Ad Code

Responsive Advertisement

त्रिशूलीको चिठी वागमतीलाई


मिति : २०६८ मंसीर ७ गते
आदरणीय दिदी वागमती,
मीठो सम्झना ।

म यहाँ आरामै छु । तपाइँले पठाउनु भएको चिठी मैले पाएँ । लामो समय पछि सम्झनु भएछ । मनमा केही हर्षर विष्मात लिएर यो जिन्दगी बिताइरहेको छु । तपाइँले भने जस्तै परापूर्वकालदेखि आफ्नो स्वरूप कायम गर्दै जीवात्माको बैतरणी सरह भएर बगिरहेको छु । तर लामो समयदेखि तपाइँ र उपत्यकाका धेरै बुद्धिजिवीहरूको नजरमा बहन नसकेका दिदीहरूको स्वरूप विरूप हुँदा म पनि विचलित भइरहेको छु ।

तर जे होस् तपाइँहरूको सत्य रूप मानवले कल्पना गर्न नसक्ने भए पनि ठूलादेखि सानासम्मको देहत्याग तपाइँहरूकै किनारमा भएको छ । यसमा तपाइँहरूले पनि गर्व गर्नु पर्दछ ।  तपाइँहरूको वक्षस्थलमा मानवले जानेर वा नजानेर गरेको फोहोरले तपाइँहरूको स्वरूपमा विखलन त ल्याएको छ तर त्योभन्दा बढी वातावरण प्रदुषित भई रोगव्याधीले मानवलाई पनि ठूलो असर पुर्याएको छ । आज देशका कुना कन्दारामा विकास वा वातावरण संरक्षणका लागि काम भइरहेका छन् तर राज्यको मुटुमा किन मानव चेतना जागरण हुन सकेन - यो प्रश्न मेरो तर्फाट सम्पूर्ण मानव जगतलाई गर्न चाहन्छु ।

देशमा धेरै परिवर्तन आए । वि.सं २००७ देखि हालसम्म  परिवर्तनका निमित्त गरिएका विभिन्न आन्दोलनहरूले राज्य सत्तामा कसलाई पुर्याउने भन्ने मात्र उपलब्धिहरू भए । ठूला साना विदेशी तथा स्वदेशी संघसंस्थाहरूले कहिले कर्णाली जस्तो सुदूर पश्चिममा त कहिले दुर्गम  जिल्लाका नाममा धेरै बस्तीहरूमा उज्यालो कार्यक्रमहरू ल्याए, तर कार्यक्रम ल्याउनलाई उपर्युक्त कर्मथलो बनाएका राजधानीका गल्लीमा तिनै मानवका व्यवहारले भएको नकरात्मक परिवर्तनलाई कसैले ध्यान दिन सकेकन् । केही समय अघिदेखि वागमती संरक्षण कार्यक्रम आउने हल्ला पनि मैले सुनेको थिएँ, तर आज त्यो कार्यक्रम कहाँ पुग्यो ? त्यसको कुनै मालुम छैन ।

म पनि यहाँ केही कुराहरूमा असन्तुष्ठ छु । हुन त नेपाल राज्यमा मैले सोचेको प्रविधि आउनको लागि हजारौं वर्षलाग्ला । मानव देह डढाउने निहुँमा भएको प्रदुषणलाई निर्मूल गर्न धेरै दिन लाग्छ मलाई । गाउँगाउँबाट आएका लाशलाई राम्रोसँग नडर्ढाई मेरो किनारमा फाल्नाले प्रदुषण फैलिरहेको छ । विदेशका मुलुकमा पनि राम्ररी नभित्रिएको लाश जलाउने विद्युतीय प्रविधिको यहाँ कल्पना पनि गर्न सकिन्न । आफू राम्रा महलमा बस्ने अनि दगुर्दै आएर मेरो किनारमा दिशापिशाव गर्ने मानवको व्यवहार आज एक्काइसौं शताब्दिको संघारमा पनि सुध्रन सकेको छैन । कहिले यज्ञ लगाउने निहुँमा मेरो किनारमा फोहोर गरी पुण्य कमाउन खोज्नेहरू पनि धेरै छन् । केही वर्षअघि वर्खामा राम्चेलगायतका पहिरोबाट मेरो वक्षमा बज्रन आएका मानवहरूलाई सम्झदा त्यस्तो दिन पुःन नदोहोरियोस् भन्ने कामना गरिरहेको छु । 

