जलविद्युत र गोवरग्यासको सम्बन्ध

एकातिर लोडसडिङको चर्को मार त अर्कातिर ग्रामीण भेगमा खाना बनाउने इन्धनको अभाव अथवा विश्वव्यापी रूपमा बढ्दै गईरहेको जलवायु परिवर्तनको असर, जे भने पनि आखिर यी दुबै समस्याले नेपाल जस्तो विकासोन्मुख देशमा प्रभाव पारिराखेको छ । सो समस्या समाधानका लागि अत्याधुनिक शहरदेखि दुरदराजको ग्रामीण बस्तीसम्म चर्चा परिचर्चा हुन थालेको छ । ग्रामीण वस्तीसम्ममा खाना बनाउन तथा बैकल्पिक उर्जाको रूपमा गोवरग्यास प्रविधिलाई विकास गरी प्रयोग गर्न सकियो भने उर्जा अभाव, जलवायु परिवर्तनको समस्या अनुकूलनमा मात्र नभई सम्भावित जलविद्युत उद्योगमा पनि दिगोपन बनाउन सकिन्छ  ।

जलविद्युत विकासका सम्भावना भएका ठाउँमा वा पानीको स्रोत वरपरका वस्तीमा गोवरग्यास प्रविधि निर्माण तथा प्रयोग गर्न सकेमा अहिले अत्याधिक प्रयोग भईरहेको दाउराको मात्रालाई कम गर्दै पानीको स्रोत संरक्षणमा सहयोग गर्न सकिन्छ । हालसम्का विभिन्न अध्ययन तथा अनुसन्धानका आधारमा गोवरग्यास प्रयोग भएमा प्रतिघर प्रतिवर्ष २.४४ टन दाउरा वचत  वनजंगलको संरक्षण भई पानीको स्रोत संरक्षण हुन्छ भने  प्रतिघर प्रतिवर्ष  ७ टन कार्वन कम उत्सर्जन भई जलवायु परिवर्तनका समस्या अनुकूलनमा ठूलो टेवा पुग्नेछ  । त्यसैले जलविद्युतको विकासका निमित्त गोवरग्यास प्रविधि तथा प्रयोगको अत्यन्त नजिकको सम्बन्ध रहेको छ । 


गोवरग्यास प्रविधिले माथि उल्लेखित जलविद्युत उद्योगको दिगोपना तथा जलवायु परिवर्तनको समस्या अनुकूलनमा सहयोग पु¥याउनुको साथसाथै कृषि उत्पादनका लागि गुणस्तरीय जैविक मल निर्माण तथा प्रयोगका लागि मार्ग खुल्ला गर्दछ । गाईबस्तुको गोवरमा रहेको मिथेन ग्याँस खेतीपातीका लागि हानीकारक हुन्छ तर गोवरग्यासमा प्रयोग गरी बचेको लेदोमा उक्त ग्याँसरहित हुने र उक्त लेदोलाई अन्य फोहोरसँग मिसाएर जैविक मल बनाउन सके गुणस्तरीय कृषि उत्पादन मात्र नभई महंगो रासायनिक मल किन्नुपर्ने बाध्यता टर्दछ । 

विश्व तापमान बृद्धिको समस्या समाधान गरि जलवायु परिवर्तनको समस्या न्यूनीकरण वा यसमा अनुकूलन गर्नको लागि साँच्चिकै कुरा सँगै काम ९ऋयmष्लन ष्लतय ब्अतष्यल० गर्ने हो भने वा सम्भावित तथा बनिसकेका जलविद्युत केन्द्रको दीगो सञ्चालनको लागि पानीका स्रोत वरपरका बस्तीहरूका भान्छालाई दाउरारहित बनाउन गोवरग्यास प्रविधि निर्माण तथा प्रयोग हुनु जरूरी छ । रूख नरहे पानी र पानी नरहे हामी यस धर्तीमा रहन सक्दैनौं भन्ने कुरालाई आत्मसाथ गर्दै वन प्रयोगको विकल्प खोज्न हामी सबै लामबद्ध हुनै पर्दछ । 

