संरक्षण विकासको वाधक हैन, परिपूरक हो भन्ने आत्मसाथ गर्नु जरूरी छ

रसुवा खबर वर्ष२, अंक २, २०६७ साउन १४ गते शनिवार

म्याग्दीमा ३९ वर्षअघि जन्मिएका अशोक बानियाँ वि.सं २०६३ साल पौष महिनादेखि धुन्चेमा पवित्र हिमालय भूपरिधि कार्यक्रम, मध्यवर्ती क्षेत्र सहयोग आयोजनामा आयोजना प्रबन्धक पदमा कार्यरत हुनुहुन्छ । समाज विकासका निम्ति इमान्दार प्रयासको खाँचो रहेको बताउँनेप्राकृतिक स्रोत तथा समाजशास्त्रमा स्नाकोत्तर बानियाँले प्राकृतिक स्रोत र जलवायु परिवर्तनको विषयलाई विशिष्ट उद्धेश्य बनाएर उच्च शिक्षाको लागि विदेश जान लाग्नुभएको सर्न्दर्भ पारेर  उहाँसँग रसुवा खबरले कुराकानी गरेको छ । प्रस्तुत छ : प्रेमप्रसाद पौडेलले  बानियाँसँग संरक्षणको सेरोफेरोमा रहेर गरेको कुराकानीको मुख्य अंश :

मध्यवर्ती क्षेत्र सहयोग आयोजना /पवित्र हिमालय भू-परिधि कार्यक्रमको उद्धेश्यहरू के के हुन् ?

स्थानीय समुदायको सहभागिता जनाई लाङटाङ राष्ट्रिय  निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तु र वनस्पतिहरूको संरक्षण गर्ने र त्यसको सदुपयोगमार्फत स्थानीय बासिन्दाहरूको  दिगो जिविकोपार्जनमा टेवा पुर्याउने दुईवटा मुख्य उद्धेश्यहरू लाङटाङ राष्ट्रिय  निकुञ्ज, मध्यवर्ती  क्षेत्र सहयोग आयोजनाको हो । यही उद्धेश्यमा रहेर हामीले कार्य गरेका छौं ।

कार्यक्रमका मुख्य उपलब्धीहरू के के हुन् ?

संरक्षण र जिविकोपार्जनका दुई मुख्य उद्धेश्यमाथि केन्द्रीत रही साँढे चार वर्षो अवधिलाई फर्केर हेर्दा हामीले धेरै उपलब्धिहरू हासिल गरेको महशुस गरेका छौं । पहिलो, संरक्षणको सवालमा दुर्लभ वन्यजन्तुहरू विशेष गरी रेडपाण्डा, हिमचितुवा, कस्तुरी मृगको बैज्ञानिक रूपमा अवस्थितिको पहिचान र अध्ययन, अनुसन्धान  भयो ।  लाङटाङ उपत्यकामा हिमचितुवाको वासस्थान छ भन्ने पुष्टि भएको छ । रेडपाण्डा र उसको बासस्थानको संरक्षणका लागि 'रेडपाण्डा कार्ययोजना' नेपाल सरकारबाट स्वीकृत गर्ने कार्य भएको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको उच्च भागमा रहेको गोसाइँकुण्डलाई रामसार क्षेत्रमा सूचिकृत गर्ने कार्य भएको छ । गोसाइँकुण्ड क्षेत्र व्यवस्थापन योजना पनि नेपाल सरकारबाट स्वीकृत गर्ने कार्य भएको छ । हाल सो योजना कार्यान्वयनमा छ ।त्यस्तै, संरक्षणमा स्थानीय बासिन्दाहरूसँग हातेमालो गर्दै स्थानीय समूह, संरक्षण समूह गठन गर्ने, उनीहरूको संस्थागत विकास गर्ने कामहरू भयो । प्राकृतिक स्रोत स्थानीय जनताको आफ्नै हो र प्राकृतिक स्रोत संरक्षणमा स्थानीय समुदायको सहभागिता हुनर्ुपर्दछ भन्ने मूल मन्त्रको जगमा टेकेर संरक्षणको काम चोरी शिकारी नियन्त्रण, आमा समूह, विधार्थीको क्लब गठन र परिचालन गर्ने काम भयो । त्यस्तै गरेर स्थानीय गैर सरकारी संस्थामार्फ युवा परिचालन गरेर संरक्षणको क्षेत्रमा धेरै कामहरू  भइरहेका छन् ।  

स्थानीय जनता, राजनीतिक दलहरूले राष्ट्रिय निकुञ्जको नीति जनताको लागि बाधक भनेका छन्, यसमा के भन्नुहुन्छ ?

यो बुझाइ र प्रस्तुतीमा फरक हो । वास्तवमा संरक्षण भनेको नै अन्तàवगàवा विकास नै हो र विकास पनि संरक्षणको वाधक हुन हुँदैन भन्ने मान्यता हो । तर, बुझाइमा अलिकति फरकपन छ, किनभने स्थानीय बासिन्दा, राजनीतिक दलहरू तुरून्त प्रतिफल प्राप्त गर्ने विकास रोज्छन्, त्यो स्वभाविक पनि हो । तर, संरक्षणको मान्यता अलि फरक अवधिमा मात्र छ, संरक्षणको पनि दूरदृष्टि विकासकै लागि  हो । उद्धेश्यलाई हेर्दा विकास र संरक्षण प्रतिद्वन्द्वी हैनन्, एकअर्काका परिपूरक  हुन् ।  
आयोजना र स्थानीय जनता, मध्यवर्ती समिति, समूह, परिषद बीचको सम्बन्ध कस्तो छ ?
आयोजनाले आफ्नो विशिष्ठ उद्धेश्य प्राप्त गर्न स्थानीय मध्यवर्ती समूह, समिति, संरक्षण सम्बन्धिका समूहरूसँग एकाकार र सहकार्य गरेर संरक्षणका कार्य गर्ने हो । विशेष गरेर संरक्षणको काममा स्थानीय समुदायहरूको अग्रसरता र सहभागिता हुनु पर्दछ । योजना निर्माण गर्नेदेखि लिएर कार्यान्वयन र मूल्याङ्कनमा लक्षित वर्गको  सकृय सहभागिता हुनु पर्छ भन्ने कार्यक्रमको उद्धेश्य थियो, त्यो उद्धेश्य अनुसारका मान्यतामा टेकेर हामीले काम गरेका छौं । जोसँग आयोजनाको सम्बन्ध हुनु पर्ने हो, जो लक्षित वर्ग हो, उनीहरूसँग  सुमधुर सम्बन्ध छ ।

गोसाइँकुण्ड विश्व रामसार क्षेत्रमा सूचिकृत भएको छ । गोसाइँकुण्डसँग धार्मिक, पर्यटकीय, जैविक विविधता, रामसार क्षेत्र, ऐतिहाँसिक महàवहरू  मध्ये  कुन् महत्व प्राथमिकतामा पर्छ ?

यसका दुर्इवटा पाटा छन्, एउटा धार्मिक पाटो । विशेष गरी हिन्दु र बौद्ध धर्ममा आस्था राख्नेको लागि परापूर्वदेखि नै धार्मिक महत्वले गोसाइँकुण्ड चिनिएको छ । यसको ऐतिहासिक महत्व पनि आफ्नो ठाउँमा छ । संरक्षण क्षेत्रमा काम गर्ने भएकोले हामीले योगदान दिने भनेको गोसाइँकुण्डको प्राकृतिक, सांस्कृतिक महत्वलाई बढावा दिने, गोसाइँकुण्ड वरीपरि रहेका विभिन्न खर्क, महत्वपूर्ण जंगल, जडिबुटीहरू छन्, त्यसको विनास हुनबाट बचाउने र पर्यटनलाई बढावा दिने हो । ऐतिहाँसिक, जैविक विविधता भल्कने डकुमेन्ट्री निर्माण, धुन्चेमा गोसाइँकुण्ड सूचना केन्द्र स्थापना, फूर्पा तामाङबाट लेखिएको तथा मबाट सम्पादित 'जैविक विविधता संरक्षण, पर्यटन विकासमा धर्म संस्कृति' भन्ने किताब  यस सर्न्दर्भमा उल्लेखनीय छन् ।

साँढे चार वर्षको अवधिमा धेरै विषयमा केन्द्रीत रहेर कार्य गर्दा जलवायु परिवर्तनसँग सम्बन्धित कार्यक्रमको प्रभावकारिता कस्तो छ ? समस्या अनुकूलनमा कार्यक्रमले कस्तो भूमिका निर्वाह गरेको छ ?

