Ad Code

Responsive Advertisement

रसुवाली श्रष्टा र भानु जयन्ति

रसुवाली सर्जकका सिर्जना प्रायसः छताछुल्ल हुने गरी पोखिन पाएको थिएन । २०६२ मा नुवाकोट साहित्य महोत्सव हेर्न पाउँदा र रेडियो नेपालको मधुवन कार्यक्रमको नियमित श्रोता बनिरहँदा मानसपट्टलमा रसुवाली साहित्यिक गतिविधिको चित्र कोरिएको थियो । ‘नुवाकोटमा जस्तै रसुवामा पनि साहित्यिक गतिविधि भइदिए वा साहित्यिक श्रष्टाहरू भइदिए’ भनेर यो मन वडो वेगमा दौडिरहेको थियो । 
  
‘आजन्म घाँस तिर मन् दिइ धन् कमायो 
नाम् क्यै रहोस् पछि भनेर कुवा खनायो 
घाँसी दरीद्र घरको तर वुद्धि कस्तो 
मो भानुभक्त धनि भैकन आज यस्तो ।।’

 चार वर्ष अघि १९४ औं भानु जयन्ती मनाउँदा कार्यक्रमको शुरुवात यही भानुभक्तको श्लोकबाट भएको थियो ।  म लगायत पत्रकार हेमनाथ खतिवडा, बलराम घिमिरे र कृष्ण थापाको  सहयोगमा रसुवामा पहिलो पटक औपचारिक साहित्यिक कार्यक्रम भएको थियो । दुई दर्जन जति श्रष्टाले त्यस दिन कविता वाचन गरे । धुन्चेमा पण्डित नामले चिनिदै आएका धर्मागत पाण्डेले रामायण वाचन गरेका थिए ।  प्रमुख अतिथी तत्कालीन प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली लगायत कार्यलय प्रमुखहरू कार्यक्रम भरि नै मन्त्रमुग्ध भएर बसेका थिए । करिव एकसयको हाराहारीमा साहित्यप्रेमीहरू उपस्थित भएका थिए । रसुवा मा.वि.को कक्षाकोठामा मैले पनि भानुभक्तको संझनामा शार्दूलविक्रीडित छन्दको कविता सहित केही पाना रामायण वाचन गर्ने मौका पाएको थिएँ । विशेष अतिथि तथा रसुवाबाटै नेपाली भाषा साहित्यमा स्नाकोत्तर प्रथम श्रेणीमा उत्तीर्ण हुन सफल रसुवाली साहित्यप्रेमी भनौं वा नेपाली भाषा साहित्यका पारखी पं नारायण देवकोटाले साहित्यको परिभाषा दिदै कविता वाचन गर्दा रसुवामा पनि साहित्यिक तरंग प्रवाहित भईरहेको भान सिर्जना भएको थियो । रसुवा साहित्यिक तथा सांस्कृतिक समाज नाम साहित्यिक संस्थाको स्थापना पनि यही भानु जयन्तीको शुभारम्भ सँगै भएको हो । सानै उमेरदेखि सिर्जना मन पराउने तथा केही पछि छन्दमा कविता लेख्ने कला पनि प्राप्त गरेकोले होला मलाई रामायण जस्ता पौराणिक ग्रन्थका कविता भाका हालेर गाउन सा¥है मन पर्छ । यस अघि २०६२ मा नुवाकोट साहित्य महोत्सवमा ‘आज मेरो गाउँ’ भन्ने शीर्षकको कविता वाचन गर्ने मौका पाएको थिएँ । त्यही समयदेखि नै रसुवामा पनि यस्ता कार्यक्रम भईदिए भन्ने विषयले सा¥है नै घच्घच्याई रहेको थियो । मैले अन्तर्मनका विषयलाई सिर्जनामा परिणत गरी लेख्दै थन्काउँदै मात्र गरेको थिएँ । यानेकि छताछुल्ल हुनेगरी स्रोतामाझ पोख्ने मौका मलाई प्रशस्त  मिलेको थिएन । म जस्तै दर्जनौ साहित्यकारलाई त्यस्तो मौका यो अघि खासै मिलेको थिएन । 

विकासका दृष्टिकोणले रसुवा पछि नै परिराख्दा अपार सौन्दर्यमा साहित्य सिर्जनाले भने मनग्य स्थान पाउने जिल्लाको रूपमा अग्रिम छ । रसुवा हेरेर वा घुमेर साहित्यकारले सजिलै अन्तर्मनका विचारलाई सिर्जनामा परिणत गर्न सक्छन् । मलाई लाग्छ रसुवामा साहित्यको विकास नहुनुमा नेपाली भाषा शिक्षामा नै हेल्चेत्र्mयाइ भएको छ । विद्यालयमा गुणस्तरीय नेपाली भाषी शिक्षक नहुनु, कविता लेखन तथा साहित्य कसरी सिर्जना गर्ने वा कविता लेखनका आधारका विषयमा प्रशस्त अभ्यास नहुनु नै यसको मूल कारण हो । 

