जलविद्युत र गोवरग्यासको सम्बन्ध

एकातिर लोडसडिङको चर्को मार त अर्कातिर ग्रामीण भेगमा खाना बनाउने इन्धनको अभाव अथवा विश्वव्यापी रूपमा बढ्दै गईरहेको जलवायु परिवर्तनको असर, जे भने पनि आखिर यी दुबै समस्याले नेपाल जस्तो विकासोन्मुख देशमा प्रभाव पारिराखेको छ । सो समस्या समाधानका लागि अत्याधुनिक शहरदेखि दुरदराजको ग्रामीण बस्तीसम्म चर्चा परिचर्चा हुन थालेको छ । ग्रामीण वस्तीसम्ममा खाना बनाउन तथा बैकल्पिक उर्जाको रूपमा गोवरग्यास प्रविधिलाई विकास गरी प्रयोग गर्न सकियो भने उर्जा अभाव, जलवायु परिवर्तनको समस्या अनुकूलनमा मात्र नभई सम्भावित जलविद्युत उद्योगमा पनि दिगोपन बनाउन सकिन्छ  ।

जलविद्युत विकासका सम्भावना भएका ठाउँमा वा पानीको स्रोत वरपरका वस्तीमा गोवरग्यास प्रविधि निर्माण तथा प्रयोग गर्न सकेमा अहिले अत्याधिक प्रयोग भईरहेको दाउराको मात्रालाई कम गर्दै पानीको स्रोत संरक्षणमा सहयोग गर्न सकिन्छ । हालसम्का विभिन्न अध्ययन तथा अनुसन्धानका आधारमा गोवरग्यास प्रयोग भएमा प्रतिघर प्रतिवर्ष २.४४ टन दाउरा वचत  वनजंगलको संरक्षण भई पानीको स्रोत संरक्षण हुन्छ भने  प्रतिघर प्रतिवर्ष  ७ टन कार्वन कम उत्सर्जन भई जलवायु परिवर्तनका समस्या अनुकूलनमा ठूलो टेवा पुग्नेछ  । त्यसैले जलविद्युतको विकासका निमित्त गोवरग्यास प्रविधि तथा प्रयोगको अत्यन्त नजिकको सम्बन्ध रहेको छ । 


गोवरग्यास प्रविधिले माथि उल्लेखित जलविद्युत उद्योगको दिगोपना तथा जलवायु परिवर्तनको समस्या अनुकूलनमा सहयोग पु¥याउनुको साथसाथै कृषि उत्पादनका लागि गुणस्तरीय जैविक मल निर्माण तथा प्रयोगका लागि मार्ग खुल्ला गर्दछ । गाईबस्तुको गोवरमा रहेको मिथेन ग्याँस खेतीपातीका लागि हानीकारक हुन्छ तर गोवरग्यासमा प्रयोग गरी बचेको लेदोमा उक्त ग्याँसरहित हुने र उक्त लेदोलाई अन्य फोहोरसँग मिसाएर जैविक मल बनाउन सके गुणस्तरीय कृषि उत्पादन मात्र नभई महंगो रासायनिक मल किन्नुपर्ने बाध्यता टर्दछ । 

विश्व तापमान बृद्धिको समस्या समाधान गरि जलवायु परिवर्तनको समस्या न्यूनीकरण वा यसमा अनुकूलन गर्नको लागि साँच्चिकै कुरा सँगै काम ९ऋयmष्लन ष्लतय ब्अतष्यल० गर्ने हो भने वा सम्भावित तथा बनिसकेका जलविद्युत केन्द्रको दीगो सञ्चालनको लागि पानीका स्रोत वरपरका बस्तीहरूका भान्छालाई दाउरारहित बनाउन गोवरग्यास प्रविधि निर्माण तथा प्रयोग हुनु जरूरी छ । रूख नरहे पानी र पानी नरहे हामी यस धर्तीमा रहन सक्दैनौं भन्ने कुरालाई आत्मसाथ गर्दै वन प्रयोगको विकल्प खोज्न हामी सबै लामबद्ध हुनै पर्दछ । 

चिलिमे प्रतिभापुञ्ज, २०७० मा प्रकाशित

जलविद्युतका लागि वन

चिलिमे प्रतिभापुञ्ज, वर्ष४, अंक ४, २०६८

रसुवा जिल्ला जलविद्युतका लागि सम्भावना भएको जिल्ला हो भनेर सबैको नजर पर्न थालेको छ । हुन पनि रसुवामा जलविद्युत उत्पादनका लागि प्रशस्त सम्भावनाहरू रहेका छन् । रसुवामा हिमाल छ, पानीका मुहानहरू छन् र पानीको लागि जंगलहरू छन् । पानी संरक्षणका लागि प्रशस्त जंगल भएको जिल्लामा जलविद्युत व्यवसाय फस्टाउन सक्छ ।

रसुवा जिल्लामा मात्र नभई देशकै लागि नमुना चिलिमे जलविद्युत केन्द्र छ । २२ मेगावाट क्षमता भएको चिलिमेले हाल रसुवालीलगायत नेपाली नागरिकलाई मालिक बनाएर नमुना प्रदर्शन गरेको छ । तर यसको दीगोपनाको लागि यहाँ आउने पानीका मूलहरू संरक्षण हुनु अपरिहार्य छ । वर्षाका समय प्रतिघण्टा २२ मेगावाट विद्युत उत्पादन गर्ने चिलिमेले हिउँदमा प्रतिघण्टा ८ मेगावाट मात्र उत्पादन गर्न बाध्य छ । यसको कारण पानीको प्रवाहमा कमी भएर हो । यो सबैलाई थाहा छ । देशमै नमुना रहेको चिलिमे जलविद्युत केन्द्रमा चिलिमे आसपासबाट आएको पानी मुख्य शक्तिको रूपमा रहेको छ । चिलिमे वरपरका जंगल, हिमालबाट आएको पानी विद्युतमा परिणत भई रसुवाको मुख्य आम्दानी र आकर्षाको रूपमा रहेको छ । यसरी हेर्दा चिलिमेको भविष्य वा चिलिमे जस्तै अरू सम्भावित विद्युत केन्द्रका भविष्य पानीको स्रोतसँग छ । त्यति मात्र नभई रसुवालीको भविष्य नै पानीको स्रोतहरूसँग छ र स्रोत संरक्षणको आधार जंगल वा रूखसँग छ भन्दा फरक नपर्ला ।