जलवायु परिवर्तनको असर रसुवा जस्तो हिमाली जिल्लामा बढी पर्दछ ।  भाग्यमानी नै भन्नुपर्छ, रसुवा जिल्लामा पहिलो पाइलट प्रोजेक्टको रूपमा जलवायु परिवर्तन अनुकूलन कार्यक्रम लागू भएको छ । यो नेपालमा पहिलो पटक फिल्डस्तरमा गरिएको परीक्षण हो । दुइवर्षअगाडि राम्चे र भोर्ले गाविसमा जलवायु परिवर्तनको प्रभाव समुदायको जिविकोपार्जनमा, प्राकृतिक स्रोतमा केन्द्रीत भएर अध्ययन भयो र अध्ययनमा पाइएको विषयलाई लागू गर्यौं । राम्चे, भोर्ले, लहरेपौवा र स्याप|mुमा अनुकूलनका कार्यक्रमहरू सुरुवात गरेका छौं  त्यसलाई सबैले प्रशंसा गरेका छन् । प्रशंसा चाहिँ स्थानीय समुदायकै सहभागितामा उनीहरूकै जिविकोपार्जनमा प्रत्यक्ष प्रभाव भएको कारण  कार्यक्रम रूचाएका हुन् । धुन्चेमा जैविक विविधताको जानकारी दिन गोसाइँकुण्ड सूचना केन्द्रको स्थापना भएको छ । जिवजिवेमा अनुकूलनका जानकारी प्राप्त गर्न सूचना केन्द्र स्थापना भयो । भरखरै माननीय वातावरण मन्त्रीले उद्घाटन गर्नुभयो । रूप्सेपानीमा बीउ बैंक  स्थापना भएको छ । रैथानीय बीउको अनुबांशिक स्रोतको खोजी गर्ने, त्यसको संरक्षण गर्नका लागि कार्यहरू स्थानीय जनताकै सहभागितामा भइरहेको छ । कृषिमा परेको असरलाई कम गर्न हामीले कृषि विकास कार्यालयमार्फ विभिन्न कृषक पाठशाला सञ्चालन गर्ने काम गर्यौं । जसबाट किसानहरूले कृषि बालीमा हुने  शत्रुजीव र मित्रुजीवको पहिचान गर्ने, शत्रुजीवलाई कम गर्ने र मित्रुजीवलाई बढावा गर्ने काम भएको छ । माटोको उर्वराशक्ति बढाउन, पशु मूत्रलाई जैविक विषादीको रूपमा प्रयोग गर्न  गोठसुधारमार्फ सहयोग पुर्याएका छौं ।  वातावरण जोगाउन गोवरग्यास प्लान्ट निर्माणको काम भएको छ । यसले पूर्ण रूपमा वन संरक्षणमा सहयोग पुर्याउँछ र जलवायु परिवर्तनको असरलाई न्यून गर्दछ । एसआरआई प्रविधिबाट कम उमेरको धानको बिरूवा अलि फट्टयाएर लगाउने, त्यसले गर्दा धानको उत्पादन निकै बढ्ने स्थानीय जनताले कृषक पाठशालाबाट पाए र त्यसले गर्दा खाद्य सुरक्षा गर्न सहयोग पुर्याउँछ । अनुकूलन कार्यक्रमलाई प्रचलित एउटा विकासको मोडलमा लान लहरेपौवा, भोर्ले, राम्चे र स्याफ्रुमा 'स्थानीय  अनुकूलन कार्ययोजना' बनाउन जिविसलाई सहयोग गर्यौं, जिविसले स्वीकृत गरी जलवायु परिवर्तनको क्षेत्रमा अनुकूलन कार्यक्रम आफैं स्रोत जुटाएर पनि गर्र्छौं भनेर प्रतिवद्धता जनाएको छ । यसरी हेर्दा नीति निर्माण तहमा पनि  ठूलो काम भएको छ । त्यस्तै गरेर कृषकहरूमा पनि जलवायु परिवर्तनको सूचना पाउन पाँचवटा विद्यालयमा इको क्लबमार्फ 'मौषम मापन' केन्द्र स्थापन गर्नको लागि सहयोग गरेका छौं । त्यसबाट कति तापक्रम बढ्यो - कति घट्यो - पानी कति पर्यो - र त्यसको अनुपात, सापेक्षित आर्द्रता कस्तो रहेको छ भनेर स्थानीय किसानहरूले थाहा पाउने, अध्ययन गर्ने र त्यहाँबाट आएका सिकाइलाई कृषक पाठशालामार्फ सूचना प्रवाह गर्ने जस्ता कामहरू हुन्छन् । यसबाट अनुकूलनका विभिन्न उपायहरू अपनाउन, उर्जा क्षेत्र, पानी संरक्षण क्षेत्रमा काम गर्न सजिलो हुन्छ । मुहान संरक्षण गर्न, भइरहेको पानीलाई सदुपयोग गर्न, प्लाष्टिक पोखरीमार्फ संरक्षण गर्ने जस्ता नवीन कुराहरू जलवायु परिवर्तन अनुकूलनका लागि भएको छ । यस्ता कार्यहरू वा मोडलको रूपमा गरिएको कार्यक्रमको वातावरण मन्त्रीले अनुगमन गरेर गरिमा बढाएको मैले सोचेको छु । मलाई पनि सन्तोष भएको छ, मेरै कार्यकालमा रसुवामा पहिलोपटक अनुकूलनको कार्य गर्न पाएर ।  

जडिबुटी संरक्षण, प्रवर्द्धनमा पनि कार्य गर्नुभएको छ ? उत्पादन, बजारीकरण, मूल्य र वैधानिकताको आधारमा कुन् जडिबुटीको रसुवामा सम्भावना छ ?

रसुवा जिल्ला विशेष गरी गैह्र काष्ठ वनस्पतिको क्षेत्रमा धेरै धनी छ । स्थानीयस्तरमा भएका जडिबुटीको संरक्षण, संकलन, प्रशोधन र बिक्री गर्न नेपाल सरकारको नियमले दिएको छ । स्याम्पलको रूपमा हामीले लहरेपौवाको स्याउबारी मध्यवर्ती सामुदायिक वनमा जडिबुटीको काम गरेका छौं । त्यहाँको वनमा चिराइतोको अवस्था धेरै राम्रो छ । जंगलमा लगाइएको झन्डै २०० केजी चिराइतो बिक्रीबाट अहिले सत्तरी हजार रूपैंयाँ आम्दानी भएको छ । त्यहाँ खेर गएको सोत्तरको रूपमा प्रयोग भएको, उपयोगिता थाहा नभएको धसिङ्गरेको अध्ययन गरी तेल प्रशोधन सुरुवात भएको छ । त्यसले गर्दा दर्ुइवटा फाइदाहरू हुन्छ, एउटा खेर गइरहेको जैविक स्रोतको खोज, अनुसन्धान गर्ने र त्यसको उपयोगिताको बारेमा अध्ययन गर्ने, त्यसलाई व्यवहारिक रूपमा उद्यमशीलता विकास मार्फ गरिवी निवारणमा टेवा पुग्दछ । स्याफ्रुको ब्राबलमा चिराइतो खेती गर्ने काम भएको छ । त्यसमा हाम्रो अलि बढी सहयोग होला । तर, सबैको सहयोगमा त्यो कार्य भइरहेको छ । चिराइतोको खेती राम्रो भएको छ । जसरी अघि नै कुरा भयो, जुन् मध्यवर्ती र स्थानीय जनता बीचको द्वन्द्व छ, त्यसको समाधानको लागि यो खेती उपयुक्त माध्यम भएको छ, किनकि  चिराइतोलाई जंगली जनावरले खाँदैन र आम्दानी भरपूर हुने भएकोले चिराइतो ज्यादै सम्भावना छ तथा किसानहरू त्यसमा आकषिर्त छन् । रसुवामा पहिलो धसिङ्गरे र दोस्रोमा चिराइतो हो । निकुञ्ज बाहिर चिलिमे, गोल्जुङ, गतलाङमा पनि धसिङ्गरे रहेको हुँदा यसको प्रशोधन गर्न सके धेरै आम्दानी लिन सकिन्छ । यसलाई स्थानीय जनता, राजनीतिक दल तथा जिविसले मिलेर कार्य गर्न सक्नुपर्दछ । पछिल्लो समयमा सतुवाको पाइलट प्रोजेक्टको रूपमा हामीले काम गरेका छौं । सो को माग चीनमा अत्याधिक रहेकाले सतुवा खेती पनि गर्न सकिन्छ । जडिबुटीको बारेमा म सहलेखक भएर विशेष गरी रसुवाजस्ता हिमाली क्षेत्रमा पाईने जडिबुटीको तथ्याङ्कसहित जानकारीमूलक पुस्तक निस्केको छ, त्यहाँ सबै विवरण छ, त्यसलाई पढ्न सबैलाई अनुरोध पनि गर्दछु । त्यो पुस्तक चाहिँ रसुवावासीकै सम्पत्ति हो ।

