दुध पिएर सर्पले अमृत पार्दैन, किनकि उसको विशेषता विषसँग छ

रसुवा खबर वर्ष १, ४० 


दोषैलाइ गराइ सद्गुण सखे ! बोल्छन् गतीला जन
अर्काका गुणलाइ दूषित गरी फैलाउँछन् दुर्जन 
नूनीलो जल मेघले लगि मिठो पारेर बर्साउँछन्
आलो दूध पिएर सर्पहरूले साक्षात् विषै पार्दछन् ।।

 सिसाकलम चलाउन नजान्दै मुख चलाउन जानिन्छ । बाह्रखरी हेरेर सानो उमेरमा सबैले स्वर मिलाउँदै 'राम्रो म' भनेर भन्न पनि सिकिएकै हो । अरु जतिसुकै गुणवान भएपनि राम्रो नदेख्ने र आफू जतिसुकै नराम्रो छु भनेर भित्री मनमा थाहा हुँदाहुँदै पनि राम्रो छु भन्ने प्रवृत्ति मानव जीवनको एक संस्कार हो । रसुवाका मिसन पत्रिकाका कोरमे पत्रकारहरूलाई पनि यस्तो लाग्नु स्वभाविक हो ।
अरुलाई 'घोरमुखा थ' देख्ने र आफूलाई महान् छु भनेर फुलेर अहम्ता देखाउने मानव जाति माथि उदाहरणस्वरूप उल्लेख गरिएको गुणरत्नको कविता जस्तै आफ्नो दोष गुणमा रूपान्तरण गर्दै गतिलो बन्ने र अरुको गुणलाई दुषित गरी आफैं दुर्जन बनिरहेको हुन्छ । समाजका सबै पात्रहरूमा यो लागू हुँदैन । आफूले जति राम्रो काम गरे पनि सानो सम्झने वा आफुले आफैंलाई मपाइँ नभन्ने सत्चरित्रका मानवहरू पनि पाइन्छन् । कविताको दोस्रो श्लोकमा जस्तै सागरको नुनिलो पानीलाई संशोधन गरेर मिठो र गुणकारी बनाउँदै जगत हितका लागि वर्षा गराउने मेघ जस्तै समाजमा पवित्र चिन्तनका मान्छे पनि हुन्छन् ।

मान्छेले आफैंलाई ढाँटेर वा आफूले चोर्दा चोर्दै पनि बाहिरी मुखले चोरिन भन्न तल्लीन हुन्छ । तर भित्री मनमा मैले चोरें नी भन्दै स्वीकारी रहेको हुन्छ । सागरको नुनीलो पानी मेघले लगेर वर्षा गराउँदा गुणकारी नै हुन्छ । ताकि उक्त वर्षा नभए मान्छेको जीवनको त के यो ब्रम्हाण्डको नै कल्पना गर्न सकिन्न । यानेकि त्यहाँ पारुष्य स्वभावको मान्छेले राम्रो म भन्दै वा दुशासनको अनुयायीले युधिष्ठिर सरह छु भनेर आफूलाई परिभाषित गर्न  नै पाउँदैन ।

कवितामा सर्प दुधका कुरा पनि छन् । दुधको महत्व मानव जीवनका लागि अपरिहार्य नै हो । त्यस्तो अत्यन्त महत्वको दुधलाई र्सपले पियो भने अमृत कदापी बन्दैन, किनकि र्सपसँग विषको विशेषता छ । चाहे उसले अमृतै पिए पनि उसँग विष नै हुन्छ । त्यस्तै मानवमा पनि जस्तो विशेषता छ उसले त्यस्तै आचरण देखाउँछ । त्यसमा कुनै अन्यथा मान्नु पर्दैन ।

सर्न्दर्भ जोड्न मन लाग्यो तातेताते गर्दै रहेको रसुवाको पत्रकारिताको । व्यवसायिक पत्रकारिता रसुवामा कल्पना मात्र हो कि भन्ने जस्तो देखिएको छ । विकट जिल्लामा पत्रकारिताको विकासको सम्भावना ज्यादै कम छ । अझ आजभोलि त पत्रिका सदरमुकामसम्म पनि पुग्न कठिन छ । यी विविध समस्याको माझमा विभिन्न विशेषता बोकेका पत्रकारहरू पत्रकारिताको क्षेत्रमा देखिएका छन् ।
रसुवामा तीन किसिमका पत्रकारहरू छन् । एउटा रहरले पत्रकारिता गर्ने, अर्को व्यवसायिक भए जीवन चल्छ भनी ठान्ने र अर्को विभिन्न पेशामा संलग्न रही जिम्मेवारी बिर्सेर आफ्नो स्वार्थ पुरा गर्न र उदाउँदै गरेको पत्रकारिताको असली स्वरूपलाई लङ्गडो बनाउनको लागि पत्रकार बनेर हिडिरहेका छन् । उनीहरूले अरु पत्रकारहरूलाई साम्राज्यवाद सम्झन्छन्, नेपाली नागरिकलाई उस्तै परे अमेरिकन हो भन्न पनि पछि पर्दैनन्  । सर्पसँग विष हुन्छ भने जस्तै उनीहरूसँग यस्तो बोल्ने कला हुन्छ नै ।
बाँदरले आफ्नो घर पनि बनाउँदैन र अरुको पनि भत्काउँछ भनेर प्राचीन बुढापाकाले भन्ने गरेका छन् । त्यस्तै रसुवाका केहीखाले पत्रकारहरूले आफु मिसन पत्रकारिता बाहेक जनताको वा समसामयिक विषयमा कलम चलाउँदैनन् र अरुले पनि त्यस्तै गर्न पर्छ वा व्यवसायिक र र्सार्वजनिक पत्रकारिता गर्न हुँदैन भन्छन् । एउटा  मात्र पार्टीको  पक्षमा मिसन पत्रकारिता गर्दै तीन करोड नेपालीको भावनालाई समेटेर पत्रकारिता गरेको छु भन्छ र अरुले गरेको पत्रकारितालाई निर्देशित पत्रकारिता भनेर चिन्ह लगाउँछ, उसको डायरीमा । तर उसले पाएको जिम्मेवारी के हो भनेर कहिल्यै ख्याल गर्दैन । अरुले गरेका कुनै पनि काम नराम्रो भनेर उ भनिरहन्छ । तर साना बालबालिकाको भविष्यप्रति  आफूले लात मारेको कहिल्यै सोच्दैन । अझ आफूलाई विश्वम्भरसरह ठान्दै क्रान्तिकारीको नाइके पनि हुँ भन्छ । आफूलाई धेरै संगठनको विद्वच्छिरोमणि ठान्दै राज्यको सेवा र सुविधामा राज रही सामाजिक संस्थाकोसहित व्यवस्थापन गर्छु भन्दै लाखौंको वजेट विदग्ध गरिरहेको छ ।