पानी जोगाइ राख्नको लागि यहाँका वनस्पतिको संरक्षणको आवश्यकता पर्दछ । खाना बनाउने इन्धनको रूपमा, घर बनाउने काठको रूपमा वा उद्योग सञ्चालन गर्ने निहुँमा यहाँका धेरै जंगलहरू सकिदै गएका छन् । चिलिमेको नमुना उत्पादन सबैका नजरमा लोकप्रिय भइरहँदा वा चिलिमेले झलमल्ल उज्यालो फ्याँकिरहँदा यहाँका जनताहरू उज्यालोको लागि सल्लाका रूखहरू ताछिरहेका छन् । रसुवाका विकट बस्तीहरूमा पाइला बढाउँदै जाँदा त्यस्तो दृश्य देख्न सकिन्छ । रातको समयमा उज्यालोको विकल्पमा वा आगो सल्काउने स्रोतको रूपमा जनताले सल्लाको चिर्पट (स्थानीय भाषामा 'मेदाङ') प्रयोग गरिरहेका छन् । जसका कारण रूख ठाडै भएपनि ढल्ने तरखरमा छ ।


अर्कातिर खाना बनाउने इन्धनको रूपमा रसुवाका सबैजसो बस्तीमा दाउरा नै प्रयोग हुने गरेको छ । हुन त विकट बस्तीहरूमा पनि नवीन प्रविधिहरूका प्रयोग भइरहेका छन् । तर त्यस्ता प्रविधिमा स्थानीय जनताको पहुँच ज्यादै न्यून रहेको छ । वर्षोनी धेरै जंगलहरू इन्धन प्रयोग गर्ने बाध्यताले विनास हुँदै गइरहेका छन् । वन जंगल र मानव जीवनको सम्बन्ध प्रगाढ हुँदाहुँदै बाध्यकारी समस्याका कारण दिनानुदिन हाम्रा वरपरका जंगलहरू निर्जीव दाउराका रूपमा परिणत भइरहेका छन् । तामाङ समाजमा आवश्यकता भन्दा पनि बढी दाउराको प्रयोग हुने गरेको छ । एकातिर जाडो याममा न्यानो बस्नुपर्ने त अर्कातिर संस्कृति र परम्परा अनुसार जाँड, रक्सी र भोज भतेर बनाउने बाध्यताले वातावरणमा प्रतिकुल असर परिराखेको छ ।


खाना बनाउन वा घर बनाउन जति वनको विनास हुने गरेको छ, त्यो त बाध्यकारी प्रयोग हो भनेर पनि भन्न सकिन्छ भने र्व्यर्थको बाहानाले पनि जंगलको साइनो मेटिदै गएको छ । घाँस काट्न सजिलो हुन्छ भन्दै जनताले जंगलमा आगो लगाइदिएका दृश्य एकातिर छ भने अर्कातिर जंगली जनावरको सिकार गर्ने मनासाय वा लालचाले पनि जंगलमा आगलागी हुने गरेको पाइन्छ । पहराबाट एउटा ढुङ्गा खसेर अर्कोमा ढोकिँदा पनि आगलागी हुने गरेको पाइन्छ । जुनसुकै बहानामा भएपनि जंगलमा आगो लाग्दा दुर्दलभ मानिएका वनस्पति र वन्यजन्तुको विनास हुने, पानीका मूल सुक्ने र वातावरणमा खैलाबैला वा प्रदुषण भई मानव जीवन कष्टकर बन्दै गइरहेको छ ।

पानीका मूल संरक्षण हुन सकेन भने जलविद्युत गृहको पनि भविष्य अन्धकार हुनेछ । त्यसैले पानीका मूल संरक्षण गर्नको लागि वनजंगलको संरक्षण हुनु आवश्यक छ । बाध्यकारी समस्याका कारण होस् वा लोभ र लालचाका कारण होस्, यसरी जंगलको विनास हुँदै गएको छ । त्यसलाई रोक्नु नै जनताको समुन्नती हो । लोभ लालचालाई थन्क्याएर र बाध्यकारी इन्धन प्रयोगलाई न्यूनीकरण वा दाउरा प्रयोगको विकल्पको खोजी गरिनु पर्छ । जलविद्युत केन्द्रको भविष्य र जनताको भविष्य पनि एक अर्कामा परिपूरक भएका कारण जनता नै यसका कर्ता हुन् । भौतिक विकास निर्माणलाई प्राथमिकता दिदै आएका जनताले अब संरक्षणका कामहरू गर्नको लागि योजना बनाउनु पर्दछ । दाउरा कम प्रयोग गर्ने प्रविधि वा दाउरा नै प्रयोग नगर्ने उर्जा प्रविधिको विकासका लागि पहिलो प्राथमिकता दिन सक्नु पर्दछ । जसबाट मानव स्वास्थ्य सुधार भई जीवन सुनिश्चित होस्, जलवायु परिवर्तनको समस्या अनुकूलन गर्न सहयोग मिलोस् र वन जंगलको संरक्षण भई पानीको संरक्षण र सदुपयोग होस् । यसैमा हाम्रो जित छ ।