रसुवामा कार्य गरेको अनुभवबाट संरक्षण, विकास र जनताको जिविकोपार्जनका कार्य के के गर्न सकिन्छ भन्ने पाउनुभएको छ ?

एउटा जरो गडेको छ, संरक्षण चाहिँ विकासको विरोधी हो भन्ने सोच, त्यो गलत हो । संरक्षण विकासको वाधक हैन, परिपूरक हो भन्ने आत्मसाथ गर्नु जरूरी छ । जिल्लास्तरका राजनीतिक दल, स्थानीय वासिन्दा र विकासका क्षेत्रमा काम गर्ने अगुवाहरूले संरक्षण चाहिँ विकासको विरोधी हैन, यो विकासको परिपूरक हो भन्ने बुझन आवश्यक छ । लाङटाङ राष्ट्रिय निकुञ्ज स्थापना भएको झण्डै ३५ वर्षभइसक्यो, अझ पनि संरक्षणलाई वाधक भन्ने जरा गडेको छ, त्यसलाई विस्तारै स्थानीय समुदायलाई शिक्षित गरेर त्यो विकास विरोधी हैन, पक्षमा छ भन्ने बुझाउनु पर्दछ । जलविद्युत, जडिबुटीको जति सम्भावना छ, त्यसलाई संरक्षण विना पर्याप्त मात्रामा प्राप्त गर्न सकिदैन । पर्यापर्यटन, जंगली ट्रेकिङ रुटको संरक्षणमा सहयोग गरी प्रवर्द्धन गर्नु आवश्यक छ । मुख्य कुरा जिविसले त्यसको अगुवाई गर्ने र राष्ट्रिय निकुञ्जले सहयोग गर्नुपर्दछ । जडिबुटी उत्पादन, प्रवर्द्धन र प्रशोधनको क्षेत्रमा स्थानीय सहभागिता जुर्टाई कार्य गर्न सके विकासको क्षेत्रमा यसले ठूलो टेवा पुर्याउँदछ ।

अन्त्यमा रसुवा खबर मार्फत संरक्षणको विषयमा रसुवावासीलगायत लारानि क्षेत्रमा बस्ने जनतालाई के भन्नुहुन्छ ?

मैले साँढे चार वर्षरसुवामा काम गरेको अनुभवबाट स्थानीय जनताको संरक्षण र विकासप्रति निकै चिन्तित भएको मैले पाएको छु । उहाँहरूलाई एउटा टेवा चाहिएको छ, स्थानीय संस्थाहरूले उहाँहरूलाई प्रत्यक्ष एकाकार गरेर लाभ पुर्याउन उहाँहरूसँगै बसेर योजना तथा कार्यान्वय गर्नु गराउनु पर्दछ । विकासको प्रतिफल त्यसरी मात्र प्राप्त हुन्छ भन्ने हाम्रो चारवर्षो मूल सिकाई हो । विशेष गरेर उत्तरी भेगका पशुपालकहरू र दक्षिणी भेगमा किसानसँग मिलेर प्रत्यक्ष हामीले काम गर्यौं, हामीले त्यो पाएका छौं कि उहाँहरूसँग समन्वय गरेर काम गर्न सके धेरै समस्याहरू समाधान गर्न सकिन्छ । तर, त्यसको लागि इमान्दार प्रयासको खाँचो छ । इमान्दार र लक्षित वर्गमा रहेर काम गर्न सक्यो भने रसुवाको भविष्य निकै उज्वल हुन्छ । स्थानीय युवा, पत्रकार, इको क्लब, एनजीओ, विभिन्न समूह मिलेर संरक्षणको कार्यमा लाग्नुभएको छ, त्यो अत्यन्त सकारात्मक छ । यो निकै राम्रो संकेत हो । स्थानीय युवाहरू भोलि जिल्लाको जिम्मेवार तहमा पुग्ने भएकोले यो सबै जिम्मेवारी युवाको काँधमा छ । विशेष गरी रसुवा खबरले एक वर्षा जुन उपलब्धि हासिल गरेको छ, त्यो अत्यन्त अनुसरणीय छ । मेरो शुभकामना छ, विशेष गरी संरक्षणका विषयमा लेखेर जनतालाई सुसूचित गर्न ।  संरक्षण र विकासको अन्तरसम्बन्ध मिडियाममा सँगसँगै आयो भने सबैले त्यसको विषयमा बुझनेछन् । यसरी खबर संप्रेषण गर्न सकेमा स्थानीय वासिन्दा बढी लाभान्वित हुनेछन् । अन्त्यमा संरक्षणको विषयमा जुन् सिकाई र अनुभव आदानप्रदान गर्ने मौका दिनुभयो, त्यसको लागि रसुवा खबरलाई धन्यवाद दिदै सफलताको कामना गर्दछु ।  

जनता बैंकले ६० करोड बराबरको शेयर वितरण गर्दैछ


रसुवा खबर साप्ताहिक वर्ष २ अंक ३५ बैशाख २०६९, ९ गते
उदय श्रेष्ठ नेपाली, अध्यक्ष, जनता बैंक नेपाल लिमिटेड
जीवनको लामो समय सरकारी सेवामा सुम्पेका उदय नेपाली श्रेष्ठ नेपालको वित्तीय क्षेत्रमा परिचित नाम हो । वि सं २००७ सालमा धनकुटा जिल्लाको अर्खौली गाविस -३ मा जन्मनुभएको श्रेष्ठले एमए, एमकम र एलएलविसम्मको शिक्षा हासिल गर्नुभएको छ । जनता बैंक नेपाल लिमिटेडका अध्यक्ष समेत रहेका श्रेष्ठ भ्रमणको क्रममा रसुवा आउनुभएको बेलामा रसुवा खबरका विश्वास नेपालीले जनता बैंकको सेरोफेरोमा रहेर कुराकानी गरेका छन् । प्रस्तुत छ अध्यक्ष श्रेष्ठसँग भएको कुराकानीको सार संक्षेप :

जनता बैंक उदयको विषयमा केही बताइदिनुस् न ?

जनता बैंक जसरी नाम राखिएको छ त्यसैगरि यो जनताहरूको आफ्नै बैंक हो । सुरूवातको समयमा थोरै व्यक्तिरूले पैसा जुटाएर स्थापना गरिएको हो । तर यसो भएपनि यस बैंकमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जनताहरू आवद्ध हुन सक्छन् वा थोरै लगानीमा पनि आवद्ध भइरहेका छन् । आफुले जो सकेको लगानी गरेर पनि यस बैंकमा आवद्ध हुन सक्छन्, र यसमा हाम्रो सुरूवातको अभ्यास पनि यही हो । हामीले सुरूमा ८ सय ३६ जना संस्थापकहरूबाट जनता बैंकको सुरूवात गरेको हौँ । सानो प्रयत्न भने पनि सम्भवतः ठूलो संस्थापक भएको बैंक भनेको यो पहिलो हुनुपर्छ । हामीले यो बैंक २०६६ साल चैतको २३ गतेदेखि सुरू गरेका हौँ । अहिले यसले व्यापक रूप लिइसक्यो भन्दा फरक नपर्ला, हामी देशभरि २४ वटा शाखामार्फत जनताहरूको घरदैलोमा सेवा प्रवाह गरिरहेका छौँ ।


जनता बैंकबाट आम जनताहरूले के अपेक्षा गर्न सक्छन् ?