चिलिमे प्रतिभापुञ्ज, २०७० मा प्रकाशित

जलविद्युतका लागि वन

चिलिमे प्रतिभापुञ्ज, वर्ष४, अंक ४, २०६८

रसुवा जिल्ला जलविद्युतका लागि सम्भावना भएको जिल्ला हो भनेर सबैको नजर पर्न थालेको छ । हुन पनि रसुवामा जलविद्युत उत्पादनका लागि प्रशस्त सम्भावनाहरू रहेका छन् । रसुवामा हिमाल छ, पानीका मुहानहरू छन् र पानीको लागि जंगलहरू छन् । पानी संरक्षणका लागि प्रशस्त जंगल भएको जिल्लामा जलविद्युत व्यवसाय फस्टाउन सक्छ ।

रसुवा जिल्लामा मात्र नभई देशकै लागि नमुना चिलिमे जलविद्युत केन्द्र छ । २२ मेगावाट क्षमता भएको चिलिमेले हाल रसुवालीलगायत नेपाली नागरिकलाई मालिक बनाएर नमुना प्रदर्शन गरेको छ । तर यसको दीगोपनाको लागि यहाँ आउने पानीका मूलहरू संरक्षण हुनु अपरिहार्य छ । वर्षाका समय प्रतिघण्टा २२ मेगावाट विद्युत उत्पादन गर्ने चिलिमेले हिउँदमा प्रतिघण्टा ८ मेगावाट मात्र उत्पादन गर्न बाध्य छ । यसको कारण पानीको प्रवाहमा कमी भएर हो । यो सबैलाई थाहा छ । देशमै नमुना रहेको चिलिमे जलविद्युत केन्द्रमा चिलिमे आसपासबाट आएको पानी मुख्य शक्तिको रूपमा रहेको छ । चिलिमे वरपरका जंगल, हिमालबाट आएको पानी विद्युतमा परिणत भई रसुवाको मुख्य आम्दानी र आकर्षाको रूपमा रहेको छ । यसरी हेर्दा चिलिमेको भविष्य वा चिलिमे जस्तै अरू सम्भावित विद्युत केन्द्रका भविष्य पानीको स्रोतसँग छ । त्यति मात्र नभई रसुवालीको भविष्य नै पानीको स्रोतहरूसँग छ र स्रोत संरक्षणको आधार जंगल वा रूखसँग छ भन्दा फरक नपर्ला ।


पानी जोगाइ राख्नको लागि यहाँका वनस्पतिको संरक्षणको आवश्यकता पर्दछ । खाना बनाउने इन्धनको रूपमा, घर बनाउने काठको रूपमा वा उद्योग सञ्चालन गर्ने निहुँमा यहाँका धेरै जंगलहरू सकिदै गएका छन् । चिलिमेको नमुना उत्पादन सबैका नजरमा लोकप्रिय भइरहँदा वा चिलिमेले झलमल्ल उज्यालो फ्याँकिरहँदा यहाँका जनताहरू उज्यालोको लागि सल्लाका रूखहरू ताछिरहेका छन् । रसुवाका विकट बस्तीहरूमा पाइला बढाउँदै जाँदा त्यस्तो दृश्य देख्न सकिन्छ । रातको समयमा उज्यालोको विकल्पमा वा आगो सल्काउने स्रोतको रूपमा जनताले सल्लाको चिर्पट (स्थानीय भाषामा 'मेदाङ') प्रयोग गरिरहेका छन् । जसका कारण रूख ठाडै भएपनि ढल्ने तरखरमा छ ।


