घरभित्रको शत्रु

विश्व स्वास्थ्य संगठनका अनुसार विकसित देशको तुलनामा नेपालमा घरेलु वायु प्रदुषण १५ प्रतिशतले बढी हुने गरेको छ । पछिल्लो तथ्याङ्क अनुसार नेपालमा घरभित्रको वायु प्रदुषणका कारण वर्षेनी २२ हजार ८ सय ४१ जनाले अकालमा ज्यान गुमाउने गरेका छन् भने सबैको गरी ७ लाख ४६ हजार ३ सय ८१ वर्ष समय यसका कारण विरामी परेर वा अकालमा मरेर उत्पादनमूलक समय त्यसै खेर गइरहेको प्राक्टिकल एक्शन नेपालको एक प्रतिवेदनमा भनिएको छ ।  यसरी हेर्दा परम्परागत चुल्होमा खाना पकाउँदा निस्कने धुँवा वा परम्परागत इन्धन र चुल्हो मानिसको लागि घरभित्रकै शत्रु बनेको छ । 

तर पनि पुननिर्माणको कार्यक्रममा सरकारकै सहश्राब्दी विकास लक्ष्य अनुरूप सन् २०१७ सम्ममा नेपाललाई घरभित्रको धुँवामुक्त देश बनाउने लक्ष्यलाई समावेश गराउन सकेको छैन । पुननिर्माणसँगै घरलाई स्वच्छ, सफा र उत्तम बनाउन प्रत्येक घरमा स्वच्छ तथा उन्नत प्रविधिको चुल्हो प्रयोग गर्नु अनिवार्य हुन्छ ।



नेपालका प्राय गाउँघरमा खाना बनाउन जैविक ठोस इन्धन जस्तै दाउरा, गुइँठा र कृषिजन्य रहेलपहेलहरूको प्रयोग हुने गरेको छ । नेपालमा ७४ दशमलब ४ प्रतिशत घरधुरीहरूले माथि उल्लेखित ठोस इन्धनको प्रयोग गर्ने गरेका छन् । नेपालका हिमाली तथा उच्च पहाडी भेगमा यस्ता समस्या अधिकतम हुने गरेका छन् । प्राय गरीव मुलुकमा यी इन्धनको प्रयोग गर्नु एउटा बाध्यकारी समस्याको रूपमा रहेको छ । नेपाल जस्तो गरीव, अल्पविकसित वा विकासोन्मुख देशहरूमा प्रयोग हुने यी ठोस इन्धनहरूको प्रयोगमा उन्नत प्रविधिहरू जस्तै सुधारिएको,  दाउरा कम लाग्ने र धुँवा भान्छा बाहिर जाने चुल्होको प्रयोग नहुनु मुख्य समस्या हो । जसका कारण स्वास्थ्य सम्बन्धि विविध समस्या सिर्जना भई उपचारमा धेरै धनराशी खर्च हुने गरेको एकातिर छ भने अर्कोतिर दाउरा संकलनमा भइरहेको समय खर्च, परिश्रम, वन विनाश र विश्व वातावरणमा प्रतिकूल असरलगायतका समस्याहरू विद्यमान छन्  । 

घरभित्र खाना बनाउन प्रयोग हुने इन्धन व्यवस्थित वा उन्नत प्रविधिको प्रयोगमा हाम्रो समुदायले बुझेर पनि बुझ पचाएको अवस्था छ । जसका कारण घाँटी खस खसाउने, नाकबाट पानी बग्ने, खोकी लाग्ने, कफ आउने, आँखा बिझाउने, चिलाउने, हेर्न कठिनाई हुने, आँसु आउने, घॉंटी दुख्ने, बच्चालाई निमोनिया हुने जस्ता तत्कालीन रोगहरू देखा पर्दछन् भने लामो समयसम्म दुषित वायु भएको वातावरणमा बस्नेहरूमा दम, दीर्घखोकी, फोक्सोको क्यान्सर, आँखासम्बन्धी रोग जस्तै मोतियाबिन्दु आदि दीर्घकालीन रोगहरू लाग्ने गर्दछन्  । यसको अलावा गर्भवती महिला धेरै समयसम्म धुँवामा बसेको खण्डमा बच्चा समयभन्दा अगाडि जन्मने, कम तौलको बच्चाको जन्म हुने र अत्याधिक प्रदुषणका कारण मृत बच्चाको जन्म हुनसक्ने सम्भावना रहन्छ । घरेलु वायु प्रदुषणका कारण विशेष गरी महिला तथा बालबालिका सबैभन्दा बढी प्रभावित हुने गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालयहरूको प्रतिवेदन हेर्ने हो भने निमोनियाँ वा श्वासप्रश्वास सम्बन्धि समस्याहरू एक नम्बरमा आउने गरेका छन् । फोहोर पानी, दुषित हावा, असुरक्षित यौन सम्पर्क पछि रोग निम्त्याउने चौथो कारक तत्वको रूपमा घरभित्रको धुँवा रहेको पनि स्वास्थ्यविद्हरू बताउँछन् । 