नेपालका अरू बैंक जस्तो यो जनता बैंक सहरमूखी मात्र हुँदैनन्, तपाई आम जनताहरूको सेवाको लागि हामीले यो बैंकको सुरूवात गरेका हौँ । जतिसक्दो हामी ग्रामीण स्तरमा बस्ने जनताहरूलाई सेवा दिन्छौँ । यसमा जनताहरूले अपेक्षा गर्ने भनेको के हो भने, जनता बैंक जनताको सेवाको लागि स्थापना भएकोले सतप्रतिशत जनसेवा नै यसको मुख्य लक्ष्य हो । यसमा जनताहरू खुसी हुनुपर्छ भन्ने हो । सम्पूर्ण नेपाली जनताहरू बैंकको साथी बनिदिनुहोस् । जनताहरूले लगानी गरेर होस् या बैंकमा रकम डिपोजिट गरेर होस् तपाई जनताहरूले फाइदा लिन सक्नुहुनेछ । यसै कारण पनि हामीले अब तत्कालै जनताहरूको लागि शेयर निष्कासन गर्दैछौ ।

जनता बैंकबाट प्रवाह हुने सेवाहरूको बारेमा प्रष्ट पारिदिनु होस् न ?

जनता बैंक भनेको विकास बैंक होइन । यो कमर्सियल बैंक हो । यसले विदेशी मुद्रा सटही गर्ने, ग्रामीण विकासको लागि माइक्रो फाइनान्स -लघु वित्त) मार्फ जनताहरूलाई सेवा दिने, साना साना गाउँको उद्योग व्यवसायदेखि लिएर ठूला ठूला उद्योगहरू, हलोदेखि हाइड्रोपावरसम्म निर्माण गर्नको लागि ऋण प्रवाह गर्ने, त्यसको सहजीकरण तथा सरलीकरण गर्ने जस्ता सेवा प्रवाह गर्ने यसको प्रमुख कार्य हो ।

जनता बैंकको सुरूवातको पूजीँगत अवस्था र हालको अवस्था के छ, केही बताइदिनुहुन्छ ?

जनता बैंक सुरू गर्ने बेलामा हामीले १ अवर ४० करोड रूपैयाँ जम्मा गरेर सुरूवात गरेका थियाँै । अव यस आ.व.बाट ६० करोड रूपैयाँ थप गर्दैछौँ । यो भनेको शेयर वितरणको हो । हाम्रो सोँच भनेको यो असार मसान्तसम्ममा २ अरव रूपैंयाँ चुक्ता पूँर्जी पुर्याउने लक्ष्य हो । र फाइदाको कुरा गर्नुपर्दा अघिल्लो वर्षको जनता बैंकको नाफा भनेको करिव १३ करोड रूपैयाँ हो । छोटो समय हामी नाफामा जान सफल जान सकेका छौ । यस पटक नाफा बढाउने प्रयासमा छौ ।

नीजि बैंकहरू डुब्दै गएका छन् भन्ने सुनिन्छ नि ! यस्तो अवस्थामा जनताले बैंकलाई कसरी विश्वास गर्न सकिन्छ ?

बैंकहरू डुबेका छन्, यसमा मानिसहरूमा खराबीको कारणले गर्दा यसो भएको हो । ती डुबेका बैंकमा नीति नियम र शासन प्रणाली राम्रो नभएर हो । सुशासन र उत्तरदायित्व बोध नभएकाहरूको बैंक डुबेको हो । हामीसँग जनताहरू डराउनुपर्ने अवस्था छैन् । हामीलाई राष्ट्र बैंकले एउटा नीतिमा राखेको छ । हाम्रो संस्थागत नीति पनि स्पष्ट छ । हामी राष्ट्र बैंकसँग दोहोरो सर्म्पर्कमा छौं । हाम्रो कार्यको विषयमा बुझ्न राष्ट्र बैंक नियमित आइरहेको छ । खराव सञ्चालक भएकाहरूको बैंक डुब्ने हो । हामीले सबैलाई बैंकको स्वामित्व दिएका छौँ । हामीमा व्यक्तिवादी हाबी छैन । सबैको समान हैसियतले हामीले बैंकलाई चलाइराखेका छौँ । हामी व्यवसायिक मानिसहरू यसमा आवद्ध छौ, हामी सुशासनमा ध्यान दिन्छौ, त्यसैले हामीले अझ जनताहरूलाई यस बैंकप्रति जिम्मेवार बनाउन खोज्दैछ । यसमा शंका गर्नुपर्ने ठाउँ त म देख्दिन । र जनताहरूले जनता बैंकलाई आफ्नो बैकं हो भनेर जिम्मा लिन पनि म आग्रह गर्दछु, त्यसमा जन विश्वास आफै सिर्जना हुन्छ ।

चिलिमेको शेयर खरिदमा रसुवाली जनताहरूलाई लगानी गर्नको लागि जनता बैंकले सहयोग गर्यो, त्यसलाई रसुवाली जनताले आफ्नो शौभाग्य ठानेका छन्, ऋण लिएको पनि करिव डेढ वर्षपुग्न्न लाग्यो अब कहिलेसम्ममा जनताहरूले ऋण तिर्न पाउँछन् त ?

चिलिमे र हाम्रो केही सम्झौता हो । यदि जनतालाई चिलिमेले शेयर दिन्छ भने हामी जोखिम मोलेर भएपनि लगानी गर्न तयार भएका हौँ । स्थानीय जनताहरूलाई चिलिमेले मालिक बनाउन चाहन्छ भने हामी किन लगानी नगरिदिने त ? जनता बैंक पनि ग्रामीणवासीहरूको बृहत्तर हित गर्नको लागि स्थापना भएको बैंक हो, त्यही भएर हामी लगानी गर्न तयार भएका हौँँ । चिलिमेको शेयर अहिले पनि ६ दोब्वरले बढिरहेको छ । यसबाट पक्कैपनि रसुवाली जनतालाई फाइदा पुगेको छ । र अब ऋण तिर्ने कुरामा चाहिँ हामीले पहिले नै करारनामा गराएर नै ऋण दिएका हौँ । ५ वर्षभत्रमा तिरी सक्नुपर्नेछ भनेर जनताहरूलाई ऋण दिएका हौँ । तर यसमा करिव डेढ वर्षपुग्न लागेको हुँदा जनताहरूले तिर्न चाहन्छन भने पनि अब उहाँहरूले तिर्न सक्नुहुनेछ ।

जनता बैंकले कहिलेदेखि शेयर निष्कासन गर्दैछ ?

चुक्ता पूजीँ २ अरब पुर्याउनको जनता बैंकले ६० करोड बराबरको शेयर वितरण गर्दैछ । यसमा प्रत्यक्ष रूपमा जनताहरूले पनि खरिद गर्न पाउनुहुनेछ । हामी कसैलाई पनि नदिने भन्दैनौँ । देशभरि सबै मानिसहरूले किन्न सकुन् भन्ने हेतुले बेच्न खोज्दैछौँ। पहिले अरू बैंकले दिँदैनथे तर हामी दिन्छौँ । जनता बैंकको शेयर समानुपातिक हिसावले बाँड्ने हो, यसमा चिठ्ठा प्रणाली जस्तो हुँदैन । शेयर भर्नेहरूले समानुपातिक हिसावले पाउँछन् । अव समयको कुरा गर्नुपर्दा यही २०६९ सालको बैशाख १७ गतेदेखि जनता बैंकको शेयर निष्कासन हुँदैछ । सबै जनताहरूले शेयर खरिद गर्नुहोला, र जनता बैंकको हिस्सेदार बन्नुहोला भन्ने आग्रह समेत यही रसुवा खबर साप्ताहिक मार्फ पनि गर्दछु । शेयर बिक्रीको समयवधि बैशाख २१ गतेभित्र बन्द पनि भइसक्छ । र आवश्यकता परेमा पछि खोल्न पनि सकिन्छ ।

जनता बैंकको शेयर खरिद गर्न काठमाडौ नै जानुपर्ने हो ?