एनजीओ र आइएनजीओ भनेर रातोदिन सराप्दै एनजीओमा काम गर्नेलाई लुटेरा देख्छ उसले किनकि कालो कर्तुतसँग अश्लिष्ट कालो चस्माले सत्यतालाई लुकाउँछ । तर एनजीओ वा आइएनजीओमा आफ्ना अगलेबगलेहरूलाई जागिरे बनाउन नपाए कार्यालय प्रमुखलाई जिल्ला प्रवेशमा निषेध गर्ने पनि उनीहरूकै संयन्त्रबाट भइरहेको हामीले पाएका छौं । अरुले काम गरेको देखेर थुर्पीमा पानी तताएर मर्न खोज्नेले एनजीओ/आइएनजीओबाट अनाहकमा रकम असुलेर रातारात धनी बन्न खोजिरहेको छ । सायद चाँडै नै चिल्ला भ्यानमा दादागिरी देखाउँदै सयर गर्न लालायित छ ऊ । अरुलाई एनजीओको डलर भनेर चिनाउनेले राज्यले दिएको जिम्मेवारी पुरा नगरी तलब खाने र एकातिरको जिम्मेवारीबाट नपन्छिकन विविध बाहानामा अरु संयन्त्रमा  जागिरे हुने र करौंडोको बिटाले आफूलाई लिउन लगाउने प्रबृत्तिमा छ । भन्ने बेलामा जनताका लागि लडेको भन्ने अनि हज्जारौं बेरोजगारीको समस्यालाई थाँती राखेर जता पनि आफैं मालिक बन्ने  जगन्नियता पुकारिरहेको छ ।

अरुलाई कपोलकथित आरोप लगाएर आफू साधु बन्ने, नाम नसुनेको/नचिनेको पत्रकारको बाइलाइन समाचार लेखेर अदालती अधिवक्तासरहको भूमिका निर्वाह गर्न पनि उनीहरू पछि पर्दैनन् । जुन घटनामा संलग्न नै नभएको व्यक्तिलाई घटनाको दोषी -अभियुक्त) भनेर मिसन पत्रिकामार्फ फैसला गर्ने हर्कत बोकेका यी पत्रकारहरू 'ठीक कुरो नबुझी अन्दाजको भरमा निराधार बुद्धि लडाउने' वा डेढ अक्कली -लालबुझक्कड) हरू हुन् । उनीहरूले रसुवाको पत्रकारिता क्षेत्रलाई नै लङ्गडो बनाउन हरदम प्रयत्नमा छन् । आफू बाँदर जस्तो छु कि भनी ऐनामा नहेरी आफ्नो संज्ञा अरुलाई दिन ऊ खप्पिस छ ।

-आफ्नो गुण सबैमा हुन्छ । कोहीमा कुनै प्रकारको त कोहीमा कुनै प्रकारको । हरेक मानवमा छुट्टाछुट्टै गुण र विशेषता हुन्छन् । सोही अनुसार मानव आफ्नै विशेषता देखाउन तल्लीन रहन्छ । विशेषताभन्दा फरक गुण उसमा हुँदैन ।

फलफूलमा आ-आफ्नै प्रकारका रसले भरिएका हुन्छन् । फरक त्यति हो, कसैमा अमृतरूपी रसहरू हुन्छन् त कुनैमा कल्मषहरू हुन्छन् । कुनै फलका रस खाएमा शरीरमा स्फूर्ति पैदा गर्दछ त कुनै फलका रसले मानवको देह समाप्त हुन्छ । देह समाप्त हुने रस दिने फलले कहिल्यै पनि अमृतरूपी रस प्रदान गर्दैन ।

मानवमा पनि स्वगुणहरू हुन्छन् । कसैमा सकारात्मक गुण त कुनैमा सच्याउनु पर्ने गुणहरू हुन्छन् । आफ्नो विशेषता अनुसारको गुण उसले देखाउँदा त्यसमा आत्तिनु पर्दैन । रसुवा खबर साप्ताहिकमा प्रकाशित सामग्री के कस्ता रहेका छन्, त्यो पढ्नेले मात्र बुझछन् । जो पत्रिका लगातार निस्क्यो भनेर निस्सासिन्छ, त्यसले त नराम्रो नै देख्ने हुन्छ । त्यसमा पनि आत्तिनु पर्दैन ।  

रसुवा खबर जल्दाको त्यो क्षण

रसुवा खबर, वर्ष १, अंक ३२ , २०६७ जेठ ७ गते, शनिबार 

रसुवाबाट अखबार प्रकाशन आफैंमा दुस्साहसी अभ्यास हो । एकातिर पत्रिका प्रकाशनको लागि समाचारका सामग्री संकलन तथा तथ्य स्रोतको अभाव अर्कातिर संकलित सामग्रीलाई प्रकाशन गर्न प्रेसको अभाव । अझै दुःखजिलो गरेर प्रकाशन भएको पत्रिका ग्राहक समक्ष पुर्याउन पनि त्यत्तिकै कठिनाई । कहिले बसमा नै हराउँछ पत्रिका त कहिले विभिन्न कारणले पत्रिका प्रकाशन गर्न सकिदैन ।

पहिलो, रसुवाका पत्रकारहरूले दुःख गरेर संकलन गरेका समाचारलाई राष्ट्रिय मिडियासम्म पुर्याउन त्यत्तिकै चुनौती छ । दोस्रो, न्यून पहुँच र कम गुणस्तरीय समाचारका कारण वा पत्रिकाका मालिकलाई रिझाउन नसक्दा प्रकाशन गर्न गार्हो भइरहेको छ । सरल शब्दमा भन्दा  रसुवाली पत्रकारहरूले पत्रकारिताको सामान्य अभ्यास मात्र गर्न सकेका छन् । विभिन्न तालिमका अभावले रसुवाली पत्रकारहरूको पेशा पत्रकारितामा मात्र सिमित हुन सकेको छैन ।

