Home » , , » नेपाली साहित्य र भानु जयन्तीको सान्दर्भिकता

नेपाली साहित्य र भानु जयन्तीको सान्दर्भिकता

रामायणका श्लोक सुन्नका लागि यहाँ Click गर्नुहोला 

साहित्य मानव जीवनको अपरिहार्य गहना हो । सबै मानवलाई केही न केही रूपमा साहित्य मन पर्छ । कसैलाई साहित्य सिर्जना गर्न मन लाग्छ, कसैलाई गाउन मन लाग्छ भने कसैलाई गाएको सुन्न मन लाग्छ । कसैलाई यी तीनै विधा मन पर्छ कसैलाई लेख्न र गाउन मन पर्छ त कसैलाई लेख्न र सुन्न मन लाग्छ । खासगरि साहित्य सिर्जना गर्ने व्यक्तिलाई तीनै विधाहरू मन पर्छ । यसरी हेर्दा  कसैले गाएर, कसैले सिर्जना गरेर त कसैले अरूले गाएको सुनेर भने पनि साहित्य मन पराइराखेका हुन्छन् । 

साहित्यको पाटोमा परापूर्व  कालदेखि नै विभिन्न साहित्यकारहरूले साहित्य सिर्जना गरेर आजसम्म हामीले गाउनको लागि छाडेर गएका छन् । ती मध्ये आदिकवि भानुभक्त आचार्य एक हुन् । नेपाली भाषा साहित्यका लागि उनले गरेको योगदान नेपाली समाजमा सधैं उल्लेखनीय भएर रही रहनेछ । आदिकविले सिर्जना गरेको रामायण आज पनि हाम्रा समाजमा प्राथमिकताका साथ वाचन हुने गरेका छन् । एक्लै वा समूहमा स्वर मिलाएर उक्त श्लोकहरू गाउँदा युवायुवतीदेखि बालबालिकासम्म मोहित हुन्छन् ।

आदिकवि भानुभक्तले रचना गर्नुभएको रामायणदेखि लिएर विभिन्न धार्मिक वा ऐतिहाँसिक छन्दात्मक ग्रन्थहरू आज समाजको सम्पत्तिको रूपमा स्थापित भईरहेका छन् । प्राचीन समयमा त सबैका घरघरमा रामायणका पुस्तकहरू वाचन हुने गरेका थिए । शार्दुलविक्रीडित, मन्द्राक्रान्ता, शिखरिणी, अनुष्टुपलगायतका छन्दमा लेखिएका सिर्जनाहरू गाउन र सुन्न उत्तिकै रोचक हुन्छ । शार्दुलविक्रीडित छन्दलाई पूर्वीय  साहित्यको क्षेत्रमा लोक छन्दको रूपमा स्थापित भएको पाइन्छ । शार्दुलविक्रीडित छन्दमा लेखिएका पुस्तकहरूले अन्य पुस्तकभन्दा बढी स्थान पाइराखेका हुन्छन् । 

नेपाली समाजमा अत्यन्त लोकप्रिय बनेको शार्दुलविक्रीडित छन्द आदिकवि भानुभक्तको पालादेखि अत्यन्त लोकप्रिय हुँदै आयो भनिएको छ ।  आदिकविबाट नै सुरू भएको यो छन्द नवीन युगमा पनि धेरै साहित्यकारहरूले सिर्जनाको लागि प्रयोग गर्ने गरेका छन् । शार्दुलविक्रीडित छन्दमा म,,,,,त गणका तीन तीन र अन्तिममा दीर्घ  एक अक्षर गरी उन्नाइस अक्षर रहेको हुन्छ । भानुभक्तको साहित्य सिर्जनाको सुरूवात हुनुमा एक घाँसीको घाँस बेचेर कमाएको धनले गाउँमा पानी कुवा खनाएको भन्ने विषयबाट भएको हो । भानुभक्तले लेख्नुभएको यो कवितामा यस्तो भाव पाइन्छ । 

आजन्म घाँसतिर मन् दिइ धन् कमायो
नाम् क्यै रहोस् भनेर पछि कुवा खनायो
घाँसी दर्रि्र घरको तर बुद्धि कस्तो
मो भानुभक्त धनी भैकन आज यस्तो । 

मेरा इनार न त सत्तल पाटी क्यै छन्
जे धन् र चिज्हरू छन् घरभित्र नै छन्
त्यस् घाँसीले कसरी आज दिएछ अर्ती,
धिक्कार होस् म कन बस्नु नराखी किर्ती ।

घाँस काटेर बेचेको धनले कुवा खनाएको देख्दा म धनी भएर केही गर्न नसकेको भान हुन्छ भानुभक्तलाई र उनले किर्ती राख्नको लागि साहित्य सिर्जनाको माध्यम रोजेका हुन् भन्ने पनि उनको कविताबाट नै पाइन्छ । 

नेपाली भाषा साहित्यका पारखीहरूमा भानुभक्तको उपादेयता उल्लेखनीय रूपमा रहेको छ । १९९ औं भानु जयन्तीको अवसरमा आदिकवि भानुभक्तमा हज्जारौं श्रद्धाञ्जली अर्पण स्वरूप यो कविता । 

प्रश्नोत्तर् गुण गानले भरियको गीता सबैमा बन्यो
जाग्यो ज्ञान र प्रेरणा त उनमा घाँसी कुवा जाँ खन्यो ।
आऊ भानु उदाउ फेरि जगमा जोड्दैछु मै अञ्जली
भावै देखि चढाई आदिकविमा हज्जार श्रद्धाञ्जली ।। (पङ्क्तिकारको सिर्जनामा)

विहेवटुलमा रामायणलाई प्रतिस्पर्धाका साथ गाउने गरिएको छ । यसरी हेर्दा रामायणजस्ता कथानक वा धार्मिक महत्वका ग्रन्थहरूले समाजमा अत्यन्तै विश्वसनीयता पाइराखेका छन् । साहित्यिक पर्वहरूमा पनि भानु जयन्ती अत्यन्त प्राथमिकताका साथ मनाइने गरेका कारण पनि भानुभक्तले नेपाली साहित्यको क्षेत्रमा पुर्‍याएको योगदानलाई कदर गरिएको छ भन्दा फरक नपर्ला । साहित्य सिर्जनामा रहेका र विशेष गरी शार्दुलविक्रीडित छन्दमा लेख्ने साहित्यकारहरूले भानुभक्तलाई बिर्सनु हुँदैन । उक्त छन्दका विकासदाता भानुभक्तका कारण आज अत्यन्त मीठा, रसिला र सबैको मन मष्तिष्क जित्ने साहित्यको सिर्जना हुन पाएका छन् । हुन त २ सय भन्दा बढी छन्दहरू रहेको नेपाली साहित्यमा धेरै छन्दहरू लोकप्रिय छन् । ती धेरै छन्दहरूको बीचमा लोक छन्दको संज्ञा पाएको यो छन्दलाई गणको परिचयसहित आधुनिक कवि देवी नेपालले यसरी परिभाषित गरेका छन् । 'बन्ला यो म स जा स ता त गुरुले शार्दुलवीक्रीडित ।'



Followers

साताको चर्चित

Rasuwa Profile

महिनाको चर्चित

Total Visitor

Recent Posts

Prem Prasad Paudel, Rasuwa. Powered by Blogger.
Blogger Template by Basnetg.com