Home » , , » गोसाइँकुण्ड, रामसार क्षेत्र र संरक्षणका चुनौतिहरू

गोसाइँकुण्ड, रामसार क्षेत्र र संरक्षणका चुनौतिहरू

उच्च हिमाली क्षेत्र तथा अन्य अन्तर्रास्ट्रिय महत्व भएका क्षेत्रहरूलाई रामसार क्षेत्रमा समावेस गर्ने नीति अनुरूप नेपाल सरकारले गोसाइँकुण्ड क्षेत्रलाई २३,सेप्टेम्बर, २००७ मा रामसार क्षेत्रमा  सूचिकृत गरेको छ । राष्ट्रिय सिमसार नीति २०५९ अनुसार गोसाइँकुण्डलगायतका चार क्षेत्रलाई रामसार क्षेत्रमा सूचिकृत गराएको छ । सन् १९७१ मा नेपालले रामसार महासन्धिमा हस्ताक्षर गर्दै रामसार क्षेत्रको व्यवस्थापन वा संरक्षणमा प्रतिबद्धता जनाई सकेको छ । महासन्धिको दफा ३ -१) र निर्देशन सन् १९९६ लाई अँगाल्दै राष्ट्रिय सिमसार नीति २०५९ तर्जुमा भई कार्यान्वयनमा रहेको छ ।

 वि.सं. १९७८ मा स्थापना भएको नेपालकै पहिलो हिमाली राष्ट्रिय निकुञ्जभित्र रामसार क्षेत्र नं. १६९३ मा सूचिकृत गोसाइँकुण्ड तथा त्यसका वरीपरीका क्षेत्रको संरक्षण वा व्यवस्थापनका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, लाङटाङ राष्ट्रिय निकुञ्ज/मध्यवर्ती क्षेत्र सहयोग आयोजना, लाङटाङ राष्ट्रिय निकुञ्ज सहयोग परियोजना/डब्लुडब्लुएफ  र प्राकृतिक स्रोत व्यवस्थापकहरूको मञ्चले 'गोसाइँकुण्ड  तथा वरीपरीका सिमसारहरूको स्थलगत व्यवस्थापन योजना' तयार गरेको छ । नेपालको अनुपम सिमसार परिस्थितिकीय प्रणालीलाई जोगाई राख्नको लागि साझा प्रतिवद्धताका रूपमा उक्त
  'स्थलगत व्यवस्थापन योजना' तयार गरिएको हो ।

जैविक विविधतामा सम्पन्न गोसाइँकुण्ड क्षेत्र  रैथानीय, दुर्लभ र सङ्कटापन वनस्पति एवं चराचुरुङ्गी र वन्यजन्तुको आश्रमको रूपमा परिचित छ । हिमचितुवा, रातो हाब्रे -रेडपाण्डा), कस्तुरी मृग, हिमाली थारलगायतका लोपोन्मुख वन्यजन्तुको आश्रयस्थल बनेको यस क्षेत्रमा निकुञ्जले संरक्षण प्रदान गरेका ल्यारिक सल्लो, १० भन्दा बढी प्रजातिका लाली गुँरास र सुनाखरीका जातहरू रहेका पाइन्छन् । लाङटाङ राष्ट्रिय निकुञ्जको स्थापनादेखि नै  लोपोन्मुख वन्यजन्तुका वासस्थान जोगाइ राख्ने र ती वनमा आश्रयस्थल बनाएका प्राणीहरूको संरक्षण, त्यहाँ उपस्थित विविध प्राकृतिक, जैविक सम्पदाको संरक्षण,धार्मिक तथा पर्यटकीय स्थलहरूको संरक्षण, स्थानीय जनताको जीवनस्तर उकास्ने क्रममा स्थानीय तहमा अपनाइएको भू उपयोग पद्धतिबाट परिस्थितिकीय प्रणालीमा पर्ने असर घटाउने तथा  निकुञ्ज र आसपासमा रहेको प्राकृतिक स्रोतको मानवीय दोहन घटाएर निकुञ्जको प्राकृतिकपन र सुन्दरता जोगाउने भन्ने लक्ष्यमा आधारित रहेर निकुञ्जले कार्य गर्दै आइरहेको छ ।