रसुवाका जनताले सूचनाको मुख्य स्रोतको रूपमा रसुवा खबरलाई नै पाएका छन् । पत्रकारिता सिक्न र अभ्यास गर्नको  लागि एक माध्यम बनेको छ रसुवा खबर । शनिवार अबेरसम्ममा इमेलबाट रसुवा खबरको पिडिएफ फाइल पठाउन सकिएन भने कतै इमेलमा त कतै फेसबूकमार्फ स्वदेश र विदेशमा बस्ने रसुवालीहरूले पत्रिका पठाइदिन अनुरोध गर्दछन् । साप्ताहिक रूपमा रसुवाको समाचार र ज्ञानवर्द्धक, चेतनामूलक सामग्री अध्ययनको लागि पर्खिरहेका हुन्छन् पाठकहरू । कतिपयले रसुवा खबरमा प्रकाशन भएका लेख, रचना र समाचारलाई पढेर प्रतिक्रिया दिन्छन् । जिल्लाभित्र बस्ने र जिल्ला बाहिर बस्ने रसुवालीहरूको  सकारात्मक सुझावबाट हामीलाई अगाडि बढ्न निकै हौसला मिलेको छ । अझ खुसी लाग्छ जतिबेला रेडियोहरूले रसुवा खबरका समाचारलाई अक्षरस पढ्छन् । नुवाकोटलगायत राजधानी र राजधानी बाहिरका समाचारपत्रहरूमा पनि रसुवा खबर प्रकाशन हुन थालेपछि धेरै समाचारहरू छापिन थालेका छन् ।

यात्राका क्रममा कतै रसुवा खबर जथाभावी फ्यालिएको, च्यात्तिएको देखेमा साह्रै माया लागेर आउँछ । कतै एक टुक्रा रसुवा खबर देखेमा टिप्न मन लाग्छ । जिल्लाबाट प्रकाशन हुने पहिलो साप्ताहिक, धेरैका लागि उपर्यूक्त सूचना स्रोतको रूपमा रहेको छ भन्न हामीले हिच्किचाउनु हुँदैन । चिलिमेको सेयरदेखि रसुवाको महोत्सवमा के भयो भनेर जानकारी दिने प्रमुख माध्यमको रूपमा रसुवा खबर रहेको र्सवविदितै छ । कतिपय विषयहरूको बारेमा रसुवा खबरबाहेक अन्यत्रबाट थाहा नभएको पनि धेरैले बताइरहेका छन् ।   प्रकाशनको पूर्वार्ददेखि नै पत्रिकालाई कुनै पार्टीको मुखपत्र नबनोस् भन्दै धेरै पाठकले सुझाव दिइरहेका छन् र कुनै पार्टीको नभई रसुवाली जनताको मुखपत्र बनाउनको लागि हामी सँधैं क्रियाशील छौं ।  

प्रकाशनको ३१ औं अंकमा 'माओवादीको विरूद्धमा समाचार लेखियो' भन्दै हाम्रै हातबाट खोसेर वाइसिएलले करिव १ सय थान रसुवा खबर जलाउँदाको क्षणमा साह्रै दुःख लाग्यो । एक टुक्रा अव्यवस्थित देखेमा दुखेर आउने मन मुठै च्यातेर जलाउदा मनभरि डँढेलो सल्कियो । त्यसको प्रतिवादमा बोलिएको भए अझै के हुन्थ्यो होला - पत्रिका जल्नेसम्मको समाचार थिएन त्यहाँ । प्रधानाध्यापक र गाउँका युवासँग भएको झडप, प्रहरी पोष्टमा गएर मिलापत्रसम्म हुन लागेको । माफी माग्दै कागजमा सहीछाप गर्न ठिक परेका शिक्षकलाई केही साथीहरूले  नमिल्न सल्लाह दिएपछिमात्र समाचार विरूद्धमा भएको ठहरिन्छ र सानो समूहले तन, मन र धन अर्पेर प्रकाशन गरेको पत्रिका भनौं या उत्पादन वा सम्पत्ति जे भने पनि जल्दा सहन धौधौ नै पर्यो । तर पनि 'मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्या' छ भने झैं मनलाई गाह्रैसँग भनेपनि सभाल्न पर्नै रहेछ ।

समाचारका पात्र सेतीदेवी उमाविका प्रमुखको विरूद्ध भयो रे, आफूले गल्ती गरेको स्वीकार गरी  माफी माग्दै कागज गर्न तयार हुनुले नै समाचारको पुष्ट्याइँ गर्दछ । अझै त्यहाँ घटना नमिली धुन्चे पुगेर पनि दुबै पक्ष हाँसीखुसी मिलापत्रमा सही गरी सँगै एकै ठाउँमा खाजा आएर फर्किए । उनीहरूको मिल्ने स्थिति गाउँमा नै थियो रे । राजनीतिक विभाजनका कारण घटना ठूलो बन्दै गएको पाइन्छ ।  
एउटा शिक्षकले विद्यालय सेवा क्षेत्रभित्र जाँड रक्सी खानु र मातेर अभिभावकसँग जोरी खोज्दै जानुलाई चाहिँ माओवादीले सकरात्मक रूपमा लिने, अझ कसले खादैन र रक्सी, रक्सी खाएकोसँग किन बोल्ने त - भनेर उल्टै अरूसँग प्रहरी प्रशासनकै अगाडि दादागिरी देखाउन सक्ने वाइसिएलको दण्डहीनता प्रष्टै थियो । अभिभावकले विद्यालय सञ्चालनार्थ  सहयोग गर्दा अन्य पार्टीमा आवद्द भएको कारण पूर्वाग्रही भएर अभिनन्दन नगरेको भन्ने विषयबाट झगडाको सुरूवात भएको देखिन्छ । विद्यालयलाई माया गरेर गरेको सहयोग पनि फिर्ता गरिदिन्छु भन्नु विपरित पार्टीको सहयोगी अभिभावकलाई सम्मान गर्न हिच्किच्याउनु हो भन्ने उनको विपक्षीबाट पाइएको छ ।
बसमा हेमनाथ खतिवडा र पूर्णप्रसाद न्यौपानेले पत्रिका ल्याए । नियमित ग्राहकलाई पत्रिका बाँडियो । जिवजिवे बजारको लागि ५० थान पत्रिका लिएर खतिवडा र म बाटो लाग्दै थियौं । पछिबाट एउटा वाइसिएल भाई जो मेरो आफन्त पनि थियो उसले हाम्रो पिछा गर्दै भन्यो- 'तपाइँहरूलाई प्रभाकर दाइले बोलाउनु भएको छ ।' हामी फक्र्यौं, र्फकदा वाइसिएलको एक समूह प्रभाकर घिमिरेको नेतृत्वमा आयो र उक्त समाचारको स्रोत खोज्यो । हाम्रो हातबाट पत्रिका खोसेर च्यात्दै आगो लगायो र पत्रकारिताको फाँटोमा पुण्य कमायो । ग्राहकले पढ्दै गरेका सबै पत्रिका खोसेर जलायो । एकछिन फलाक्यो उसले जानेको ।

