समृद्ध बन्दै रसुवा

“ओहो ! रसुवा त नागार्जुन भन्दा पनि टाढा पर्दो रहेछ” काठमाडौंका रैथानेहरू भन्ने गर्थे । नागार्जुनबाट त रसुवा निकै टाढा पर्छ तर पनि काठमाडौंको मध्य शहरतिर बस्ने र कहिल्यै नागार्जुन नकटेकाहरूलाई रसुवा टाढा हैन, नागार्जुनै पनि टाढा हुँदो रहेछ । डेरामा बसेका रसुवालीहरू बीच कुरा हुँदा प्राय यस्तै कुरा हुन्थे । यो लगभग बाह्र पन्ध्र  वर्ष अघिका स्मरण आज पनि मनस्पटलमा आइरहेको छ । 


त्यति बेला हामीलाई पनि रसुवा अलि टाढै छ जस्तो लाग्थ्यो । बिहानै बस चढेपछि ढलपल ढलपल हुँदै बेलुकी बल्ल रसुवा पुगिन्थ्यो । बस यात्रा गर्दा थकानको निकै महशुस पनि हुन्थ्यो । दिनभरको यात्रा पछि बस ओर्लेर पाइला चाल्न कठिन पथ्र्यो । अझ भन्नै पर्दा थोरै बस संख्याका कारण बसको यात्रा कठिनाई पूर्ण नै थियो । बसभरि ठसाठस मान्छे, चाडपर्वका समयमा त सजायँ पाएको जस्तै, अन्य समयमा पनि साथै लगिएको सामान जोगाएर घर पु¥याउन सास्ती नै खेपिन्थ्यो । “वागमतीको कर्णाली” भएर रसुवाले परिचय दिइरहेको थियो । सदावहार रसुवा ओहोर दोहोर गरिरहनेलाई बानी परेको थियो ता पनि आगन्तुक बनेर रसुवा छिर्नेका लागि जेल सजायँ जस्तै हुन्थ्यो । 


तर विगत दुई वर्षदेखि यातायातमा केही सहजता भएको छ । दशैं, तिहार र अन्य पर्वका समयमा बसको संख्या कम भएका कारण समस्यामा सुधार हुन सकेको छैन । तर राजधानी मात्र हैन देशका दुरदराजमा बसेका नेपालीले रसुवा सुन्न थालेका छन्, चिन्न थालेका छन् । त्यतिमात्र हैन एक पटक रसुवा जाउँ जस्तो धेरैलाई हुन्छ । रसुवा नाम सुन्ने बित्तिकै कतै कर्णालीतिरको गाउँ होला भन्ने ठान्नेहरूका लागि आज राजधानीबाट चारै घण्टामा जान सकिने वागमतीकै जिल्ला बनेको छ । 


यातायातमा केही सुधार हुनु रसुवा नजिकिदै गर्नुको एउटा सूचक मात्र थियो । रसुवामा नयाँ मानिसको चहलपहल अहिले चर्चामा आएको चिलिमे मोडल पनि एउटा हो । जब वि.सं २०५२ मा डा. डम्बर नेपालीको सकृयतामा चिलिमे जलविद्युत आयोजना निर्माण सुरु भयो । निर्माण कार्य भइरहँदा पनि भूमिगत सुरुङ मार्गका कारण त्यो नजरमा कैद गर्ने इच्छा धेरैलाई हुन्थ्यो । विस्तारै नयाँ आगन्तुकको पाइला स्याफ्रुवेसीसम्म पुग्न थाल्यो । त्यो भन्दा अघिल्ला दिनमा नै गोसाईंकुण्ड धार्मिक पर्यटन, तेस्रो पर्यटकीय गन्तव्य लाङटाङ र चिलिमेको औषधालय तातोपानी कुण्डका कारण पनि मानिसहरूको आवागमन केही बाक्लेको भने थियो । भूमिगत सुरुङ मार्ग, नेपालीको डिजाईन, श्रम, सीप र लगानीका कारण रसुवा छिर्ने मानिसको संख्यामा उल्लेखनीय बृद्धि गराई दियो । त्योसँगै वि.सं २०६४÷२०६५ बाट नै आन्दोलन मार्फत् प्रक्रियामा गएको उक्त कम्पनीको सेयर रसुवाली र आम नेपालीले प्राप्त गर्नु पनि रसुवाको समृद्धि थियो । यससँगै दर्जनभन्दा बढी जलविद्युत निर्माण गर्न सक्ने क्षमता रसुवाले बोकेका कारण पनि रसुवा निकै हल्लामा छ, धेरैको नजरमा छ । 