यो लेखलाई Mero Report.Net मा पनि हेर्नुहोस्


तपाईलाई यो लेख कस्तो लाग्छ, सुझाव दिनुहोला फेसबुक मार्फत



728x90 - Travel Nepal

रसुवाको विकासको सूचक : जलविद्युत, पर्यटन र रसुवागढी नाका



Hotel Booking In Nepal

Home Stay To 5 Star Hotels

Book Now



हिजोसम्म दुर्गम, अशिक्षित र दुरदजारको संज्ञा पाएको रसुवा आज एकाएक धेरैको नजरमा अगाडि आएको छ । देशका विभिन्न पाटोमा रहेका नेपालीले रसुवालाई पर्यटकीय तथा धार्मिक दृष्टिकोणले चिन्दै आएका छन् । केही वर्षयता रसुवाको नामसँगै जलविद्युतको नाम पनि गाँसिदै आएको छ । अझ भन्दै पर्दा रसुवाको नाममा पर्यायी बनेर चिलिमे जलविद्युत केन्द्र आएको छ । यी थोरै नाम वा सम्पदाले चिनिएको रसुवा राजधानीको अस्तव्यस्त शहरबाट दूरीका हिशावले जति नजिक छ, त्यति नै सफल सम्भावनाका हिशावले पनि नजिकै छ । दुई ठूला छिमेकी मुलुक चीन र भारतको सामञ्जस्यता गर्नको लागि रसुवागढी नाकाको नामले पनि दशकौंदेखि रसुवा  आफ्नो परिचय स्थापित गर्न प्रयत्नशील छ ।


चिलिमे जलविद्युत केन्द्रले रसुवालीलाई मात्र नभई देशका विभिन्न दुरदराजमा रहेका नागरिकलाई सेयर वितरण गरेर मालिक बनाएको छ । आफ्ना नागरिकलाई नजिक बनाउँदै आफ्नो  निर्धारित लक्ष्यभन्दा बढी उपलब्धिलाई हात पार्न सफल भएको छ चिलिमे जलविद्युत केन्द्र । चिलिमे जलविद्युत केन्द्र आव २०६७/६८ मा १३ करोड, २७ लाख ९५ हजार युनिट उत्पादन गर्न लक्ष्य निर्धारण गरेकोमा १५ करोड १ लाख १० हजार युनिट उत्पादन गर्न सफल भएको पन्ध्रौं वाषिर्क प्रतिवेदनमा भनिएको छ । उत्साहजनक उपलब्धिलाई  हात पार्दै रसुवागढी, मध्ये भोटेकोशी, साञ्जेन र माथिल्लो साञ्जेन गरी २७० मेगावाट जलविद्युत उत्पादन  तथा विक्रीको  लागि नेपाल विद्युत प्राधिकरणसँग सम्झौता गरेको चिलिमेले अझ बढी रसुवावालीको विकासका निमित्त आफ्ना पाइलाहरू अगाडि बढाउँदै छ ।

क्यान्जेन गुम्वा पर्यटकीय स्थल
रसुवाको विकास वा जनताको जीवनयापनमा सहयोग पुर्याउँदै आएको पर्यटन व्यवसाय रसुवालीको लागि भाग्यरेखाको रूपमा रहेको छ । लाङटाङ र गोसाइँकुण्ड क्षेत्रमा केन्द्रीत पर्यटन व्यवसायले विस्तारै जिल्लाका अरु क्षेत्रलाई पनि समेट्दै छ । रसुवाको माथिल्ला क्षेत्रमा होस् वा तल्ला क्षेत्रमा होस् सायद पर्यटनसँग सम्बन्ध नराख्ने वा नरहेका व्यक्तिहरू कमै होलान् ।  कोही अवसर पाएर यस क्षेत्रबाट आफ्नो भाग्यरेखा लम्ब्याउँदै छन् भने कोही बाध्यताले पेशामा आवद्ध भई आफ्नो जीवन गुजारालाई सहज बनाउँदै छन् । दशकौंदखि पर्यटकीय चाप भएका क्षेत्रमा रहेका जनताले व्यक्तिगत, सामाजिक दुबै खालका विकास तथा आफ्नो पहिचान स्थापित गर्न सफल भएका छन् ।

रसुवागढी नाका
जलविद्युत र पर्यटन क्षेत्रले रसुवाको विकासमा जे जति योगदान पुर्याउन सक्छन् वा सम्भावना देखिएको छ, त्यत्ति नै रसुवागढी नाकाको पनि छ । चीन र भारत जोड्ने सबैभन्दा छोटो मार्ग निर्माण गरी यी दुबै देशबीच व्यापारिक सम्बन्ध स्थापित गर्न यो नाका आतुर देखिन्छ । रसुवागढी नाकाको विकास तथा विस्तारबाट आर्थिक मात्र नभई दुई ठूला देशहरू बीच आपसी सम्बन्ध विकास गर्न पनि सहयोग पुग्नेछ भन्नेमा हामी विश्वास गर्न सक्छौं । 

रसुवालीको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका चिलिमे जलविद्युत केन्द्र, पर्यटन व्यवसाय तथा रसुवागढी नाकासँगै विभिन्न सम्भावनाहरू रहेका छन् । जलविद्युत विकासका हिशावले सम्भावना रहेका वा विकासका निमित्त सूचिकृत विविध जलविद्युत केन्द्रहरूले रसुवालीका चुल्हो चौका उज्यालो पार्न सकोस् । खाना बनाउनको लागि प्रयोग हुँदै आएका इन्धन दाउराको प्रयोगमा कमी ल्याउन सकोस्, जसका कारण वनको संरक्षणसँगै जलविद्युत केन्द्रको दीगो व्यवस्थापनका लागि आवश्यक पर्ने वा नभई नहुने पानीका मुहान संरक्षण गर्न सहयोग पुगोस् ।

