनता बैंक नेपाल लिमिटेड
जीवनको लामो समय सरकारी सेवामा सुम्पेका उदय नेपाली श्रेष्ठ नेपालको वित्तीय क्षेत्रमा परिचित नाम हो । वि सं २००७ सालमा धनकुटा जिल्लाको अर्खौली गाविस -३ मा जन्मनुभएको श्रेष्ठले एमए, एमकम र एलएलविसम्मको शिक्षा हासिल गर्नुभएको छ । जनता बैंक नेपाल लिमिटेडका अध्यक्ष समेत रहेका श्रेष्ठ भ्रमणको क्रममा रसुवा आउनुभएको बेलामा रसुवा खबरका विश्वास नेपालीले जनता बैंकको सेरोफेरोमा रहेर कुराकानी गरेका छन् । प्रस्तुत छ अध्यक्ष श्रेष्ठसँग भएको कुराकानीको सार संक्षेप :

जनता बैंक उदयको विषयमा केही बताइदिनुस् न ?

जनता बैंक जसरी नाम राखिएको छ त्यसैगरि यो जनताहरूको आफ्नै बैंक हो । सुरूवातको समयमा थोरै व्यक्तिरूले पैसा जुटाएर स्थापना गरिएको हो । तर यसो भएपनि यस बैंकमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जनताहरू आवद्ध हुन सक्छन् वा थोरै लगानीमा पनि आवद्ध भइरहेका छन् । आफुले जो सकेको लगानी गरेर पनि यस बैंकमा आवद्ध हुन सक्छन्, र यसमा हाम्रो सुरूवातको अभ्यास पनि यही हो । हामीले सुरूमा ८ सय ३६ जना संस्थापकहरूबाट जनता बैंकको सुरूवात गरेको हौँ । सानो प्रयत्न भने पनि सम्भवतः ठूलो संस्थापक भएको बैंक भनेको यो पहिलो हुनुपर्छ । हामीले यो बैंक २०६६ साल चैतको २३ गतेदेखि सुरू गरेका हौँ । अहिले यसले व्यापक रूप लिइसक्यो भन्दा फरक नपर्ला, हामी देशभरि २४ वटा शाखामार्फत जनताहरूको घरदैलोमा सेवा प्रवाह गरिरहेका छौँ ।


जनता बैंकबाट आम जनताहरूले के अपेक्षा गर्न सक्छन् ?

नेपालका अरू बैंक जस्तो यो जनता बैंक सहरमूखी मात्र हुँदैनन्, तपाई आम जनताहरूको सेवाको लागि हामीले यो बैंकको सुरूवात गरेका हौँ । जतिसक्दो हामी ग्रामीण स्तरमा बस्ने जनताहरूलाई सेवा दिन्छौँ । यसमा जनताहरूले अपेक्षा गर्ने भनेको के हो भने, जनता बैंक जनताको सेवाको लागि स्थापना भएकोले सतप्रतिशत जनसेवा नै यसको मुख्य लक्ष्य हो । यसमा जनताहरू खुसी हुनुपर्छ भन्ने हो । सम्पूर्ण नेपाली जनताहरू बैंकको साथी बनिदिनुहोस् । जनताहरूले लगानी गरेर होस् या बैंकमा रकम डिपोजिट गरेर होस् तपाई जनताहरूले फाइदा लिन सक्नुहुनेछ । यसै कारण पनि हामीले अब तत्कालै जनताहरूको लागि शेयर निष्कासन गर्दैछौ ।

जनता बैंकबाट प्रवाह हुने सेवाहरूको बारेमा प्रष्ट पारिदिनु होस् न ?

जनता बैंक भनेको विकास बैंक होइन । यो कमर्सियल बैंक हो । यसले विदेशी मुद्रा सटही गर्ने, ग्रामीण विकासको लागि माइक्रो फाइनान्स -लघु वित्त) मार्फ जनताहरूलाई सेवा दिने, साना साना गाउँको उद्योग व्यवसायदेखि लिएर ठूला ठूला उद्योगहरू, हलोदेखि हाइड्रोपावरसम्म निर्माण गर्नको लागि ऋण प्रवाह गर्ने, त्यसको सहजीकरण तथा सरलीकरण गर्ने जस्ता सेवा प्रवाह गर्ने यसको प्रमुख कार्य हो ।

जनता बैंकको सुरूवातको पूजीँगत अवस्था र हालको अवस्था के छ, केही बताइदिनुहुन्छ ?