दिदी, परापूर्वकालमा जसरी उत्पन्न हुनुभएको थियो, तर आज तपाई मानव महलबाट प्रदुषित भएर बहनुमा तपाईको दोष छैन । बरु मानव देह पुण्यमा परिचित तपाईको मार्गमा शौचालय तथा ढल मिसाउन हुन्न भन्ने कुरा मानवले पनि बुझनु पर्दछ  । तर त्यहाँको समस्या समाधान गर्नको लागि निकै समय लाग्न सक्छ । जसरी फोहोरका गुजुल्टाहरूमा अल्झिएर तपाईंहरू हराइरहनु भएको छ । त्यसरी नै  तपाईंहरूको वेगले ती फोहोरहरूलाई हुत्याउन सक्ने क्षमता कायम हुन आवश्यक छ । यदि तपाईंहरूको वेग ती फोहोर हुत्याउन सक्ने भएमा फेरि मानवका महल तथा बस्ती नै हुत्तिन सक्छन् । तर त्यस्तो समय आउन नदिन पहिलो उपाय भनेको फाल्नुपर्ने वा जीवनभर प्रयोग गर्न नसकिने बस्तुको प्रयोग नगर्ने, दोस्रो अबदेखि त्यस्ता फोहोरहरू नफाल्ने र तेस्रोमा फालिएका फोहोरलाई पुनर्स्थापना गर्ने । यी तीन विषयलाई ध्यान दिन सके स्वरूप कायम हुन नसके पनि वा सानै स्वरूपमा भएपनि निर्मल र सफा भएर बग्न पाईन्छ कि भन्ने हो । यसको लागि हामी टाढा रहेका शुभचिन्तकहरूले कामना गर्नै पर्दछ ।

मैले कहिलेकाही खबरहरू सुन्ने गर्दछु 'फोहोर व्यवस्थापन गरी कम्पोष्ट मल बनाएको ।' नेपाली भूमिमा विदेशी मुलुकबाट आएका रासायनिक मल पर्याप्त नभएर किसानहरू लाठीमुरी गरेको पनि खबरहरू सुन्ने गर्दछु । तर तपाईंहरूको किनारमा फालिएका फोहोरहरूलाई पनि संकलन गरी नेपाली प्रविधिबाट मल बनाएर प्रयोग गर्नेतिर मानवका ध्यान किन जादैनन् - फेरि तपाईंहरूको किनारमा पुग्दा आउने दुर्गन्धलाई कैद गरी ग्यास उत्पादन गर्न सकिने पनि होला । नेपाललाई स्वीट्जरल्याण्ड बनाउने भन्ने नेताहरूका भाषण काममा केन्द्रीत हुन सक्नु पर्दछ । तर कुरा मात्र गर्ने, व्यवहारमा सिन्को नभाँच्ने नेताहरूको जन्म हुनु नै तपाईंलगायतका पवित्र नदीहरूको दुर्दशा हुनु हो । अर्काको  परिश्रमले बनाएको स्वीट्जरल्याण्ड हेरेर त्यस्तै बनाउँछु भन्न जति सजिलो छ, यहाँको समस्या समाधान गर्न त्यति सजिलो छैन । तर त्यही अनुरूप कार्य गर्न गाह्रो भएपनि त्यसपछिका फाइदाहरू निकै छन् । मलाई लाग्छ, काठमाडौंका फोहोर व्यवस्थापन गरी मल र ग्यासको उद्योग सञ्चालन गर्न सके उल्लेखित फाइदा हुने मैले अनुमान गरेको छु ।

. रोजगारी सिर्जना वा वेरोजगारी समस्या समाधान ।
. रासायनिक मलको सट्टा प्राङ्गारिक मलको प्रयोगमा बृद्धि, जसबाट गुणस्तरीय कृषि उत्पादन तथा महंगो मलको प्रयोगमा कमी आई आर्थिक व्ययभार कम हुने ।
. ग्यास उत्पादन भई सरल रूपमा ग्यासको उपलब्धता, आर्थिक विस्तार हुने ।
. वातावरण संरक्षणमा टेवा पुगी मानव स्वास्थ्य सुधार, जसबाट स्वाथ्योपचारमा हुने खर्च कम हुने ।
. पर्यटन विकासको प्रचुर सम्भावना  बढ्ने ।
. नेपाललाई स्वीट्जरल्याण्ड बनाउने भन्ने भाषण काममा परिणत हुने ।
जे होस् मानव व्यवहारमा परिवर्तन हुने सके माथिका विषवस्तुहरू सम्भव छन् । म आज कंसलाई पहिलो छोरो बुझाउन पर्दा र सकेसम्म नबुझाउन प्रयास गर्नु, पुरुषले गर्दा नसकिने कुरो छैन भनी देवकीले वसुदेवलाई भनेको यो श्लोक सम्झन्छु 'गर्दामा नहुने कुरो पुरुषले केही पनि देखिन ।उपत्यकामा बग्ने नदीहरू र मानव जगतकै कल्याणका निमित्त माथिका विषयवस्तु भनौं या योजना व्यवहारिक कार्यान्वयन गर्न सके सबैको जित हुनेमा म विश्वस्त छु । बाँकी अर्को पत्रमा ।
उही  तपार्इंकी बहिनी,
त्रिशूली

Post a Comment

0 Comments