होइन, जनता बैंकको शेयर खरिद गर्नको लागि देशभरिका हाम्रो शाखा मार्फ शेयर खरिदको फारम भर्न सकिनेछ भने नुवाकोटको हकमा हाम्रो विकास बंैक मार्फ त्यो व्यवस्था मिलाइएको छ । काठमाडौसम्म दुःख गरेर फाराम भर्नुपर्ने अवस्था हुँदैन । रसुवाली जनताहरूले जनता बैंकको धुन्चे शाखाबाट फारम भर्न सक्नुहुनेछ ।

रसुवाको कालिकास्थानमा जनता बैंक खोल्नको लागि धेरै जनताहरूले माग राखेका छन्, र त्यहाँ आवश्यकता पनि छ, कहिलेसम्ममा कालिकास्थानमा जनता बैँक स्थापना हुन्छ ?

बैंक नाफा मूलक संस्था हो । हामी घाटा खाने ठाउँमा कतै पनि जादैनौँ । हामी कालिकास्थानमा एक अध्ययन नगरी जान सक्दैनौँ । पहिले पहिले त्यहाँका जनताहरूले मौखिक रूपमा मात्र माग राखेका थिए तर अब भने लिखित रूपमा समेत माग आउन थालेको छ । अब यसपछि हामी एक अध्ययन गर्र्छौं । अनि मात्र हामी त्यसको विषयमा निर्णय गर्नसक्छौँ । यो वर्षत हामी बैंक स्थापना गर्न सक्दैनौँ । तर पनि बैंक प्रति यस क्षेत्रका मानिसहरू कटिवद्ध हुन्छन् भने, आफ्ना कारोवार बैँक मार्फत गर्न तयार हुन्छन भने, बैंकमा पैसा राख्न सक्नुहुन्छ, बैंकबाट ऋण लिन सक्नुहुन्छ भने हामी त्यसमा सकारात्मक छौँ । आगामी आर्थिक वर्षो पहिलो प्राथमिकतामा हामी यो बैँकलाई राख्नेछौँ । सकेसम्म हामी जनताहरूको मागलाई सम्बोधन गर्ने प्रयास गर्नेछौँ ।

सामाजिक सेवाको काम पनि गर्न थालेको हो ?

हो, अब हामी सामाजिक सेवाको काम पनि गर्र्छौं । रसुवा जिल्लाको कालिका हिमालय उच्च माविको विज्ञान संकाय सञ्चालन गर्नको लागि केही सहयोग प्रदान गरिएको छ । यो हाम्रो बैंक स्थापना पछिको पहिलो सहयोगमूलक कार्य हो । हामीले पनि केही सामाजिक दायित्वका कामहरू गर्नुपर्ने हुन्छ, त्यही सामाजिक उत्तरदायित्व अनुरूप यस्तो सहयोगमूलक कार्य गरिएको हो । यहाँको विद्यार्थीहरूको भविष्य उज्ज्वल पार्न, विद्यालय सञ्चालन गर्नको लागि हाम्रो सानो सहयोगले पनि महत्वपूर्ण भूमिका खेल्छ भने किन नगर्ने त भनेर हामीले यो सहयोग गरेका हो । आगामी दिनमा पनि यस्तो सहयोग निरन्तर रहनेछ ।

अन्तमा रसुवा खबर साप्ताहिक मार्फ केही भन्न चाहनुहुन्छ ?

रसुवा भनेको धेरै विकट होला भन्ने लागेको थियो तर अहिले बाटो बनेछ खुसी लागेको छ । यस जिल्लामा धेरै सम्भावना मैले देखेँ । त्यसमा रसुवाली जनताहरूको ध्यान जानुपर्दछ । रसुवाली जनताको लागि हामीले बैंक स्थापना गरेका छौँ, अब कालिकास्थानमा पनि बैँक माग भएको छ, तपाईहरूलाई बैंकले जुनकुनै बेला पनि ऋण उपलब्ध गराउन तयार छ, हामी लगानी गछौ, व्यवसाय सुरू गर्नुहोस, खाली विदेश जाने मात्र होइन, आफ्ना स्रोतहरूको पनि परिचालन गर्न सिक्नुहोस्, तपाईहरूले सुरू नगरे कसले गर्छ ? र रसुवाली जनताहरूले जनता बैंकलाई गरेको मायाको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु ।

पर्यटन वर्षमा तामाङ संस्कृतिको व्यापक प्रचारप्रसार गर्नुपर्छ

युवराज मैनाली, सहायक प्रमुख जिल्ला अधिकारी, रसुवा
वर्ष १, अंक १७, २०६७ साल मँघ २२ गते शनिबार ९ रसुवा खबर
काभ्रेपलाञ्चोक जिल्ला, कानपूर गाविस, वडा नं १ मा पिता स्व. केदारनाथ र माता स्व. रेवती मैनालीको कोखबाट वि.सं २०१७ साल चैत्र १० गते जन्मिएका युवराज मैनाली हाल जिल्ला प्रशासन कार्यालय रसुवामा सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा कार्यरत हुनुहुन्छ । एम एसम्मको अध्ययन गर्नुभएका मैनाली साहित्यमा रूची राख्नुहुन्छ । विशेष गरी काव्यको समालोचना गर्न मन पराउने मैनाली रसुवाका जनतालाई सेवाग्राही भन्दा एकै परिवारको सदस्य बराबरको सम्बन्ध रहेको बताउनुहुन्छ । साहित्यका क्षेत्रमा विविध काव्य लेखन तथा प्रकाशन पनि गरिसक्नुभएका मैनालीसँग रसुवाको सेरोफेरोमा रहेर रसुवा खबर साप्ताहिकले कुराकानी गरेको छ । प्रस्तुत छ मैनाली र यस साप्ताहिकका प्रेमप्रसाद पौडेल बीच भएको कुराकानीको सार संक्षेप :

निजामति सेवामा कहिलेबाट प्रवेश गर्नुभयो र रसुवामा कहिलेबाट ?
विसं २०३७ साल मंसीर १९ गते म निजामति सेवामा प्रवेश गरेको हुँ । त्यतिखेर निजमति किताबखानाको खरिदार भएर सुरू गरेको हुँ । रसुवामा २०६५ चैत्र २६ गतेबाट कार्यरत छु ।


रसुवाको जनताको सेवा गर्दै रसुवालाई नजिकबाट नियालिरहनु भएको छ, विविध विषयमा सम्भावना हुँदाहुँदै पनि रसुवामा किन विकास हुन सकेन ?
रसुवा मात्र हैन नेपालभरि नै अहिले यस्तै छ । संक्रमणकाल भएको कारण विकास हुन सकेको छैन । स्थायी सरकार नहुनु, विशेष गरी जन प्रतिनिधि नभएका कारण जिल्लाको विकास हुन नसकेको हो । अर्को कुरा रसुवाका जनता वा अगुवाहरूमा विकासप्रतिको चाहना ज्यादै न्यून भएको मैले महशुस गरेको छु ।

रसुवाको शान्ति सुरक्षाको अवस्था कस्तो छ ?
म रसुवामा आएको दुई वर्ष भयो । कतै कतै छिटफिट घटनाहरू भएका छन्, नभएका हैनन् । केही घटनाहरू घट्दा म नै जिल्लामा सहायक प्रजिअको रूपमा रहेको छु । र मैले त्यस्ता घटनाहरू घट्दा राजनीतिक दललगायतसँग समन्वय गरी सरल र सहज तरीकाले समाधान गर्ने प्रयत्न गरेको छु । तर अरू जिल्लाको तुलनामा रसुवाको शान्ति सुरक्षाको अवस्था सुधारोन्मुख छ । जिल्लामा शान्ति समिति निस्कृय छ नि किन ?
सबैभन्दा ठूलो असर राष्ट्रिय राजनीतिको पर्दो रहेछ । तर प्रशासनिक हिशावले हामीले समन्वय गर्ने काम गरिरहेका छौं । राजनीतिक असरका कारण शान्ति समिति निस्कृय भइरहेको छ ।