आँखा पनि तमासै देख्न सकिएन तर पनि  धैर्य गर्न हामी बाध्य भयौं ।  र मनलाई खैंचिदै  'किन यस्तो भयो, किन पत्रिका जलाए -' भन्नेमात्र सोचिरहृयौं । एकैछिनमा हामीसँग  उत्तर आयो  'गोरू नाङ्गै हिँड्नु आर्श्चर्य हैन ।' उनीहरूले जलाउन, तर्साउन र दण्डहीनतालाई अँगाल्नबाहेक के जानेका छन् र - यस्तै सोच्दै चित्त बुझाउन बाध्य भयौं ।

कसैलाई समाचार चित्त बुझदैन, चित्त नबुझदैमा त केही पनि गर्न पाइँदैन तर समाचार निष्पक्ष नभए खण्डनको प्रक्रिया अपनाउनु पर्दछ । साँच्चिकै विरूद्धका समाचार भए मुद्धा मामिलामा लाग्न सकिन्छ । विरूद्धको छपाइ भए हामी मुद्धा जाहेरी भएमा फैसलाले जे भन्छ त्यो मान्न तयार छौं र अदालतको फैसलाको पक्षमा छौं । यसरी कानूनी प्रक्रिया हुँदाहुँदै  रसुवा खबर हाम्रो प्रकाशन भनेर होइन, भोलि रसुवामा अरू पत्रिका पनि प्रकाशन होलान् र कसैलाई समाचार चित्त नबुझला, तर पत्रिका च्यातिन हुँदैन र जलाइनु हुन्न ।

रसुवामा पत्रकारिताको विकास भएको धेरै भएको छैन । गाउँको समाचार, यहाँको समस्याको समाचार वा अन्य सूचनामूलक सामग्री जुन नितान्त रसुवाको भूगोलमा रहेर प्रकाशन हुने रसुवा खबर नै रसुवाली पत्रकारिताको विकासको पहिलो खुटि्कलो हो । हुन यस अघि प्रकाशन हुँदै आएको नयाँ प्रवाहले रसुवाको समसामयिक विषयलाई एक चोया पनि उठाउन सकेन । एउटा पार्टीको भूगोलमा रहेर मात्र त्यसले पत्रकारिता गरिरहृयो । माओवादीमा जनमत थुप्य्राउनको लागि क्रियाशील देखिएको पत्रिकाको कारण आज अरू रसुवाली पत्रकारहरूलाई 'हामीले माओवादीको पत्रकार हुँ भनेजस्तो तिमीहरू पनि कसैका हुँ भनेर हिक्मत गर्न सक्छस् -' भन्ने प्रश्न गरिरहेको छ । त्यसैका फलस्वरूप माओवादीमा आस्था राख्ने पत्रकारहरूलाई वाध्यात्मक अवस्था सिर्जना भएको पनि छ । 

रसुवामा जी लेकाली, हेमनाथ खतिवडा, कृष्ण थापा, सुशील कोइराला, बलराम घिमिरेलयायतका साथीहरूले पत्रकारितालाई घिच्याएर यहाँसम्म ल्याएका हुन् । आफ्नो योग्यता र क्षमता अनुसार उहाँहरूले गर्नुभएको प्रयास अत्यन्त अनुसरणीय छन् । पछिल्लो समयमा अरू साथीहरू पनि पत्रकारितामा आउनुभएको छ, र सँगसँगै एक रसुवा खबरको  समूह 'निरन्तर रसुवाको पत्रकारिताको गुणात्मक र व्यवसायिकतालाई दिशानिर्देश गर्न' उन्मुख छ ।

पत्रिका जलाउने निन्दनीय र घृणित कार्यमा  सहभागी साथीहरू ! हाम्रो नाममा रसुवा खबरका साप्ताहिक अंक ५ सय प्रतिमात्र छन् । तन, मन र धन हामीले त्यसमा लगाएका छौं । जिविस र गाविसको पैसाले पत्रिका प्रकाशन गरेर माओवादी विरूद्ध लेख्ने प्रयास गरिस् भनेर भन्नुभएको छ । जिविस होस्, गाविस होस् वा अन्य सरकारी तथा गैरसरकारी संस्था वा महान् रसुवाली जनताको सहयोग जुन् हामीले लिइरहेका छौं, त्यो कुनै न कुनै कामको अलावा लिइएको हो । सूचना प्रकाशन, ग्राहक शुल्क, शुभकामना विज्ञापनमार्फ लिइएको सहयोग मात्र हो । कसैसँग लौरो देखाएर र तर्साएर पैसा  असुलिएको छैन । तपाइँहरूको जस्तो हाम्रा नाममा न करौंडौंको जग्गा छ न बङ्गला, यही पत्रिकाबाहेक । पत्रिका प्रकाशनका क्रममा पानी समेत् पिउन नपाएका दिन छन् हामीसँग । घरबाट मकै भुटेर लगेका दिनहरू पनि पर्याप्त छन् हामीसँग । पत्रिका छापेर जिल्ला र्फकन खोज्दा बसहरू छुटेर कैयौं दिन हामी पैदलै ५ सय थान पत्रिका बोकेर हिँडेका छौं ।

पत्रिका जलाउने कार्यमा पत्रकार पनि संलग्न भएको देख्दा रसुवाको पत्रकारितामा विडम्वना र चुनौती रहेको देख्न सकिन्छ । एकातिर पत्रकार महासंघको सदस्यता प्राप्त गरेका पत्रकारले पत्रिका च्यात्नु र जलाउनु आफैंमा बेइमानी र आफ्नै खिल्ली उडाएको अवस्था त छँदैछ, अर्कोतिर निजको पनि पत्रकारिताको आगामी उत्पादन कस्तो हुने भन्ने प्रश्न पनि खडा भएको छ । हुन त आफ्नो पक्षमा महासंघ बनाउनको लागि पत्रकारिताको खोल ओढेका कोरमे पत्रकारको हालसम्म रसुवाको समसामयिक विषय वा समस्या र समस्या समाधानका लागि कुनै मिडियामा  कुनै पनि उत्पादन रसुवालीले पढ्न पाएका छैनन् । खासै आशालाग्दो अवस्था पनि अनुमान गर्न सकिदैन ।   


अपरिवर्तनीय धाराका रूपमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरिनुपर्छ

नवराज लम्साल उपाध्यक्ष, नेपाल प्रेस यूनियन
रसुवा खबर वर्ष १, अंक ८, २०६७ मंसिर १८ गते शनिवार

