रसुवा खबर, वर्ष १, अंक ३२ , २०६७ जेठ ७ गते, शनिबार
रसुवाबाट अखबार प्रकाशन आफैंमा दुस्साहसी
अभ्यास हो । एकातिर पत्रिका प्रकाशनको लागि समाचारका सामग्री संकलन तथा तथ्य स्रोतको
अभाव अर्कातिर संकलित सामग्रीलाई प्रकाशन गर्न प्रेसको अभाव । अझै दुःखजिलो गरेर प्रकाशन
भएको पत्रिका ग्राहक समक्ष पुर्याउन पनि
त्यत्तिकै कठिनाई । कहिले बसमा नै हराउँछ पत्रिका त कहिले विभिन्न कारणले पत्रिका प्रकाशन
गर्न सकिदैन ।
पहिलो, रसुवाका पत्रकारहरूले दुःख गरेर संकलन गरेका समाचारलाई
राष्ट्रिय मिडियासम्म पुर्याउन त्यत्तिकै
चुनौती छ । दोस्रो, न्यून पहुँच र कम गुणस्तरीय समाचारका कारण वा पत्रिकाका मालिकलाई रिझाउन नसक्दा
प्रकाशन गर्न गार्हो भइरहेको छ । सरल शब्दमा भन्दा
रसुवाली पत्रकारहरूले पत्रकारिताको सामान्य अभ्यास मात्र गर्न
सकेका छन् । विभिन्न तालिमका अभावले रसुवाली पत्रकारहरूको पेशा पत्रकारितामा मात्र
सिमित हुन सकेको छैन ।
रसुवाका जनताले सूचनाको मुख्य स्रोतको रूपमा
रसुवा खबरलाई नै पाएका छन् । पत्रकारिता सिक्न र अभ्यास गर्नको
लागि एक माध्यम बनेको छ रसुवा खबर । शनिवार अबेरसम्ममा इमेलबाट
रसुवा खबरको पिडिएफ फाइल पठाउन सकिएन भने कतै इमेलमा त कतै फेसबूकमार्फ स्वदेश र विदेशमा
बस्ने रसुवालीहरूले पत्रिका पठाइदिन अनुरोध गर्दछन् । साप्ताहिक रूपमा रसुवाको समाचार
र ज्ञानवर्द्धक, चेतनामूलक सामग्री अध्ययनको लागि पर्खिरहेका
हुन्छन् पाठकहरू । कतिपयले रसुवा खबरमा प्रकाशन भएका लेख, रचना
र समाचारलाई पढेर प्रतिक्रिया दिन्छन् । जिल्लाभित्र बस्ने र जिल्ला बाहिर बस्ने रसुवालीहरूको सकारात्मक सुझावबाट हामीलाई अगाडि
बढ्न निकै हौसला मिलेको छ । अझ खुसी लाग्छ जतिबेला रेडियोहरूले रसुवा खबरका समाचारलाई
अक्षरस पढ्छन् । नुवाकोटलगायत राजधानी र राजधानी बाहिरका समाचारपत्रहरूमा पनि रसुवा
खबर प्रकाशन हुन थालेपछि धेरै समाचारहरू छापिन थालेका छन् ।
यात्राका क्रममा कतै रसुवा खबर जथाभावी फ्यालिएको, च्यात्तिएको देखेमा साह्रै
माया लागेर आउँछ । कतै एक टुक्रा रसुवा खबर देखेमा टिप्न मन लाग्छ । जिल्लाबाट प्रकाशन
हुने पहिलो साप्ताहिक, धेरैका लागि उपर्यूक्त सूचना स्रोतको रूपमा
रहेको छ भन्न हामीले हिच्किचाउनु हुँदैन । चिलिमेको सेयरदेखि रसुवाको महोत्सवमा के
भयो भनेर जानकारी दिने प्रमुख माध्यमको रूपमा रसुवा खबर रहेको र्सवविदितै छ । कतिपय
विषयहरूको बारेमा रसुवा खबरबाहेक अन्यत्रबाट थाहा नभएको पनि धेरैले बताइरहेका छन् । प्रकाशनको पूर्वार्ददेखि नै पत्रिकालाई
कुनै पार्टीको मुखपत्र नबनोस् भन्दै धेरै पाठकले सुझाव दिइरहेका छन् र कुनै पार्टीको
नभई रसुवाली जनताको मुखपत्र बनाउनको लागि हामी सँधैं क्रियाशील छौं ।
प्रकाशनको ३१ औं अंकमा 'माओवादीको विरूद्धमा समाचार
लेखियो' भन्दै हाम्रै हातबाट खोसेर वाइसिएलले करिव १ सय थान रसुवा
खबर जलाउँदाको क्षणमा साह्रै दुःख लाग्यो । एक टुक्रा अव्यवस्थित देखेमा दुखेर आउने
मन मुठै च्यातेर जलाउदा मनभरि डँढेलो सल्कियो । त्यसको प्रतिवादमा बोलिएको भए अझै के
हुन्थ्यो होला - पत्रिका जल्नेसम्मको समाचार थिएन त्यहाँ । प्रधानाध्यापक