रसुवाको विकासका सूचकहरू के के हुन् ?
र्सबप्रथम रसुवा जलस्रोतमा धनी छ, जलस्रोतको अपार सम्भावना छ । चिलिमे जलविद्युत, साञ्जेन, रसुवागढी, त्रिशूली ३ जस्ता धेरै जलविद्युतका सम्भावना रहेका छन् । दोस्रो पर्यटकीय क्षेत्र लाङटाङ, गोसाइँकुण्ड पदयात्रा, तामाङ हेरिटेज ट्रेल जस्ता अन्तरराष्ट्रिय पर्यटकीय मार्ग पनि रसुवाको विकासको सूचक हो । जडिबुटी खेतीको पनि यहाँ धेरै सम्भावना रहेको छ । अर्को रसुवागढी नाका विकास हुँदा रसुवाको भविष्य उज्ज्वल छ । धार्मिक पर्यटनका विकासको लागि गोसाइँकुण्ड तीर्थयात्रा, यहाँका तामाङ सम्पदा र संस्कृति पनि रसुवाको विकासको सूचक हो ।

भारत र चीन जोड्ने सबैभन्दा छोटो नाका रुवागढी नाका बनिरहँदा रसुवाको भविष्य कस्तो छ ?
चीनले विश्वमा नै औद्योगिक व्यापारको सुरूवात गरिरहेको छ । भारत वा अन्य मुलुकमा उत्पादित सामग्री ढुवानीका लागि दक्षिण एसियाकै सबैभन्दा छोटो नाका रसुवागढी भएकोले यहाँ धेरै आर्थिक विकास गर्न सकिने सम्भावना रहेको छ । रसुवागढी नाका र रसुवालीको भविष्य जोडिएको छ ।

रसुवागढी नाकामा भन्सारको समस्या र राजस्व चुहावटको गुनासो आईरहेको छ, त्यहाँ सुशासन कायम गर्न प्रशासनको कस्तो भूमिका रहेको छ ?
खासै अहिले व्यापार चलेको छैन, सुरूवात मात्र भएको छ । अलिअलि भन्सार छलेर सामान ल्याईरहेका छन् भन्ने पनि गुनासो त आईरहेको छ । अनि स्याफ्रुबेशीमा सारिएको भन्सारलाई रसुवागढी सार्न हामीले सल्लाह दिएका छौं । त्यहाँ शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रशासन कार्यलयले भरसक्य प्रयत्न गरिरहेको छ ।

पर्यटन वर्ष२०११ सफल बनाउन रसुवामा के के गर्नु पर्छ ?
सरसफाई र संस्कृतिलगायत पर्यटकलाई आकषिर्त गर्ने विषयवस्तुको व्यापक प्रचारप्रसार गर्नुपर्छ । विशेष गरी रसुवाको तामाङ संस्कृति र भेषभूषाको प्रचारप्रसार र रसुवाली संस्कृतिको डकुमेन्ट्री बनाएर प्रचारप्रसार गर्न सके पर्यटकीय विकासबाट आर्थिक विकास पनि गर्न सकिन्छ । त्यसैले पर्यटन वर्षसफल बनाउन यस्ता विषयमा ध्यान दिनु पर्छ, रसुवामा पर्यटन वर्ष२०११ सफल पार्न सबैलाई अनुरोध गर्दछु ।

साहित्य क्षेत्रमा पनि तपाइँको रूची छ, कति कृति प्रकाशन गर्नुभयो ?
मैले २०३५ सालदेखि साहित्य सिर्जनाको सुरूवात गरें । २०३७ मा मैले पहिलो कथा संग्रह मुर्दा बोल्यो प्रकाशन गरेको हुँ । बालकृष्ण सम, बाङ्देल, विजय मल्ल, पारिजात, सिद्धिचरण श्रेष्ठ, रमेश विकललगायतका स्रष्टाका सिर्जनाको समालोचना संग्रह केही 'प्रतिभा केही प्रवृति' प्रकाशन गरें । भ्रष्टाचारको भाङ कविता संग्रह पनि राम्रो भएको कृति हो र म अहिले बालकृष्ण समको नाटक प्रल्हादको विश्लेषणात्कम समालोचना प्रल्हादमा परिलक्षित मानव भन्ने कृति प्रकाशन गर्दैछु । पुरानादेखि नयाँ साहित्यकारसम्मका कृतिलाई समालोचना गरी 'समालोचनाको आँखीझयाल' भन्ने बृहत समालोचना संग्रह लेख्दैछु ।

अन्तमा रसुवा खबरमार्फ रसुवालीलाई के सन्देश दिन चाहनुहुन्छ ?
र्सबप्रथम त रसुवाको विकास गरी रसुवा माथि उठाउनको लागि मन वचन र कर्मले लागौं भन्न चाहन्छु । अर्को कुरा शान्ति सुरक्षामा सहयोग गर्न आग्रह गर्दछु । रसुवाली जनतासँग मेरो प्रशासक र सेवाग्राही भन्दा पनि पनि एकै परिवार सदस्यको जस्तो नाता छ । रसुवासँग मेरो प्रीति बसेको छ । रसुवाको पहिलो एक मात्र साप्ताहिक रूपमा निस्कने पत्रिका मार्फ सम्पूर्ण रसुवालीलाई शान्ति, सम्बृद्धि र विकासको पाटोमा अघि बढ्न अनुरोध गर्दछु ।

रसुवाको पर्यटन व्यवसाय व्यवसायिक हुन सकेको छैन

शिवप्रसाद लामिछाने, पर्यटन व्यवसायी तथा केन्द्रीय उपाध्यक्ष, ग्रामीण पर्यटन प्रवर्द्धन मञ्च नेपाल
रसुवा खबर वर्ष१, अंक १४, २०६७ साल पुस २४ गते शनिबार
विसं २०२८ साल असार २८ गते माता होमकुमारी र पिता कृष्णप्रसाद लामिछानेको कोखबाट रसुवाको लहरेपौवा गाविस- १, बेत्रावतीमा जन्मिएका शिवप्रसाद लामिछाने पर्यटन व्यवसायमा लामो समयदेखि कार्यरत छन् । रसुवामा पर्यटन व्यवसायी कम हुनु वा दक्ष जनशक्ति कम हुनुले नै जिल्लाको पर्यटन व्यवसाय व्यवसायिक हुन नसकेको बताउने लामिछाने हाल नोजोमी ट्रेक्स एण्ड एक्स्पीडिसन, ठमेलमा कार्यरत छन् । रसुवामा भरिया मात्र भएकोमा दुःखी भएका लामिछानेले सम्भावना भएका जनशक्तिलाई गाईड बन्न अभ्रि्रेरित गर्दै आइरहेका छन् । बेत्रावती बगरमा टेन्ट टाँगेर बस्ने गरेका विदेशी पर्यटकहरूको दृश्यले पर्यटन व्यवसाय अँगालेका उनी हाल ग्रामीण पर्यटन पर््रवर्द्धन मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष पनि हुन् । यूएनडीपीको टीआरपीएपीले विकास गरेको तामाङ हेरिटेज ट्रेलले विश्व बजार प्राप्त गरिसकेको दावी गर्ने लामिछानेसँग रसुवा खबर साप्ताहिकले कुराकानी गरेको छ । प्रस्तुत छ - रसुवा खबरका प्रेमप्रसाद पौडेलले लामिछानेसँग गर्नुभएको कुराकानीको सार संक्षेप :