नवराज लम्साल पत्रकारिता क्षेत्र, विशेष गरी विद्युतीय सञ्चार माध्यमका लोकप्रिय सञ्चारकर्मीका रूपमा स्थापित र नेपाली भाषा साहित्यको क्षेत्रका एकजना सर्वोत्तम् स्रष्टा हुन् । बिसं २०२६ साल साउन ८ गते पिता टंकप्रसाद र माता हेमकुमारी लम्सालको कोखबाट धादिङ जिल्लाको ज्यामरुङ गाविस, वडा नं ९ मा जन्मिएका लम्साल विगत १७ वर्षेखि रेडियो नेपालमा कार्यरत छन् । बिसं ०४३ सालदेखि पत्रकारिता पेशामा लागेको र सानै उमेरमा घरमा पिता टंकप्रसादले रामायण, महाभारत लय हालेर गाएको सुन्दासुन्दै साहित्य सिर्जनामा लागेको बताउने लम्सालले हाल प्रेस यूनियनको केन्द्रिय उपाध्यक्ष पदमा रहेर प्रेस स्वतन्त्रताको काम गर्दै आइरहेका छन् । महाकवि देवकोटाको 'शाकुन्तल' आफूलाई सबैभन्दा बढी मनपर्ने र साहित्य तथा पत्रकारिता दुबै अन्यान्योस्रित रहेको बताउने लम्सालसँग रसुवा खबर साप्ताहिकले संवाद गरेको छ । प्रस्तुत छ :  रसुवा खबरका लागि प्रेमप्रसाद पौडेल र नवराज लम्सालबीच भएको संवादको सार संक्षेप :

पत्रकारिता पेशामा लाग्नुभएको कति भयो ?
मैले रेडियो नेपालबाट, विद्युतीय सञ्चार माध्यमबाट पत्रकारिता प्रारम्भ बिसं २०५० सालदेखि गरेको हुँ । यसरी हर्ेदा अहिले १७ वर्षभयो । तर एउटा घटना छ मसँग, म २०४३ सालमा माघ महिनामा एसएलसी सिध्याएर बसेको थिएँ । समय दैनिक भन्ने पत्रिकाले कम्तीमा एसएलसी पास गरेको रिपोर्टर चाहियो भनेर विज्ञापन गरेको थियो । म संझन्छु, एसएलसीको प्रवेशपत्र लिएर त्यहाँ गएको थिएँ, मैले भनें मेरो एसएलसी सकिएको छ, तर रिजल्ट भएको छैन, मेरो प्रवेशपत्र हेर्नुस्, म शुद्ध लेख्न बोल्न सक्छु, मलाई जागिर दिनुस् भनें । त्यहाँ मैले समय दैनिक काम गर्न सुरू गरेको हुँ । यसरी हेर्दा २०४३ सालदेखि सुरू गरेको हुँ र रेडियोको कुरा गर्ने हो भने २०५० बाट पत्रकारिता सुरू गरेको हुँ ।

साहित्यकार पनि हुनुहुन्छ, पत्रकारिता र साहित्यमध्ये कुनबाट आफूलाई बढी चिनाउन रूचाउनु हुन्छ ?
यी दुवै विधा अन्यान्योस्रित छन् । अलि हतारमा लेखे पत्रकारिता जस्तो लाग्छ, अलि फूर्सदमा लेखे, अलि कलात्मक लेखे साहित्य जस्तो लाग्छ । अनि अलि तथ्यपरक कुरा ज्यादा भयो भने पत्रकारिता जस्तो लाग्छ र भाव ज्यादा भयो भने मलाई साहित्य जस्तो लाग्छ । यी दुईवटा एउटै सिक्काका दुईपाटा जस्ता मेरो जीवनमा सँगै गाँसिदै आयो । र म यसलाई सँगै लैजान चाहन्छु ।

साहित्य सिर्जनाको सुरू कहिलेबाट गर्नुभयो ?
सानैदेखि लेख्थें म । मलाई थाहा छैन, यो कतिखेर कविता वा गीत भयो - गाउँमा बस्दा घरमा, ज्यामरूङमा बाले रामायण पढ्नुहुन्थ्यो, महाभारत पढ्नुहुन्थ्यो, कृष्ण चरित्रहरू लय हालेर पढ्नुहुन्थ्यो । त्यो लय सुन्दासुन्दै लयमा लेख्ने आदत बस्यो । अरूको कविता यस्तो हुन्थ्यो भने आफैंले लेख्दा कस्तो होला भन्ने लाग्थ्यो । त्यो बेला कविता भन्ने त जान्दैनथें, त्यही बेलादेखि कविताको प्रारम्भ भएको रहेछ ।

तपाइँको नजरमा सबैभन्दा मनपर्ने साहित्यकार को हुन् र कुन कृति सबैभन्दा बढी मनपर्छ ?
मलाई सबैभन्दा मनपर्ने स्रष्टा महाकवि लक्ष्मीप्रसाद देवकोटा । धेरै मान्छे उनको मुनामदन मन पराउँछन्, म पनि मुनामदन मन पराउँछु । तर देवकोटाको 'देवकोटा' भनेर परिचय गराउन लायकको कृति चाहि 'शाकुन्तल महाकाव्य' हो । म देवकोटा मन पराउँछु र देवकोटाको पनि शाकुन्तल महाकाव्य मन पराउँछु ।

रेडियोबाट बोल्दै गर्दा तपाइँको आवाज घरघर, कुना कन्दरामा पुग्छ । एकजना सफल सञ्चारकर्मीको रूपमा चिनिनु भएको छ । नेपाली स्रोताको कतिको माया पाउनुभएको छ ? र सफल सञ्चारकर्मी हुनुमा कसलाई धन्यवाद भन्नुहुन्छ ?
सफल भन्ने शब्द त साह्रै गह्रुङ्गो छ, सफल भन्नु त हुदैन । तर मैले कसैलाई धन्यवाद भनिन भने म अहंकारी जस्तो देखिन सक्छु । तर जीवनका धेरै मोर्चाहरूमा हारेको छु, जीवनका धेरै मोर्चाहरूमा असफल भएको छु । जीवनका धेरै घुम्तीहरूमा असहजता भेटेको छु । लिखितमा, जाँचमा एक नम्बरमा नाम निकाल्दै अन्तार्वाता फेल हुँदै गरेका मेरा प्रशस्त अनुभवहरू छन् । सायद तर ती हरेश खाने दिनहरूमा पनि, ती अप्ठ्याराका दिनहरूमा पनि, मैले देखिदा हारेको देखिने दिनहरूमा पनि मैले आफूलाई कमजोर बनाइन । निरन्तर पढिरहें, लेखिरहें, कोसिश गरिरहें । मलाई अहिले सम्झेर हेर्दा चाहि मलाई आग्रही जस्तो नठानियोस्, मेरो आफ्नै आत्मविश्वास हो कि भन्ने लाग्छ ।