यी विविध समस्या समाधानका लागि मुख्य गरी दुइवटा उपायहरू छन् । दाउरा वा कृषिजन्य रहेलपहेल, गुँइठा, कोइला, त्र्रिकेट आदि प्रयोग गर्दा  भेन्टिलेसन वा हावा राम्रोसँग ओहोर दोहोर हुने कोठामा सुधारिएको वा धुँवा वाहिर जाने प्रविधिहरू जस्तै सुधारिएको चुल्हो, चिम्नीहुड तथा उन्नत स्वच्छ चुल्होको प्रयोग गर्ने एउटा उपाय हो भने गोबरग्याँस, सौर्य उर्जा र विद्युतीय चुल्होको प्रयोग गर्नु अर्को उपाय हो । यसो गर्दा भान्छाको सफाई, स्वास्थ्य सुधार र काममा सहजता भई समाज आर्थिक उन्नति र विकासको पाटोमा अघि बढ्दछ । 

हामी यतिबेला पुननिर्माणको संघारमा छौं । पुननिर्माणको समयमा उल्लेखित समस्यालाई ध्यान दिन सकिएको छैन अर्थात् पुननिर्माणमा घरको डिजाइन गर्दा उन्नत चुल्होलाई अनिवार्य गर्न सकिएको छैन । विनाशकारी भुकम्पका कारण क्षतिग्रस्त संरचनाको पुननिर्माणमा नेपाल सरकारले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै छ । तर पनि पुननिर्माणको कार्यक्रममा सरकारकै सहश्राब्दी विकास लक्ष्य अनुरूप सन् २०१७ सम्ममा नेपाललाई घरभित्रको धुँवामुक्त देश बनाउने लक्ष्यलाई समावेश गराउन सकेको छैन । पुननिर्माणसँगै घरलाई स्वच्छ, सफा र उत्तम बनाउन प्रत्येक घरमा स्वच्छ तथा उन्नत प्रविधिको चुल्हो प्रयोग गर्नु अनिवार्य हुन्छ । नेपाल सरकारको “क्लिन कुकिङ सोलुसन टु अल” को लक्ष्य पुरा गर्न, वन वातावरण जोगाउँदै विश्व वातावरण संरक्षणमा योगदान दिन तथा मानव स्वास्थ्यमा सुधार गरी समृद्ध समाज निर्माणमा स्वच्छ वा उन्नत प्रविधिको चुल्हो प्रयोग गर्नु अपरिहार्य छ ।  




किन भाग्छन् उनीहरू ?

अंक १४ -माघ १ २०६७
अन्तर्राष्ट्रिय मार्ग जोड्ने सबैभन्दा छोटो दूरीको राजमार्ग रसुवामा बन्दैछ । त्रिदेशीय सम्बन्धको विस्तारित मार्ग टिमुरे, लिङलिङ, स्याफ्रुबेशी हुँदै बनिरहेको छ । अब विकास हुन्छ भनेपछि दिनानुदिन रसुवागढी जाने स्वदेशी तथा विदेशीको चाप बढिरहेको छ । हुनपनि सजिलो छ, स्याफ्रुबेशीबाट धेरै टाढा छैन । यो अवस्था हामीले पाइरहँदा रसुवाको भविष्य उज्यालो हुने पक्का छ । केही समय अघि हामी एक कार्यक्रमको सर्न्दर्भमा अन्तर्राष्ट्रिय राजमार्ग बन्दै गरेको नजिकको गाउँ थुमन पुगेका थियौं । स्याफ्रुबेशीबाट तीन घण्टा बराबरको दूरीमा रहेको थुमन गाउँ अत्यन्त सुन्दर थियो । पुछारमा अन्तर्राष्ट्रिय मार्ग बनिरहँदा थुमन जाने सडकको रेखामात्र थियो । साँघुरा मोड र सडक, देख्दा कहिल्यै गाडी गुड्दैन जस्तो, मानिस हिँड्न पनि मुस्किल सडक । अन्तर्राष्ट्रिय मार्गकै एक छेउबाट थुमनको लागि सडक छुट्टयाइएको रहेछ ।


ती थोरै सडकका असजिला मोडहरू पार गर्दै हामी तार्सा (मेन्दो) भन्ने गाउँमा पुग्यौं । त्यहाँको जनजीवन हामीले राम्ररी नियाल्न पाएनौं । घाम लागिसकेको थिएन, पौषको जाडो, कोही पनि बाहिर निस्केका थिएनन् । त्यहाँका विद्यालयका शिक्षकले हामीलाई चिया खुवाए । त्यसपछि हामी थुमनका लागि अघि बढ्यौं ।

