Home » , » छत्र, बालुन र भजननाँच

छत्र, बालुन र भजननाँच

रसुवा खबर वर्ष१, अंक ११, २०६७ साल पौष २४ गते शनिबार

हिराकी मन्दिर सुन गजुर ...२ प्रभूज्यू सैं औरै चली जाए, आज बसे ललना बंशीनाथ कृष्ण आए आज बसे ललना राधासाथ कृष्ण आए आज बसे ललना हरिसाथ खेलन आए आज बसे ललना ललना सैं, खेलना सैं आए आज बसे ललना ..
यस्तै यस्तै भजन गाएर छत्रीय भाइहरू आँगनमा छत्र लिएर नाँच्दा सोह्रवर्षो तन्नेरीदेखि सत्तरी वर्षो बृद्धासम्म मोहित हुन्छन् । लोकप्रिय भजननाँच, छत्रनाँच र बालुननाँचले सबैलाई आकषिर्त गर्दछ । माथिको भजन छत्रनाँच शुरू गर्दा वा निमन्त्रणा भएको घरमा छत्र लिएर जान लाग्दा गाईन्छ ।


छत्रनाँच पन्ध्रौ सोह्रौ शताब्दीतिर लोकप्रिय थियो भन्ने संस्कृतिविद्हरूको अनुमान छ । देशका अन्य भागमा यो नाँचको स्वरूप कस्तो छ, हामी त्यहाँसम्म पुग्न सकेका छैनौं । तर रसुवा र नुवाकोटका केही भागमा आज पनि प्राथमिकताका साथ नाँचिदै छ छत्रनाँच । फूलको माला वा सप्तरंगी कपडाको आकर्ष छत्र, भजननाँच र बालुननाँचको त्रिपक्षीय सम्बन्ध नै छत्रनाँच हो ।

रसुवामा छत्रनाँचको शुरूवात कसरी र कहिले भयो भनेर खोतल्नु आवश्यक छ । कुनै किटान हुन सकेको छैन । हाम्रा पुर्खा बितेर गए, वर्तमान छत्रनाँच नाँच्ने भक्तजनहरू वा छत्रीय भाइहरू पनि बितेपछि इतिहाँस होईन, छत्रनाँच, बालुननाँच र भजन नाँचका दृश्य उनीहरूसँगै बिलाउनेछ ।

हाम्रा नजरमा झल्झली छ छत्र नचाएको दृश्य, हाम्रा कानमा गुञ्जिरहेका छन् खैंजडी, मञ्जिरा र छत्रीय भाइका सुरम्य आवाज । लोप हुन नपाउँदै हाम्रा पुर्खा र हामीले अँगालेको संस्कृतिलाई जगेर्ना गर्नु भोलिका पिंढी वा दर सन्तानको लागि अध्ययन सामग्रीको रूपमा विकास गर्दै लैजानु हो । विभिन्न जातजातिको आफ्नो संस्कृतिको पहिचान र परिचय खोजिरहँदा हिन्दुहरूको छत्रनाँच, भजननाँच र बालुननाँच पनि संरक्षित र परिचित हुनुपर्दछ ।

छत्रनाँच देखाउनको लागि बाँसको डण्डीमा दुईइतले छाता आकारको गोलो घेरामा चारैतिर फूलका माला वा सप्तरंगी कपडाको ध्वजाहरू झुण्ड्याई बनाएको छत्र चाहिन्छ । छत्रीय भाइहरूको भनाईअनुसार छत्र उठाउन दशैंको टीका, तिहारको लक्ष्मीपूजा वा भाइटिका महत्वपूर्ण मानिएको छ । यी दिनहरूमध्ये कुनै दिन छत्र बनाउन छत्रीय भाइहरू एकै ठाउँमा भेला हुन्छन् । यसरी बनाईएको छत्र ठूली एकादशी वा माघे संक्रान्तिमा सेलाउने प्रचलन छ । तर आजभोलि स्थानीय महत्वपूर्ण पर्वका दिनमा छत्रका प्रारम्भ र विर्सजन गर्न थालिएको छ ।

छत्रलाई विभिन्न देवीदेवताको नाम दिएर कर्ीतन गरिन्छ । मातामालिका, बिन्ध्यावासिनी, बंशीनाथ कृष्ण, हरि, रामजस्ता धेरै नामले छत्रलाई पूजन गरिन्छ । छत्रनाँचको इतिहाँस हेर्दा रसुवाको जिवजिवे, ज्याङलाङ, रूप्सेपानी, मनीगाउँ, कटुञ्जे र नुवाकोटको गेर्खुलगायतका गाउँहरूमा छत्रनाँच नाँचिने गरिएको छ । छत्रीय गुरूहरूका भनाई अनुसार नुवाकोटको गेर्खुबाट यो नाँच रसुवामा भित्रिएको भनाई पाईन्छ ।

विभिन्न समारोह, महोत्सव तथा विभिन्न संघ संस्था र राजनीतिक पार्टीका कार्यक्रममा पनि छत्र र भजननाँचले स्थान पाउँदै आएको छ । छत्र नाँच बोलाएको घरमा मात्र गई नाँचिन्छ । र सो घरबाट प्राप्त हुने दानदक्षिना स्वरूपको पैसा र अन्य सामग्री संकलन गरी छत्र विर्सजनमा खर्च गरिन्छ । बचेको रकम विभिन्न धार्मिक कार्य तथा मठ मन्दिर निर्माणको लागि खर्च गर्ने चलन रहिआएको छ ।