पत्रकारिता पेशामा विकृति छन् र व्यवसायिक हुन सकेको छैन, व्यवसायिक हुन के चाहिन्छ ? व्यवसायिक हुन कुन् कुन् लक्षण चाहिन्छ, वा असल पत्रकारका गुणहरू के के हुन् ?
पत्रकारिता गम्भीर विषय हो । हो, तपाइँले भनेजस्तो, देशमा सबै क्षेत्रमा केही न केही कमजोरी छन् । सबै क्षेत्रमा केही न केही खराबीहरू छन्, पत्रकारिता पेशा पनि एकदम दुधैले न्वाएको अवस्था छैन । तर हामी सिक्दै, सच्चिदै, माझदै र परिस्कृत हुँदै शुद्ध व्यवसायिक पत्रकारिता गर्ने संघारमा छौं । तर आस्था आफ्नो आफ्नो हो । आफ्नो आफ्नो आस्था अनुकूल गोलबद्ध हुन पाउनु पर्छ, गोलबद्ध हुन दिनुपर्छ । गोलबद्ध भएकै आधारबाट खराब, नजिक र टाढा भनेर हेरिनु हुदैन । तर समाचार लेख्ने बेलामा चाहिँ ऊ निष्पक्ष हुनसक्यो भने, विवेकसम्मत हुनसक्यो भने र उ उसले तटस्थता अपनाएर लेख्न सक्यो भने त्यो मान्छे व्यवसायिक हुन्छ भन्ने लाग्छ । अर्को पाटो, पत्रकारिता गरेरै खान पुग्ने अवस्था जहिले होला पत्रकारहरूको, त्यो दिन नै पत्रकारिता अझ सङ्लो होला ।

नेपालको मानचित्रमा राजधानीबाट रसुवा नजिक छ, दोस्रो पटक रसुवा आउनुभएको छ, पहिला आउँदा र अहिले आउँदा के के विषमता पाउनुभएको छ ?
पहिला म गोसाइँकुण्डसम्म पुगेको थिएँ । त्यतिखेर मेरो बुबा ६५ वर्षो हुनुहुन्थ्यो, झण्डै ६० वर्षहाराहारीको आमा हुनुहुन्थ्यो । बुबाआमासँगै म गोसाइँकुण्ड गएर फर्केको थिएँ । बाटो साह्रै धेरै कच्ची थियो, बसको छतमा बसेर आएको थिएँ, बस ढल्किँदा अब खसियो कि लडियो कि जस्तो लाग्थ्यो । अलिकति बाटोमा सुधार भएछ र धुन्चेको संरचनामा अलिकति सुधार भएछ । तर यति धेरै अध्ययन गर्न भ्याइन, म आजै बिहान आएँ, अहिले तपाइँसँग सम्वाद गरिराछु । तर यति कुरा चाहि सत्य हो, विकास बाहिरबाट आएर हुदैन, विकास स्थानीय रूपमा त्यही ठाउँबाट उठ्नुपर्छ । उठ्नको निम्ति बाहिरबाट वातावरण बनाइदिने हो । तर रसुवामा विकासका वातावरण बनाउन, विकासोन्मूख चेतना फैल्याउन राजधानी वा राजधानी निकट रहेका अरू शहरहरूले कोशिस गरेको चाहि पाइन ।

प्रेस यूनियनको केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ, देशलाई नजिकबाट वा सञ्चारको आँखीझयालबाट नियाल्नु भएको छ, नयाँ संविधानमा प्रेस स्वतन्त्रता वा पत्रकारिताको सुरक्षाको लागि कस्तो प्रयास गरिरहनु भएको छ ?
म प्रेस युनियनको उपाध्यक्ष हुँ, म प्रेस चौतारी र क्रान्तिकारी पत्राकार संघ समेत्लाई पनि र पत्रकार महासंघ सबैसँग, जहाँ हामी आवद्ध भएपनि, प्रेसको मुद्दामा, प्रेस स्वतन्त्रताको मुद्दामा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्राको मुद्दामा र पत्राकारहरूको भौतिक र पेशागत सुरक्षाको मुद्दामा हामी साझा एजेण्डाका साथ एक भएर लाग्नुपर्छ भन्ने मान्यता राख्छु । यद्यपी म प्रेस यूनियनको केन्द्रीय उपाध्यक्ष हुँ, प्रेस यूनियन एउटाले मात्रै, चौतारी वा क्रान्तिकारी एउटाले मात्रै प्रेसको लागि राम्रो बनाउन सक्छ भन्ने मेरो दावा छैन । हामी सबै मिल्नर्ुपर्छ । आस्थाका आधारमा विभाजित हुन पनि पाउनु पर्छ, तर मुद्दामा मिलेर पनि जानर्ुपर्छ । र संविधानको प्रस्तावनामा अपरिवर्तनीय धाराका रूपमा, अपरिवर्तनीय विषयका रूपमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई ग्यारेण्टी गरिनुपर्छ भन्ने मलाई लाग्छ ।

अन्तमा रसुवा खबरमार्फत् रसुवाली स्रष्टा, सञ्चारकर्मी, सञ्चारप्रेमी तथा आम पाठकहरूलाई के भन्न चाहनुहुन्छ ?
म पनि झण्डै रसुवा जस्तै विकट धादिङको ज्यामरुङबाट शहर पसेको हुँ । आज म रेडियो नेपालमा छु, आज म बिबिसीमा छु । आज म विभिन्न राष्ट्रव्यापी संगठनको केन्द्रिय नेतृत्व गरिराछु । तर पनि धादिङको ज्यामरुङमा त्यतिखेरको रातोमाटो मेरो शरिरमा अझै छ, मैले भैसी दोएको अनुभव छ, मैले गाई दोएको अनुभव छ, मैले नाम्लो, दाम्लो बुनेको अनुभव छ , मैले खेत खनेको, बाख्रा गोठालो गएको, गाई गोठालो गएको आली लगाएको, कोदो बारी खनेको, धान झाँटेको, बोरा बोकेको अनुभव छ । म त्यही गाउँको खाँट्टी किसानको छोरा हुँ । गाउँको किसान कर्म, किसान दाजुभाइ, बा आमा, दिदी बहिनी र गाउँ बस्तीप्रति मेरो प्रेम छ, मेरो लगाव छ । त्यसै कारणले मेरो लेखनमा पनि, मेरो उद्घोषणमा पनि गाउँको सुगन्ध आओस् भन्ने चाहन्छु । र म गाउँलाई प्रेम गर्छु, गाउँ रूपान्तरण गर्नका निम्ति मैले के गर्न सक्छु, म सँधै चिन्तित भइरहनेछु, मेरो कोशिस जारी रहनेछ । कही कतै मैले बाटो बिराएँ, म अल्मलिएँ, म फुर्किएँ, म मात्तिएँ भने मलाई सच्याइदिनुहुन पनि अनुरोध गर्छु ।

