Home » , » बुढ्यौलीपनको प्रतिनिधि उपहार 'जिजीविषा'

बुढ्यौलीपनको प्रतिनिधि उपहार 'जिजीविषा'

हरेक सिर्जनाका आ-आफ्नै भाव, मर्म र सन्देशहरू हुन्छन् । कुनै सिर्जनामा राजनीतिक भावहरू हुन्छन् त कुनैमा दार्शनिक, सामाजिक, सांस्कृतिक तथा वातावरणीय भावहरू हुन्छन् । अथवा हरेक कृतिमा केही न केही भावहरू हुन्छन् । धेरै अभ्यास र साधनाबाट मात्र र्सवपक्षीय भाव भएको कृतिको सिर्जना गर्न सकिन्छ । सिर्जना युगले विश्वास गर्ने, भर गर्न मिल्ने तथा यथार्थतामा आधारित हुनु पर्दछ । डा. सत्यराज थपलियाको गीतिकाव्य 'जिजीविषा' यस्तै धेरै भाव तथा सन्देश, युगसापेक्ष तथा यथार्थतामा सिर्जिएको कृति हो । कृतिको 'जिजीविषा' भन्ने शीर्षक नामकरण गरिएकोबाट पनि यो कृति जीवन भोगाई वा बुढ्यौलीपनको गतिलो उपहार हो भन्न सकिन्छ ।

बुढ्यौलीको व्यथा, धर्म, दर्शन, संस्कृति, सामाजिक तथा पारिवारिक व्यवहार, राजनीतिक अवस्था, देशमा व्याप्त हत्या, हिंसा, लुटपाट, अपराध, विसंगति, महंगीप्रतिको सन्देशमूलक तथा तीखो प्रहार नै उक्त कृतिको मर्म वा भाव हो । लोक लयमा सिर्जित जिजीविषाका हरेक श्लोकको पहिलो, दोस्रो र तेस्रो पाउमा धर्म, दर्शन, संस्कृति, सामाजिक तथा पारिवारिक व्यवहार, राजनीतिक अवस्था, देशमा व्याप्प्त हत्या, हिंसा, लुटपाट, अपराध, विसंगति, महंगीको वास्तविक विश्लेषणात्मक प्रस्तुती पाइन्छ भने हरेक श्लोकको चौथो पाउमा बुढेसकालको व्यथा वा विविध वेदनामा पनि मान्छेले बाँच्ने इच्छा गर्छ भन्ने भावलाई  प्रस्तुत गरिएको छ । बुढ्यौलीको भोगाई र समाजमा भएका यथार्थतालाई चित्रण गरी सिर्जिएको 'जिजीविषा' साधनशील, मार्मिक तथा व्यवहारिक विषयवस्तुको दरिलो उठान हो । जसले जिजीविषा अध्ययन गर्छ उसले त्यहाँ साँच्चिकै आफ्नो जीवन पाउँछ वा मानवको बुढेसकालमा भइरहेको व्यवहारिक पक्षलाई अवश्य पाउँदछ ।
पश्चिमी एक विद्वान बेकेनले भनेका थिए 'कुनै कृति चाख्नका लागि हुन्छन्, कुनै कृति निल्नका लागि हुन्छन् त थोरै मात्र कृति चपाउन र पचाउनका लागि हुन्छन् ।' डा. थपलियाको 'जिजीविषा' सहजै चपाउन र पचाउन सकिने कृतिको रूपमा रहेको छ । जीवन भोगाई धर्म, दर्शन, संस्कृति, सामाजिक तथा पारिवारिक व्यवहार, राजनीतिक अवस्था, देशमा व्याप्त हत्या, हिंसा, लुटपाट, अपराध, विसंगति, महंगीको विषयवस्तुमा जे कुरा भइरहेका छन्, त्यही विषयवस्तुको चुस्त दुरुस्त प्रतिबिम्ब कृतिमा छ त किन पचाउन गाह्रो पर्थ्यो र !
कृतिको बारेमा लेखिरहँदा नमुना श्लोक प्रस्तुत गर्न ज्यादै गाह्रो महसुस हुन्छ । धेरै राम्रा विषयवस्तुबाट थोरै राम्रा वा नमुना छनौट गर्नु गाह्रै भएपनि विषवस्तुको परिचयमा ती श्लोकहरू अपरिहार्य रहेका हुन्छन् । त्यसैले यस कृतिमा उठान भएका र सकेसम्म धेरै मर्म तथा भावलाई स्वः उदाहरण प्रस्तुत गर्ने जमर्को गरिएको छ । डा. थपलियाको यस कृतिको अर्को एउटा र यहाँ भन्न छुटाउन नहुने विषयवस्तु भनेको हरेक श्लोकले त्यसको भाव स्वत : दिन्छन् अर्थात् कुनै पनि श्लोकले भन्न खोजेको भाव विना उदाहरण, विना व्याख्या बुझनलाई कुनै मुश्किल नपर्ने खालको छ । त्यसैले पनि यो कृति चपाउन र पचाउनको लागि सम्भव भएको छ ।