जनता बैंक सुरू गर्ने बेलामा हामीले १ अवर ४० करोड रूपैयाँ जम्मा गरेर सुरूवात गरेका थियाँै । अव यस आ.व.बाट ६० करोड रूपैयाँ थप गर्दैछौँ । यो भनेको शेयर वितरणको हो । हाम्रो सोँच भनेको यो असार मसान्तसम्ममा २ अरव रूपैंयाँ चुक्ता पूँर्जी पुर्याउने लक्ष्य हो । र फाइदाको कुरा गर्नुपर्दा अघिल्लो वर्षको जनता बैंकको नाफा भनेको करिव १३ करोड रूपैयाँ हो । छोटो समय हामी नाफामा जान सफल जान सकेका छौ । यस पटक नाफा बढाउने प्रयासमा छौ ।

नीजि बैंकहरू डुब्दै गएका छन् भन्ने सुनिन्छ नि ! यस्तो अवस्थामा जनताले बैंकलाई कसरी विश्वास गर्न सकिन्छ ?

बैंकहरू डुबेका छन्, यसमा मानिसहरूमा खराबीको कारणले गर्दा यसो भएको हो । ती डुबेका बैंकमा नीति नियम र शासन प्रणाली राम्रो नभएर हो । सुशासन र उत्तरदायित्व बोध नभएकाहरूको बैंक डुबेको हो । हामीसँग जनताहरू डराउनुपर्ने अवस्था छैन् । हामीलाई राष्ट्र बैंकले एउटा नीतिमा राखेको छ । हाम्रो संस्थागत नीति पनि स्पष्ट छ । हामी राष्ट्र बैंकसँग दोहोरो सर्म्पर्कमा छौं । हाम्रो कार्यको विषयमा बुझ्न राष्ट्र बैंक नियमित आइरहेको छ । खराव सञ्चालक भएकाहरूको बैंक डुब्ने हो । हामीले सबैलाई बैंकको स्वामित्व दिएका छौँ । हामीमा व्यक्तिवादी हाबी छैन । सबैको समान हैसियतले हामीले बैंकलाई चलाइराखेका छौँ । हामी व्यवसायिक मानिसहरू यसमा आवद्ध छौ, हामी सुशासनमा ध्यान दिन्छौ, त्यसैले हामीले अझ जनताहरूलाई यस बैंकप्रति जिम्मेवार बनाउन खोज्दैछ । यसमा शंका गर्नुपर्ने ठाउँ त म देख्दिन । र जनताहरूले जनता बैंकलाई आफ्नो बैकं हो भनेर जिम्मा लिन पनि म आग्रह गर्दछु, त्यसमा जन विश्वास आफै सिर्जना हुन्छ ।

चिलिमेको शेयर खरिदमा रसुवाली जनताहरूलाई लगानी गर्नको लागि जनता बैंकले सहयोग गर्यो, त्यसलाई रसुवाली जनताले आफ्नो शौभाग्य ठानेका छन्, ऋण लिएको पनि करिव डेढ वर्षपुग्न्न लाग्यो अब कहिलेसम्ममा जनताहरूले ऋण तिर्न पाउँछन् त ?

चिलिमे र हाम्रो केही सम्झौता हो । यदि जनतालाई चिलिमेले शेयर दिन्छ भने हामी जोखिम मोलेर भएपनि लगानी गर्न तयार भएका हौँ । स्थानीय जनताहरूलाई चिलिमेले मालिक बनाउन चाहन्छ भने हामी किन लगानी नगरिदिने त ? जनता बैंक पनि ग्रामीणवासीहरूको बृहत्तर हित गर्नको लागि स्थापना भएको बैंक हो, त्यही भएर हामी लगानी गर्न तयार भएका हौँँ । चिलिमेको शेयर अहिले पनि ६ दोब्वरले बढिरहेको छ । यसबाट पक्कैपनि रसुवाली जनतालाई फाइदा पुगेको छ । र अब ऋण तिर्ने कुरामा चाहिँ हामीले पहिले नै करारनामा गराएर नै ऋण दिएका हौँ । ५ वर्षभत्रमा तिरी सक्नुपर्नेछ भनेर जनताहरूलाई ऋण दिएका हौँ । तर यसमा करिव डेढ वर्षपुग्न लागेको हुँदा जनताहरूले तिर्न चाहन्छन भने पनि अब उहाँहरूले तिर्न सक्नुहुनेछ ।

जनता बैंकले कहिलेदेखि शेयर निष्कासन गर्दैछ ?

चुक्ता पूजीँ २ अरब पुर्याउनको जनता बैंकले ६० करोड बराबरको शेयर वितरण गर्दैछ । यसमा प्रत्यक्ष रूपमा जनताहरूले पनि खरिद गर्न पाउनुहुनेछ । हामी कसैलाई पनि नदिने भन्दैनौँ । देशभरि सबै मानिसहरूले किन्न सकुन् भन्ने हेतुले बेच्न खोज्दैछौँ। पहिले अरू बैंकले दिँदैनथे तर हामी दिन्छौँ । जनता बैंकको शेयर समानुपातिक हिसावले बाँड्ने हो, यसमा चिठ्ठा प्रणाली जस्तो हुँदैन । शेयर भर्नेहरूले समानुपातिक हिसावले पाउँछन् । अव समयको कुरा गर्नुपर्दा यही २०६९ सालको बैशाख १७ गतेदेखि जनता बैंकको शेयर निष्कासन हुँदैछ । सबै जनताहरूले शेयर खरिद गर्नुहोला, र जनता बैंकको हिस्सेदार बन्नुहोला भन्ने आग्रह समेत यही रसुवा खबर साप्ताहिक मार्फ पनि गर्दछु । शेयर बिक्रीको समयवधि बैशाख २१ गतेभित्र बन्द पनि भइसक्छ । र आवश्यकता परेमा पछि खोल्न पनि सकिन्छ ।

जनता बैंकको शेयर खरिद गर्न काठमाडौ नै जानुपर्ने हो ?