अर्कातिर खाना बनाउने इन्धनको रूपमा रसुवाका सबैजसो बस्तीमा दाउरा नै प्रयोग हुने गरेको छ । हुन त विकट बस्तीहरूमा पनि नवीन प्रविधिहरूका प्रयोग भइरहेका छन् । तर त्यस्ता प्रविधिमा स्थानीय जनताको पहुँच ज्यादै न्यून रहेको छ । वर्षोनी धेरै जंगलहरू इन्धन प्रयोग गर्ने बाध्यताले विनास हुँदै गइरहेका छन् । वन जंगल र मानव जीवनको सम्बन्ध प्रगाढ हुँदाहुँदै बाध्यकारी समस्याका कारण दिनानुदिन हाम्रा वरपरका जंगलहरू निर्जीव दाउराका रूपमा परिणत भइरहेका छन् । तामाङ समाजमा आवश्यकता भन्दा पनि बढी दाउराको प्रयोग हुने गरेको छ । एकातिर जाडो याममा न्यानो बस्नुपर्ने त अर्कातिर संस्कृति र परम्परा अनुसार जाँड, रक्सी र भोज भतेर बनाउने बाध्यताले वातावरणमा प्रतिकुल असर परिराखेको छ ।


खाना बनाउन वा घर बनाउन जति वनको विनास हुने गरेको छ, त्यो त बाध्यकारी प्रयोग हो भनेर पनि भन्न सकिन्छ भने र्व्यर्थको बाहानाले पनि जंगलको साइनो मेटिदै गएको छ । घाँस काट्न सजिलो हुन्छ भन्दै जनताले जंगलमा आगो लगाइदिएका दृश्य एकातिर छ भने अर्कातिर जंगली जनावरको सिकार गर्ने मनासाय वा लालचाले पनि जंगलमा आगलागी हुने गरेको पाइन्छ । पहराबाट एउटा ढुङ्गा खसेर अर्कोमा ढोकिँदा पनि आगलागी हुने गरेको पाइन्छ । जुनसुकै बहानामा भएपनि जंगलमा आगो लाग्दा दुर्दलभ मानिएका वनस्पति र वन्यजन्तुको विनास हुने, पानीका मूल सुक्ने र वातावरणमा खैलाबैला वा प्रदुषण भई मानव जीवन कष्टकर बन्दै गइरहेको छ ।

पानीका मूल संरक्षण हुन सकेन भने जलविद्युत गृहको पनि भविष्य अन्धकार हुनेछ । त्यसैले पानीका मूल संरक्षण गर्नको लागि वनजंगलको संरक्षण हुनु आवश्यक छ । बाध्यकारी समस्याका कारण होस् वा लोभ र लालचाका कारण होस्, यसरी जंगलको विनास हुँदै गएको छ । त्यसलाई रोक्नु नै जनताको समुन्नती हो । लोभ लालचालाई थन्क्याएर र बाध्यकारी इन्धन प्रयोगलाई न्यूनीकरण वा दाउरा प्रयोगको विकल्पको खोजी गरिनु पर्छ । जलविद्युत केन्द्रको भविष्य र जनताको भविष्य पनि एक अर्कामा परिपूरक भएका कारण जनता नै यसका कर्ता हुन् । भौतिक विकास निर्माणलाई प्राथमिकता दिदै आएका जनताले अब संरक्षणका कामहरू गर्नको लागि योजना बनाउनु पर्दछ । दाउरा कम प्रयोग गर्ने प्रविधि वा दाउरा नै प्रयोग नगर्ने उर्जा प्रविधिको विकासका लागि पहिलो प्राथमिकता दिन सक्नु पर्दछ । जसबाट मानव स्वास्थ्य सुधार भई जीवन सुनिश्चित होस्, जलवायु परिवर्तनको समस्या अनुकूलन गर्न सहयोग मिलोस् र वन जंगलको संरक्षण भई पानीको संरक्षण र सदुपयोग होस् । यसैमा हाम्रो जित छ ।

