Ad Code

Responsive Advertisement

दुध पिएर सर्पले अमृत पार्दैन, किनकि उसको विशेषता विषसँग छ

रसुवा खबर वर्ष १, ४० 


दोषैलाइ गराइ सद्गुण सखे ! बोल्छन् गतीला जन
अर्काका गुणलाइ दूषित गरी फैलाउँछन् दुर्जन 
नूनीलो जल मेघले लगि मिठो पारेर बर्साउँछन्
आलो दूध पिएर सर्पहरूले साक्षात् विषै पार्दछन् ।।

 सिसाकलम चलाउन नजान्दै मुख चलाउन जानिन्छ । बाह्रखरी हेरेर सानो उमेरमा सबैले स्वर मिलाउँदै 'राम्रो म' भनेर भन्न पनि सिकिएकै हो । अरु जतिसुकै गुणवान भएपनि राम्रो नदेख्ने र आफू जतिसुकै नराम्रो छु भनेर भित्री मनमा थाहा हुँदाहुँदै पनि राम्रो छु भन्ने प्रवृत्ति मानव जीवनको एक संस्कार हो । रसुवाका मिसन पत्रिकाका कोरमे पत्रकारहरूलाई पनि यस्तो लाग्नु स्वभाविक हो ।
अरुलाई 'घोरमुखा थ' देख्ने र आफूलाई महान् छु भनेर फुलेर अहम्ता देखाउने मानव जाति माथि उदाहरणस्वरूप उल्लेख गरिएको गुणरत्नको कविता जस्तै आफ्नो दोष गुणमा रूपान्तरण गर्दै गतिलो बन्ने र अरुको गुणलाई दुषित गरी आफैं दुर्जन बनिरहेको हुन्छ । समाजका सबै पात्रहरूमा यो लागू हुँदैन । आफूले जति राम्रो काम गरे पनि सानो सम्झने वा आफुले आफैंलाई मपाइँ नभन्ने सत्चरित्रका मानवहरू पनि पाइन्छन् । कविताको दोस्रो श्लोकमा जस्तै सागरको नुनिलो पानीलाई संशोधन गरेर मिठो र गुणकारी बनाउँदै जगत हितका लागि वर्षा गराउने मेघ जस्तै समाजमा पवित्र चिन्तनका मान्छे पनि हुन्छन् ।

मान्छेले आफैंलाई ढाँटेर वा आफूले चोर्दा चोर्दै पनि बाहिरी मुखले चोरिन भन्न तल्लीन हुन्छ । तर भित्री मनमा मैले चोरें नी भन्दै स्वीकारी रहेको हुन्छ । सागरको नुनीलो पानी मेघले लगेर वर्षा गराउँदा गुणकारी नै हुन्छ । ताकि उक्त वर्षा नभए मान्छेको जीवनको त के यो ब्रम्हाण्डको नै कल्पना गर्न सकिन्न । यानेकि त्यहाँ पारुष्य स्वभावको मान्छेले राम्रो म भन्दै वा दुशासनको अनुयायीले युधिष्ठिर सरह छु भनेर आफूलाई परिभाषित गर्न  नै पाउँदैन ।

कवितामा सर्प दुधका कुरा पनि छन् । दुधको महत्व मानव जीवनका लागि अपरिहार्य नै हो । त्यस्तो अत्यन्त महत्वको दुधलाई र्सपले पियो भने अमृत कदापी बन्दैन, किनकि र्सपसँग विषको विशेषता छ । चाहे उसले अमृतै पिए पनि उसँग विष नै हुन्छ । त्यस्तै मानवमा पनि जस्तो विशेषता छ उसले त्यस्तै आचरण देखाउँछ । त्यसमा कुनै अन्यथा मान्नु पर्दैन ।

सर्न्दर्भ जोड्न मन लाग्यो तातेताते गर्दै रहेको रसुवाको पत्रकारिताको । व्यवसायिक पत्रकारिता रसुवामा कल्पना मात्र हो कि भन्ने जस्तो देखिएको छ । विकट जिल्लामा पत्रकारिताको विकासको सम्भावना ज्यादै कम छ । अझ आजभोलि त पत्रिका सदरमुकामसम्म पनि पुग्न कठिन छ । यी विविध समस्याको माझमा विभिन्न विशेषता बोकेका पत्रकारहरू पत्रकारिताको क्षेत्रमा देखिएका छन् ।
रसुवामा तीन किसिमका पत्रकारहरू छन् । एउटा रहरले पत्रकारिता गर्ने, अर्को व्यवसायिक भए जीवन चल्छ भनी ठान्ने र अर्को विभिन्न पेशामा संलग्न रही जिम्मेवारी बिर्सेर आफ्नो स्वार्थ पुरा गर्न र उदाउँदै गरेको पत्रकारिताको असली स्वरूपलाई लङ्गडो बनाउनको लागि पत्रकार बनेर हिडिरहेका छन् । उनीहरूले अरु पत्रकारहरूलाई साम्राज्यवाद सम्झन्छन्, नेपाली नागरिकलाई उस्तै परे अमेरिकन हो भन्न पनि पछि पर्दैनन्  । सर्पसँग विष हुन्छ भने जस्तै उनीहरूसँग यस्तो बोल्ने कला हुन्छ नै ।
बाँदरले आफ्नो घर पनि बनाउँदैन र अरुको पनि भत्काउँछ भनेर प्राचीन बुढापाकाले भन्ने गरेका छन् । त्यस्तै रसुवाका केहीखाले पत्रकारहरूले आफु मिसन पत्रकारिता बाहेक जनताको वा समसामयिक विषयमा कलम चलाउँदैनन् र अरुले पनि त्यस्तै गर्न पर्छ वा व्यवसायिक र र्सार्वजनिक पत्रकारिता गर्न हुँदैन भन्छन् । एउटा  मात्र पार्टीको  पक्षमा मिसन पत्रकारिता गर्दै तीन करोड नेपालीको भावनालाई समेटेर पत्रकारिता गरेको छु भन्छ र अरुले गरेको पत्रकारितालाई निर्देशित पत्रकारिता भनेर चिन्ह लगाउँछ, उसको डायरीमा । तर उसले पाएको जिम्मेवारी के हो भनेर कहिल्यै ख्याल गर्दैन । अरुले गरेका कुनै पनि काम नराम्रो भनेर उ भनिरहन्छ । तर साना बालबालिकाको भविष्यप्रति  आफूले लात मारेको कहिल्यै सोच्दैन । अझ आफूलाई विश्वम्भरसरह ठान्दै क्रान्तिकारीको नाइके पनि हुँ भन्छ । आफूलाई धेरै संगठनको विद्वच्छिरोमणि ठान्दै राज्यको सेवा र सुविधामा राज रही सामाजिक संस्थाकोसहित व्यवस्थापन गर्छु भन्दै लाखौंको वजेट विदग्ध गरिरहेको छ ।