यति धेरै जलविद्युत विकासका सम्भावना रहेको रसुवाका जनताले खाना बनाउनको लागि दाउराको प्रयोग गरी वनविनासको पाटोमा संलग्न हुन नपरोस्, यसबाट मात्र रसुवाको जलविद्युतको दीगो व्यवस्थापनमा सहयोग पुर्याउँछ । जलविद्युत केन्द्र बनेका वा बन्दै गरेका आसपासका पर्यटकीय क्षेत्रमा उज्यालो पुर्याउन सके वा यार्सादेखि गतलाङसम्म र बेत्रावतीदेखि गोसाइँकुण्ड, लाङटाङसम्मका बस्तीहरू  चिलिमे जस्ता जलविद्युत केन्द्रको उज्यालोले देखाउन सकेमात्र चिलिमे कम्पनीको  सेयरधनी बनेको र्सार्थक हुनेछ । व्यवसायिक बन्न नसकेको पर्यटन व्यवसायलाई व्यवसायिक बनाउन जलविद्युतले सहयोग पुर्याउन सक्छ । हाताहाती उपलब्धिलाई हेर्दा जलविद्युतले वन संरक्षणमा सहयोग पुर्याउँछ, वनजंगल जस्ता सम्पदाले पर्यटन विकासका लागि मात्र नभई मानिस बाँच्नका लागि सहयोग पुर्याउँछ । यसरी हेर्दा पर्यटन र जलविद्युत असाध्यै नजिकका सम्बन्धहरू हुन् । समग्र रसुवाको विकासका निमित्त जलविद्युत, पर्यटन र रसुवागढी नाका एक अर्काका परिपूरक हुन् ।

जलवायु पविर्तनको समस्या अनुकूलनमा गोवरग्यास प्रविधिको महत्व

रसुवा खबर वर्ष१, अंक १४, २०६७ साल पुस २४ गते शनिबार
एकातिर वायुमण्डलको तापक्रममा अत्याधिक र अनेपेक्षित रूपले बृद्धि भइरहेको छ र अर्कातिर विभिन्न प्रजातिका विरुवाहरू पनि स्थानान्तरण वा लोप हुँदै गई रहेका छन् । तर्राईमा हुने प्रजाति पहाडमा, पहाडका प्रजाति हिमालमा पाइनु वा हिमालका प्रजाति अन्यत्र देखा पर्नु वा लोकबाट नै लोप हुनु, पृथ्वी उष्ण हुदै जनजीवनमा प्रतिकूल असर पर्नु, विभिन्न प्रजातिले सदा झैं समयान्तर गरि फल दिनु वा फूल फूल्नु यी आदि आदि समस्या वा विषय वस्तु नै जलवायु परिवर्तन हुनुको प्रमाण हुन । कहिले अतिवृष्टि त कहिले अनावृष्टी वा खण्डबृष्टि हुनु वा कहिँ बाढी पहिरो त कहिँ खडेरी आदि हुनु पनि जलवायु परिवर्तनको प्रमाण हुन् । विभिन्न वातावरणविद्हरूको पृथ्वी नै नरहने कुरावाट, हिमाल नरहने, ताल तलैया सुक्ने वा फुट्ने, पृथ्वी नै पानी विहिन वन्ने कुरावाट हामीमा सन्त्रास सिर्जना भईरहेको छ । यी कुराहरूमा सम्पूर्ण मानववर्ग पूर्ण रूपले सचेत रहनु पर्छ ।


जलवायु परिवर्तनको समस्या हामी र हाम्रा कारण सिर्जना हुने गरेका छन् । हामीले समस्या निम्त्याएका छैनौं भनेर कसैले पनि भन्नु पर्दैन । धेरै वा थोरै हामीले वातावरणमा असहजता थपिराखेका छौं । जानेर वा नजानी समस्या निम्त्याउने पनि हामी हौं र समस्या न्यूनीकरणका लागि सहयोग पुर्याउने पनि हामी नै हौं । हामीले हाम्रो वरिपरि रहेका विभिन्न प्रजातिका वोट विरुवा नष्ट गर्दा तथा जैविक, अजैविक वस्तुहरू डढाउँदा, कलकारखाना तथा सवारी साधन सञ्चालन गर्दा, खेती प्रविधिमा रासायनिक वस्तुको अत्याधिक प्रयोग गर्दा, धुँवा युक्त भान्छाको प्रयोग गर्दा, खनिज वा कोईलाको अत्याधिक प्रयोग गर्दा नै विभिन्न प्रकारका हरित गृहमा प्रभाव पार्ने कार्वनर्डाई अक्र्साईड , नाईट्रस अक्र्साईड, सल्फर र्डाईअक्र्साईड, मिथेन,फ्लोर परफ्लोर कार्वन्स, हाईड्राफ्लोर कार्वन तथा सल्फर हेक्जा कार्वन जस्ता ग्यासको मात्रा बढ्ने गर्दछ । वातावरणमा पैदा हुने कार्वनर्डाईअक्र्साईड रूखले लिएर हामीलाई अक्सिजन दिने गर्छ । जहाँ रूखविरूवाको बिनास हुन्छ तहाँ कार्बनर्डाईअक्र्साईड पुनः हामीले नै खानु पर्ने हुन्छ । जसको कारण विभिन्न किसिमका रोगहरूको प्रकोप बढ्दै जान्छ र मानवीय क्षति बढ्दै जान्छ । त्यसैले जंगलको उचित विकास तथा विस्तारबाट यी खाले ग्यासको उर्त्र्सजनमा कम गर्न सकिने भएकोले अव यी समस्या न्यूनीकरण गर्न हामी सबैले जागरक भएर चेतनामूलक अभियान सञ्चालन गर्नु पर्दछ । बिभिन्न किसिमका अन्तरक्रिया सडक नाटक, होर्डिङ बोर्ड, पोस्टर, पम्ल्पेट, मिडिया कार्यक्रम तथा विभिन्न भाषामा आधारित कार्यक्रमको माध्यमबाट यो समस्या समाधान गर्नु आजको लागि अति नै प्रमुख कुरा हो ।