पर्यटन व्यवसायमा कहिले र कसरी लाग्नुभयो ?
सन् १९९२ देखि म पर्यटन व्यवसायमा लागेको हुँ । सुरूमा होटलको कर्मचारीको रूपमा काम गर्न सुरू गरेको थिएँ ।
पर्यटन व्यवसायमा लाग्ने प्रेरणा वा ज्ञान कहाँबाट मिल्यो ? हामी सानो छँदा रसुवा जिल्लाको बेत्रावतीमा विदेशीहरू आउँथे र खोलाको वगरमा टेन्ट टाँगेर बस्थे । उनीहरू हाम्रो फोटो खिच्थे । उनीहरूसँग वान पेन, वान चकलेट भन्दै लामो बाटोसम्म गइराख्थ्यौं । त्यतिबेलादेखि नै यो पेशामा लाग्न पाए हुन्थ्यो भन्ने मनमा लागिरहन्थ्यो । रसुवाको लाङटाङ क्षेत्रमा नै आएका पर्यटक र उनीहरूका गाईड भरियाहरूका गतिविधि वा त्यही दृश्य देखेर नै यस पेशामा लाग्न प्रेरणा मिलेको हो ।
पर्यटन व्यवसायलाई अँगाल्दै नजिकबाट नियाल्नु भएको छ, रसुवामा पर्यटन व्यवसायको सम्भावना र चुनौतीहरू के के छन् ?
रसुवामा प्राकृतिक स्रोत र साधन प्रशस्तै छ, पर्यटकीय उद्गम स्थलहरू मनग्य छन् । लाङटाङ, गोसाइँकुण्ड जस्ता स्थलहरू तेस्रो पर्यटकीय गन्तव्यको रूपमा विश्वमा नै परीचित छ । तामाङ हेरिटेज ट्रेल विकासोन्मूख स्थलको रूपमा रहेको छ । यस्तै यस्तै धेरै पर्यटकीय सम्भावनाका स्थलहरू रसुवामा छन् । पैरेबेशी, मैलुङ, हाकु हुँदै तामाङ हेरिटेज ट्रेल निस्कने बाटो र स्याउबारी हुँदै यार्सा, सरमथलीबाट नुवाकोटको चोकदे वा रसुवाकै बेत्रावती निस्कने अर्को बाटो पनि प्रचुर सम्भावना भएको रूट विकासको सम्भावना बोकेको मार्ग हो । कतिपय ट्रेकिङ एजेन्सीहरू एजेन्सीहरू स्याउबारी, नौकुण्ड हुँदै गोसाइँकुण्डको यात्रामा गइसकेका छन् । यसरी हेर्दा रसुवा एउटा पर्यटकीय सम्भावना रहेको जिल्ला हो । रसुवामा सम्भावना प्रशस्तै रहेपनि चुनौती र कठिनाईहरू पनि त्यत्तिकै छन् । पर्यटन व्यवसाय व्यवसायिक हुन सकेको छैन वा व्यवसायीहरूबाट व्यवसायिक रूप दिन सकिएको छैन । पर्यटन व्यवसायलाई विविधिकरण गर्न अति नै आवश्यक छ । थोरै समूदाय पर्यटकीय व्यवसायमा लाग्नु, शिक्षित र योग्य जनशक्ति कम हुनु यहाँका चुनौतीहरू हुन् । अरू जिल्लाका गाइड र व्यवस्थापक हुनु, रसुवाका भरिया हुनु दुःखको कुरा हो । यसमा हामी सबैको जिम्मेवारी कम रहेको छ । यसमा एउटाको मात्र दोष छैन । नेपालमा नै रसुवामा चाहिँ भरियाहरू मात्र रहेका हुन् कि भनेजस्तो लाग्छ । भरियाबाट गाइड र गाइडबाट व्यवस्थापक वा स्तरोनन्नती हुन नसक्नु रसुवाको पर्यटन व्यवसायका चुनौतीहरू हुन् । यातायातको पनि चुनौती रहेको छ । पोखरा वा अन्य स्थानमा जस्तो एक सय रूपैंयाँ बढी लिएर भएपनि पर्यटकको बसयात्रा सरल गराउन सकिएको छैन । विशेष गरी रसुवाका थोरै समूदाय मात्र पर्यटन व्यवसायमा लाग्नु, यी नै मुख्य चुनौतीहरू हुन् । अहिले हामी जंगलबाट नाङ्गा पाखा हेर्दै हिडेका छौं तर नाङ्गा पाखाबाट लाङटाङ राष्ट्रिय निकुञ्जका जंगलहरू हेर्दै हिड्नको लागि नयाँ पर्यटकीय पर्ूवाधार बनाउनु पर्छ । यसो गर्दा पर्यटक रसुवामा एकदिन भने पनि लामो समय रहन्छन् । यसले सबैलाई फाईदा पुग्छ ।
होटल व्यवसायीहरूको अस्वस्थ प्रतिस्पर्धा वा पर्यटकहरूलाई मेरो होटलमा आउ भनेर बोलाउने चलन छ, यसलाई के भन्नुहुन्छ ?
पर्यटन व्यवसायीहरूको आपसी सम्बन्ध कस्तो रहेको छ ? प्रतिस्पर्धालाई त म राम्रो संकेतको रूपमा लिन्छु ।अरू क्षेत्रको तुलनामा लाङटाङ, गोसाइँकुण्ड क्षेत्रमा पर्यटकहरूलाई रूम निःशुल्क गराएर खानाको चाहिँ मूल्य बढी लिने गरेका छन् । हवाइजहाजमा सामग्री लगेर तीन दिनको बाटोसम्म बोकेर लाने ठाउँमा र बसबाट एक दिनको बाटोमा पनि एउटै मूल्य छ । होटल व्यवसायीहरूले खानामा मात्रै व्यापार गर्ने हो भन्ने ठानिरहेका छन् । गुणस्तरलाई त्यत्ति ध्यान दिन सकेका छैनन् । यो राम्रो पक्ष होइन । यस्ता खालका समस्याहरूलाई समाधान गर्न सक्नर्ुपर्छ । अर्को कुरा होटल व्यवसायी र ट्राभल एजेन्सीका व्यवसायीहरू बीच सम्बन्ध राम्रो छ । तर व्यवसायिकपन निर्धारण गर्नको लागि दुबै पक्षमा छलफल हुनु आवश्यक छ ।
रसुवा र अन्य क्षेत्रका व्यवसायीहरूमा के अन्तर छ ?
तुलनात्मक रूपमा रसुवा राजधानीबाट नजिकको पर्यटकीय गन्तव्य हो । अन्य क्षेत्रका व्यवसायीहरूमा व्यवसायिकपन आएको छ, तर रसुवामा व्यवसायिक हुन सकको छैन । आशा गरौं, छिट्टै नै रसुवाका व्यवसायीहरूले पनि व्यवसयिक बनाउन सक्नेछन् ।
नेपाल पर्यटन वर्ष२०११ मनाउँदै गर्दा रसुवामा शुन्यता छ वा पर्यटन वर्षको कार्यक्रम सार्वजनिक गर्न ढिला भएको छ, किन ?
रसुवाका पर्यटन व्यवसायी र ट्रेकिङ एजेन्सीका व्यवसायी बीच वा जिल्लाका सरोकारवालसँग समन्वय हुन नसक्नुले नै यसमा ढिलाइ भएको हो । प्रशासनिक निकायले संयोजन गर्न नसक्नु पनि यसका तर जिल्ला विकास समितिका सूचना अधिकृत शिवराम प्याकुरेलसँग राष्ट्रिय पर्यटन पर्वको समयमा केही कार्यक्रम गर्न मैले प्रत्यक्ष भेटेर कुराकानी गरिराखेको छु । पर्यटकहरू रसुवाको कुन वस्तु हेरेर रमाउँछन् ? वा पर्यटन वर्षो सर्न्दर्भमा रसुवामा कस्ता विषयको प्रचार प्रसार हुनु आवश्यक छ ? रसुवा काठमाडौबाट नजिकको दूरीमा हिमाल भेट्ने वा देख्ने स्थानको रूपमा रहेको छ । लाङटाङ, क्याञ्जिङ उपत्यका र यसका वरिपरि रहेका क्याल्बिङ पिकहरू, आन्तरिक पर्यटकहरूले पनि ज्यादा मन पराउने गोसाइँकुण्ड पर्यटकलाई बढी मन पर्छ र यूएनडीपीको टीआरपीएपीले विकास गरेको 'तामाङ हेरिट्रेज ट्रेल' विश्वमा नै परीचित छ । त्यतिखेर यूएनडीपीले विकास गरेको चितवनको चेपाङ हेरिटेज ट्रेललगायत पाँच, छ वटा हेरिटेज ट्रेलमध्ये रसुवाको 'तामाङ हेरिट्रेज ट्रेल'ले विश्व बजार प्राप्त गरिसकेको छ । म रसुवाका सो क्षेत्रमा पर्यटक कुरिरहेका व्यवसायीलाई ढुक्क हुन आग्रह गर्छु पर्यटक आउनेछन्, सेवा र सत्कार गर्नुस् । पर्यटन वर्ष२०११ मा रसुवाको तामाङ संस्कृति, अन्य संस्कृति र सम्पदाको प्रचार प्रसार, चिलिमे जलविद्युत केन्द्रलगायत अन्य सम्भावित विकासका सम्भावनाहरूको र नयाँ पर्यटकीय गन्तव्य पहिचान र चिनारी गराउनु पर्छ ।
अन्तमा रसुवा खबर मार्फत रसुवाका पर्यटन व्यवसायीहरूलाई के भनन चाहनुहुन्छ ?
र्सबप्रथम रसुवा खबर साप्ताहिक पत्रिका, रसुवाको पालुवा पत्रिकाको प्रगतिको कामना गर्छु पर्यटकीय विकासमा पत्रिकाले महत्वपूर्ण सन्देश प्रवाह गर्न सकोस् । यसै पत्रिका मार्फ रसुवाको पर्यटन व्यवसायमा लागेका व्यवसायीहरूलाई व्यवसायिक हुन आग्रह गर्छु रसुवामा पर्यटन वर्ष२०११ सफल बनाउन आफ्नो आफ्नो क्षेत्रबाट भरसक्य सहयोग गर्नुस् । रसुवाको जनताको समुन्नती र विकास पर्यटकीय विकासमा सम्भव छ । ढुक्क रहन म अनुरोध गर्दछु ।

