Ad Code

Responsive Advertisement

रसुवाली लेखक र प्रतिभा पुरस्कार

‘जैविक विविधता संरक्षण’ ठूलो अक्षर र त्यसको मुनितिर सानो अक्षरमा ‘पर्यटन विकासमा धर्म संस्कृति’ नामाकरण गरी गोसाइँंकुण्डमा ढ्याङ्ग्रो बजाएर नाँचेको झाँक्री र तीन स–साना संस्कृति झल्काउने चित्राड्ढिक पुस्तक हातमा पर्ने बित्तिकै लेखक को रहेछ भनेर जिशासा जाग्यो, हेरेँ । पुस्तकको नामको सिधा माथि दुबैतर्फका चित्रमा आँखा परे । लाङटाङ राष्ट्रिय निकुञ्ज र यसको सहयोग आयोजना संस्था डब्लुडब्लुएफको लोगो अंकित पाएँ । झट्ट हेर्दा प्रकाशन, लेखन दुबै ती कार्यालय हुन् की । पुस्तक पल्टाउँदा पाएँ लेखक परिचित दाजू फूर्पा तामाङ रहेछन् ।

आवरण पृष्ठमा फूर्पा तामाङ नलेखेर किन कञ्जुस्याईं गरे होला भन्ने ठानें । लेखक फूर्पा तामाङ जस्ता लेखक रसुवाली भूमिले अहिलेसम्म उतार्न सकेको छैन । गहन विषयवस्तु जस्ताको तस्तै उतार्नु उनको विशेषता नै हो । पुस्तकका पछिल्लो आवरणमा प्राय लेखकको परिचय हुन्छ, तर यसमा चौंरी गाई चरेको आवरण । त्यसैले पनि यो पुस्तक भिन्न छ ।

रसुवा खबर साप्ताहिक एक वर्ष पहिलेदेखि प्रकाशनमा थियो । लेखाईमा सह–सम्पादक भए पनि काम सम्पादककै निभाएको थिएँ । सम्पादन गर्दागर्दै रोकी यहीँ पुस्तकमा एकटक भएछु ।

पुस्तक हेर्दै गर्दा बीचबीचमा युवा प्रतिभा, वातावरण पत्रकारिता पुरस्कारलाई सम्झिएँ । लाग्यो यो पुस्तक यही हैसियतको छ । र ढुक्क थिएँ एकदिन पुस्तकले राष्ट्रिय सम्मान पाउनेछ ।
 
हामीकहाँ यस्तो विषयमा कमै चर्चा हुन्छ ।सानो जिल्ला बौद्धिक क्षमताका मानिस भएपनि मूल्याड्ढन गर्ने परम्परा कम छ । यदि भइहाल्यो भने पनि जीउडाल र मान्छे हेरेर सम्मान गर्ने गरेको देखिएकै हो ।

लाङटाङ राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र सहयोग आयोजनामार्फत् यस क्षेत्रका जैविक विविधतालगायत तामाङ संस्कृतिको विषयमा अध्ययन गर्ने जिम्मा पाएका फूर्पा तामाङले अध्ययन प्रतिवेदन मात्र दिएनन् यसलाई पुस्तकको रुप दिए । जुन सबैले पढ्ने सामग्री बन्यो । यसलाई सघायो मध्यवर्ती सहयोग आयोजनाले । पुस्तकमा तामाङले जुन अन्तरवस्तु उतारेका छन् सो कुरा बौद्ध तथा हिन्दु धर्मग्रन्थमा समेत् सायदै नहोलान् ।

भोलिपल्ट पत्रिका निस्कने दिन । सबै काम छोडेर म हतारहतार समीक्षा लेख्न थालेँ । केही लेख्नु अघि शीर्षक चयन मेरो प्राथमिकतामा पर्छ । पुस्तकले रसुवाका तामाङ जातिको नालीबेली समेटेकाले पनि ‘इतिहाँस निर्माणमा सहयोगी पुस्तक’ शीर्षकमा समीक्षा लेखेँ । (जुन् यही ब्लगमा पनि छ , यहाँ क्लिक गरी पढ्न सक्नु हुनेछ । )

रसुवा खबर जिल्लामा एक मात्रै थियो, (हाल बन्द छ) । (अनलाईनमा भने छ www.rasuwakhabar.com _) शनिवार प्रकाशन हुनेहुँदा शुक्रबार नै तयारी सक्नुपथ्र्यो, धुन्चेमा थिएँ । प्रकाशक हेमनाथ खतिवडाले शनिवार बिहानै पिडिएफ फाईल इमेलमा पठाउनु भएछ । पत्रिकाको दुई किसिमका बजार थिए । पसलमा किनेर पढ्ने र टाढा हुने तथा प्रविधिमैत्री मानिसहरूले इन्टरर्नेटमा पढ्ने । पत्रिका नुवाकोटबाट धुन्चे आइपुगेकै थिएन । एकाबिहानै मध्यवर्ती सहयोग आयोजनाका तत्कालीन प्रबन्धक अशोक बाँनियाले फोन गरे । धन्यवाद भने । बुँझे समीक्षा पढिसकेछन् । लेखक तामाङले पनि पत्रिकामा पुस्तक समीक्षा हेरेपछि खुसी भई फोनमार्फत धन्यवाद भन्नुभयो । उहाँ आफैँ लेखक/समीक्षक भएकाले समीक्षा राष्ट्रियस्तरको भएको टिप्पणी गर्नुभयो । मनमनै खुसी लाग्यो । यसलाई धेरै पटक दोहो¥याएर पढेँ ।