नेपाली भूभाग प्रायशः हिमाली वा उच्च पहाडी वस्तीहरू मिलेर बनेको छ । खाना पकाउन मुख्य इन्धनको रूपमा जंगलको दाउरा नै प्रयोग हुने गरेको छ । हाम्रो समाजमा दाउरा कम लाग्ने वा दाउरा नै नचाहिने प्रविधिको विकास भइसक्दा पनि त्यस्ता प्रविधिको प्रयोग गर्न हिच्किच्याइ रहेका छौं । फलस्वरूप खाना बनाउने, कोठा तातो बनाउने बाध्यताले दिनहुँ वनजंगलको विनाश हुने गरेको छ । सम्भावना हुँदा हुँदै उपाय नखोज्दा वा उपायका नजिक नपुग्दा नै जलवायु परिवर्तनको समस्यामा संसार रूमल्लिरहेको छ । वनजंगल जोगाउन दाउरा कम लाग्ने वा धुँवा कम हुने वा धुँवा नै नहुने प्रविधिहरूको प्रयोग हुनुपर्दछ । यसका लागि गोवरग्यास प्रविधि सर्वोत्तम प्रविधि हो । जसको प्रयोगबाट वर्षोनी प्रतिघर ७ टन कार्वन कम उर्त्र्सजन र २.४४ टन दाउरा कम प्रयोग हुन्छ । एकातिर कार्वन कम उर्त्र्सजन भई वातावरणमा सहयोग पुग्ने र अर्कोतिर वनजंगलको संरक्षणमा महत्वपूर्ण योगदान रहने प्रविधि गोवरग्यासको प्रयोगमा स्थानीय जनताको पहुँच बृद्धि गर्नु नै कल्याण हुन्छ ।

सबै नागरिक सचेत भए मात्र जलवायु परिवर्तनको समस्याहरू समाधान गर्न सहयोग पुग्नेछ, किनकि अन्य विषय वस्तुभन्दा यो विषय वस्तु अति संवेदनशील छ । एक सय जना मान्छे सचेत हुने तर एक जना मान्छेले वातावरण प्रदुषण गर्ने काम वा जंगलमा आगो लगाई दियो भने एक सय जना सचेत भएको के अर्थ - यी विषयमा जति कुरा गरे पनि अन्तिम विषय भने जंगल जोगाउने, रूख रोप्ने वा हरित गृह ग्यासको उर्त्र्सजनमा कमी ल्याउन सहयोग पुर्याउने नै हो ।

विश्व तापमान बृद्धिको समस्या समाधान गरि जलवायु परिवर्तनको समस्या न्यूनीकरण वा यसमा अनुकूलन गर्नको लागि साँच्चिकै कुरा सँगै काम हुनु पर्दछ । जलवायु परिवर्तनको कुरा चलाएर अरबौ डलर कुम्ल्याउने एनजीओ वा आइएनजीओसँग पनि हामी त्यत्तिकै चनाखो रहनु पर्दछ । जलवायुको नारामा सेमिनार र गोष्ठीका दाँया, बाँयाका तस्वीर खिचेर उपलब्धी हासिल गर्यौं भनेर हामीलाई साँच्चिकै विषयवस्तुमा सहयोग नगर्नेहरूसँग हामी सँधैं चनाखो रहनु पर्छ र यो हाम्रो दायीत्व र भूमिका पनि हो भन्ने लाग्छ । बिभिन्न कार्यक्रमको सहयोगमा होस् या हाम्रा आफ्ना हैसियतमा होस् , हामी जलवायु परिवर्तनको समस्या न्यूनीकरण गर्न वा समस्यालाई अनुकूलन गर्नको लागि केही न केही सहयोग भने गर्नै पर्ने हुन्छ । रूख र पानी नरहे हामी रहँदैनौं भन्ने तर्कमा विश्वास गर्दै गोवरग्यास प्रविधि प्रयोग गर्न हामी सबै लामबद्ध रहौं । यसैमा मात्र हामी सबैको जीत हुन्छ ।

फोहोरबाट मोहोर

रसुवा खबर वर्ष१, अंक १०, २०६७ साल पौस १० गते शनिबार
रासायनिक मलविना कृषि उत्पादन नै हुँदैन कि भन्ने मानसिकता नेपाली कृषकहरूमा परिसकेको हो कि भन्ने लाग्छ । कृषिप्रधान देशको भूगोलमा बसेर आधुनिक पद्धतिमा कृषि उत्पादन गर्न नसक्दा वा गुणस्तरीय मलको प्रयोग विना नेपाली कृषकले पेट भरिने गरी अनाज उब्जाउन सकेका छैनन्, महंगो वा आयातित रासायनिक मल किन्न र प्रयोग गर्न वाध्य छन्, गुणस्तरीय नभई रोगव्याधी भित्र्याउने अनाज उब्जाउन परिराखेको छ । कृषकसँग उपलब्ध गोठेमलको पनि उचित स्याहार वा व्यवस्थापन गर्न नसक्दा कृषि उत्पादन दिनानुदिन खस्कँदै गएको स्थिति छ ।

