जंगलमा आगलागी, जलवायु परिवर्तन हंगा र मानव जीवन

रसुवा खबर वर्ष१, अंक २३, २०६७ साल चैत ५ गते शनिबार
जलवायु परिवर्तनको विषय विश्वमा नै चर्चामा आएको छ । वायुमण्डलको तापक्रममा अत्याधिक र अनेपेक्षित रूपले बृद्धि भइरहेको छ र विभिन्न प्रजातिका विरुवाहरू पनि स्थानान्तरण वा लोप हुँदै गई रहेका छन् । तर्राईमा हुने प्रजाति पहाडमा, पहाडका प्रजाति हिमालमा देखिनु वा हिमालका प्रजाति अन्यत्र देखा पर्नु वा लोकबाट नै लोप हुनु, पृथ्वी उष्ण हुदै जनजीवनमा प्रतिकुल असर पर्नु, विभिन्न प्रजातिले सदा झैं समयान्तर गरी फल दिनु वा फूल फूल्नु आदि नै जलवायु परिवर्तन हुँदा हुने गर्दछ । छोटो समयमा नै जलवायु परिवर्तनको विषयमा हंगामा भएको छ ।


पानी पर्ने मात्रा उति नै भई रहँदा पनि कहिले अतिवृष्टि त कहिले अनावृष्टि हुनु त कहिँ बाढी पहिरो त कहिँ खडेरी आदि हुनु पनि जलवायु परिवर्तनको समस्याको कारण हो । विभिन्न विद्धानहरूले आगामी ५० वर्षा हिमाल नरहने, हिमतालहरू सुक्ने वा फुट्ने कुराहरू गरिरहेका छन् । यसले हामी सबैलाई आर्श्चर्य पनि बनाएको छ । जलवायु परिवर्तनको समस्या हाम्रै व्यवहारका कारण सिर्जना हुन्छ भन्दा कतिले त पत्याउँदैनन् । तर हामीले विभिन्न फोहोर डडाउँदा, कलकारखाना वा सवारी साभन चलाउँदा हरित गृहमा प्रभाव पार्ने कार्वनर्डाई अक्साइड ,नाइट्रस अक्साइड, सल्फर डाइअक्साइड, मिथेन, फ्लोर परफ्लोर कार्वन्स्,हाईड्राफ्लोर कार्वन तथा सल्फर हेक्जा कार्वन जस्ता ग्यासको मात्रा बढ्ने गर्दछ । यीनै ग्यासको मात्रा बढेपछि पृथ्वीमा जलवायु परिवर्तनको समस्या देखिने गर्दछ ।

जलवायु परिवर्तनको समस्या अनुकूलन गर्नको लागि वन जंगलको संरक्षण अत्यन्त महत्वपूर्ण रहने गर्दछ । वातावरणमा उपस्थित मानव घातक ग्याँसहरू रूखले खाने र रूखले फ्याँक्ने अक्सिजन मानव जीवनको लागि उपयुक्त हुने हुनाले जंगलको संरक्षण नै मानव जीवनको संरक्षण हो । त्यसैले मानव र जंगल एक अर्काका जीवन सहयोगी पात्रहरू हुन्, एक अर्काका पर्यायी हुन् यसमा कुनै शंका छैन ।

मानव जीवनको लागि जंगल यति महत्वपूर्ण हुँदाहुँदै पनि जानी नजानी हामी जंगलको विनासमा जुटिरहेका छौं । कहिले खाना पकाउने इन्धनको नाममा त कहिले घर ठड्याउने साधनको नाममा हामीले छानीछानी रूखहरू ढालिरहेका छौं । कहीँ घाँस पलाउन र काट्न सजिलो बनाउने बाहानामा त कहीँ वन्यजन्तु चोरी सिकारीको चाहनाले जंगलमा आगो सल्काएर ध्वस्त पार्ने कार्यमा पनि मानव समाज नै लागिरहेको छ । हिउँदको समयमा यस्ता क्रियाकलापले धेरै वनको क्षति भइरहेको छ । वनको क्षति एकातिर छ भने अर्कातिर वातावरण प्रदुषित भई जलवायु परिवर्तनको समस्यामा जगत रूमल्लिरहेको छ ।

रसुवा जिल्ला वन जंगल धेरै भएको जिल्ला हो । यहाँ वर्षोनी प्राय जंगलमा आगो लाग्ने गरेको छ । गत सातामात्र रिभरकुण्ड महोत्सव आयोजना हुँदै गरेको क्षेत्र बृद्धिम र त्यसको नजिक टिमुरेमा निकै विनासकारी रूपमा आगो फैलेको हाम्रा नजरमा पर्यो । एकातिर पर्यटन महोत्सवको चटारो अर्कातिर जंगलमा आगो लाग्दा निस्केको प्रदुषणले वरिपरिका बस्तीहरूमा श्वास फेर्न समेत् मुस्किल परिरहेको थियो । त्यहाँका जनतामा श्वासप्रशवास सम्बन्धी रोगको चाप बढिरहेको थियो ।

मानव जीवन सरल र सहज तरिकाबाट बिताउन हाम्रा वरपरका वातावरण सहयात्री हुन् । जंगल र पानी विना हाम्रो जीवनको कल्पना गर्न सकिदैन । जंगल रहेमात्र पानी रहने र पानी रहेमात्र हामी रहने कुरामा सबैले चासो दिनु आवश्यक छ । रसुवाका जंगलमा आगो लाग्दा निभाउन सकिने सम्भावना ज्यादै न्यून रहेको छ । सबैतिर भीर, आगो फैलदै जाँदा वर्षोनी धेरै सम्पदाको विनास हुने गरेको छ । घाँसपातको सहजताको लागि होस् वा सिकार गर्ने चाहना स्वरूप, जंगलमा आगो लगाउँदा तत्कालीन केही लाभ पाइएला तर मानव जीवन र भू मण्डलको भविष्यका लागि यो खतरायुक्त छ । त्यसैको जंगलको संरक्षणका लागि सबैजना एकजुट हुनै पर्दछ, किनकि तपाइँ हाम्रो सुन्दर र उज्ज्वल भविष्यका लागि, केवल त्यसैका लागि ।
अन्तमा चेतनामूलक कविताको यो अंश

छैनन् रूख भने रहन्न जगतै बाँच्दैन भन्ने पिर
फैलेका कण धेर, दूषित हुँदै फर्किन्छ मान्छे तिर ।
मान्छेले लिनु पर्छ चीज जुन हो भन्ने त अक्सीजन
रोपौं रूख दिनेछ आज सहजै राखौं यही चेतना ।।

Comments

Popular posts from this blog

महिमा आमाको

उन्नत कृषिका ''तगरा''

राजधानीको पोल्टामा हराएको पर्यटकीय गन्तव्य 'भिमढुङ्गा'