Ad Code

Responsive Advertisement

समाज सुधारका प्रतिबिम्ब भरत न्यौपाने

Rasuwa Khabar First Year 11th Edition Paush 17 2067
सामाजिक सेवा गर्दै गाउँको उन्नति र प्रगति गर्न उच्च ओहदा र सरकारको मनग्य लगानी पनि बग्नु पर्दैन । न त व्यक्तिगत सम्पत्तिबाट नै करौंडौं रूपैया खर्चनु पर्दछ । दिलभरि माटाको माया उमारी इमान्दारीपूर्वक लागि पर्ने हो भने अत्यन्तै न्यून लगानीबाट पनि गाउँ, बस्ती र टोलको मुहारलाई दिव्यता दिन सकिन्छ भन्ने कुराको नमुना बन्न पुगेका छन् रसुवा, भोर्ले- ८, भदौरेका समाज सुधारक भरतप्रसाद न्यौपाने ।

विसं २०२५ साल पौष १३ गते पिता देवप्रसाद र माता नोखकुमारी न्यौपानेको पवित्र कोखबाट जन्मेका हुन् । गरिवीले गर्दा पेट पाल्नको लागि निकै गार्हो भएपछि ८ वर्षै उमेरमा गाउँबाट बाहिरिएका न्यौपानेले गाँस, वाँस र कपासको निम्ति देशभित्र नै निकै भौंतारिनु पर्यो । रोजगारीको खोजीमा कुदिरहेका उनी बढो कठिनपूर्वक वि.सं २०४३ मा आयुर्वेदिक विभागको तल्लो तहको कर्मचारी बन्न पुग्छन् । न्यून तलबका कारण त्यहाँ जीवन धान्न कठिन परेपछि हाकिमसँग अनुनय विनय गरी आफूर् राष्ट्र बैंकतिर र्सछन् । थोरै तलब, तल्लो तहको अस्थायी कर्मचारी हुनुको पीडावोधको कारण विसंगतिपूर्ण जीवनलाई पुन : राम्रो रोजगारीको आशा राखी २०४७ मा भारतीय भूमितिर लाग्छन् । त्यहाँ उनले पानी शुद्ध गर्ने र घरभित्र तथा बाहिर हुने जैविक 'फोहोरलाई मोहोर' बनाउने काम पाउँछन् । सोही कामको अध्ययन र अनुगमन गर्ने सिलसिलामा चार महिनासम्म थाईल्याण्डमा बस्ने मौका पाउँछन् ।


आफ्नो पसिना मातृभूमिको उन्नतीमा नै लगाउने ध्येयले उनी २०५० मा नेपाल फर्के । समयको यही दौडानमा भक्तपुरस्थित प्राविधिक तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटि) मा कार्यलय सहयोगीको रूपमा कार्य गर्ने मौका पाए । आर्जित सम्पत्तिको खर्च प्रकृयाको बारेमा अध्ययन गर्ने उद्धेश्यले र्सवप्रथम फुटपाथका नाङ्ले पसले र डकर्मीहरूको दैनिक खर्च सम्बन्धी अध्ययन गरे । त्यहाँ उनले क्रमशः दश पन्ध्र रूपैयाँ धुम्रपानको लागि र दश पन्ध्र रूपैंयाँ जाँड रक्सीमा प्रतिदिन खर्च गर्ने गरेको पाए । उनले मनमनै सोचे नाङ्ले पसलेले दशदेखि पन्ध्र रूपैयाँ दैनिक चुरोटमा खर्च गर्छ । डकर्मीले पन्ध्र रूपैंयाँ बराबर रक्सीमा खर्च गर्छ , तर 'म चुरोट पनि तान्दिन, र रक्सी पनि पिउँदिन भने त्यही बराबरको रकम वचत गरी सामाजिक कार्यमा किन नलगाउने -' मनमा उब्जिएको समाज सेवाप्रतिको चाहना स्वरूप उनले दैनिक दश रूपैंयाँका दरले 'खुत्रुके वचत' गर्न थाले । २०५३ सालमा उनी गाउँ फर्के । उनले त्यत्तिखेर खुत्रुकेमा जम्मा भएको १२ हजार ३ सय ६६ रूपैंयाँ पनि लिएर आए । सँगै हुर्केका र हुर्कँदै गरेका मुनाहरूसँग मिलेर उनले खुत्रुके वचतबाट सामाजिक काम गर्न 'भदौरे समाज सुधार समिति' नामक संस्थाको स्थापना गरे । त्यही संस्थाको अगुवाइमा उनले समाज सेवा गर्ने प्रण गर्दै समाजमा प्रस्ताव राखे 'मेरो खुत्रुके वचतलाई विकास निर्माण गर्न लगानी गर्ने निर्णय गर्दै तपाईहरू पनि सक्दो सहयोग गर्नोस' । समाजका व्यक्तिहरूले उक्त प्रस्तावलाई स्वीकार गर्दै खानेपानीको कुवा बनाउने निधो गरे । त्यत्तिखेर उक्त अभियानमा भदौरेका २२ घरधूरीले सहयोग पुर्याए ।