छत्र नाचको मूलपाठलाई हेर्दा हिन्दी आगन्तुक शब्दको प्रयोग भएको पाईन्छ । यसरी छत्रनाँचमा हिन्दी शब्दको प्रयोग प्रशस्तै पाउँदा छत्रनाँच भारतबाट नेपालमा भित्रिएको अनुमान गर्न सकिन्छ । 

जस्तै :
औरे गृहे खेलन जाउँ, अब औरे गृहे खेलन जाउँ हो माता मालिका औरै गृहे खेलन जाउँ ,माता मालिका औरै गृहे खेलन जाउँ , राम .......
तिमरा नगरीमा खेलन आयौ
आज्ञा देउ धरती माता ।।
तिमरे चरण चित्त लाउँ माता मालिका, मनले चिताको वर पाउँ माता मालिका ।

एकादशी महात्म्यको महिमालाई बालुनको माध्यमबाट प्रस्तुत गरिने यस छत्रनाँचमा विभिन्न किसिमका भजन, गीत तथा मारुनी नाँच -नाँचको गीत) प्रदर्शन गर्ने गरिन्छ । बिशेष गरि हरिवोधनी एकादशीका दिनलाई छत्र नाँचको प्रमुख दिनको रूपमा मानिन्छ । लामो समयको लागि छत्र नउर्ठाईए पनि ठूलो एकादशीका दिन छत्र र फूलको डोली नजिकको गंगा वा तीर्थमा लगेर सेलाउने प्रचलन छ ।

छत्र उठाइएको वा निमन्त्रणा भई आएका घरमा नाँच्न जम्मा हुने जमातलाई 'छत्रीय भाइ' भनिन्छ । मुख्य गुरू वा छत्र राखिएको घरमा निम्तो दिएपछि अरु छत्रीय भाइलाई गुरूले नै बोलाउने चलन छ । बेलुकी सबै छत्रीय भाई मिलेर छत्र नाँच्नको लागि तयारी गरिन्छ । नाँच र कीर्तन गर्नु अघि आवश्यक पर्ने खैजडी, मञ्जीरा तथा विविध वाद्य बादनको सामग्रीको जोहो गरिएको हुन्छ ।

"औरै गृहे खेलन जाउँ माता मालिका औरै गृहे खेलन जाउँ" भन्दै अन्य स्थल वा निमन्त्रणा गरिएको ठाउँमा छत्र लिएर नाँच देखाउन छत्रीय भाइहरू तल्लीन रहन्छन् । बाटामा रमाईला रमाईला भजन कीर्तन गर्दै छत्रीय भाइहरू सम्बन्धित घरमा पुग्छन् । जयजयाकार गर्दै पाहुना आएको खबर दिन्छन् । खैजडी र मञ्जीराको तालबाट ...पाहुना आए राम खेलन आए हरिकै पाहुना आए.. भनेर भजन गाउँछन् ।

पाहुना आए भन्ने पाठ सकिए पछि खनी खनी देऊ बासै हार, लालमन मोहन हरि मन मोहन हो... भन्ने नाँच नाचिन्छ । त्यस पछि छत्र राख्नको लागि भक्तजनहरूले भजन गाउँदै यज्ञस्थल वा आँगनको माझमा रहेको किलामा छत्र राख्छन् ।

छत्र राखेको घरबाट छत्र उठाउँदा, त्यहाँबाट हिड्दा, नाँच्ने घरमा पुग्दा, त्यहाँ पुगेर छत्र राख्दा होस अथवा त्यहाँबाट हिड्दा होस सम्पूर्ण प्रकृया भजन -पाठ) मार्फत् मात्र गरिन्छ । छत्र उठाएको बेलामा मात्र नभई सत्यनारायणको पूजा लगाउँदा पनि छत्रनाँचमा गाईने भजनहरू गाईन्छन् । सन्ध्याकालीन आरती र नारायण हरि.. भन्ने भजन मुख्यतः त्यतिबेला पनि गाईन्छ । एकादशी महात्म्य, कृष्णचरित्र वा अन्य धार्मिक ग्रन्थमा रहेका कथालाई आधार मानेर बनाईएको भजनलाई बालुनको रूपमा प्रस्तुत गरिन्छ ।

यसरी हाम्रा समाजमा रहेका वा भएका संस्कृतिको युवा पुस्ताले ग्रहण गर्न सकेमात्र संरक्षण सम्भव छ । नत्र एकादेशको कथा बन्न सक्छ । युवा पुस्ताले नसिकेकोमा यसको लोप हुने संकेत छ । अहिलेका छत्रीय भाइले नाँच्दै गर्दा भिडियो डकुमेन्ट्रीको रूपमा भने पनि संरक्षण गर्न सके भोलिका पिँढीले अध्ययन गर्न पाउने थिए । अझ पर्यटन विकास गर्न त्यस्ता दृश्यहरू कोसेढुङ्गा बन्ने थियो । जुन जुन ठाउँमा यस्ता संस्कृति रहेका छन् ती ती ठाउँमा उक्त संस्कृति संरक्षण गर्दै प्रचारप्रसार गर्न सके विदेशी वा स्वदेशी पर्यटक भित्र्याएर आर्थिक उन्नती गर्न सहयोग पुग्ने कुरामा सबैको मत एकै रहला ।

0 सुझाव लेख्नुहोस्:

Post a Comment

Followers

साताको चर्चित

Rasuwa Profile

महिनाको चर्चित

Total Visitor

Prem Prasad Paudel, Rasuwa. Powered by Blogger.
Blogger Template by Basnetg.com