एनजीओ र आइएनजीओ भनेर रातोदिन सराप्दै एनजीओमा काम गर्नेलाई लुटेरा देख्छ उसले किनकि कालो कर्तुतसँग अश्लिष्ट कालो चस्माले सत्यतालाई लुकाउँछ । तर एनजीओ वा आइएनजीओमा आफ्ना अगलेबगलेहरूलाई जागिरे बनाउन नपाए कार्यालय प्रमुखलाई जिल्ला प्रवेशमा निषेध गर्ने पनि उनीहरूकै संयन्त्रबाट भइरहेको हामीले पाएका छौं । अरुले काम गरेको देखेर थुर्पीमा पानी तताएर मर्न खोज्नेले एनजीओ/आइएनजीओबाट अनाहकमा रकम असुलेर रातारात धनी बन्न खोजिरहेको छ । सायद चाँडै नै चिल्ला भ्यानमा दादागिरी देखाउँदै सयर गर्न लालायित छ ऊ । अरुलाई एनजीओको डलर भनेर चिनाउनेले राज्यले दिएको जिम्मेवारी पुरा नगरी तलब खाने र एकातिरको जिम्मेवारीबाट नपन्छिकन विविध बाहानामा अरु संयन्त्रमा  जागिरे हुने र करौंडोको बिटाले आफूलाई लिउन लगाउने प्रबृत्तिमा छ । भन्ने बेलामा जनताका लागि लडेको भन्ने अनि हज्जारौं बेरोजगारीको समस्यालाई थाँती राखेर जता पनि आफैं मालिक बन्ने  जगन्नियता पुकारिरहेको छ ।

अरुलाई कपोलकथित आरोप लगाएर आफू साधु बन्ने, नाम नसुनेको/नचिनेको पत्रकारको बाइलाइन समाचार लेखेर अदालती अधिवक्तासरहको भूमिका निर्वाह गर्न पनि उनीहरू पछि पर्दैनन् । जुन घटनामा संलग्न नै नभएको व्यक्तिलाई घटनाको दोषी -अभियुक्त) भनेर मिसन पत्रिकामार्फ फैसला गर्ने हर्कत बोकेका यी पत्रकारहरू 'ठीक कुरो नबुझी अन्दाजको भरमा निराधार बुद्धि लडाउने' वा डेढ अक्कली -लालबुझक्कड) हरू हुन् । उनीहरूले रसुवाको पत्रकारिता क्षेत्रलाई नै लङ्गडो बनाउन हरदम प्रयत्नमा छन् । आफू बाँदर जस्तो छु कि भनी ऐनामा नहेरी आफ्नो संज्ञा अरुलाई दिन ऊ खप्पिस छ ।

-आफ्नो गुण सबैमा हुन्छ । कोहीमा कुनै प्रकारको त कोहीमा कुनै प्रकारको । हरेक मानवमा छुट्टाछुट्टै गुण र विशेषता हुन्छन् । सोही अनुसार मानव आफ्नै विशेषता देखाउन तल्लीन रहन्छ । विशेषताभन्दा फरक गुण उसमा हुँदैन ।

फलफूलमा आ-आफ्नै प्रकारका रसले भरिएका हुन्छन् । फरक त्यति हो, कसैमा अमृतरूपी रसहरू हुन्छन् त कुनैमा कल्मषहरू हुन्छन् । कुनै फलका रस खाएमा शरीरमा स्फूर्ति पैदा गर्दछ त कुनै फलका रसले मानवको देह समाप्त हुन्छ । देह समाप्त हुने रस दिने फलले कहिल्यै पनि अमृतरूपी रस प्रदान गर्दैन ।

मानवमा पनि स्वगुणहरू हुन्छन् । कसैमा सकारात्मक गुण त कुनैमा सच्याउनु पर्ने गुणहरू हुन्छन् । आफ्नो विशेषता अनुसारको गुण उसले देखाउँदा त्यसमा आत्तिनु पर्दैन । रसुवा खबर साप्ताहिकमा प्रकाशित सामग्री के कस्ता रहेका छन्, त्यो पढ्नेले मात्र बुझछन् । जो पत्रिका लगातार निस्क्यो भनेर निस्सासिन्छ, त्यसले त नराम्रो नै देख्ने हुन्छ । त्यसमा पनि आत्तिनु पर्दैन ।  

Post a Comment

0 Comments