व्यवसायिक पत्रकारिता विना विकास सम्भव छैन

(ज्ञानेन्द्रनाथ न्यौपाने , संयोजक पत्रकार महासंघ, जिल्ला तदर्थ कार्य समिति, रसुवा )
रसुवा खबर, वर्ष१, अंक १ असोज १६ २०६७ शनिवार

वि.सं २०१८ साल असार २८ गते पिता लोकनाथ र माता गंगाकुमारी न्यौपाने कोखबाट नुवाकोट जिल्ला गेर्खु गाविस, वडा नं २ छापटारमा जन्मिएका ज्ञानेन्द्रनाथ न्यौपाने अहिले रसुवामा पत्रकारिता पेशा गर्दैछन् । ०३४ मा सरकारी नोकरीको सिलसिलामा रसुवा प्रबेश गरेका न्यौपानेले जिल्लाको पत्रकारिता पेशालाई न्यायोचित र समयानुकुल गर्नमा तल्लीन रहे । हाल उनी पत्रकार महासंघ जिल्ला शाखाको संयोजक पनि भइसकेका छन् । प्रस्तुत छ रसुवाली पत्रकारिता पेशाको सेरोफेरोमा रही पत्रकार महासंघ, जिल्ला शाखा रसुवाका संयोजक तथा त्रिशूली प्रवाह र राससका जिल्ला समाचारदाता ज्ञानेन्द्रनाथ न्यौपाने ( जी. लेकाली ) सँग रसुवा खबर साप्ताहिकका कार्यकारी सम्पादक प्रेमप्रसाद पौडेलले गर्नुभएको कुराकानीको मुख्य अंश ..................


१. रसुवा जिल्लामा कहिले प्रबेश गर्नु भयो ?
 म वि.सं २०३४ साल बैशाख महिनामा रसुवा आएको हुँ ।

रसुवाको प्रबेशको उद्देश्य के के हुन् ?
 म सरकारी नोकरीको सिलसिलामा नै यस जिल्लाको सेवा गर्ने उद्देश्यका साथ आएको हुँ
किन पत्रकारिता पेशामा लाग्नु भयो र कहिलेदेखि, कसरी सेवा दिनुभयो ?

 रसुवा जिल्लामा हुने गरेका घटनाको समाचारको रूपमा पत्रपत्रिकामा आउने कार्यको शुन्यता देखी अन्तर्मनदेखि नै पत्रकारिता गरि यहाँको पुण्यभूमीमा सेवा गर्ने अठोटले यसमा लागेको हँु । म त्येतिखेर जागिरे जिन्दगमिा भएपनि हिमाली जिल्ला रसुवाको गतिविधि अन्य जिल्लामा वा संचार माध्यममा पुर्याउनु पर्छ भन्ने लाग्थ्यो तर राजपत्र अंकित द्धितिय श्रेणीको खरिदार पदमा रहेको र निजामति ऐनले खरिदार स्तरको कर्मचारीलाई सरकारको स्वीकृतिविना अन्य पेशामा आवद्ध हुन मिल्दैन भनिएको थियो । मैले त्यतिखेरका स्थानीय प्रशासक रामेश्वर देवकोटाबाट विकास निर्माणको मात्र समाचार लेखी पठाउने स्वीकृति पाए पछिमात्र यसका लागि ढोका खुल्ला भएको हो । प्राप्त भएका अन्य समाचार संप्रेषण गरिएको भए जागिर नै जाने थियो । जोखिम मोलेरै भएपनि मिश्रित सूचना प्रवाह गर्ने प्रयत्न जारी गर्दै गर्दा मैले लेखेका समाचारहरू राससमार्पmत रेडियोमा र गोरखापत्रमा आउने गथ्र्यो । अन्य राष्ट्रिय दैनिक थिएन, पञ्चायतकालीन समयमा प्रजिअले बोलेपछि पुग्थ्यो । कतै अप्ठेरो परे हात जोडेर विन्ती गर्दा गल्ती पनि मिनाहा हुन्थ्यो । वन कार्यलयको बृक्षारोपणको समाचार पहिलो पटक ०४२ मा संप्रेषण भएको हो । थोर बहुत समाचार आइरहन्थे । त्येतिखेर आकाशवाणी मार्फत अपरेटरको सहायताले दुर सञ्चारबाट समाचार टिपाउनु पथ्र्यो । शुल्क चर्को थियो , प्रति अक्षर पाँच पैसा तिर्नुपथ्र्यो तर मैले पत्रकारिताको पिनकोड प्राप्त गरेकोले प्रतिअक्षर दुई पैसामात्र तिरे पुग्थ्यो । दुर सञ्चारको हाकिम प्रायशः काठमाडौं बस्ने भएकोले म अपरेटर तालिमप्राप्त भएकोले प्रायशः रसुवाको दुर संचार नै मेरो जिम्मामा हुन्थ्यो । म नुवाकोट जिल्लामा जन्मिए पनि प्राय बाल्य अवस्थादेखि नै रसुवाकके भूमिमा नै दिन बित्दथ्यो । यहाँका बुढापाकामा सञ्चार र पत्रकारिताको त्यति महत्व थिएन । राष्ट्रसेवकले राम्रो काम गरेको समाचार आएपछि पुरस्कार पनि पाउँथे । विकास निर्माणको सूचना दिइरहन्थे । ०४६ को बहुदल व्यवस्था भएपछि थुप्रै पत्रपत्रिका निस्के तर मैले राससमा नै रहेर सेवा गरिरहेँ । ०४२ देखि ०५४ सम्म सहयोगी जिल्ला समाचारदाताको रूपमा कार्य गरेँ । ०५५ मा खरिदार पदको अन्त्य गरि पूर्ण पत्रकारिताको बिल्ला लगाउन संचार संस्थाप्रति प्रतिबद्ध रहीरहेँ । साह्रै गर्व लाग्छ, मैले लेखेका समाचारले राष्ट्रिय स्तरमा पनि स्थान पाएको छ । चिया कति पीईयो ? भन्ने प्रश्न जस्तै समाचार कति लेखियो भन्दा हिशाव राख्न सकिएको छैन । २५ वर्षको दौरानमा धेरै समाचार लेखिए । धुन्चे गोसाइँकुण्ड केबलकारको समाचार मैले नै लेखेको थिएँ, त्यही समाचारबाट चर्चामा आएको कुरा अहिले राष्ट्रिय स्तरको योजनाको रूपमा रहेको छ, मलाई यो साह्रै गर्व लाग्छ ।