यो लेखलाई Mero Report.Net मा पनि हेर्नुहोस्


तपाईलाई यो लेख कस्तो लाग्छ, सुझाव दिनुहोला फेसबुक मार्फत



728x90 - Travel Nepal

रसुवाको विकासको सूचक : जलविद्युत, पर्यटन र रसुवागढी नाका



Hotel Booking In Nepal

Home Stay To 5 Star Hotels

Book Now



हिजोसम्म दुर्गम, अशिक्षित र दुरदजारको संज्ञा पाएको रसुवा आज एकाएक धेरैको नजरमा अगाडि आएको छ । देशका विभिन्न पाटोमा रहेका नेपालीले रसुवालाई पर्यटकीय तथा धार्मिक दृष्टिकोणले चिन्दै आएका छन् । केही वर्षयता रसुवाको नामसँगै जलविद्युतको नाम पनि गाँसिदै आएको छ । अझ भन्दै पर्दा रसुवाको नाममा पर्यायी बनेर चिलिमे जलविद्युत केन्द्र आएको छ । यी थोरै नाम वा सम्पदाले चिनिएको रसुवा राजधानीको अस्तव्यस्त शहरबाट दूरीका हिशावले जति नजिक छ, त्यति नै सफल सम्भावनाका हिशावले पनि नजिकै छ । दुई ठूला छिमेकी मुलुक चीन र भारतको सामञ्जस्यता गर्नको लागि रसुवागढी नाकाको नामले पनि दशकौंदेखि रसुवा  आफ्नो परिचय स्थापित गर्न प्रयत्नशील छ ।


चिलिमे जलविद्युत केन्द्रले रसुवालीलाई मात्र नभई देशका विभिन्न दुरदराजमा रहेका नागरिकलाई सेयर वितरण गरेर मालिक बनाएको छ । आफ्ना नागरिकलाई नजिक बनाउँदै आफ्नो  निर्धारित लक्ष्यभन्दा बढी उपलब्धिलाई हात पार्न सफल भएको छ चिलिमे जलविद्युत केन्द्र । चिलिमे जलविद्युत केन्द्र आव २०६७/६८ मा १३ करोड, २७ लाख ९५ हजार युनिट उत्पादन गर्न लक्ष्य निर्धारण गरेकोमा १५ करोड १ लाख १० हजार युनिट उत्पादन गर्न सफल भएको पन्ध्रौं वाषिर्क प्रतिवेदनमा भनिएको छ । उत्साहजनक उपलब्धिलाई  हात पार्दै रसुवागढी, मध्ये भोटेकोशी, साञ्जेन र माथिल्लो साञ्जेन गरी २७० मेगावाट जलविद्युत उत्पादन  तथा विक्रीको  लागि नेपाल विद्युत प्राधिकरणसँग सम्झौता गरेको चिलिमेले अझ बढी रसुवावालीको विकासका निमित्त आफ्ना पाइलाहरू अगाडि बढाउँदै छ ।

क्यान्जेन गुम्वा पर्यटकीय स्थल
रसुवाको विकास वा जनताको जीवनयापनमा सहयोग पुर्याउँदै आएको पर्यटन व्यवसाय रसुवालीको लागि भाग्यरेखाको रूपमा रहेको छ । लाङटाङ र गोसाइँकुण्ड क्षेत्रमा केन्द्रीत पर्यटन व्यवसायले विस्तारै जिल्लाका अरु क्षेत्रलाई पनि समेट्दै छ । रसुवाको माथिल्ला क्षेत्रमा होस् वा तल्ला क्षेत्रमा होस् सायद पर्यटनसँग सम्बन्ध नराख्ने वा नरहेका व्यक्तिहरू कमै होलान् ।  कोही अवसर पाएर यस क्षेत्रबाट आफ्नो भाग्यरेखा लम्ब्याउँदै छन् भने कोही बाध्यताले पेशामा आवद्ध भई आफ्नो जीवन गुजारालाई सहज बनाउँदै छन् । दशकौंदखि पर्यटकीय चाप भएका क्षेत्रमा रहेका जनताले व्यक्तिगत, सामाजिक दुबै खालका विकास तथा आफ्नो पहिचान स्थापित गर्न सफल भएका छन् ।