सन् १८४९ मा तिव्वत र नेपाल बीच युद्ध हुँदा नेपालीले युद्ध जितेर बनाएका रसुवागढी र त्यही गढीलाई आधार बनाएर गरेको ऐतिहाँसिक सन्धिका कारण पनि रसुवा आफ्नो परिचय स्थापित गराउन चाहन्थ्यो । लामो समयदेखि राष्ट्रिय योजनामा प्राथमिकतामा उल्लेख हुँदै आए पनि विकास निर्माण हुन नसकेको “स्याफ्रुवेसी–रसुवागढी” सडक मार्ग बने पछि त आकस्मिक रूपमा नै देशका चर्चित मानिसहरूको गन्तव्य बन्न थाल्यो रसुवा । रसुवागढी नाका र यससँग जोडिएका विविध विषय पुर्खासँगको इतिहाँस, अंशुबर्माकी छोरी भृकुटी घर माइती गर्दा यही बाटो प्रयोग गर्ने गरेको किंवदन्ती साथै चीन–भारत जोड्ने सबैभन्दा छोटो नाकाको रूपमा विकास हुन सक्ने सम्भावनाका कारण पनि पनि यो नाकाको विकाससँगै मानिसहरूको आवागमन बढेको हो । धेरैले रसुवा चिन्न थालेका पनि हुन् ।

यी विविधमध्ये दर्जनभन्दा बढी जलविद्युत बन्ने सम्भावना तथा नेपाललाई नै लोडसेडिङ मुक्त बनाउने हैसियत भएर मात्र हैन, ती आयोजनाको प्रभावित सेयर पाउने नजीर बसेका कारण आज रसुवामा धेरैले घरेडी जोड्न खोजेका छन् । चिलिमेकै कुरा गर्ने हो भने शेयर प्राप्त गर्नेहरूमा तीन वर्षकै अन्तरालमा १ लाख १५ हजार रूपैंयाँदेखि ३ लाख रूपैंयाँसम्म प्रतिव्यक्ति शेयर वापतको आम्दानी छ । न्युनतम १० कित्ता प्राप्त गर्नेले १७ कित्ता थप बोनस पाई २८ कित्ता आफ्नो सम्पत्तिका रूपमा लिइरहेका छन् भने सबैभन्दा बढी सेयर प्राप्त गर्ने जसले ४६ कित्ता पाए उनीहरूको नाममा बोनससहित करीव १ सय ४० कित्ता बराबर भइसकेको छ । १८ हजार रसुवालीले सेयर प्राप्त गरेका छन् । जसमा प्रति परिवार हिशाव गर्दा ५ लाखदेखि २० लाखसम्म पूँजि छ तर २०६८ को तथ्याङ्क अनुसार नै पनि २५ हजारभन्दा बढी रसुवालीहरू चिलिमेको सेयर पाउनबाट बञ्चित पनि छन् । 

यसरी हेर्ने हो भने रसुवामा बनिसकेका जलविद्युत आयोजना चिलिमे (२२ मेगावाट), र निर्माणाधिन आयोजना माथिल्लो साञ्जेन (१४.८ मेगावाट), तल्लो साञ्जेन (४२.५ मेगावाट), रसुवागढी (१११ मेगावाट) मा रसुवालीको लगानी सुनिश्चित भएका कारण पनि आज सबैको नजर रसुवामाथि पर्न थालेको छ । चिलिमे जलविद्युत आयोजनाको मातहतमा बन्न लागेको सिन्धुपाल्चोकको मध्यभोटेकोसी (१०२ मेगावाट) सहित पनि रसुवालीसहित चिलिमे आयोजनाले सेयर वापतको आम्दानी प्राप्त गर्नेछ, सेयर प्राप्त गर्नेछ । त्योसँगै माथिल्लो र तल्लो साञ्जेनमा जिल्ला विकास समिति र गाउँ विकास समितिहरूले पनि ३ प्रतिशत लगानी गरिरहेका कारण स्थानीय निकायले आन्तरिक आय बृद्धि गर्दै जिल्ला समृद्ध बन्ने सम्भावना छ । 