महिला स्वास्थ्य स्वयं सेविकाहरूसँग हाम्रो कार्यक्रम थियो । घरभित्रको धुवाँ न्यूनीकरणमा सहजीकरण गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियो । धुवाँको विषयमा कुरा गर्दा हामीले त्यहाँ चेतना नभएको पाएनौं, केवल अभियानको खाँचो रहेको पायौं । तीन वा चार दलका कुरा ती आमाहरूलाई राम्रो ज्ञान रहेछ । गाउँ परिषद्को कुरा गर्दा दल विनाको परिषद् वा दल नभई विकास, योजनाको सम्भव छैन भनेर उनीहरूले राम्ररी बुझेका रहेछन् ।

हामीहरू तीन जना थियौं । रामहरि देवकोटा, उनलाई थुमनका सबैले चिन्दा रहेछन् । अर्का साथी एभिन्यूज टेलिभिजनका बलराम घिमिरे । कार्यक्रम सकेर हामी गाउँतिर लाग्यौं । टेलिभिजनका पत्रकारसँगै रहेकोले ओखलमा धान कुट्दै गरेको दृश्य खिच्न व्यस्त भइयो । धान कुटिरहेकाहरू कोही हामी देख्ने वित्तिकै भागे त कोही क्यामेरा निकालेपछि भागे । हामी वरिपरि जादै गर्दा उनीहरू भाग्छन् । केही दृश्यहरू लिनको लागि अनुनय गरेपछि मात्र खिच्न पाईयो । उनीहरूलाई थाहा छैन, क्यामेरा र फोटोका महत्व । खिचेको दृश्य देखाएपछि वा आफ्नै दृश्य क्यामेरामा देखेपछि उनीहरू दंग परे ।

थुमनगाविस- ८ तार्सा (मेन्दो) गाउँ अलि दुखीहरूको गाउँ रहेछ । केही समय अघि धादिङको तिप्लिङबाट आएका मानिसहरू त्यहाँ बस्दा रहेछन् । उनीहरूको नाममा जग्गा रहेनछ । हुन त यस्ता समस्या धेरै छन् रसुवामा । विद्यालयसँगैको घरमा एक परिवारका दम्पत्ति ओखलमा धान कुट्दै थिए । भिडियो खिच्नको लागि अनुरोध गर्यौं । मुस्किलले नै खिच्नको लागि अनुमति पाईयो । एकजना त्यही गाउँका पूर्ण तामाङको सहयता नभएको भए हामीले खिच्न नपाउने थियौं । असाध्यै लाज मानेर दुवै दम्पत्तिले धान कुटे । उनीहरूले धान कुट्दै गरेको दृश्य पछि क्यामेरामा देखाइदिए पछि आफ्नो दृश्यबाट खुसी र अचम्म भए ।

अन्तर्राष्ट्रिय मार्ग बन्दै गरेको नजिकको गाउँका जनता कहिले विद्युतीय जमानामा प्रवेश गर्लान - इन्टर्रर्नेटको कुरा त उनीहरूको जीवनमा कहिल्यै आउँदैन, यो निश्चित छ । तर टेलिभिजनको दृश्यप्रति उनीहरूको पहुँच हुनु आवश्यक छ । हामीले सोच्यौं, ठीक मुनीतिर चिल्ला पजेरामा ठूलाबडा कुदिरहँदा यी दम्पत्तिले कस्ता गाडी चढ्लान् ? गाउँका अलि बुझेकाहरूको कृयाकलापमा यिनीहरूको पहुँच कहिले पुग्ला ?

ती परिवारको एक क्षणको दृश्य नियाल्दा उनीहरूको परिवार पितृसत्तात्मक रहेछ । त्यहाँको दृश्य खिचेपछि बालबालिकाहरूलाई विस्कुट दिँदा बालबालिकाले आमाको हातमा दिए । हामीले सबैले बाँडेर खानुस् भन्यौं । तर सबैलाई बाँड्नको लागि पिताको अनुमति चाहियो । ५/७ जना बालबालिका थिए, परिवारका नेतृत्वकर्ता पिताको नै हातबाट विस्कुट बाँडियो । त्यहाँको दृश्य हर्ेदा श्रीमानप्रति श्रीमतीको असाध्यै सद्भाव छ । परस्परमा मायाममता छ । उनीहरूको मुहारमा दुखभित्रको खुसी छ, हाँसो छ, तरपनि भित्रभित्र दुख लुकिरहेको छ ।