रसुवागढी नाका
जलविद्युत र पर्यटन क्षेत्रले रसुवाको विकासमा जे जति योगदान पुर्याउन सक्छन् वा सम्भावना देखिएको छ, त्यत्ति नै रसुवागढी नाकाको पनि छ । चीन र भारत जोड्ने सबैभन्दा छोटो मार्ग निर्माण गरी यी दुबै देशबीच व्यापारिक सम्बन्ध स्थापित गर्न यो नाका आतुर देखिन्छ । रसुवागढी नाकाको विकास तथा विस्तारबाट आर्थिक मात्र नभई दुई ठूला देशहरू बीच आपसी सम्बन्ध विकास गर्न पनि सहयोग पुग्नेछ भन्नेमा हामी विश्वास गर्न सक्छौं । 

रसुवालीको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका चिलिमे जलविद्युत केन्द्र, पर्यटन व्यवसाय तथा रसुवागढी नाकासँगै विभिन्न सम्भावनाहरू रहेका छन् । जलविद्युत विकासका हिशावले सम्भावना रहेका वा विकासका निमित्त सूचिकृत विविध जलविद्युत केन्द्रहरूले रसुवालीका चुल्हो चौका उज्यालो पार्न सकोस् । खाना बनाउनको लागि प्रयोग हुँदै आएका इन्धन दाउराको प्रयोगमा कमी ल्याउन सकोस्, जसका कारण वनको संरक्षणसँगै जलविद्युत केन्द्रको दीगो व्यवस्थापनका लागि आवश्यक पर्ने वा नभई नहुने पानीका मुहान संरक्षण गर्न सहयोग पुगोस् ।

यति धेरै जलविद्युत विकासका सम्भावना रहेको रसुवाका जनताले खाना बनाउनको लागि दाउराको प्रयोग गरी वनविनासको पाटोमा संलग्न हुन नपरोस्, यसबाट मात्र रसुवाको जलविद्युतको दीगो व्यवस्थापनमा सहयोग पुर्याउँछ । जलविद्युत केन्द्र बनेका वा बन्दै गरेका आसपासका पर्यटकीय क्षेत्रमा उज्यालो पुर्याउन सके वा यार्सादेखि गतलाङसम्म र बेत्रावतीदेखि गोसाइँकुण्ड, लाङटाङसम्मका बस्तीहरू  चिलिमे जस्ता जलविद्युत केन्द्रको उज्यालोले देखाउन सकेमात्र चिलिमे कम्पनीको  सेयरधनी बनेको र्सार्थक हुनेछ । व्यवसायिक बन्न नसकेको पर्यटन व्यवसायलाई व्यवसायिक बनाउन जलविद्युतले सहयोग पुर्याउन सक्छ । हाताहाती उपलब्धिलाई हेर्दा जलविद्युतले वन संरक्षणमा सहयोग पुर्याउँछ, वनजंगल जस्ता सम्पदाले पर्यटन विकासका लागि मात्र नभई मानिस बाँच्नका लागि सहयोग पुर्याउँछ । यसरी हेर्दा पर्यटन र जलविद्युत असाध्यै नजिकका सम्बन्धहरू हुन् । समग्र रसुवाको विकासका निमित्त जलविद्युत, पर्यटन र रसुवागढी नाका एक अर्काका परिपूरक हुन् ।

वातावरण संरक्षणका लागि जलविद्युतको विकास र प्रयोग


रसुवा खबर, वर्ष १, अंक ३५ , २०६७ जेठ २8 गते, शनिबार 
मानिस जीउनको लागि धेरै विषयवस्तुहरूको आवश्यकता पर्दछ । त्यस्तै विषयवस्तुमध्ये अक्सिजन मुख्य हो । अक्सिजन नभए मानिस केही क्षण पनि बाँच्न सक्दैन । अक्सिजनको स्रोतको रूपमा जंगल रहेको छ ।