र गाउँका युवासँग भएको झडप, प्रहरी पोष्टमा गएर मिलापत्रसम्म
हुन लागेको । माफी माग्दै कागजमा सहीछाप गर्न ठिक परेका शिक्षकलाई केही साथीहरूले नमिल्न सल्लाह दिएपछिमात्र समाचार
विरूद्धमा भएको ठहरिन्छ र सानो समूहले तन, मन र धन अर्पेर प्रकाशन
गरेको पत्रिका भनौं या उत्पादन वा सम्पत्ति जे भने पनि जल्दा सहन धौधौ नै पर्यो । तर पनि
'मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्या' छ भने झैं मनलाई गाह्रैसँग भनेपनि सभाल्न पर्नै रहेछ ।'
समाचारका पात्र सेतीदेवी उमाविका प्रमुखको
विरूद्ध भयो रे, आफूले गल्ती गरेको स्वीकार गरी
माफी माग्दै कागज गर्न तयार हुनुले नै समाचारको पुष्ट्याइँ गर्दछ
। अझै त्यहाँ घटना नमिली धुन्चे पुगेर पनि दुबै पक्ष हाँसीखुसी मिलापत्रमा सही गरी
सँगै एकै ठाउँमा खाजा आएर फर्किए । उनीहरूको मिल्ने स्थिति गाउँमा नै थियो रे । राजनीतिक
विभाजनका कारण घटना ठूलो बन्दै गएको पाइन्छ ।
एउटा शिक्षकले विद्यालय सेवा क्षेत्रभित्र
जाँड रक्सी खानु र मातेर अभिभावकसँग जोरी खोज्दै जानुलाई चाहिँ माओवादीले सकरात्मक
रूपमा लिने, अझ कसले खादैन
र रक्सी, रक्सी खाएकोसँग किन बोल्ने त - भनेर उल्टै अरूसँग प्रहरी प्रशासनकै अगाडि दादागिरी देखाउन सक्ने वाइसिएलको
दण्डहीनता प्रष्टै थियो । अभिभावकले विद्यालय सञ्चालनार्थ सहयोग गर्दा अन्य पार्टीमा आवद्द
भएको कारण पूर्वाग्रही भएर अभिनन्दन नगरेको भन्ने विषयबाट झगडाको सुरूवात भएको देखिन्छ
। विद्यालयलाई माया गरेर गरेको सहयोग पनि फिर्ता गरिदिन्छु भन्नु विपरित पार्टीको सहयोगी
अभिभावकलाई सम्मान गर्न हिच्किच्याउनु हो भन्ने उनको विपक्षीबाट पाइएको छ ।
बसमा हेमनाथ खतिवडा र पूर्णप्रसाद न्यौपानेले
पत्रिका ल्याए । नियमित ग्राहकलाई पत्रिका बाँडियो । जिवजिवे बजारको लागि ५० थान पत्रिका
लिएर खतिवडा र म बाटो लाग्दै थियौं । पछिबाट एउटा वाइसिएल भाई जो मेरो आफन्त पनि थियो
उसले हाम्रो पिछा गर्दै भन्यो-
'तपाइँहरूलाई प्रभाकर दाइले बोलाउनु भएको छ ।' हामी फक्र्यौं, र्फकदा वाइसिएलको एक समूह प्रभाकर घिमिरेको
नेतृत्वमा आयो र उक्त समाचारको स्रोत खोज्यो । हाम्रो हातबाट पत्रिका खोसेर च्यात्दै
आगो लगायो र पत्रकारिताको फाँटोमा पुण्य कमायो । ग्राहकले पढ्दै गरेका सबै पत्रिका
खोसेर जलायो । एकछिन फलाक्यो उसले जानेको ।
आँखा पनि तमासै देख्न सकिएन तर पनि
धैर्य गर्न हामी बाध्य भयौं । र मनलाई खैंचिदै 'किन यस्तो भयो, किन पत्रिका जलाए -' भन्नेमात्र सोचिरहृयौं । एकैछिनमा
हामीसँग उत्तर आयो 'गोरू नाङ्गै हिँड्नु आर्श्चर्य हैन
।' उनीहरूले जलाउन, तर्साउन र दण्डहीनतालाई
अँगाल्नबाहेक के जानेका छन् र - यस्तै सोच्दै चित्त बुझाउन बाध्य
भयौं ।
कसैलाई समाचार चित्त बुझदैन, चित्त नबुझदैमा त केही पनि
गर्न पाइँदैन तर समाचार निष्पक्ष नभए खण्डनको प्रक्रिया अपनाउनु पर्दछ । साँच्चिकै
विरूद्धका समाचार भए मुद्धा मामिलामा लाग्न सकिन्छ । विरूद्धको छपाइ भए हामी मुद्धा
जाहेरी भएमा फैसलाले जे भन्छ त्यो मान्न तयार छौं र अदालतको फैसलाको पक्षमा छौं । यसरी
कानूनी प्रक्रिया हुँदाहुँदै रसुवा खबर हाम्रो प्रकाशन भनेर होइन, भोलि रसुवामा अरू