झुसिल्कीरो तुल्य बूढो छोए चिलाउँछ
भित्रभित्रै चित्त फाटे कल्ले सिलाउँछ ?
'टाल्नुभन्दा फाल्नु राम्रो' भन्छन् रातोदिन
मेरो मन बाँच्ने इच्छा गर्छ अझै किन ?

धूलो धुँवा जताततै फोहोरको थुप्रो
गनाउने सहरमा आफू भई कुप्रो
नाक थुनी बस्नैपर्छ व्यर्थै रातोदिन
मेरो मन बाँच्ने इच्छा गर्छ अझै किन ?

हत्या, हिंसा जताततै दिउँसै लुटपाट
आपसमै भिडन्त भै भयो काटाकाट
खबर यी सुन्नैपर्छ व्यर्थै रातोदिन
मेरो मन बाँच्ने इच्छा गर्छ अझै किन ?

लोडसेडिङ/शुल्क दुबै बढ्छ बारम्बार
बत्ती कल्यै बल्ने हैन, सँधै अन्धकार
उद्योगधन्दा बन्दै भए व्यर्थै रातोदिन
मेरो मन बाँच्ने इच्छा गर्छ अझै किन ?

नेपालका नेताहरू हलो अड्काएर
गोरु चुट्ने हली जस्तै ज्रि्रो पड्काएर
फोस्रो भाषण मात्रै गर्छन् व्यर्थै रातोदिन
मेरो मन बाँच्ने इच्छा गर्छ अझै किन ?

ऐलेसम्म जे भए नि भयो अबदेखि
अहङ्कार, लिँडेढिपी, छोडी सबै सेखी
मिलीजुली शान्ति खोज भन्दै रातोदिन
मेरो मन बाँच्ने इच्छा गर्छ अझै किन ?

डा. सत्यराज थपलियाको यो कृतिमा यस्तै भाव र सन्देशहरू रहेका छन् । यस पुस्तक अध्ययनबाट पक्कै पनि पाठकमा चेतना जागृत हुने कुरामा शंका रहँदैन । जिजीविषा १ देखि ६६ सम्मका भागमा व्यवहारिक र देखिएका विषवस्तु मात्रलाई समेटिएको छैन, त्यहाँ अब त्यस्ता अव्यहारिक तथा विसंगतिपूर्ण विषयको  न्यूनीकरण  वा अब यस्तो हुनुपर्दछ भन्ने खालको भावनाको कामना गरिएको छ ।  निष्कर्षस्वरूप लेखिएका ती कामनाले पक्कै पनि जनमानसमा ज्ञान, प्रेरणा र मार्ग निर्देशित गर्छ भन्नेमा विश्वास गर्न सकिन्छ ।

प्रणय सन्देश, विदा, श्रीमतीको चिठी, वैलिएको फूल, थोत्रो घुम जस्ता कृतिको सफल प्रकाशन पछि यो कृति वि.सं २०६६ सालमा छापिएको हो । यो कृतिको आवरण चित्र उदेश पाण्डेले तयार गरेका हुन् भने प्रकाशन रमादेवी थपलियाले गरेकी हुन् । शुभदृष्टि छापाखानाद्वारा मुद्रित यो कृतिमा ७६ पेज रहेका छन् ।

0 सुझाव लेख्नुहोस्:

Post a Comment

Followers

साताको चर्चित

Rasuwa Profile

महिनाको चर्चित

Total Visitor

Prem Prasad Paudel, Rasuwa. Powered by Blogger.
Blogger Template by Basnetg.com