जंगल विभिन्न बाहानाले दिनानुदिन मासिदै गएका छन् । ग्रामीण जनताले दिनहुँ जंगलको उपभोग गर्नुपर्ने बाध्यकारी समस्या छ । खाना बनाउने मुख्य इन्धनको रूपमा दाउरा प्रयोग गर्नुपर्ने बाध्यताका कारण वस्ती वरपरका जंगलहरू मासिदै गएका छन् । एकातिर जंगल प्रयोगको बाध्यकारी समस्या अर्कातिर जानी नजानी हुने गरेको जंगलको विनासका कारण वातावरणमा ठूलो समस्या सिर्जना भइरहेको छ । यस्तै यस्तै कारणबमाट वातावरण प्रदुषण भई मानव जीवन कष्टकर बन्दै गइरहेको छ ।

मानव समुदाय विकासप्रेमी छ  । देख्दादेख्दै एक पुस्ताबाट अर्को पुस्तामा युग हस्तान्तरण हुँदा नहुँदै भौतिकबादी विकासहरूले निकै फड्को मारिरहेको छ । सामाजिक भन्दा व्यक्तिगत विकासलाई प्राथमिकता दिदै आएको यो युगमा  जति भौतिक विकास भएको छ, त्यत्ति  वातावरणीय विकास भएको छैन । मानिस आफ्ना नीजि विकासका लागि अग्ला अग्ला महल बनाउँछ तर महलबाट  निस्कने फोहोरलाई आफ्नो अगाडि फालेर महल नजिक नालीको रूपमा विकास गरिरहेको छ । घरभित्र जतिसुकै सजावट वा सफा भएपनि घर बाहिरको वातावरण  प्रदुषण गर्दै विभिन्न रोग तथा महामारीमा संसार फस्न खोज्दैछ ।

वातावरण विना मान्छे स्वस्थ रहन सक्दैन । स्वस्थ वातावरण भए मान्छे स्वस्थ रहन्छ र वातावरण प्रदुषित भएमा मान्छेको स्वास्थ्यमा पनि वातावरण प्रतिकुल असर पर्दछ । रूखले फ्याँक्ने अक्सिजन हामीले लिएर बाँच्छौं भने हामी र हाम्रा कारण निस्किएका प्रदुषित ग्याँसहरू खानाको रूपमा रूखले खाने गर्दछ । रूख नभए अक्सिजनको मात्र संकट नपरी प्रदुषित ग्याँसहरूको चपेटामा हामी पर्दछौं । तर्सथ लामो समयसम्म स्वस्थ भएर हामी बाँच्नको लागि वा वातावरण जोगाउनको लागि जंगलको संरक्षण हुनुपर्दछ । तर्सथ जंगल जोगाउनु नै वातावरण संरक्षण हो र हाम्रो जीवनयापनमा सहजता ल्याउनु हो ।
वातावरण प्रदुषण हुने विभिन्न कारणहरू छन् । जैविक तथा अजैविक फोहोरहरू जलाएर नष्ट गर्ने निहुँमा वातावरण प्रदुषण भइरहेको छ ।  प्लाष्टिकजन्य  फोहोरहरूलाई डढाउँदा हानीकारक ग्याँसहरूले हाम्रो वातावरणमा खैलाबैला गरिरहेको हुन्छ । खाना बनाउने इन्धन प्रयोग गर्दा दाउराको प्रयोगले वन विनास त हुने नै भयो त्यसैमाथि  धुँवाको कारण वातावरणलगायत मानव स्वास्थ्यमा नै नकारात्मक असर पुर्याइराखेको हुन्छ । खाना बनाउन होस् वा अन्य प्रयोजनका लागि होस्, हामीले रूख काटेर बाँच्नको लागि अति आवश्यकता पर्ने अक्सिजनको अभाव खेपिरहेका छौं । रूख विनाको अक्सिजन, अक्सिजन विनाको मानव जीवन वा जंगल विनाको  पानी र पानी विनाको जीवन यो कुनै पनि सम्भव छैन । त्यसैले जंगल संरक्षणको लागि प्रवल सम्भावना रहेको रसुवामा खाना बनाउने प्रविधिको रूपमा जलविद्युतलाई प्रयोग गर्नु नै बुद्धिमानी हुनेछ । जलविद्युतलाई विकास गरी रूख नमासिने क्रियाकलाप सञ्चालन गर्नुपर्ने हुन्छ । खाना बनाउने बाध्यताले दाउरा प्रयोगबाट विनास हुने गरेको जंगललाई जलविद्युतका लागि मुख्य सम्भावित बनेको रसुवामा खाना बनाउन जलविद्युतको प्रयोग गरेर वातावरण जोगाउन सकिन्छ ।

