मिति
: २०६८ मंसीर ७ गते
आदरणीय
दिदी वागमती,
मीठो
सम्झना ।
म यहाँ
आरामै छु । तपाइँले पठाउनु भएको चिठी मैले पाएँ । लामो समय पछि सम्झनु भएछ । मनमा केही
हर्षर विष्मात लिएर यो जिन्दगी बिताइरहेको छु । तपाइँले भने जस्तै परापूर्वकालदेखि आफ्नो स्वरूप कायम गर्दै जीवात्माको बैतरणी सरह भएर बगिरहेको छु
। तर लामो समयदेखि तपाइँ र उपत्यकाका धेरै बुद्धिजिवीहरूको नजरमा बहन नसकेका दिदीहरूको
स्वरूप विरूप हुँदा म पनि विचलित भइरहेको छु ।
तर
जे होस् तपाइँहरूको सत्य रूप मानवले कल्पना गर्न नसक्ने भए पनि ठूलादेखि सानासम्मको
देहत्याग तपाइँहरूकै किनारमा भएको छ । यसमा तपाइँहरूले पनि गर्व गर्नु पर्दछ । तपाइँहरूको वक्षस्थलमा मानवले जानेर
वा नजानेर गरेको फोहोरले तपाइँहरूको स्वरूपमा विखलन त ल्याएको छ तर त्योभन्दा बढी वातावरण
प्रदुषित भई रोगव्याधीले मानवलाई पनि ठूलो असर पुर्याएको छ । आज देशका कुना कन्दारामा विकास वा वातावरण
संरक्षणका लागि काम भइरहेका छन् तर राज्यको मुटुमा किन मानव चेतना जागरण हुन सकेन -
यो प्रश्न मेरो तर्फाट सम्पूर्ण मानव जगतलाई गर्न चाहन्छु ।
देशमा
धेरै परिवर्तन आए । वि.सं २००७ देखि हालसम्म परिवर्तनका निमित्त गरिएका विभिन्न
आन्दोलनहरूले राज्य सत्तामा कसलाई पुर्याउने भन्ने मात्र उपलब्धिहरू भए । ठूला साना विदेशी तथा स्वदेशी संघसंस्थाहरूले
कहिले कर्णाली जस्तो सुदूर पश्चिममा त कहिले दुर्गम जिल्लाका नाममा धेरै बस्तीहरूमा उज्यालो कार्यक्रमहरू
ल्याए, तर कार्यक्रम ल्याउनलाई उपर्युक्त कर्मथलो बनाएका राजधानीका
गल्लीमा तिनै मानवका व्यवहारले भएको नकरात्मक परिवर्तनलाई कसैले ध्यान दिन सकेकन् ।
केही समय अघिदेखि वागमती संरक्षण कार्यक्रम आउने हल्ला पनि मैले सुनेको थिएँ,
तर आज त्यो कार्यक्रम कहाँ पुग्यो ? त्यसको कुनै
मालुम छैन ।
म पनि
यहाँ केही कुराहरूमा असन्तुष्ठ छु । हुन त नेपाल राज्यमा मैले सोचेको प्रविधि आउनको
लागि हजारौं वर्षलाग्ला । मानव देह डढाउने निहुँमा भएको प्रदुषणलाई निर्मूल गर्न धेरै
दिन लाग्छ मलाई । गाउँगाउँबाट आएका लाशलाई राम्रोसँग नडर्ढाई मेरो किनारमा फाल्नाले
प्रदुषण फैलिरहेको छ । विदेशका मुलुकमा पनि राम्ररी नभित्रिएको लाश जलाउने विद्युतीय
प्रविधिको यहाँ कल्पना पनि गर्न सकिन्न । आफू राम्रा महलमा बस्ने अनि दगुर्दै आएर मेरो
किनारमा दिशापिशाव गर्ने मानवको व्यवहार आज एक्काइसौं शताब्दिको संघारमा पनि सुध्रन
सकेको छैन । कहिले यज्ञ लगाउने निहुँमा मेरो किनारमा फोहोर गरी पुण्य कमाउन खोज्नेहरू
पनि धेरै छन् । केही वर्षअघि वर्खामा राम्चेलगायतका पहिरोबाट मेरो वक्षमा बज्रन आएका
मानवहरूलाई सम्झदा त्यस्तो दिन पुःन नदोहोरियोस् भन्ने कामना गरिरहेको छु ।
दिदी, परापूर्वकालमा जसरी उत्पन्न हुनुभएको थियो, तर आज तपाई
मानव महलबाट प्रदुषित भएर बहनुमा तपाईको दोष छैन । बरु मानव देह पुण्यमा परिचित तपाईको
मार्गमा शौचालय तथा ढल मिसाउन हुन्न भन्ने कुरा मानवले पनि बुझनु पर्दछ । तर त्यहाँको समस्या समाधान गर्नको