हाम्रा वातावरण वरीपरि रहेका जैविक झारपात, भान्छामा प्रयोग गरिएका र बाँकी रहेका वस्तु -आलुका बोक्रा जस्ता तरकारीजन्य रहेलपहेल) आदिलाई हामीले बेवास्ता गरेर फालिरहेका छौं । तपाइँ हामीले प्रयोग गर्ने गरेका पोलिष्टर बाहेकका कपडा पनि मल बन्छ । अण्डाका बोक्रा, खेर गइरहेका वा प्रयोग गरिसकेका कागज आदिलाई पनि मलको रूपमा प्रयोग गर्न सकिन्छ ।

यी माथि भनिएका वस्तुलाई प्रयोग गर्न 'जाँपाफोगोगँ' भन्ने पाँच वटा अक्षरहरूलाई प्रयोग गर्न जान्नु पर्दछ । 'जाँ' भन्ने अक्षरले तपाइँ हामीमा 'जाँगर' चाहिन्छ भन्न खोजिएको छ । 'पा' भन्ने अक्षरले 'पानी', 'फो' भन्ने अक्षरले 'फोहोर' चाहिन्छ भन्न खोजिएको छ । त्यसैगरि 'गो' र 'गँ' अक्षरले क्रमश : 'गोबर' र 'गँड्यौला' चाहिन्छ भनिएको हो । 'जापाफोगोग' लाई उपयुक्त तरिकाले प्रयोग गर्न सके कृषि उत्पादनमा विस्तार गर्न र गुणकारी अनाज उब्जाउन सहयोग पुग्दछ ।

वातावरणमा प्राप्त जैवीक वस्तुको बेवास्ता गरी हाम्रो समुदाय आयातित महंगो मलको खोजीमा दौडिरहेको छ । हामीले कृषि उत्पादनको लागि महत्वपूर्ण भूमिकामा रहेको गोठेमलको सुधारमा हाम्रो खासै ध्यान पुग्न सकेको छैन । प्रत्येक वर्षरासायनिक मल प्रयोगमा गरिव कृषकहरूले ठूलै धनराशी खर्चदै आइहेका छन् । दिनानुदिन रासायनिक मलको मूल्य उक्लदै आइरहेको र आवश्यकीय आपूर्ति नहुँदा हालको वर्षा त तेब्बर मूल्यमा रासायनिक मल प्रयोग गर्नमा कृषकहरू वाध्य छन् । अरूले नै उत्पादन गरेको वस्तुलाई विश्वास गर्ने तर आफ्नो वरपर सजिलै पाइने वस्तुप्रति हाम्रो अविश्वास भने रहेकै छ ।

घरभित्र वा बाहिर हुने जैवीक फोहोरलाई उचित व्यवस्थापनबाट मल बनाई मोहोरमा परिणत गर्न सकिन्छ । तर नेपाल सरकारले यसलाई प्राथमिकतामा राख्न सकिराखेको अवस्था छैन । भान्छाबाट निस्केको तरकारीजन्य फोहोर होस् वा घाँसपातबाट निस्केको रहेलपहेल होस् त्यसलाई 'भर्मी कम्पोष्टिङ' विधिबाट रासायनिक मलको अभाव र्टार्न सकिन्छ । रासायनिक मलको अभाव र्टार्न मात्र नभएर रासायनिक मलमुक्त कृषि क्षेत्र बनाउन तथा गुणस्तरीय र स्वस्थकर उत्पादनमा निकै सहयोग पुग्दछ । गँड्यौले मल प्रविधिले अत्यन्त आफ्नो प्रभावकारिता कायम गर्न सक्दछ ।

वातावरणीय हिशावले पनि यो गँड्यौले मल अत्यन्त राम्रो मानिएको छ । रासायनिक मलको प्रयोगले जमिनको उर्वराशक्ति क्रमश : नष्ट गर्दै लैजान्छ भने भर्मी कम्पोष्टले उत्पादन क्षमतालाई बढाउँदै लैजान्छ । एक्काइसौ शताब्दीका मान्छे हामी जैवीक विधिबाट उत्पादित उत्पादन प्रयोग गर्न खोजिराखेका छौं तर रासायनिक उत्पादन गर्नमा नै हामी केन्द्रित छौं । नेपाल सरकारले रासायनिक मललाई अनुदान दिएपछि पनि हामी कृषकहरूलाई सहुलियतको नाममा विभिन्न झमेलामा परिरहेकै छौं ।

गँड्यौले मल वा भर्मी कम्पोस्ट बनाउँनको लागि अत्यन्तै सरल प्रविधीहरू छन् । घरधन्दाबाट निस्कने फोहोर तथा घाँसपातबाट निस्केका पतिङ्गरहरूलाई घाम नलाग्ने स्थान वा गोठमा ड्याङ बनाई गाईभैंसीको गोबर मलसँग मिसाएर गँड्यौले मल बनाउन सकिन्छ । गोवरग्यास प्रविधि प्रयोग गरिएका स्थानमा त त्यसबाट निस्कने लेदोसँगै यो मल बनाउन सकिन्छ । अझ यसको राम्रो पक्ष भनेको हामीले प्रयोग गरी सकेका पोलिस्टर बाहेकका कपडाहरू पनि त्यसमा राम्रोसँग कुहिने गरी मिसाएमा त्यसलाई समेत गँड्यौलाले खाइदिन्छ र मल बनाइदिन्छ । गँड्यौलाको आन्द्रामा कृषी उत्पादनलाई अत्यन्त आवश्यक पर्ने तत्व हुन्छ र विष्टामार्फ त्यो तत्व पनि त्यहाँ मिसिने हुनाले यो मललाई अत्यन्तै प्रभावकारी मलको रूपमा लिइएको छ ।