काठमाडौं फर्केपछिको एक विहान दश वजेतिरै हाकिमले उनलाई कार्यकक्षमा बोलाए । गोरखापत्रमा न्यौपानेले 'खुत्रुकेमा गरेको वचतद्धारा कुवा खनाएको'समाचार प्रकाशित भएको थियो । गोरखापत्र देखाउँदै हाकिमले प्रसन्न भएर भनेछन् 'तिमी कार्यालय सहयोगीको काम गर्र्छौ र पनि महान काम गर्र्छौ ।' हाकिम निकै प्रभावित भएर गोजीबाट दश हजार रूपैंयाँ दिदै भने 'त्रि्रो अभियानमा यसले एउटा इट्टा थप्ने काम गर । ' न्यौपाने ज्यादै खुसी हुँदै आफ्नो कार्यलाई झन फराकिलो बनाउन तयार भए । उनले त्यसलाई उत्प्रेरणाको रूपमा पाए । २०५४ मा कार्यलयबाट प्राप्त दश हजार रकम लिएर गाउँमा 'भदौरे स्वावलम्वन कोष' स्थापना गर्न सफल भए । त्यही साल कार्यलयबाट उनलाई गाउँमा सामाजिक कार्य गर्नको लागि वाषिर्क १० दिन विदा पनि मिल्यो । स्वावलम्वन कोषको विकास गर्न गाउलेले पनि देउसी भैलो खेलेर ३ मुरी अन्न र केही रकम जम्मा गरे । त्यत्तिखेरसम्म उक्त कोषमा २३ घरधूरी सहभागी थिए । स्वावलम्वन कोष विस्तार, ग्रामीण पुल, बाटोघाटो बनाउन तथा सांस्कृतिक कार्य र बिहेबटुलमा चाहिने आवश्यक सामग्री खरिद गर्नको लागि गाउँलेको सहयोग तथा उनको खुत्रुके वचत अभियान कायमै थियो । २०६० सम्ममा उनको अगुवाइमा गाउँमा निकै काम सम्पन्न भइसकेका थिए । समाजमा प्रतिघर वर्षोनी पाँच दिन बराबरको जनश्रम दिने नियम पनि बस्दै गयो जुन अहिलेसम्म पनि कायमै छ । प्रत्येक दशैंमा ग्रामीण योजना बनाउने र हिउँदमा जनश्रमद्धारा विकासका काम गर्ने चलन अत्यन्त महत्वका साथ स्थापित हुँदै गयो । उक्त स्वावलम्वन कोषमा हाल दुई लाख बराबरको रकम रहेको छ । प्रवेशिका परीक्षामा उच्च अंक ल्याउनेलाई पुरस्कार, मृत्यु संस्कारको लागि दुई हजार रूपैंयाँ सहयोग, दैवी विपत्ति परेको परिवारको सम्पूर्ण खेतीपातीका काम उतारिदिने जस्ता कल्याणकारी कामहरू सञ्चालन भइरहेका छन् ।

भदौरे समाज सुधार समितिको स्वावलम्वन कोषले आगामी दिनमा ग्रामीण विकास गर्न सरकारको भर नपर्ने, जनश्रमलाई निरन्तरता दिने, अति गरिवलाई व्यवसाय सञ्चालन गर्न सहुलियत व्याजमा ऋण दिने , बिजुली बत्तीको पैसा तिर्ने, पशु विमा गर्ने, गाउँलेलाई खेताला र मल अनुदान दिने, चार्डपर्वमा मसला आदिको व्यवस्था गर्ने, छिमेकी गाउँहरूमा पनि सहयोग गर्दै त्यही अनुसरण गर्न लगाउने जस्ता कार्ययोजना बनाएको छ । सामाजिक सद्भाव कायम गर्न बेलाबेलामा वनभोज र अन्तक्रिर्या जस्ता कार्यक्रमको आयोजना गर्दै आएको छ । सादा जीवन र उच्च विचारका भरत न्यौपानेको सानो प्रयत्नबाट झाँगिँदै गएको जनचेतना र सामाजिक परिवर्तनको यो गोरेटो सबैको निम्ति उदाहरणीय बन्न पुगेको छ । उनको अगुवाइमा रहेको भदौरे समाज सुधार समितिले गरेका स्थानीय विकासका कामहरू, भदौरे स्वावलम्वन कोषले समाज विकासमा पुर्याएको योगदानलाई अन्य गाउँमा पनि स्थापित गर्न सकेमा सामाजिक, सांस्कृतिक र आर्थिक विषमतालाई परिवर्तन गर्न सकिन्छ । एकपटक भदौरे जाऔं, भदौरे समाज सुधार समितिले प्रारम्भ गरेको सामाज सुधारका आदर्श पथहरूलाई पछ्याउँदै स्थानीय उन्नयनको लागि अरूको मुख नताक्ने प्रथाको सुरुवात गरौं । आमूल परिवर्तनको लागि भदौरेको समाज नमूना बन्न सक्छ , खोक्रा नारा र नयाँ नेपाल बनाउने नाममा भित्रिएको विसंगति र्सार्थक बन्ने छैन । नारा बर्बराएर र झण्डा फर्फाएर होइन नङ्ग्रा खियाएर मात्र देशले काँचुली फेर्न सक्छ भन्ने तर्कमा विश्वास गरौं ।

Post a Comment

0 Comments