जंगलको संरक्षण भए जलविद्युतका लागि आवश्यक पर्ने पानीको मूल संरक्षण हुन्छ । जंगल र मानव जीवन एक अर्काका सहयात्री हुन् वा  जंगल संरक्षणमा मानवले सहयोग पुर्याउनु पर्दछ र जंगलले मानवलाई यो धर्तीमा सजिलोसँग बाँच्न सहयोग पुर्याउँदछ ।

जलविद्युत सँगसँगै गोवरग्यास प्रविधि पनि वातावरण संरक्षणका लागि अत्यन्त महत्वपूर्ण प्रविधि हो । गोवरग्यास प्रविधि  प्रयोग हुने ठाउँमा गोवरग्यासको त प्रविधि प्रयोग गर्न विविध समस्या सिर्जना हुने ठाउँमा जलविद्युत वा लघु जलविद्युतको निर्माण तथा व्यवस्थापन गर्न सकिन्छ । रसुवाको सर्न्दर्भमा लाङटाङ क्षेत्रमा वायोग्यास प्रविधिको प्रयोग गरिएको छ । हुन त यो एउटा अध्ययनको रूपमा गरिएको होला । तर  लाङटाङमा गोवरग्यासभन्दा लघु जलविद्युतको प्रवल सम्भावना छ । गोवरग्यास प्रविधिको लागि लाङटाङमा धेरै समस्याहरू छन् । रसुवाका तल्ला क्षेत्रमा गोवरग्यास प्रविधि अत्यन्त प्रभावकारी रूपमा सञ्चालन हुने आधारहरू छन् । त्यसैले जुन प्रविधिको दिगो सञ्चालन गर्न सकिन्छ, त्यही प्रविधिको प्रयोग वा विकास हुनु पर्दछ ।

खान बनाउने प्रविधिको  रूपमा जलविद्युत वा लघु जलविद्युतको विकास सँगसँगै वातावरण प्रदुषण गर्ने विभिन्न क्रियाकलापलाई रोक्नु पर्ने हुन्छ । रूख रोप्ने क्रियाकलापलाई वातवरण दिवसमा मात्र हैन विरूवा र्सर्ने महिना असार र साउनमा पनि दिवस मनाउनु अत्यनत आवश्यकता छ । रसुवाको परिवेसमा वातावरण दिवस मनाउन सकृय रहेका आमा समूह, स्थानीय संघसंस्था वा सरकारी कार्यालयहरू सबै मिलेर रूख विरूवा लगाउने महिनामा सकृय रहने प्रेरणा मिलोस्, वातावरण संरक्षणका लागि यही शुभकामना ।।      

Followers

साताको चर्चित

Rasuwa Profile

महिनाको चर्चित

Total Visitor

Recent Posts

Prem Prasad Paudel, Rasuwa. Powered by Blogger.
Blogger Template by Basnetg.com