Home » » देखाई र भोगाईको चित्रण 'मेरो रसुवा रोइरहेछ'

देखाई र भोगाईको चित्रण 'मेरो रसुवा रोइरहेछ'


राजनीति, संस्कृति, जैविक विविधता, तामाङ जातिको भाषा, धर्म तथा पहिचानका कुरा लेख्ने फूर्पा तामाङका धेरै लेखहरू विभिन्न सञ्चार माध्यममा छापिने गर्छन् । 'ठिम्छोक पङ्पल ता इक्बा' -संविधान सभा भनेको के हो ?) लाई तामाङ भाषामा अनुवाद २०६४ तथा 'जैविक विविधता संरक्षण, पर्यटन विकासमा धर्म संस्कृति' २०६८ पुस्तक प्रकाशन गरेका फूर्पा तामाङले  यस पटक तपाइँ हाम्रा माझ कविता संग्रह लिएर आएका छन् 'मेरो रसुवा रोइरहेछ ।'

     पत्रपत्रिकाका पानाहरूमा छापिने लेख होस् वा कविताती कुनै कल्पनाका रचना हुँदैनन्  बरु देखेका, भोगेका  र समाधान गर्न सकिने समस्याहरू उठान  गर्छन् उनी । सिर्जनामा उठान गरिएका समस्याको समाधान गर्न खोजिन्छ या खोजिदैन त्यो भिन्न कुरा हो तर उनले उठाएका समस्याको समाधान भने पक्कै छ । उनको रचनामा बहेका विषयवस्तुहरूमा यथार्थ तथा वस्तुपरक वा 'कुरोको चुरो' हुन्छन् । समस्या पहिचान, समाधानको खोज वा वस्तुपरक सिर्जना उनको विशेषता हो भन्दा फरक नपर्ला ।

पुस्तक बिमोचनको तस्वीर 
पछिल्लो समयमा बजारमा आएको  'जैविक विविधता संरक्षण, पर्यटन विकासमा धर्म संस्कृति' नामक पुस्तकले रसुवाको पर्यटन, संस्कृति तथा तामाङ भाषा र जातिको विषयमा एउटा इतिहाँस निर्माण गरेको छ भने अहिलेको कविता संग्रहले न्यून चेतनास्तर, अन्धविश्वास, गरिवी तथा कम शिक्षाका कारण रसुवा रोइरहेको छ, रसुवाली रोइरहेका छन्  भन्ने बिम्ब पोखिएको छ ।
     जहिले जहिले सिर्जना गरिएका भएपनि कविको जन्मस्थलको विषयवस्तुबाट कृतिको ढोका उघारिएको छ । 'भार्खुवासीको बाध्यता' शीर्षकमा  कविले  बस कोचाकोच हुँदा गाउँका सेतै कपाल फूलेका आमैको रक्सीको जर्केन फुटेकोबचेको रक्सी बेच्ने ठाउँमा पुर्याउँदा पनि बेच्न नसकेको विषयलाई उठाइएको छ ।
Thulo Bharkhu, Rasuwa
हिमालका कुरा, पर्यटन विकास, कखरा सिक्ने समयमा चौरी र भेडा गन्दै गोठालो जानु परेको कुरा वा भिन्न भाषीका शिक्षकले पढाएको बुझन नसकेको कुरा, चिलिमेको पानीले विकट बस्तीमा पजेरो गुडेको र इन्टर्रर्नेट चलेको कारण रसुवालीको भविष्य चम्किएको कुरा, रसुवाली गरीव भएका कुरा, मुक्त कमैयाका कुरा, देखिएका, भोगिएका, विकास नभएका कुरा अनि मूलखर्कको पहिरोले जीवनयापनमा दिएको सास्तीका कुरा मात्र हैन ब्रि्रँदो डन संस्कृति, कुरिती, राजनीति, नेता, संविधानलगायत माया प्रितीका कुराहरूले भरिएको छ कृतिका पानाहरू । कविले लामो समयदेखि नै रसुवाका पीडा, समस्या तथा समाधानका विषयवस्तुलाई कविता मार्फ नियालेका छन् ।