समाज जागरणमा महिला स्वास्थ्य स्वयं सेविकाको भूमिका

रसुवा खबर वर्ष१, अंक ९, २०६७ साल मंसीर २५ गते शनिबार
नेपाली समाजमा महिला स्वास्थ्य स्वयं सेविकाको महत्वपूर्ण भूमिका रहँदै आएको छ । आमा समूहबाट छानिएर समाजको सेवा गर्न प्रतिनिधि आमाको रूपमा महिला स्वास्थ्य स्वयं सेविकाहरू रहेका हुन्छन् । राज्यले र्सवस्व खनाएर पालेका कर्मचारीको भन्दा यी सेविकाहरूको धेरै सहयोग हाम्रो समाजले पाइराखेको छ र हामीले देखिराखेका छौं । कहिले खोपको कुरा लिएर त कहिले स्वस्थ जीवनको कुरा लिएर हाम्रा दैलामा टुप्लुक्क आइपुगेका हुन्छन् यी महिलाहरू ।

न हामीले तलब दिएका छौं न राज्यले नै । तालिक गोष्ठीमा सहभागी भएवापत पाउने पारिश्रमिकको भरमा उनीहरू गर्वका साथ घरदैलो अभियानमा पुगिराखेका हुन्छन् । गाउँघरका भनौं या बालबालिकाका पहिलो डाक्टरको रूपमा यी स्वयं सेवकहरू स्थापित भइरहेका छन् । गाउँघर, टोल सरसफाइ वा प्रदुषण नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका यी महिलाहरूको जीवनयापनमा वा जीवन परिवर्तनमा राज्यले कुनै सहयोग पुर्याउन सकेको छैन ।

बालबालिकाहरू विरामी पर्दा वा स्वास्थ्य सम्बन्धी चेतनामूलक ज्ञानको लागि समुदायका अरू आमाहरू पनि महिला स्वास्थ्य स्वयं सेविकाको ढोका पुगिहाल्नु पर्दछ । स्वास्थ्य चौकीको पहुँच नपुगेका स्थानमा त सिङ्गो स्वास्थ्य सम्बन्धी समस्या उनस्हरूको हातमा रहेको हुन्छ । रसुवा जस्तो विकट वस्तीमा त झनै उनीहरू जिम्मेवारी ज्यादा रहेको पाईन्छ । स्वास्थ्य सम्बन्धी सन्देशमूलक चेतना प्रवाह गर्ने आमा समूहका नेता आमाहरू विकास निर्माणका निम्ति पनि पछि परेका छैनन् । महिला स्वास्थ्य स्वयं सेविकाहरूको संख्या त्यति प्रशस्त हुदैन । जनसंख्याको आधारमा महिला स्वास्थ्य स्वयं सेविकाको व्यवस्था गरिएको हुन्छ । स्वस्फूर्त सेवा गर्ने भावना भएका महिलाहरूलाई वा प्रभावशाली महिलाहरूलाई आमा समूहले नियुक्ती गरेको हुन्छ । तर आजभोली आमा समूहहरू त्यति सकृय हुन नसकेका कारण कतिपय गाउँहरू सेविका विहिन अवस्थामा छन् ।

अरु क्षेत्रमा जसरीे प्रभाव परेको छ राजनीतिक तरङ्गको, त्यति प्रभाव यो क्षेत्रमा देखिदैन । अथवा राजनीतिक बिम्बले भने महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई जञ्जीरमा पार्न भने सकेको छैन । आफ्नो क्षमताले भ्याएको सेवा गर्नका लागि तल्लीन हुने समाज परिवर्तनका सहयोद्धा महिलाहरू राजनीतिक तरङ्ग उथुलपुथुल हुँदा पनि आफ्नै कर्तव्यबोधमा निहित छन् ।

जिल्ला जनस्वास्थ्य कार्यार्लयसँग यस्तो बलियो सञ्जाल छ, जुन सञ्जालमार्फ् सूचनामूलक सन्देश बस्ती बस्तीमा पोख्न वा प्रवाह गर्न सजिलो छ । राज्यका वा सरकारी कार्यालयका अरु निकायहरू माझ यो अवसर सिर्जना गर्न गाह्रो पर्छ । यदि राज्यका अन्य निकायले पनि महिला स्वास्थ्य स्वयं सेविकाको माध्यमद्दारा सन्देश प्रवाह गर्ने हो भने वा सन्देश प्रवाह गरेवापत उपहार वा पुरस्कारको व्यवस्था गरिदिने हो भने एकातिर उनीहरूको जीवनयापनमा सहजता थपिने थियो भने अर्कातिर बस्तीका कुरा राज्यका निकायमा र राज्यका कुरा बस्ती बस्तीमा पुर्याउन सजिलो हुन्छ । उनीहरूमार्फत मानव अधिकारका विषयलाई संरक्षण गर्न पनि मद्धत पुग्ने देखिन्छ ।

Followers

साताको चर्चित

Rasuwa Profile

महिनाको चर्चित

Total Visitor

Recent Posts

Prem Prasad Paudel, Rasuwa. Powered by Blogger.
Blogger Template by Basnetg.com