Home » » पर्यटन विकासको पूर्वाधार बोकेर जिएको छ यार्सा

पर्यटन विकासको पूर्वाधार बोकेर जिएको छ यार्सा

 विकासको दौडमा कतै पनि सहभागी बन्न नसकेको यार्सा गाविस आफ्ना विविध सम्भावनालाई पोल्टामा राखेर जिइरहेको छ । धुन्चेबाट ठिक्क विपरित कोणमा रहेको यार्सालाई नियाल्न उही पुग्नुपर्छ । न त रसुवाका अन्य भूभागबाट न नुवाकोटबाट नै यार्सा राम्ररी देखिन्छ । यार्साको भूमिमा नटेकीकन यार्साको सम्भावना नियाल्न सकिन्न । 

साँच्चिकै यार्सा जाने हो भने त्यहाँ धेरै सम्भावना छन् । जसरी तामाङ सम्पदा मार्गको रूपमा गतलाङ, गोल्जुङलगायतका गाउँले आफ्नो परिचय बनाउँदैछन् त्यसैगरि यार्सासँग पनि त्यो सम्भावना रहेको सजिलै अनुमान गर्न सकिन्छ । त्यहाँको पृथक संस्कृति, पृथक धरातल र विषमतामा लुकेका बस्तीहरूमा पाइला टेक्दै जाँदा एउटा कुशल विकासे तथा पर्यटन व्यवसायीले त्यसको सम्भावना नियाल्न सक्दछ । 

पर्यटकीय आनन्द पाउने आकर्षक बस्तीलाई विस्तारै विकास गर्दै जान सके आज १४ वर्षकै उमेरमा १८ वर्ष पुग्यो भनेर आफ्नो छोरी विदेश पठाउने पासपोर्टका लागि यहाँका बाबाहरू धाउने थिएनन् । यहाँ नै एउटा असल रोजगारी सिर्जना गर्न सक्ने थिए र यहाँ उत्पादन हुने विभिन्न उत्पादनको परिकार बेचेर सजिलै आयआर्जन गर्न सक्ने थिए ।

रसुवाको पासाङल्हामु राजमार्गको कालिकास्थानबाट पूर्वपट्टि १ विहानको हिडाईबाट यार्सा सुरु हुन्छ  । कालिकास्थानबाट जाँदा आउने यार्साको पहिलो गाउँ वा वडा नं ९ घोर्मु पर्दछ । यहाँ वि.सं २०६० मा गएको पहिरोले धेरैको घरबास विचल्ली बनाएको थियो । त्यहाँबाट क्रमशः कहिले नजिकै त कहिले डाँडापारि यार्साका मनोहर बस्तीहरूको दृश्यले जो कोहीलाई पनि लोभ्याउँदछ । घोर्मु र आरुखर्क अझ लोकिलमुनी पर्ने सस्र्युखण्ड र डुमा्रङबाट हेर्दा लाङ्बु र थाङदोर गाउँमा अहिले नै पाईला पु¥याउँ जस्तो हुन्छ । 

पूर्वाधारको हिशावले हेर्ने हो भने पासाङल्हामु राजमार्गमा पर्ने गोम्बोडाँडा, स्याउबारी,  लोकिल हुँदै लाङ्बु र थाङ्दोरसम्मका बस्तीहरूमा सडकको रेखा कोरिदै छन् । यहाँ फल्ने आलु देशवासीका भान्छामा पाक्ने गर्दछ । यार्साका वनमा पाईने टिम्मुरको अचारसँग आलु उसिनेर खाँदा पक्कै पनि विरगञ्जबाट आयातित महङ्गो चामलको आवश्यकता पर्दैन । अझ यही फल्ने मकैको ढिँडो र सिस्नु रैथाने खानासँगको आनन्द बेग्लै रहन्छ । 

लाङ्बु र थाङ्दोर मात्र हैन त्यहाँभन्दा माथि पर्ने स्याङ्ग्युल, सिंबन्दी, दोक्लाङ र बच्चाका गाउँहरू पनि उत्तिकै मनोहर छन् ।  विदेशी तथा स्वदेशी पर्यटकलाई निम्तो बाँड्न सक्ने प्रवल सम्भावना बोकेर जिएका छन् यार्साका यिनै बस्तीहरू । एउटा दुरदर्शी र पर्यटनप्रेमी योजनाकारको अभाव खेपिरहेको छ यार्साले । यहाँ आन्तरिक वा वाह्य पर्यटकलाई पर्ने प्रमुख समस्या भनेको आवास हो । यहाँ उत्पादन हुने स्थानीय प्रकारका खानेकुराले पेट भरेर राम्ररी सुत्न पाउने ठाउँ भए पक्कै पनि तामाङ सम्पदा मार्ग भनेर चिनिएका उत्तरी रसुवाका वस्तीमा जस्तै वर्षेनी धेरै पाहुनाहरूको सत्कारमा जुट्न पाउने थिए यहाँका बासिन्दाहरू ।  अझ भन्नै पर्दा दोस्रो तामाङ सम्पदा मार्गको रूपमा आफ्नो परियय यार्साले बनाउन सक्नेमा हामी विश्वस्त छौं । 