गँड्यौले मल विश्वका विभिन्न देशहरूमा प्रभावकारी सिद्ध भइसकेको छ । क्यूवा, भारत, चीन, न्यूजील्याण्ड र फिलिपिन्स लगायतका देशहरूमा यसको प्रयोग अत्याधिक रूपमा भइरहेको छ भने नेपालमा पनि विभिन्न जिल्लाहरूमा यसको लोकप्रियता बढ्दै गइरहेको छ । पछिल्लो समयमा काठमाडौं, काभ्रे, चितवन र विराटनगरमा व्यवसायिक रूपमा गड्यौले मल बनाउने र प्रयोग गर्ने प्रचलन आइसकेको छ । काठमाडौंस्थित 'विषादी निरिक्षण नेपाल' नामक संस्थाले यूएनडीपीको विश्व वातावरण कोष तथा साना अनुदान कार्यक्रमको सहयोगमा चितवनको सौराहामा भर्मी कम्पोष्टिङ विधिबाट गरेको हात्तीको लिडा व्यवस्थापन सम्बन्धि कार्यक्रमबाट पनि यसको लोकप्रियता बढेको हो भन्न सकिन्छ ।

गँड्यौले मलमा कृषि उत्पादनलाई चाहिने आवश्यक तत्वहरू जस्तै ः नाइट्रोजन, फोस्फोरस, पोटासियम, क्याल्सियम, म्याग्नेसियम, आइरन, बोरोनमोलिब्डेनियम जस्ता अति गुणकारी तत्वहरू पाइन्छन् । अन्य रासायनिक मलभन्दा गँड्यौले मल तीन देखि पाँच गुणा बढी प्रभावकारी मानिएको छ । रासायनिक मललाई न्यून गर्दै यसको प्रयोग बढाउने र अन्य वर्षरूमा रासायनिक मल मुक्त गराउदै लैजाने हो भने कृषि उत्पादनमा तीनदेखि पाँच गुणा बढ्ने पनि यस क्षेत्रका विज्ञहरूले दावी गरिसकेका छन् ।

हाम्रो समाजमा अवश्य नै गाई वा भैंसी पालिएका हुन्छन् । गाईभैसीको मलको सहायताबाट सजिलै बनाउन सकिने गँडयौले मल प्रविधिलाई कृषि प्रधान देशको सरकारले प्राथमिकतामा राख्न सकेन भने वा कृषकहरू आफैले भने पनि यसप्रति पहुँच विस्तार गर्न सक्नुपर्छ । त्यसबाट कृषिको उत्पादन क्षमता बढ्न जान्छ, त्यत्तिमात्र नभएर स्वस्थ वा गुणस्तरीय उत्पादनको अभावमा विभिन्न रोगव्याधीको समस्या न्यून गर्न सकिन्छ ।

गँड्यौला मल बनाउने प्रविधि त्यत्ति महंगो छैन किनकि प्रति गँड्यौला एक रूपैंया पर्दछ । एक हजार रूपैंयाको गँड्यौला किनियो भने केही समयमा नै यसको संख्यामा उल्लेखनीय बृद्धि आउँछ । क्रमश : गँड्यौलाले अण्डा उत्पादन गर्दै जाँदा प्रति अण्डा सात देखि दश वटासम्म गँड्यौलाहरू उत्पादन हुन्छन् । गँड्यौलालाई कुखुराको अण्डाको बोक्रा र गाईको गोबर अत्यन्तै मन पर्दछ, त्यसैले यी चिजहरू खान पाएमा गँड्यौलाको बृद्धि विकास भई मल निर्माण कार्य तथा संख्या बृद्धिमा पनि तीव्र गति कायम हुन्छ । कति समयमा वा कति मल उत्पादन गर्ने भन्ने विषय भने गँड्यौलाको संख्यामा भर पर्दछ । गँड्यौलाको संख्या यथेष्ट रहेमा २ महिनाभित्रमा पनि मल तयारी हुन्छ भने अलि कम रहेमा ४ महिनासम्म पनि लाग्दछ । मल प्रयोग गर्दा गँड्यौलाको अण्डालाई भने राम्ररी छान्नु पर्दछ । छिट्ट नै मल प्रयोग गर्नु पर्ने छ भने मात्र गँड्यौलाको अण्डा छान्नु आवश्यक छ तर केही समयपछि मात्र मल प्रयोग गर्नुछ भने मलमा गोबरको थुप्रो छाडिदियो भने क्रमश : सबै अण्डा त्यही मलमा नै गँड्यौलाको रूप धारण गरेर झुम्मन्छन् । त्यसैले यो प्रविधि अति सरल तथा प्रभावकारी विधिको रूपमा स्थापित हुने एउटा कल्याणकारी अभियान हो । गँड्यौला आफैमा पनि अति लाभदायक वस्तु हो ।

