Ad Code

Responsive Advertisement

मैले देखेको बागमती नदी महोत्सव


धेरै पटक बाहिरबाट चक्कर लगाएको थिएँ तर पशुपतिनाथ परिसरमा तीन पटक मात्र पुग्ने अवसर मिल्यो , पहिलो र दोस्रो पटक विदेशी साथीहरूसँग गएँ । पहिलो र दोस्रो पटकको यात्रामा बागमती विशेष गरी पशुपति आर्यघाट परिसरको दृश्यले केही सिर्जना गरायो । साँच्चिकै बागमती बनेर मैले त्रिशूलीलाई चिठी लेखें रसुवा खबर साप्ताहिक मार्फ, पछि त्रिशूली बनेर चिठी फर्काएँ पनि ।

यस पटक नेपाल नदी संरक्षण संस्थाका सचिव मौषम खनालले फेसबुक मार्फत Event  बनाउनुभएको कारण मलाई फेरि त्यही पुर्यायो । छोटो समयको अन्तरालमा नै मैले बागमती संरक्षण वा नयाँ बागमतीका लागि केही हुन लाग्यो वा भइरहेकै रहेछ भन्ने बुझन पाएँ । विशेष गरी रिभर अफ पिसका विन्दुराज अधिकारीको प्रतिबद्धताले हामी सबैलाई उत्प्रेरणा दिएको छ । 'बगैचा बन्दैछ, रुख विरुवा रोप्दैछौं, नयाँ बागमतीको थालनी भएको छ, अहिले देखिएको छैन, भोलि पाउनुहुन्छ' बस् उहाँको यी मन्तव्यले नयाँ बागमतीको सम्भावनालाई नजिक्याएको भान भयो ।


बागमती, विष्णुमतीमा पूजा गरिरहँदा हामीले फोहोर व्यवस्थापनलाई नियाल्यौं कि नियालेनौं' भन्ने उहाँको आवाजले पशुपति दर्शन वा पूजा गर्नेलाई पाठ सिकाइरहेको थियो । नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेको कुनै जातिय विशेषको नभई बागमती सबैको संस्कृतिको खम्बा हो भन्ने शब्दहरूले त्यहाँको सांस्कृतिक अवस्थालाई पुन परिचित गराउँदै थियो । हिमालय क्लाइमेट इनिसियटकी शिल्सिला आचार्य, याक्ट अफ लिभिङका आशिष चौलागाइँ, युथ एलाएन्स फर इन्भाइरोन्मेन्टका सनथ अधिकारीको सहभागिता बागमती संरक्षणमा हातेमालो गर्ने युवा जोस र जाँगरको दरिलो पाठ बनिरहेको थियो । पुल्चोक इञ्जिनियरिङ कलेजका विशाल ज्ञवालीको फोहोर व्यवस्थापनका लागि रोवर्ट बनाउने र परिचालन गर्ने भन्ने उद्घोषले व्यवसायिक र व्यवहारिक शिक्षाको प्रतिनिधित्व गरिरहेको थियो । मौषम खनालले उद्घोष गरिरहँदा आर्यघाट परिसरमा संरक्षणका लागि सन्देश प्रवाह भइरहेको थियो ।

केही व्यंग, केही उमंग, केही प्रेरणा र केही चेतनाका साथ बागमती महोत्सव उद्घाटन भयो । १४नदीका पानीको सम्मीश्रण, हरियो काठमाडौं र सफा बागमती, सगरमाथा हाम्रो ताज हो, बागमती हाम्रो लाज हो जस्ता नारा, साना बालकसहितको सहभागितामा बाजागाजा, राष्ट्रिय भावनाले गाँजिएको गीतको गुञ्जाहट, सहभागी संस्थाका प्रतिनिधिहरूको बागमती संरक्षणप्रतिको प्रतिबद्धता र हिन्दु तथा धर्म गुरुका बागमतीप्रतिको सद्भाव तथा सहभागीहरूद्वारा फोहोर संकलन तथा व्यवस्थापन त्यस क्षणको महत्वपूर्ण गतिविधिहरू हुन् । उद्घाटन पछि राष्ट्रिय भावनाको गीत 'यो नेपाली शीर उचाली, संसारमा लम्कन्छ, जुन किरी झैं ज्योति बाली अन्धकारमा चम्कन्छ' घन्काउँदै बागमती किनार सफाइका लागि सबैका हातमा फोहोर संकलन गर्ने औजार तथा फोहोर संकलन दृश्यले साँच्चिकै टेलिभिजनमा राष्ट्रिय गानका शव्यदृश्य भइरहेको भान भएको थियो । नदीको किनारमा बाजागाजासहित धर्मगुरु, पत्रकार, सफा बागमती अभियानका सहयोद्धाहरूले तँछाड मछाड गर्दै फोहोर टिप्दै गर्दा थोरै बेरमा नै बागमती किनारको केही भाग परिवर्तन भयो ।

अहिले बागमती महोत्सवलाई सम्झँदै गर्दा, मैले त्रिशूली बनेर बागमतीको पत्रको जवाफ फर्काउँदाको केही हरफहरू स्मरण गर्दैछु । बागमती संरक्षणको लागि जैविक मल र ग्याँस बनाउन सके साँच्चिकै सफा गर्न सकिन्छ भनी त्रिशूली बनेर लेखेको हरफहरू साभार गर्न चाहन्छु । काठमाडौंका फोहोर व्यवस्थापन गरी मल र ग्यासको उद्योग सञ्चालन गर्न सके
१. रोजगारी सिर्जना वा वेरोजगारी समस्या समाधान ।
२. रासायनिक मलको सट्टा प्राङ्गारिक मलको प्रयोगमा बृद्धि, जसबाट गुणस्तरीय कृषि उत्पादन तथा महंगो मलको प्रयोगमा कमी आई आर्थिक व्ययभार कम हुने ।
३. ग्यास उत्पादन भई सरल रूपमा ग्यासको उपलब्धता, आर्थिक विस्तार हुने ।
४. वातावरण संरक्षणमा टेवा पुगी मानव स्वास्थ्य सुधार, जसबाट स्वाथ्योपचारमा हुने खर्च कम हुने ।
५. पर्यटन विकासको प्रचुर सम्भावना बढ्ने ।
६. नेपाललाई स्वीट्जरल्याण्ड बनाउने भन्ने भाषण काममा परिणत हुने ।

बागमती संरक्षण अभियानमा खटिएका सहयोद्धाहरू बागमतीको संरक्षण नयाँ पुस्तालाई नयाँ स्वच्छ बागमती र हराभरा काठमाडौं, पानीसहितको बागमती दिन सकुन् भन्ने शुभकामनाका साथ ।।

Also See here : Meroreport.Net


http://www.teampromote.com/viewcampaign/11937066?ref=paudelprem

Post a Comment

0 Comments