पत्रिका पनि प्रकाशन होलान् र कसैलाई समाचार चित्त नबुझला, तर
पत्रिका च्यातिन हुँदैन र जलाइनु हुन्न ।
रसुवामा पत्रकारिताको विकास भएको धेरै भएको
छैन । गाउँको समाचार, यहाँको समस्याको समाचार वा अन्य सूचनामूलक सामग्री जुन नितान्त रसुवाको भूगोलमा
रहेर प्रकाशन हुने रसुवा खबर नै रसुवाली पत्रकारिताको विकासको पहिलो खुटि्कलो हो ।
हुन यस अघि प्रकाशन हुँदै आएको नयाँ प्रवाहले रसुवाको समसामयिक विषयलाई एक चोया पनि
उठाउन सकेन । एउटा पार्टीको भूगोलमा रहेर मात्र त्यसले पत्रकारिता गरिरहृयो । माओवादीमा
जनमत थुप्य्राउनको लागि क्रियाशील देखिएको पत्रिकाको कारण आज अरू रसुवाली पत्रकारहरूलाई
'हामीले माओवादीको पत्रकार हुँ भनेजस्तो तिमीहरू पनि कसैका हुँ भनेर
हिक्मत गर्न सक्छस् -' भन्ने प्रश्न गरिरहेको छ । त्यसैका फलस्वरूप
माओवादीमा आस्था राख्ने पत्रकारहरूलाई वाध्यात्मक अवस्था सिर्जना भएको पनि छ ।
रसुवामा जी लेकाली, हेमनाथ खतिवडा, कृष्ण थापा, सुशील कोइराला, बलराम
घिमिरेलयायतका साथीहरूले पत्रकारितालाई घिच्याएर यहाँसम्म ल्याएका हुन् । आफ्नो योग्यता
र क्षमता अनुसार उहाँहरूले गर्नुभएको प्रयास अत्यन्त अनुसरणीय छन् । पछिल्लो समयमा
अरू साथीहरू पनि पत्रकारितामा आउनुभएको छ, र सँगसँगै एक रसुवा
खबरको समूह 'निरन्तर रसुवाको पत्रकारिताको गुणात्मक र व्यवसायिकतालाई दिशानिर्देश गर्न'
उन्मुख छ ।
पत्रिका जलाउने निन्दनीय र घृणित कार्यमा
सहभागी साथीहरू ! हाम्रो नाममा रसुवा खबरका
साप्ताहिक अंक ५ सय प्रतिमात्र छन् । तन, मन र धन हामीले त्यसमा
लगाएका छौं । जिविस र गाविसको पैसाले पत्रिका प्रकाशन गरेर माओवादी विरूद्ध लेख्ने
प्रयास गरिस् भनेर भन्नुभएको छ । जिविस होस्, गाविस होस् वा अन्य
सरकारी तथा गैरसरकारी संस्था वा महान् रसुवाली जनताको सहयोग जुन् हामीले लिइरहेका छौं,
त्यो कुनै न कुनै कामको अलावा लिइएको हो । सूचना प्रकाशन, ग्राहक शुल्क, शुभकामना विज्ञापनमार्फ लिइएको सहयोग मात्र
हो । कसैसँग लौरो देखाएर र तर्साएर पैसा असुलिएको
छैन । तपाइँहरूको जस्तो हाम्रा नाममा न करौंडौंको जग्गा छ न बङ्गला, यही पत्रिकाबाहेक । पत्रिका प्रकाशनका क्रममा पानी समेत् पिउन नपाएका दिन छन्
हामीसँग । घरबाट मकै भुटेर लगेका दिनहरू पनि पर्याप्त छन् हामीसँग । पत्रिका छापेर
जिल्ला र्फकन खोज्दा बसहरू छुटेर कैयौं दिन हामी पैदलै ५ सय थान पत्रिका बोकेर हिँडेका
छौं ।
पत्रिका जलाउने कार्यमा पत्रकार पनि संलग्न भएको देख्दा
रसुवाको पत्रकारितामा विडम्वना र चुनौती रहेको देख्न सकिन्छ । एकातिर पत्रकार महासंघको
सदस्यता प्राप्त गरेका पत्रकारले पत्रिका च्यात्नु र जलाउनु आफैंमा बेइमानी र आफ्नै
खिल्ली उडाएको अवस्था त छँदैछ, अर्कोतिर निजको पनि पत्रकारिताको आगामी उत्पादन कस्तो हुने भन्ने प्रश्न पनि
खडा भएको छ । हुन त आफ्नो पक्षमा महासंघ बनाउनको लागि पत्रकारिताको खोल ओढेका कोरमे
पत्रकारको हालसम्म रसुवाको समसामयिक विषय वा समस्या र समस्या समाधानका लागि कुनै मिडियामा कुनै पनि उत्पादन रसुवालीले पढ्न
पाएका छैनन् । खासै आशालाग्दो अवस्था पनि अनुमान गर्न सकिदैन ।
0 Comments