लागि निकै समय लाग्न सक्छ । जसरी फोहोरका गुजुल्टाहरूमा अल्झिएर तपाईंहरू हराइरहनु
भएको छ । त्यसरी नै तपाईंहरूको
वेगले ती फोहोरहरूलाई हुत्याउन सक्ने क्षमता कायम हुन आवश्यक छ । यदि तपाईंहरूको वेग
ती फोहोर हुत्याउन सक्ने भएमा फेरि मानवका महल तथा बस्ती नै हुत्तिन सक्छन् । तर त्यस्तो
समय आउन नदिन पहिलो उपाय भनेको फाल्नुपर्ने वा जीवनभर प्रयोग गर्न नसकिने बस्तुको प्रयोग
नगर्ने, दोस्रो अबदेखि त्यस्ता फोहोरहरू नफाल्ने र तेस्रोमा फालिएका
फोहोरलाई पुनर्स्थापना गर्ने । यी तीन विषयलाई ध्यान दिन सके स्वरूप कायम हुन नसके
पनि वा सानै स्वरूपमा भएपनि निर्मल र सफा भएर बग्न पाईन्छ कि भन्ने हो । यसको लागि
हामी टाढा रहेका शुभचिन्तकहरूले कामना गर्नै पर्दछ ।
मैले
कहिलेकाही खबरहरू सुन्ने गर्दछु 'फोहोर व्यवस्थापन गरी कम्पोष्ट
मल बनाएको ।' नेपाली भूमिमा विदेशी मुलुकबाट आएका रासायनिक मल
पर्याप्त नभएर किसानहरू लाठीमुरी गरेको पनि खबरहरू सुन्ने गर्दछु । तर तपाईंहरूको किनारमा
फालिएका फोहोरहरूलाई पनि संकलन गरी नेपाली प्रविधिबाट मल बनाएर प्रयोग गर्नेतिर मानवका
ध्यान किन जादैनन् - फेरि तपाईंहरूको किनारमा पुग्दा आउने दुर्गन्धलाई
कैद गरी ग्यास उत्पादन गर्न सकिने पनि होला । नेपाललाई स्वीट्जरल्याण्ड बनाउने भन्ने
नेताहरूका भाषण काममा केन्द्रीत हुन सक्नु पर्दछ । तर कुरा मात्र गर्ने, व्यवहारमा सिन्को नभाँच्ने नेताहरूको जन्म हुनु नै तपाईंलगायतका पवित्र नदीहरूको
दुर्दशा हुनु हो । अर्काको परिश्रमले बनाएको स्वीट्जरल्याण्ड हेरेर त्यस्तै बनाउँछु भन्न जति सजिलो छ,
यहाँको समस्या समाधान गर्न त्यति सजिलो छैन । तर त्यही अनुरूप कार्य
गर्न गाह्रो भएपनि त्यसपछिका फाइदाहरू निकै छन् । मलाई लाग्छ, काठमाडौंका फोहोर व्यवस्थापन गरी मल र ग्यासको उद्योग सञ्चालन गर्न सके उल्लेखित
फाइदा हुने मैले अनुमान गरेको छु ।
१. रोजगारी सिर्जना वा वेरोजगारी समस्या समाधान ।
२. रासायनिक मलको सट्टा प्राङ्गारिक मलको प्रयोगमा बृद्धि, जसबाट गुणस्तरीय कृषि उत्पादन तथा महंगो मलको प्रयोगमा कमी आई आर्थिक व्ययभार
कम हुने ।
३. ग्यास उत्पादन भई सरल रूपमा ग्यासको उपलब्धता, आर्थिक
विस्तार हुने ।
४. वातावरण संरक्षणमा टेवा पुगी मानव स्वास्थ्य सुधार, जसबाट
स्वाथ्योपचारमा हुने खर्च कम हुने ।
५. पर्यटन विकासको प्रचुर सम्भावना
बढ्ने ।
६. नेपाललाई स्वीट्जरल्याण्ड बनाउने भन्ने भाषण काममा परिणत हुने ।
जे
होस् मानव व्यवहारमा परिवर्तन हुने सके माथिका विषवस्तुहरू सम्भव छन् । म आज कंसलाई
पहिलो छोरो बुझाउन पर्दा र सकेसम्म नबुझाउन प्रयास गर्नु, पुरुषले गर्दा नसकिने कुरो छैन भनी देवकीले वसुदेवलाई भनेको यो श्लोक सम्झन्छु
'गर्दामा नहुने कुरो पुरुषले केही पनि देखिन ।' उपत्यकामा बग्ने नदीहरू र मानव जगतकै
कल्याणका निमित्त माथिका विषयवस्तु भनौं या योजना व्यवहारिक कार्यान्वयन गर्न सके सबैको
जित हुनेमा म विश्वस्त छु । बाँकी अर्को पत्रमा ।
उही तपार्इंकी बहिनी,
त्रिशूली
0 Comments