धुँवा हटाउने अभियानमा महिला स्वास्थ्य स्वयं सेविका दावाडोल्मा

रसुवा खबर सम्वाददाता वर्ष१, अंक ७, २०६७ साल मंसीर ११ गते शनिबार
गाउँघरका बालबालिकाको स्वास्थ्य सुधारका निम्ति काम गर्दै आएकी सरमथली, २, दनुस्वाराकी महिला स्वास्थ्य स्वयं सेविका दावा डोल्मा -नोरकिमो) लमिनी आजभोली चूल्हो पनि बनाउनुहोस् भनेर घरदैलो अभियानमा जुटेकी छिन् । बालबालिकामा घरेलु धुँवाका कारण रुघाखोकी र निमोनियाको समस्या देखिएपछि उनी उक्त अभियानमा लागेकी हुन् । सरमथली गाविसमा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम/विश्व वातावरण कोष/साना अनुदान कार्यक्रम तथा घरेलु वायु प्रदुषण तथा स्वास्थ्य मञ्च नेपाल र जिल्लास्थित घरभित्रको धुँवा निवारण तथा वातावरण संरक्षण मञ्च नेपालको सहयोगमा धुँवा न्यूनीकरण कार्यक्रम सञ्चालन भएपछि उनलाई उक्त मौका मिलेको हो ।

वि.सं २०६० सालदेखि महिला स्वास्थ्य स्वयं सेविकाको काम गर्न थालेकी ६० वर्षीय दावा डोल्मासँग धुँवाले स्वास्थ्यमा के के असर पुर्याउँछ - भन्ने विषयको तालिम पुस्तिका छ । आफूले पढ्न नजाने पनि गाउँघरका पढेलेखेका विद्यार्थीमार्फत् उनी ती कुराहरू सुनाउँदै हिडि्छन् । घरभित्रको धुँवाबाट हुने समस्याबारे बताउँदै गर्दा ४० वटा चिम्नीहूड बनाउनको लागि उनैले माग गरिन् । चिम्नीहूड बनाउने सामान किन्न उनी आफैं काठमाडौंसम्म गइन् । अहिले दनुस्वाराका ४० घरका धूरीमा चिम्नीहूड जडान गरिएको टाढैबाट देखिन्छ । गाउँका धेरै मानिसले चूल्हो राखेकोमा उनी ज्यादै खुशी देखिन्छिन् । आफूलाई मनपर्ने अभियानमा लाग्न पाएकोले विहानदेखि बेलुकीसम्म उनी चिम्नीहूड बनाउने मिस्त्रीसँगै हुन्छिन् । एकातिर आज कसको घरमा जडान गर्ने र भोली कसको घरमा - भन्ने विषय छ त अर्कोतिर मिस्त्रीहरूका लागि खाना, खाजा बनाउन । चिम्नी जडान गर्न थालिएपछि उनी खासै व्यक्तिगत काममा देखिन्नन् । उनको श्रीमान जयबहादुर लामा पनि त्यही काममा छन् । चिम्नी बनाउँदा दाउरा कम लाग्ने र वन जोगिने भएकोले उनी मरिमेटेर लागेका हुन् । स्थानीय सामुदायिक वा उपभोक्ता समूह अध्यक्ष समेत् रहेका जयबहादुर कतिको घरमा चिम्नी बोकेर पुर्याउँछन् त कतिको घरमा चूल्हो बनाउन । 'धुँवा रहित चूल्हो त बनाउन पाइयो, अब समूदायका सबैका घरमा शौचालय बनाउन सहयोग गर्ने संस्था पाए' भन्ने कुराले डोल्मालाई पिरोलेको छ । सरमथली गाविसमा नै शौचालयको भने ठूलो समस्या भएको र यसको समाधानको लागि कार्ययोजना बनाउन चिम्नी अभियान सकिएपछि विभिन्न निकायमा जाने विचारमा अडिग छिन् उनी ।

छिमेकी गाविस भोर्लेका वासिन्दाहरू पनि उनलाई भेट्न थालेका छन् । हाम्रो वडाका महिला स्वास्थ्य स्वयं सेविकाले चूल्हो माग नगरेको तर तपाइँले भएपनि हामीलाई चिम्नीहूड दिनुपर्यो भनेर भनिरहेका पनि उनले सुपरभिजनका लागि आएका सुरज शर्मालाई बताइरहेकी थिइन् । आमा समूहको नेतृत्वमा चिम्नीहूडको माग सिर्जना भएको पनि उनले बताइन् । चिम्नीहूड बनाएपछि धुँवाको समस्याबाट मुक्त भएकोले बालबालिका र महिलाको स्वास्थ्य सुधार हुने, दाउरा वचतबाट वन संरक्षण हुने, घर सफा हुने र छिटो र सबै प्रकारका खानेकुरा पकाउन मिल्ने भएकोले चिम्नीहूड प्रभावकारी सावित हुने कुरामा स्थानीयवासी विश्वस्त रहेका छन् ।

धुँवा रहित चिम्नीहूड पाएर खुशी छु
सरमथली, २, दनुस्वारा बस्ने ४८ वर्षीया गोरीमाया तामाङ धुँवा रहित चिम्नीहुड जडान गर्न पाएपछि ज्यादै खुशी भएकी छिन् । केही समय अगाडि उनको नयाँ घर बनेको थियो । घर कालो पनि नभइसकेकै अवस्थामा चिम्नीहूड बनाउन पाएपछि उनी यसरी खुसी भएकी हुन् । धुँवा रहित चिम्नीहूड बनाउन पाएपछि बालबालिबाहरू पढ्न ज्यादै सजिलो भएको पनि उनले बताइन् । दनुस्वाराका समुदायहरू चूल्हो बनाउन पाएपछि ज्यादै खुसी भएका पनि चिम्नीहूड निर्माता भूमे लामा, केशव पौडेल र शुक्रबहादुर रुम्वा बताउँछन् ।

Followers

साताको चर्चित

Rasuwa Profile

महिनाको चर्चित

Total Visitor

Recent Posts

Prem Prasad Paudel, Rasuwa. Powered by Blogger.
Blogger Template by Basnetg.com