रसुवामा निर्माण हुँदै गरेको माथिल्लो त्रिशूली थ्री ए (६० मेगावाट), माथिल्लो त्रिशूली थ्री बी (४० मेगावाट), त्रिशूली एक (२१६ मेगावाट) अपर मैलुङ ए (८ मेगावाट), फलाँखु (१३.५ मेगावाट) सालासुङ्गी (७८ मेगावाट) हुन् भने सर्भे लाईसेन्स प्राप्त गरी वातावरणीय प्रभाव मूल्याङ्कनको क्रममा रहेका रसुवा भोटेकोशी÷लाङटाङ (९७.५ मेगावाट), माथिल्लो मैलुङ (१४.३ मेगावाट) छन् । त्यसैगरि सर्भे लाइसेन्स मात्र प्राप्त गरेका आयोजनाहरुमा लाङटाङ खोला (१० मेगावाट), न्यामनम खोला (६ मेगावाट) र शहिद दिक्षा (४ मेगावाट) गरी रसुवामा जम्माजम्मी ७ सयभन्दा बढी मेगावाट जलविद्युत उत्पादन हुने सम्भावना देखिएको छ ।   यी आयोजनामा स्थानीयले लगानी गर्ने वातावरण सिर्जना भएसम्म रसुवा र रसुवालीको आर्थिक विकासका लागि पर्याप्त बाटाहरु हुनेछन् । हालै  उत्पादन भइरहेको मैलुङ जलविद्युत आयोजना (६ मेगावाट) ले स्थानीयलाई सेयर दिने जनाएको छ । 

जलविद्युत, पर्यटन, रसुवागढी नाका तथा लाङटाङ राष्ट्रिय निकुञज र यसका वरपर रहेका दुर्लभ पशुपंक्षी, जैविक विविधता, जडिबुटी खेती, कृषि पर्यटन तथा उत्पादित वस्तुका बजारीकरणको माध्यमबाट रसुवाले अग्रगामी छलाङ मार्ने सम्भावना छ । यही सूचकहरूको इमान्दारी पूर्वक कार्यान्वयन, सदुपयोग र प्रयासबाट रसुवा समृद्ध बन्नेछ र बनिरहेको पनि छ । 

See Also at NagarikNews.Com

समाज सुधारका प्रतिबिम्ब भरत न्यौपाने

Rasuwa Khabar First Year 11th Edition Paush 17 2067
सामाजिक सेवा गर्दै गाउँको उन्नति र प्रगति गर्न उच्च ओहदा र सरकारको मनग्य लगानी पनि बग्नु पर्दैन । न त व्यक्तिगत सम्पत्तिबाट नै करौंडौं रूपैया खर्चनु पर्दछ । दिलभरि माटाको माया उमारी इमान्दारीपूर्वक लागि पर्ने हो भने अत्यन्तै न्यून लगानीबाट पनि गाउँ, बस्ती र टोलको मुहारलाई दिव्यता दिन सकिन्छ भन्ने कुराको नमुना बन्न पुगेका छन् रसुवा, भोर्ले- ८, भदौरेका समाज सुधारक भरतप्रसाद न्यौपाने ।

विसं २०२५ साल पौष १३ गते पिता देवप्रसाद र माता नोखकुमारी न्यौपानेको पवित्र कोखबाट जन्मेका हुन् । गरिवीले गर्दा पेट पाल्नको लागि निकै गार्हो भएपछि ८ वर्षै उमेरमा गाउँबाट बाहिरिएका न्यौपानेले गाँस, वाँस र कपासको निम्ति देशभित्र नै निकै भौंतारिनु पर्यो । रोजगारीको खोजीमा कुदिरहेका उनी बढो कठिनपूर्वक वि.सं २०४३ मा आयुर्वेदिक विभागको तल्लो तहको कर्मचारी बन्न पुग्छन् । न्यून तलबका कारण त्यहाँ जीवन धान्न कठिन परेपछि हाकिमसँग अनुनय विनय गरी आफूर् राष्ट्र बैंकतिर र्सछन् । थोरै तलब, तल्लो तहको अस्थायी कर्मचारी हुनुको पीडावोधको कारण विसंगतिपूर्ण जीवनलाई पुन : राम्रो रोजगारीको आशा राखी २०४७ मा भारतीय भूमितिर लाग्छन् । त्यहाँ उनले पानी शुद्ध गर्ने र घरभित्र तथा बाहिर हुने जैविक 'फोहोरलाई मोहोर' बनाउने काम पाउँछन् । सोही कामको अध्ययन र अनुगमन गर्ने सिलसिलामा चार महिनासम्म थाईल्याण्डमा बस्ने मौका पाउँछन् ।