रसुवा साहित्यिक तथा सांस्कृतिक समाज स्थापना भई साहित्यिक पाटोमा अगाडी वढिरहँदा रसुवाली साहित्यिक श्रष्टाहरूको आँखामा हर्षाश्रु धारा देखिएका थिए । समय समयमा सडकमा साहित्य, संरक्षण कविता प्रतियोगिता लगायत साधारण सभामा पनि विभिन्न साहित्य सिर्जनाको चर्चा परिचर्चा गरिन लागेको थियो । १९५ औं भानु जयन्ती कविता प्रतियोगिता गरेर मनाइएको थियो । गोसाईपुञ्ज नामक साहित्यिक पत्रिकाको पनि प्रकाशन हुन थाल्यो ।  १९६ औं भानु जयन्ती मनाउने समयमा रसुवा साहित्यिक तथा सांस्कृतिक समाजलाई अध्यक्ष तथा तत्कालीन  जिल्ला भू संरक्षण अधिकृत श्यामसुन्दर श्रेष्ठले कता पु¥याए, रसुवाली श्रष्टालाई कुनै पत्तो भएन । म लगायत केही साथीहरूले बन्द कोठाभित्र भानुको तस्वीरमा माल्यार्पण गरी रामायण वाचन गरेर मनायौं । त्यसदिन प्रतिध्वनी एफएममा फोन गरेर देशभरि नै रामायणका तरंगलाई आफ्नै स्वरमा प्रवाहित गरायौं । त्यसको लगत्तै माघ, १६ २०६५ मा अधिवेशन गरेर पुःन श्यामसुन्दर नै समाजको अध्यक्ष बन्न सफल भए । गोसाइपुञ्जको प्रकाशनमा केही फाइदा पाउने र विज्ञापनबाट केही रकम फाइदा पाउने भएकोले हुन सक्छ उनले एकपटक अध्यक्ष बन्ने भन्ने आशा सबैमाझ राखेका थिए । अध्यक्ष बनेर एक दुई पटक जति  रसुवा आएर संस्थाको बैठक बसी आफैलाई सम्मान गर्न र धन्यवाद दिन पनि पछि परेनन् । उनी रसुवाली समाजको अध्यक्ष बनेर काठमाडौंमा रहेका कारण अहिले संस्था नवीकरण नभएको दोश्रो वर्षमात्र हुँदैछ ।

 रसुवामा साहित्यको विकास गर्न कालिका हिमालय उच्च माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूले केही प्रयास गरेका थिए । जसको शुरुवातलाई साहित्यप्रेमीहरूले सह्रणीय रूपमा लिएका  थिए । ‘साहित्य उद्बोधन थलो’ पश्चात बलराम घिमिरे, रमेश न्यौपाने,  हेमन्त विवस, यज्ञप्रसाद न्यौपाने, शिशिर न्यौपाने, कृपा अधिकारी आदि विद्यार्थीका एक जमातले झुल्को नामक साहित्यिक लघु पत्रिका प्रकाशनमा ल्याएका थिए तर त्यो  झुल्कदा झुल्कदै अस्तायो । त्यसपछि ‘हाम्रो यात्रा’ नामको अर्को साहित्यिक यात्रा शुरुवात भयो । कोही कसैले त्यसलाई एक्लै यात्रा गराउँदा त्यो   अपांग भयो । अपांग भएपछि ‘हाम्रो यात्रा’ पनि यात्रु विहिन जहाजमा परिणत भई कालिका क्याम्पसमा नै वेपत्ता भयो । त्यसपछि कालिका क्याम्पसले खासै साहित्यिक गतिलाई प्राथमिकता दिन सकेको छैन ।

साहित्य सिर्जना गर्ने श्रष्टा रसुवामा प्रशस्तै छन् तर प्रशिक्षणको अभावमा कम तौलको सिर्जनामा मात्र थन्किनु परेको छ । एकातिर साहित्यिक संस्थालाई बाहिरी जिल्लाका संस्थापक प्राप्त हुनु, अर्कातिर साहित्य प्रशिक्षणको अभावका कारण रसुवाली श्रष्टाहरूको सिर्जना  ओझेलमा परिरहेको छ । भानु जयन्ती जस्ता राष्ट्रिय साहित्यिक पर्वमा साहित्यको प्रवर्धन र संवद्र्धन गर्नु नै साहित्यको सेवा हो । साहित्यिक संस्था भनौ या रसुवामा उदाएको रसुवा साहित्यिक तथा सांस्कृतिक समाजमा रसुवालीको हाँक र प्रतिनिधित्व हुनु अति नै आवशयक छ । तबमात्र रसुवाका सर्जकहरूको उन्नयन हुन सक्दछ । छिमेकी जिल्लामा साहित्यिक गतिविधि चुलीमा पुग्दा रसुवामा झिनो प्रयास मात्र भइरहेकोे सन्दर्भमा रसुवाली श्रष्टाहरू सिर्जना र प्रस्तुति आउनु आजको प्रमुख आवश्यकता हो । त्यसैले जिल्लाका सर्जकहरू एउटै सञ्जालमा लामवद्ध हुनु पर्ने देखिन्छ । १९७ औं भानुजयन्तीको अवसरमा रसुवाली साहित्यको प्रगति तथा उन्नतिको लागि हार्दिक शुभकामना सहित ।   

त्रिशूली प्रवाह साप्ताहिकमा प्रकाशित 

Post a Comment

0 Comments