पुस्तकमा जानकारीमूलक तथ्यहरू धेरै छन् । पछिल्लो समयमा रसुवाका बौद्धमार्गीहरूमा क्रिश्चियन धर्मको प्रभाव परेको देखिन्छ । केही वर्ष पहिले पत्रकार हेमनाथ खतिवडाले ‘बौद्धमार्गीको गाउँमा गुम्बाभन्दा चर्च धेरै’ शीर्षकमा लेखेका थिए । आयातित धर्मले गाँजेको बेला तामाङ समुदायमा संस्कृति, बोलीचाली, धर्म, परम्परा, रहनसहन तथा भेषभूषालाई पुस्तकले जीवन्त राख्न मद्दत गरेको छ । तामाङ समुदायको धर्म संस्कृतिले पर्यटन विकासमा कसरी योगदान पु¥याउन सक्छ भन्ने विषय मिठास शैलीमा प्रस्तुत गर्नु लेखेको खुबी प्रशंसनीय छ । पुस्तकमा जलवायु परिवर्तनको चुनौतीलाई बौद्ध धर्माम्बलम्बीहरूले जैविक विविधता संरक्षणमा कसरी योगदान पु¥याउन सक्छन् भन्ने विषयलाई शिलशिलेबार उतारेका छन् ।

मैले जुन अड्कल पुस्तक पढ्दा गरेको थिएँ, त्यो सत्य सावित भयो । लेखक तामाङको यही पुस्तकले असार २९ गते क्षेत्रीय सम्मान पायो । मैले नै कान्तिपुर दैनिकमा छापिएको सूचना अनुसार क्षेत्रीय प्रतिभा पुरस्कारको लागि खबर गरेको थिएँ । पछि थाहा पाएँ उहाँले आवेदन दिनुभएछ ।

असार १९ गते रसुवा सदरमुकाम धुन्चेमा थिएँ ।उनै फूर्पा तामाङको फोन आयो । ‘आजको नागरिक दैनिकमा समाचार छापिएछ, क्षेत्रीय प्रतिभा पुरस्कारको लागि मेरो पुस्तक छनोट भएछ’ । लामो कुराकानीपछि मैले व्लगमा राखेको पुस्तक समीक्षा ट्याग गर्दै हार्दिक बधाई लेखिहालेँ । रसुवाको लेखनशैली वा प्रतिभाको लागि यो पहिलो पुरस्कार थियो । हुन त फूर्पा तामाङ जति लेखन शैली भएका प्रतिभाहरू जिल्लाले उत्पादन गर्न सकेको छैन । न त यहाँ सञ्चार माध्यमको नै विकास हुन सकेको छ । हामीले सुरु गरेको रसुवा खबर साप्ताहिक पनि घिस्रिनसमेत नसकी अहिले बन्द छ । जिल्लामा कुनै पनि पत्रपत्रिकाहरू प्रकाशन हुँदैनन् । छिमेकी जिल्ला नुवाकोट सञ्चारमा निकै छलाङ मार्दै छ तर त्यही तुलनामा यो चिन्ताको विषय बनेको छ रसुवामा । भनौ जिल्लाले सञ्चार क्षेत्रको विकास पनि अझैसम्म एक फाँको पनि योगदान पु¥याउन सकेको छैन, यानेकि सञ्चारको विकासमा सक्दो हैसियत र सम्भावना बोकिरहँदा पनि ।

पर्यटन, धर्म संस्कृति, जैविक विविधताको विषयमा गहिरो अध्ययन गरी लेखिएको यो पुस्तकका लेखक फुर्पा तामाङले क्षेत्रीय प्रतिभा पुरस्कार पाएका छन् । चिलिमे जलविद्युत केन्द्रको सेयर रसुवाबासीलाई दिलाउन पर्छ भन्दै सञ्चारक्रान्ति गर्ने एक हुन् उनी । रसुवा महोत्सव २०६८ मा यस्तै योगदानलाई नागरिक समाजले सम्मान ग¥यो । तर, उनी त्यहाँ अटाएनन् । अहिलेका यो सम्मानले उनको आँट पक्कै बढेको छ ।

फूर्पा तामाङ परिवर्तनका एक सम्वाहक हुन् । तर कहिलेकाँही राजनीतिक प्रभावले उनलाई राम्रैसँग छुन्छ । जतिखेर राजनीतिले छुन्छ, त्यतिखेर उनको लेखनशैलीमा राजनीतिक गन्धहरू आउँछन् । सायद अरुलाई के लाग्दो हो, म शुभचिन्तकको हैसियतमा नजिकबाट नियाल्ने भएकोले पनि लाग्छ कुनै राजनीतिक गन्धले फूर्पा जस्तो व्यक्तिलाई नगाँजोस् । केबल नागरिक समाजका सदस्य या लेखक बनिरहुन्, पुरस्कृत तामाङलाई यही शुभकामना ।




ककनी पोष्ट साप्ताहिक, १५ मङ्सीर २०७१ मा प्रकाशित 

Read also at Sajhasabal.com

Post a Comment

0 Comments