होइन, जनता बैंकको शेयर खरिद गर्नको लागि देशभरिका हाम्रो शाखा मार्फ शेयर खरिदको फारम भर्न सकिनेछ भने नुवाकोटको हकमा हाम्रो विकास बंैक मार्फ त्यो व्यवस्था मिलाइएको छ । काठमाडौसम्म दुःख गरेर फाराम भर्नुपर्ने अवस्था हुँदैन । रसुवाली जनताहरूले जनता बैंकको धुन्चे शाखाबाट फारम भर्न सक्नुहुनेछ ।

रसुवाको कालिकास्थानमा जनता बैंक खोल्नको लागि धेरै जनताहरूले माग राखेका छन्, र त्यहाँ आवश्यकता पनि छ, कहिलेसम्ममा कालिकास्थानमा जनता बैँक स्थापना हुन्छ ?

बैंक नाफा मूलक संस्था हो । हामी घाटा खाने ठाउँमा कतै पनि जादैनौँ । हामी कालिकास्थानमा एक अध्ययन नगरी जान सक्दैनौँ । पहिले पहिले त्यहाँका जनताहरूले मौखिक रूपमा मात्र माग राखेका थिए तर अब भने लिखित रूपमा समेत माग आउन थालेको छ । अब यसपछि हामी एक अध्ययन गर्र्छौं । अनि मात्र हामी त्यसको विषयमा निर्णय गर्नसक्छौँ । यो वर्षत हामी बैंक स्थापना गर्न सक्दैनौँ । तर पनि बैंक प्रति यस क्षेत्रका मानिसहरू कटिवद्ध हुन्छन् भने, आफ्ना कारोवार बैँक मार्फत गर्न तयार हुन्छन भने, बैंकमा पैसा राख्न सक्नुहुन्छ, बैंकबाट ऋण लिन सक्नुहुन्छ भने हामी त्यसमा सकारात्मक छौँ । आगामी आर्थिक वर्षो पहिलो प्राथमिकतामा हामी यो बैँकलाई राख्नेछौँ । सकेसम्म हामी जनताहरूको मागलाई सम्बोधन गर्ने प्रयास गर्नेछौँ ।

सामाजिक सेवाको काम पनि गर्न थालेको हो ?

हो, अब हामी सामाजिक सेवाको काम पनि गर्र्छौं । रसुवा जिल्लाको कालिका हिमालय उच्च माविको विज्ञान संकाय सञ्चालन गर्नको लागि केही सहयोग प्रदान गरिएको छ । यो हाम्रो बैंक स्थापना पछिको पहिलो सहयोगमूलक कार्य हो । हामीले पनि केही सामाजिक दायित्वका कामहरू गर्नुपर्ने हुन्छ, त्यही सामाजिक उत्तरदायित्व अनुरूप यस्तो सहयोगमूलक कार्य गरिएको हो । यहाँको विद्यार्थीहरूको भविष्य उज्ज्वल पार्न, विद्यालय सञ्चालन गर्नको लागि हाम्रो सानो सहयोगले पनि महत्वपूर्ण भूमिका खेल्छ भने किन नगर्ने त भनेर हामीले यो सहयोग गरेका हो । आगामी दिनमा पनि यस्तो सहयोग निरन्तर रहनेछ ।

अन्तमा रसुवा खबर साप्ताहिक मार्फ केही भन्न चाहनुहुन्छ ?

रसुवा भनेको धेरै विकट होला भन्ने लागेको थियो तर अहिले बाटो बनेछ खुसी लागेको छ । यस जिल्लामा धेरै सम्भावना मैले देखेँ । त्यसमा रसुवाली जनताहरूको ध्यान जानुपर्दछ । रसुवाली जनताको लागि हामीले बैंक स्थापना गरेका छौँ, अब कालिकास्थानमा पनि बैँक माग भएको छ, तपाईहरूलाई बैंकले जुनकुनै बेला पनि ऋण उपलब्ध गराउन तयार छ, हामी लगानी गछौ, व्यवसाय सुरू गर्नुहोस, खाली विदेश जाने मात्र होइन, आफ्ना स्रोतहरूको पनि परिचालन गर्न सिक्नुहोस्, तपाईहरूले सुरू नगरे कसले गर्छ ? र रसुवाली जनताहरूले जनता बैंकलाई गरेको मायाको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु ।

Post a Comment

0 Comments