आफ्नो पसिना मातृभूमिको उन्नतीमा नै लगाउने ध्येयले उनी २०५० मा नेपाल फर्के । समयको यही दौडानमा भक्तपुरस्थित प्राविधिक तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटि) मा कार्यलय सहयोगीको रूपमा कार्य गर्ने मौका पाए । आर्जित सम्पत्तिको खर्च प्रकृयाको बारेमा अध्ययन गर्ने उद्धेश्यले र्सवप्रथम फुटपाथका नाङ्ले पसले र डकर्मीहरूको दैनिक खर्च सम्बन्धी अध्ययन गरे । त्यहाँ उनले क्रमशः दश पन्ध्र रूपैयाँ धुम्रपानको लागि र दश पन्ध्र रूपैंयाँ जाँड रक्सीमा प्रतिदिन खर्च गर्ने गरेको पाए । उनले मनमनै सोचे नाङ्ले पसलेले दशदेखि पन्ध्र रूपैयाँ दैनिक चुरोटमा खर्च गर्छ । डकर्मीले पन्ध्र रूपैंयाँ बराबर रक्सीमा खर्च गर्छ , तर 'म चुरोट पनि तान्दिन, र रक्सी पनि पिउँदिन भने त्यही बराबरको रकम वचत गरी सामाजिक कार्यमा किन नलगाउने -' मनमा उब्जिएको समाज सेवाप्रतिको चाहना स्वरूप उनले दैनिक दश रूपैंयाँका दरले 'खुत्रुके वचत' गर्न थाले । २०५३ सालमा उनी गाउँ फर्के । उनले त्यत्तिखेर खुत्रुकेमा जम्मा भएको १२ हजार ३ सय ६६ रूपैंयाँ पनि लिएर आए । सँगै हुर्केका र हुर्कँदै गरेका मुनाहरूसँग मिलेर उनले खुत्रुके वचतबाट सामाजिक काम गर्न 'भदौरे समाज सुधार समिति' नामक संस्थाको स्थापना गरे । त्यही संस्थाको अगुवाइमा उनले समाज सेवा गर्ने प्रण गर्दै समाजमा प्रस्ताव राखे 'मेरो खुत्रुके वचतलाई विकास निर्माण गर्न लगानी गर्ने निर्णय गर्दै तपाईहरू पनि सक्दो सहयोग गर्नोस' । समाजका व्यक्तिहरूले उक्त प्रस्तावलाई स्वीकार गर्दै खानेपानीको कुवा बनाउने निधो गरे । त्यत्तिखेर उक्त अभियानमा भदौरेका २२ घरधूरीले सहयोग पुर्याए ।