Sano Bharkhu, Rasuwa
पहाडको माथि, बादलको मुनीगुराँस फुल्ने त्यही मेरो गाउँलाग्छ मलाई प्यारो मेरो भार्खु गाउँ
वर्षौभरि हिउँ पर्ने, लेकवेसी चौरी चर्ने

धुपी, सल्ला चाँप फुल्ने त्यही मेरो गाउँ
रातो, पिरो गालासँगै, मीठो मधुर मुस्कान
जहाँ डोल्मा हाँसी बस्छे त्यही मेरो गाउँ ।
जहाँ डोल्मा हाँसी बस्छे त्यही मेरो गाउँ ।।



हो, माथितिर पहाड चुमुला झैं गरी ठडिँदै लालीगुराँस फुल्ने बेलामा सबैका नयनलाई लोभ्याउँछ भार्खु गाउँले । मीठो, मसिनो नभए  पनि सफा, ताजा ढिँडो, आलुको तरकारी र टिम्मुरसँग खाएका डोल्माको मधुर मुस्कानसहितका मुहारले झनै सबैलाई लोभ्याउँछ, लगभग कविताको भाव यस्तै छ । 

समाजमा बढ्दै गएको धर्म परिवर्तनका कुरालाई कवि त्यति राम्रो मान्दैनन् । आफू बौद्ध धर्म मान्ने भएपनि कविका रचनाहरूबाट हिन्दु धर्म प्रतिको सद्भाव अत्यन्त नजिक रहेको पाईन्छ , कविता संग्रहमा रहेका र यस पूर्वको  जैविक विविधता संरक्षण, पर्यटन विकासमा धर्म संस्कृति नामक पुस्तकमा उनले देखाएको सद्भाव तथा गोसाइँकुण्ड, संस्कृतिसँग लक्षित लेखहरूले यो कुरा प्रष्ट हुन्छ । कानूनी अधिबक्ता भएर आफ्नो क्षेत्रमा उनले निकै योगदान दिएका छन् । प्रकृत्रि्रति सदैव  सकारात्मक रहने कविले कवितामार्फत वातावरण संरक्षण तथा दीगो विकासका लागि मार्मिक लेख तथा कविता लेखेका छन् । 'वनको माली' शीर्षकमा कविले संरक्षण तथा वातावरणको लागि संवेदना प्रकट गरेका छन् । गरीव भएर स्वास्थ्योपचार गर्न नपाएको वा आफूले गर्न सक्ने घरेलु उपचार पनि गर्न नजानेर  अकालमा गाउँलेहरूलाई कालले निलेको विषयवस्तुलाई पनि कविताका हरफहरू उजागर गरिएको छ ।

हिंसालाई पटक्कै मन नपराउने कविले 'बुद्धको देश भएर के भयो र ?' भन्ने शीर्षकमा पानीको धनी देशमा पानी नपाइएको, जति बजार ठूलो भएपनि महंगीले जनता डसेको, बुद्धको देश भएर पनि शान्तिले बाँच्न नपाएको कुरा लेखिएको छ ।  'क्रान्ति हैन शान्ति' शीर्षकमा कविले शान्तिको कामना गरेका छन् । प्राकृतिक स्रोत सम्पदाले सिंगारिएको रसुवामा विकास हुन नसकेको कुरालाई 'विकास छैन' शीर्षकमा कविले प्रकृत्रि्रतिको संवेदनशीलता प्रकट गरेका छन् ।  हिमाल, पहाड तथा तर्राई सबै समान भएको कुरालाई पनि कविले जोड दिएका छन् । 'हिमकमल गोरीहरू' शीर्षकमा कविले गाउँका हिमकमलहरूलाई गुलियो सपना बाँडेर हरिया भमराहरूले परागसेचन गरी बेबारिसे बनाउँदै सुइकुच्चा ठोकेको  कुरालाई चित्रण गरिएको छ । सोचेजस्तो नभएको वा दुनियाँ उल्टो भएका विषयवस्तुलाई 'उल्टो' शीर्षकमा लेखिएको भने जर्मन जाँदा गाउँ, मायालुको यादमा कविले 'प्रेमपत्र' पनि  कोरेका रहेछन् ।