रसुवाको पत्रकारिताको पृष्ठभूमी कस्तो छ ?
 वि.सं २०४६ को परिवर्तन सँगसँगै पत्रकारिता र सूचना प्रवाहमा पनि परिवर्तन हुँदै गयो । पत्रपत्रिकाको महत्व बढ्दै गयो । क्रमिक रूपमा रसुवाको शैक्षिक अवस्था पनि सुधार हुँदै गएपछि युवापिढीका पत्रकार थपिन थाले । विद्यालयस्तरबाटै पत्रकारिताको पढाई हुन थाल्यो । घटनाहरू पनि गाउँगाउँमा बढ्दै गयो । त्यसका समाचार छापिएपछि गल्ती गर्नेको नाम जोडिएमा धम्क्याउने पनि गर्थे । अझ युद्धकालिन अवस्थामा बढी डर थियो । धेरैजसो व्यक्तिले मेरो नाम आएन भनेर रिसाउँथे र पत्रकार सत्रकार उडाई दिन्छौं भनेर युवाहरू आक्रोश पोख्थे । तर म सबैको ज्ञानु दाई भएकोले नजिक परेर कुरा गर्दा कुरा बुझेर ठण्डा दिमागले फर्कन्थे । कोही भन्छन् समाचार किन आएन ? कोही भन्छन् हाम्रा भावना समेटिएन त कोही भन्छन् तथ्य घटना बाहिर आएन, त कोहीले कार्यक्रममा आएन । तर पत्रकारको आँखाले औल्याएको यथार्थमा आधारित भूल राज्यको निकायबाट छानबिन हुँदैन, यही छ बिडम्बना ।

पत्रकारिता पेशाका चुनौती के के हुन् ?
 व्यवसायिक हुन नसक्नु यसको मुख्य चुनौती हो । यसको अलावा स्थानीय सञ्चार माध्यम नहुनु पनि चुनौतीको रूपमा देखिएको छ । तर पत्रकारिता पेशा मात्र गरेर पत्रकारको पेट भर्न मुश्किल यहाँ पत्रकारिताको विकासमा देखिएका कठिनाइ र चुनौतीहरू हुन् । मैले माथि नै भनिसके पत्रकारितामा उजागर भएको तथ्यलाई कुनै पनि निकायले ध्यान दिदैन ।

पत्रकारिता पेशा व्यवसायिक हुन नसक्नाको कारण के होला ?  पहिला पहिला पत्रकारको संख्या नै उत्पादन भएको थिएन । पहिले शिक्षाको पहुँच १२ % थियो तर अहिले ६० % भन्दा बढी भइसक्यो । पत्रकारहरू पनि बढेका छन् । तर व्यवसायिक हुन सकेको छैन । पत्रकारिता पेशा व्यवसायिक हुने लक्षण भने रसुवामा देखिएको छ । स्थानीय पत्रपत्रिका लगायत सञ्चार गृहको अभाव नै पत्रकारिता पेशा व्यवसायिक हुन नसक्नु हो ।

रसुवामा पत्रकारिता पेशाको भविष्य कस्तो छ ?
 राजधानीबाट नजिकैको दूरीमा रहेर पनि विभिन्न विकासका दृष्टिकोणबाट रसुवा पछाडी नै छ । पत्रकारिताको विकास विना यो सम्भव पनि छैन । रसुवा जिल्ला धार्मिक, पर्यटकीय, भौगोलिक हावापानी, जलसम्पदा, ऐतिहासिक हिशावले धनी भएकोले पत्रकारिता पेशाको व्यवसायिक हुने सम्भावना धेरै छ । समग्र विषयवस्तुको खबरदारी गर्न पत्रकारिताको खाँचो पर्दछ । समाचारको माध्यमबाट बालबालिकाको मनोबल उच्च पार्ने, स्वास्थ्य सम्बन्धि सूचना प्रवाह गर्ने, विकासे पत्रकारिता गर्ने, विभिन्न स्थानमा हुने राजस्व चुहावट रोक्न सहयोग पुग्ने खालका सूचना संप्रेषण, पर्यटकीय विकास, सांस्कृतिक र आर्थिक विकासका लागि पत्रकारिता गर्नुपर्छ । व्यवसायिक र स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट अगाडी बढ्न सके यहाँ धेरै पत्रपत्रिकाले स्थान पाउन सक्छ । पर्यटकीय हिशाबले तेस्रो स्थानमा रहेकोले पनि यहाँ पत्रकारिता लगायतका पेशाको प्रवल सम्भावना रहेको छ । पत्रकारिता पेशा र पत्रकारको भविष्य उज्वल र सुनिश्चित छ । असल पत्रकारमा कुन् कुन् गुण हुनु पर्छ ?

 पत्रकारिता गर्ने मानिसमा गुण र धर्म अनिवार्य चाहिन्छ । धैर्यता, सहनशीलता, नम्रता, व्यवसायिकता, सहिष्णुता, समानता, सामाजिकता, निडरता, पेशा निरन्तरता जस्ता गुणहरू पत्रकारमा हुनु पर्दछ । जस्तोसुकै समाचारलाई पनि विकासमा जोड्ने कला पत्रकारमा चाहिन्छ । राजनीतिक दलबाट टाढा रहेमा मात्र पत्रकारले समाचार पाउँछ, साथसाथै समाचार वा घटनाले नै त्यस्तो पत्रकारको खोजी गर्दछ ।

पत्रिकाको व्यवस्थापनको लागि के गर्नु पर्छ ?
 पत्रिकाको कार्यलय व्यवस्थापन, ग्राहकमा सेवा, सुविधा, पाठक प्रतिकृयाको सम्मान, तथ्य सामग्रीको उजागर र लगनशीलता जस्ता कार्यहरू व्यवस्थापनका निमित्त गर्नु पर्दछ ।

अन्तमा के भन्नुहुन्छ ?
 रसुवाको जेष्ठ पत्रकार, पत्रकार महासंघको संयोजकको हैसियतले यहाँबाट प्रकाशन हुन लागेको रसुवा खबर साप्ताहिकको पूर्ण सफताको कामना गर्दछु । आम रसुवाबासी नागरिकको पत्रिका बनोस् । रसुवाको समग्र विकासका लागि यस पत्रिकाले कार्य गर्न सकोस्, पत्रिका प्रकाशनको पूर्वाद्र्धमा यही शुभकामना दिन चाहन्छु ।



(यो लेख प्रकाशन भएको रसुवा खबरको अंक पाउन तलको लिंकमा क्लिक गर्नुस्)
रसुवा खबर, वर्ष१, अंक १ असोज १६ २०६७ शनिवार

Followers

साताको चर्चित

Rasuwa Profile

महिनाको चर्चित

Total Visitor

Recent Posts

Prem Prasad Paudel, Rasuwa. Powered by Blogger.
Blogger Template by Basnetg.com