यी उल्लेखित विविधतासँग मानव जीवनयापनको महत्वपूर्ण आधार गाँसिएको हुन्छ । जैविक विविधता र मानव जीवन एकअर्काका परिपूरक हुन् । माथि उल्लेखित सम्पदाको संरक्षण विना मानवको जीवन पनि असहज बन्दै जानेछ । उच्च हिमाली भेगमा रहेको गोसाइँकुण्ड तथा वरीपरीका क्षेत्र परिस्थितिकीय प्रणाली वा जलवायु परिवर्तनका समस्याका दृष्टिकोणले जोखिम र संवेदनशील बन्दै गएको विभिन्न वातावरणविद्हरूले बताएका छन् । यस क्षेत्रमा हुने गरेको पर्यटकीय व्यापारका कारण पनि विभिन्न संरक्षण सम्बन्धि समस्या वा चुनौतिहरू थपिदै गएका छन् । मानवले गर्ने गरेको वातावरण प्रतिकुल व्यवहारले यहाँको परिस्थितिकीय प्रणालीमा असर पुर्‍याइराखेको छ । जताततै फालिएका सिसाजन्य, प्लाष्टिकजन्य र विविध जैविक, अजैविक फोहोरका कारण दिनानुदिन यहाँको वातावरण प्रतिकुल बन्दै गएको छ । सामान्यत विचार गर्ने हो भने पनि धार्मिक आस्थाका स्वरूप कुण्डमा चढाइएका नरिवल र अन्य प्रसादजन्य पदार्थले पनि कुण्डलाई प्रदुषित बनाएको हुन्छ । होटल व्यवसायीका लापारवाहीका कारण वा तीथालुलाई लक्षित गरी व्यवस्थित शौचालय बनाउन नसक्दा पनि शौचालय प्रयोग पछि उक्त फोहोरहरू कुण्डमा आउने गरेका छन् । गोसाइँकुण्ड प्रयोगकर्ताहरूले फाल्ने गरेका फोहोरले कुण्डको संरक्षणमा निकै चुनौति दिइरहेको हुन्छ ।

नवीकरणीय उर्जा प्रविधि वा जलविद्युतका अभावका कारण यस क्षेत्रमा खाना बनाउने  र डाइनिङ हल तातो पार्नका लागि दाउराको प्रयोग हुन्छ । जसका कारण वर्षोनी धेरै मात्रामा वन विनास हुने गरेको छ । खाना बनाउन होस् वा कोठा तातो बनाउन दाउराको प्रयोग भनेको बाध्यकारी समस्या हो । दाउराजन्य इन्धनमा कमी ल्याउन वा रोक्नको लागि विद्युतीकरण नहुनु नै यस क्षेत्रमा देखिएको समस्या हो । यसरी इन्धन प्रयोगमा यहाँका जंगल विनास हुँदै जाने हो भने राष्ट्रिय निकुञ्जका माथि उल्लेखित लक्ष्य कहिल्यै पनि कार्यान्वयन हुन सक्दैन न  त  लोपोन्मुख मानिएका वन्यजन्तुको संरक्षण नै हुन्छ ।

यस क्षेत्रमा हुने गरेको चौरी र भेडापालन व्यवसायले पनि यहाँको संरक्षणमा वाधा उत्पन्न गराइरहेको छ । यहाँको झाडीमा चौरी चराउँदा एकातिर वनको विनास हुँदै जानेछ भने अर्कोतिर कुण्डको आसपासमा पाल्तु जनावरले खनी खोस्री गरेको माटो बग्दै आएर कुण्डमा पर्दछ । जसका कारण कुण्ड पुरिदै जाने सम्भावना रहन्छ । यीलगायतका विविध समस्याहरू यहाँको संरक्षणका बाधकका रूपमा रहेका पाइन्छन् । आजको युगका मानवले मानव जीवनयापनको समरूपमा लिने गरेका छन् भने संरक्षणलाई बाधकको रूपमा लिने गरेका छन् । तर संरक्षण विना मानवको जीवनयापन सहज हुँदैन भन्ने बुझनु जरूरी छ ।

गोसाइँकुण्ड क्षेत्रबाट  पर्यटकीय व्यवसायबाट मनग्य आम्दानी लिइराखिएको छ ।  जसबाट धेरै जनसंख्याको आर्थिक उपार्जनको थलो बन्दै गइरहेको छ । यहाँ पर्यटकीय विकास गर्नका  लागि वरीपरीका क्षेत्रको संरक्षण वा व्यवस्थापन हुन सके मात्र वर्षोनी यहाँ आउने पर्यटकको संख्या विस्तार गर्न सकिन्छ ।


-सर्न्दर्भ स्रोत- गोसाइँकुण्ड तथा वरीपरीका सिमसारहरूको स्थलगत व्यवस्थापन योजना २०६५, रसुवा खबर, वर्ष२, अंक ८, २०६८ भाद्र २३ गते शनिबार)

0 सुझाव लेख्नुहोस्:

Post a Comment

Followers

साताको चर्चित

Rasuwa Profile

महिनाको चर्चित

Total Visitor

Recent Posts

Prem Prasad Paudel, Rasuwa. Powered by Blogger.
Blogger Template by Basnetg.com