Ad Code

Responsive Advertisement

समाज जागरणमा महिला स्वास्थ्य स्वयं सेविकाको भूमिका

रसुवा खबर वर्ष१, अंक ९, २०६७ साल मंसीर २५ गते शनिबार
नेपाली समाजमा महिला स्वास्थ्य स्वयं सेविकाको महत्वपूर्ण भूमिका रहँदै आएको छ । आमा समूहबाट छानिएर समाजको सेवा गर्न प्रतिनिधि आमाको रूपमा महिला स्वास्थ्य स्वयं सेविकाहरू रहेका हुन्छन् । राज्यले र्सवस्व खनाएर पालेका कर्मचारीको भन्दा यी सेविकाहरूको धेरै सहयोग हाम्रो समाजले पाइराखेको छ र हामीले देखिराखेका छौं । कहिले खोपको कुरा लिएर त कहिले स्वस्थ जीवनको कुरा लिएर हाम्रा दैलामा टुप्लुक्क आइपुगेका हुन्छन् यी महिलाहरू ।

न हामीले तलब दिएका छौं न राज्यले नै । तालिक गोष्ठीमा सहभागी भएवापत पाउने पारिश्रमिकको भरमा उनीहरू गर्वका साथ घरदैलो अभियानमा पुगिराखेका हुन्छन् । गाउँघरका भनौं या बालबालिकाका पहिलो डाक्टरको रूपमा यी स्वयं सेवकहरू स्थापित भइरहेका छन् । गाउँघर, टोल सरसफाइ वा प्रदुषण नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका यी महिलाहरूको जीवनयापनमा वा जीवन परिवर्तनमा राज्यले कुनै सहयोग पुर्याउन सकेको छैन ।

बालबालिकाहरू विरामी पर्दा वा स्वास्थ्य सम्बन्धी चेतनामूलक ज्ञानको लागि समुदायका अरू आमाहरू पनि महिला स्वास्थ्य स्वयं सेविकाको ढोका पुगिहाल्नु पर्दछ । स्वास्थ्य चौकीको पहुँच नपुगेका स्थानमा त सिङ्गो स्वास्थ्य सम्बन्धी समस्या उनस्हरूको हातमा रहेको हुन्छ । रसुवा जस्तो विकट वस्तीमा त झनै उनीहरू जिम्मेवारी ज्यादा रहेको पाईन्छ । स्वास्थ्य सम्बन्धी सन्देशमूलक चेतना प्रवाह गर्ने आमा समूहका नेता आमाहरू विकास निर्माणका निम्ति पनि पछि परेका छैनन् । महिला स्वास्थ्य स्वयं सेविकाहरूको संख्या त्यति प्रशस्त हुदैन । जनसंख्याको आधारमा महिला स्वास्थ्य स्वयं सेविकाको व्यवस्था गरिएको हुन्छ । स्वस्फूर्त सेवा गर्ने भावना भएका महिलाहरूलाई वा प्रभावशाली महिलाहरूलाई आमा समूहले नियुक्ती गरेको हुन्छ । तर आजभोली आमा समूहहरू त्यति सकृय हुन नसकेका कारण कतिपय गाउँहरू सेविका विहिन अवस्थामा छन् ।

अरु क्षेत्रमा जसरीे प्रभाव परेको छ राजनीतिक तरङ्गको, त्यति प्रभाव यो क्षेत्रमा देखिदैन । अथवा राजनीतिक बिम्बले भने महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई जञ्जीरमा पार्न भने सकेको छैन । आफ्नो क्षमताले भ्याएको सेवा गर्नका लागि तल्लीन हुने समाज परिवर्तनका सहयोद्धा महिलाहरू राजनीतिक तरङ्ग उथुलपुथुल हुँदा पनि आफ्नै कर्तव्यबोधमा निहित छन् ।

जिल्ला जनस्वास्थ्य कार्यार्लयसँग यस्तो बलियो सञ्जाल छ, जुन सञ्जालमार्फ् सूचनामूलक सन्देश बस्ती बस्तीमा पोख्न वा प्रवाह गर्न सजिलो छ । राज्यका वा सरकारी कार्यालयका अरु निकायहरू माझ यो अवसर सिर्जना गर्न गाह्रो पर्छ । यदि राज्यका अन्य निकायले पनि महिला स्वास्थ्य स्वयं सेविकाको माध्यमद्दारा सन्देश प्रवाह गर्ने हो भने वा सन्देश प्रवाह गरेवापत उपहार वा पुरस्कारको व्यवस्था गरिदिने हो भने एकातिर उनीहरूको जीवनयापनमा सहजता थपिने थियो भने अर्कातिर बस्तीका कुरा राज्यका निकायमा र राज्यका कुरा बस्ती बस्तीमा पुर्याउन सजिलो हुन्छ । उनीहरूमार्फत मानव अधिकारका विषयलाई संरक्षण गर्न पनि मद्धत पुग्ने देखिन्छ ।

Post a Comment

0 Comments