रसुवाका बस्तीहरू धुन्चे, भार्खु, ठूलोस्याफ्रु,  लाङटाङलाई मात्र कविता बनाएका छैनन्, टीकापूर र काठमाडौंलाई पनि कवितामा चर्चा गरेका छन् कविले ।  कविले कृतिलाई गद्य र पद्य दुई भागमा विभाजन गरेका छन् । सायद तामाङ भाषाको लयलाई अँगाल्न खोजेका कारण हुनसक्छ कविताले नेपाली पद्य कविताको संरचनालाई अँगाल्न सकेको छैन । तर कविताका सबै पानाहरू पढ्दा अलिकति छन्द वा पद्य कविताका संरचनाबारे अध्ययन गर्न सके कविले पद्य कविता सजिलै जन्माउन सक्ने सम्भावनालाई भने नकार्न सकिँदैन ।
कविता संग्रह 'मेरो रसुवा रोइरहेछ' को बारेमा भूमिका लेख्दै डा. तुलसी भट्टराइले प्रकाश्यमान कविता संग्रहको उपमा दिदै नेपाली साहित्यमा राम्रो स्थान पाउने कामना गर्नुभएको छ भने साहित्यकार श्याम रिमालले कविले कविता लेखेर जन्मूभूमिको ऋण तिरेका छन् भन्नुभएको छ । रामेश्वर राउतले जन्मथलोलाई आफ्नो हृदयमा रहेका अजस्र प्रेमधारा खनाएका छन् भनेर लेख्नुभएको छ भने उता रोशन शेरचन र खोजराज गोलेले पनि कविताको बारेमा भूमिका लेख्नुभएको छ ।

 चौहत्तर शीर्षक, पचहत्तर पेजमा लेखिएको कविता संग्रहमा २०५५ सालदेखि रचिएका कविताहरू समावेश छन् । कवि र कविकी श्रीमती प्रमिला तामाङको प्रकाशन रहेको यो कविताको कभर तथा पुस्तक डिजाइन उमेश गौतमले गरेका हुन् भने आवरण चित्र कर्मधिन्दुप तामाङले बनाएका हुन् । कविताको मूल्य १०० रूपैंयाँ राखिएको छ ।

     अन्तमा कविले  'मेरो रसुवा रोइरहेछ' शीर्षकमा लेखेका यो कविताका साथ यो कृति परिचय बिट मार्ने जमर्को गर्दछु ।

मलाई रसुवाको माया मीठो लाग्छ
मेरो र रसुवाका बीच
जन्मको नाता कायम छ
यहाँको उकाली ओरालीमा
मेरो पाइलाको अमिट कथा छ
तर, म देख्दैछु
मेरो रसुवा रोइरहेछ
म रोइरहेको छु
रसुवालीको निधारमा नाम्लो
र पिँठ्युमा डोको चढे पनि
एक मुठी गाँस पाउन मुस्किल भएछ
जुत्ताविनाको खुट्टाहिउँ, तुषारोमा टेक्नु पर्दा
थुरुथुरु कामेछन् ती
, , एक, दुई सिक्नुपर्ने बेला
टुकुटुकु हिँड्न थालेपछि
लेकबेसी गोठ खेप्न थालेछन्
तोते बोलीको ध्वनिसित
याक, चौंरी, भेडाबाख्रा गन्ती गर्न सिकेछन् ती
एक्काइसौं शताब्दीको आगमनमा पनि शिक्षाको रसले मुख रसाएनछ
पौष्टिक आहारले भुँडी भरिएनछ
अँध्यारेामा यात्रा गरिरहेछ रसुवा
गन्तव्य थाहा छैन
कुपोषणले ज्यान लिइरहेको बेला
खाद्य संस्थानको चामलले
कहिल्यै पेट अघाएनछ ।।

यो समीक्षा 'मेरो रसुवा रोइरहेछ' कविता संग्रह विमोचन कार्यक्रममा प्रस्तुत गरिएको  हो -असार १५२०६९ नेपाल पर्यटन बोर्ड, काठमाडौं )




Followers

साताको चर्चित

Rasuwa Profile

महिनाको चर्चित

Total Visitor

Recent Posts

Prem Prasad Paudel, Rasuwa. Powered by Blogger.
Blogger Template by Basnetg.com