पछिल्लो समयमा यार्साका मान्छेहरू धुन्चेमा बस्न आउने क्रम बढ्न थालेको छ । परिवारका सदस्य विदेश पठाउने र अलि सुगम भनिएका ठाउँमा घरबास गर्ने लालसा पनि देखिएको छ । आफ्नो गाउँमा रहेको सम्भावनालाई उनीहरूले नियाल्न सकेका छैनन् र अन्यत्र बसेर जीवन निर्वाहको लागि दुःख गरिरहेका छन् भने अधिकाँश मानिसहरू प्रत्येक पाखामा गोठ राखेर परम्परागत शैलीमा खेतीपाती गर्दैैछन् । 

अब खाँचो रह्यो “यहाँ आवास वा हामेस्टे बनाउन उत्प्रेरित गर्ने केही सिर्जनशील मान्छेहरू, जुन् यार्सा भूमिकै छोरा हुन् या यार्सालाई माया गर्ने ।” प्रत्येक गाउँमा एक÷दुई होमस्टे भएमा पहिला आन्तरिक पर्यटक आउनेछन् र विस्तारै बाह्य पर्यटक पनि । रसुवाबाट राजधानी गएर वा रसुवामा नै बसेर पर्यटन व्यवसाय गर्ने वा पर्यटनबाट लाभ लिएका जनशक्तिको एक नजरबाट यो सम्भव छ । छिमेकीले राम्रो पाहुना घर बनाएर चिया र खानाको पैसा लिएर घरमै आर्जन गर्न थाले पछि अवश्य पनि अर्को छिमेकीले पनि त्यसै गर्न थाल्दछ, त्यसैले एउटा गाउँमा एउटा होमस्टेको अवधारणा विकास गर्न सके छिट्टै यार्साको बस्ती रसुवाभरि चिनिन्छ, अनि मुलुकमा पनि ।

यार्सामा सम्भावना रहेको यो विकासको लाभ यार्साले मात्र लिदैन । यार्सा हुँदै पर्यटकहरू सरमथलीका त्यस्तै मनमोहक पुरीहरू लारच्याङटार र पाच्र्याङ  पुग्छन् अनि गोसाइँकुण्ड पनि । यार्सा जाँदा बाटामा पर्ने धैबुङ र भोर्लेका गाउँहरू पनि यसका हिस्सेदार हुन् । पर्यटकीय आनन्द पाउने आकर्षक बस्तीलाई विस्तारै विकास गर्दै जान सके आज १४ वर्षकै उमेरमा १८ वर्ष पुग्यो भनेर आफ्नो छोरी विदेश पठाउने पासपोर्टका लागि यहाँका बाबाहरू धाउने थिएनन् । यहाँ नै एउटा असल रोजगारी सिर्जना गर्न सक्ने थिए र यहाँ उत्पादन हुने विभिन्न उत्पादनको परिकार बेचेर सजिलै आयआर्जन गर्न सक्ने थिए ।  प्राय यार्साका  मान्छेहरू अहिले पनि पर्यटन व्यवसायबाट लाभान्वित छन् । भारी बोकेर घोरेपानी होस् या लार्के पास अनि सोलुखुम्बुका टासीलाप्चा होस् या ज्यानै जाने खालका धौलागिरी हिमाल पुगिरहेका ती यार्सालीका गाउँ बस्तीमा नै पर्यटक पुग्न सके भरिया बनेको ठाउँमा होटल वा होमस्टेको सञ्चालक बन्न पाउने थिए । यहाँ विकास गर्न सकिने पर्यटनको नाम शुद्ध पर्यटन मात्र नभई कृषि पर्यटन हो । जडिबुटी खेती, जैविक उत्पादन र पशु पालनलाई समेत् जोडेर एउटा कृषि पर्यटनको अवधारणा वा गुरुयोजना आवश्यक देखिन्छ । 

त्यसैले ओझेलमा परेको र पर्यटकीय पूर्वाधार बोकेर जिएको यार्सालीका  बस्तीमा विकास गर्न सके यहाँबाट रोजगारी वा  जीवन निर्वाहका लागि धुन्चे वा अन्यत्र जाने चलन हराउँदै जानेछ । आफ्नै गाउँलाई सजाएर यार्सालीहरू जिउन पाउनेछन् ।
लाङटाङ सम्पदा २०७१ मा प्रकाशित 

0 सुझाव लेख्नुहोस्:

Post a Comment

Followers

साताको चर्चित

Rasuwa Profile

महिनाको चर्चित

Total Visitor

Recent Posts

Prem Prasad Paudel, Rasuwa. Powered by Blogger.
Blogger Template by Basnetg.com