काठमाडौं फर्केपछिको एक विहान दश वजेतिरै हाकिमले उनलाई कार्यकक्षमा बोलाए । गोरखापत्रमा न्यौपानेले 'खुत्रुकेमा गरेको वचतद्धारा कुवा खनाएको'समाचार प्रकाशित भएको थियो । गोरखापत्र देखाउँदै हाकिमले प्रसन्न भएर भनेछन् 'तिमी कार्यालय सहयोगीको काम गर्र्छौ र पनि महान काम गर्र्छौ ।' हाकिम निकै प्रभावित भएर गोजीबाट दश हजार रूपैंयाँ दिदै भने 'त्रि्रो अभियानमा यसले एउटा इट्टा थप्ने काम गर । ' न्यौपाने ज्यादै खुसी हुँदै आफ्नो कार्यलाई झन फराकिलो बनाउन तयार भए । उनले त्यसलाई उत्प्रेरणाको रूपमा पाए । २०५४ मा कार्यलयबाट प्राप्त दश हजार रकम लिएर गाउँमा 'भदौरे स्वावलम्वन कोष' स्थापना गर्न सफल भए । त्यही साल कार्यलयबाट उनलाई गाउँमा सामाजिक कार्य गर्नको लागि वाषिर्क १० दिन विदा पनि मिल्यो । स्वावलम्वन कोषको विकास गर्न गाउलेले पनि देउसी भैलो खेलेर ३ मुरी अन्न र केही रकम जम्मा गरे । त्यत्तिखेरसम्म उक्त कोषमा २३ घरधूरी सहभागी थिए । स्वावलम्वन कोष विस्तार, ग्रामीण पुल, बाटोघाटो बनाउन तथा सांस्कृतिक कार्य र बिहेबटुलमा चाहिने आवश्यक सामग्री खरिद गर्नको लागि गाउँलेको सहयोग तथा उनको खुत्रुके वचत अभियान कायमै थियो । २०६० सम्ममा उनको अगुवाइमा गाउँमा निकै काम सम्पन्न भइसकेका थिए । समाजमा प्रतिघर वर्षोनी पाँच दिन बराबरको जनश्रम दिने नियम पनि बस्दै गयो जुन अहिलेसम्म पनि कायमै छ । प्रत्येक दशैंमा ग्रामीण योजना बनाउने र हिउँदमा जनश्रमद्धारा विकासका काम गर्ने चलन अत्यन्त महत्वका साथ स्थापित हुँदै गयो । उक्त स्वावलम्वन कोषमा हाल दुई लाख बराबरको रकम रहेको छ । प्रवेशिका परीक्षामा उच्च अंक ल्याउनेलाई पुरस्कार, मृत्यु संस्कारको लागि दुई हजार रूपैंयाँ सहयोग, दैवी विपत्ति परेको परिवारको सम्पूर्ण खेतीपातीका काम उतारिदिने जस्ता कल्याणकारी कामहरू सञ्चालन भइरहेका छन् ।

भदौरे समाज सुधार समितिको स्वावलम्वन कोषले आगामी दिनमा ग्रामीण विकास गर्न सरकारको भर नपर्ने, जनश्रमलाई निरन्तरता दिने, अति गरिवलाई व्यवसाय सञ्चालन गर्न सहुलियत व्याजमा ऋण दिने , बिजुली बत्तीको पैसा तिर्ने, पशु विमा गर्ने, गाउँलेलाई खेताला र मल अनुदान दिने, चार्डपर्वमा मसला आदिको व्यवस्था गर्ने, छिमेकी गाउँहरूमा पनि सहयोग गर्दै त्यही अनुसरण गर्न लगाउने जस्ता कार्ययोजना बनाएको छ । सामाजिक सद्भाव कायम गर्न बेलाबेलामा वनभोज र अन्तक्रिर्या जस्ता कार्यक्रमको आयोजना गर्दै आएको छ । सादा जीवन र उच्च विचारका भरत न्यौपानेको सानो प्रयत्नबाट झाँगिँदै गएको जनचेतना र सामाजिक परिवर्तनको यो गोरेटो सबैको निम्ति उदाहरणीय बन्न पुगेको छ । उनको अगुवाइमा रहेको भदौरे समाज सुधार समितिले गरेका स्थानीय विकासका कामहरू, भदौरे स्वावलम्वन कोषले समाज विकासमा पुर्याएको योगदानलाई अन्य गाउँमा पनि स्थापित गर्न सकेमा सामाजिक, सांस्कृतिक र आर्थिक विषमतालाई परिवर्तन गर्न सकिन्छ । एकपटक भदौरे जाऔं, भदौरे समाज सुधार समितिले प्रारम्भ गरेको सामाज सुधारका आदर्श पथहरूलाई पछ्याउँदै स्थानीय उन्नयनको लागि अरूको मुख नताक्ने प्रथाको सुरुवात गरौं । आमूल परिवर्तनको लागि भदौरेको समाज नमूना बन्न सक्छ , खोक्रा नारा र नयाँ नेपाल बनाउने नाममा भित्रिएको विसंगति र्सार्थक बन्ने छैन । नारा बर्बराएर र झण्डा फर्फाएर होइन नङ्ग्रा खियाएर मात्र देशले काँचुली फेर्न सक्छ भन्ने तर्कमा विश्वास गरौं ।

Followers

साताको चर्चित

Rasuwa Profile

महिनाको चर्चित

Total Visitor

Recent Posts

Prem Prasad Paudel, Rasuwa. Powered by Blogger.
Blogger Template by Basnetg.com