अपरिवर्तनीय धाराका रूपमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरिनुपर्छ

नवराज लम्साल उपाध्यक्ष, नेपाल प्रेस यूनियन
रसुवा खबर वर्ष १, अंक ८, २०६७ मंसिर १८ गते शनिवार

नवराज लम्साल पत्रकारिता क्षेत्र, विशेष गरी विद्युतीय सञ्चार माध्यमका लोकप्रिय सञ्चारकर्मीका रूपमा स्थापित र नेपाली भाषा साहित्यको क्षेत्रका एकजना सर्वोत्तम् स्रष्टा हुन् । बिसं २०२६ साल साउन ८ गते पिता टंकप्रसाद र माता हेमकुमारी लम्सालको कोखबाट धादिङ जिल्लाको ज्यामरुङ गाविस, वडा नं ९ मा जन्मिएका लम्साल विगत १७ वर्षेखि रेडियो नेपालमा कार्यरत छन् । बिसं ०४३ सालदेखि पत्रकारिता पेशामा लागेको र सानै उमेरमा घरमा पिता टंकप्रसादले रामायण, महाभारत लय हालेर गाएको सुन्दासुन्दै साहित्य सिर्जनामा लागेको बताउने लम्सालले हाल प्रेस यूनियनको केन्द्रिय उपाध्यक्ष पदमा रहेर प्रेस स्वतन्त्रताको काम गर्दै आइरहेका छन् । महाकवि देवकोटाको 'शाकुन्तल' आफूलाई सबैभन्दा बढी मनपर्ने र साहित्य तथा पत्रकारिता दुबै अन्यान्योस्रित रहेको बताउने लम्सालसँग रसुवा खबर साप्ताहिकले संवाद गरेको छ । प्रस्तुत छ :  रसुवा खबरका लागि प्रेमप्रसाद पौडेल र नवराज लम्सालबीच भएको संवादको सार संक्षेप :

पत्रकारिता पेशामा लाग्नुभएको कति भयो ?
मैले रेडियो नेपालबाट, विद्युतीय सञ्चार माध्यमबाट पत्रकारिता प्रारम्भ बिसं २०५० सालदेखि गरेको हुँ । यसरी हर्ेदा अहिले १७ वर्षभयो । तर एउटा घटना छ मसँग, म २०४३ सालमा माघ महिनामा एसएलसी सिध्याएर बसेको थिएँ । समय दैनिक भन्ने पत्रिकाले कम्तीमा एसएलसी पास गरेको रिपोर्टर चाहियो भनेर विज्ञापन गरेको थियो । म संझन्छु, एसएलसीको प्रवेशपत्र लिएर त्यहाँ गएको थिएँ, मैले भनें मेरो एसएलसी सकिएको छ, तर रिजल्ट भएको छैन, मेरो प्रवेशपत्र हेर्नुस्, म शुद्ध लेख्न बोल्न सक्छु, मलाई जागिर दिनुस् भनें । त्यहाँ मैले समय दैनिक काम गर्न सुरू गरेको हुँ । यसरी हेर्दा २०४३ सालदेखि सुरू गरेको हुँ र रेडियोको कुरा गर्ने हो भने २०५० बाट पत्रकारिता सुरू गरेको हुँ ।

साहित्यकार पनि हुनुहुन्छ, पत्रकारिता र साहित्यमध्ये कुनबाट आफूलाई बढी चिनाउन रूचाउनु हुन्छ ?
यी दुवै विधा अन्यान्योस्रित छन् । अलि हतारमा लेखे पत्रकारिता जस्तो लाग्छ, अलि फूर्सदमा लेखे, अलि कलात्मक लेखे साहित्य जस्तो लाग्छ । अनि अलि तथ्यपरक कुरा ज्यादा भयो भने पत्रकारिता जस्तो लाग्छ र भाव ज्यादा भयो भने मलाई साहित्य जस्तो लाग्छ । यी दुईवटा एउटै सिक्काका दुईपाटा जस्ता मेरो जीवनमा सँगै गाँसिदै आयो । र म यसलाई सँगै लैजान चाहन्छु ।

साहित्य सिर्जनाको सुरू कहिलेबाट गर्नुभयो ?
सानैदेखि लेख्थें म । मलाई थाहा छैन, यो कतिखेर कविता वा गीत भयो - गाउँमा बस्दा घरमा, ज्यामरूङमा बाले रामायण पढ्नुहुन्थ्यो, महाभारत पढ्नुहुन्थ्यो, कृष्ण चरित्रहरू लय हालेर पढ्नुहुन्थ्यो । त्यो लय सुन्दासुन्दै लयमा लेख्ने आदत बस्यो । अरूको कविता यस्तो हुन्थ्यो भने आफैंले लेख्दा कस्तो होला भन्ने लाग्थ्यो । त्यो बेला कविता भन्ने त जान्दैनथें, त्यही बेलादेखि कविताको प्रारम्भ भएको रहेछ ।

तपाइँको नजरमा सबैभन्दा मनपर्ने साहित्यकार को हुन् र कुन कृति सबैभन्दा बढी मनपर्छ ?
मलाई सबैभन्दा मनपर्ने स्रष्टा महाकवि लक्ष्मीप्रसाद देवकोटा । धेरै मान्छे उनको मुनामदन मन पराउँछन्, म पनि मुनामदन मन पराउँछु । तर देवकोटाको 'देवकोटा' भनेर परिचय गराउन लायकको कृति चाहि 'शाकुन्तल महाकाव्य' हो । म देवकोटा मन पराउँछु र देवकोटाको पनि शाकुन्तल महाकाव्य मन पराउँछु ।

रेडियोबाट बोल्दै गर्दा तपाइँको आवाज घरघर, कुना कन्दरामा पुग्छ । एकजना सफल सञ्चारकर्मीको रूपमा चिनिनु भएको छ । नेपाली स्रोताको कतिको माया पाउनुभएको छ ? र सफल सञ्चारकर्मी हुनुमा कसलाई धन्यवाद भन्नुहुन्छ ?
सफल भन्ने शब्द त साह्रै गह्रुङ्गो छ, सफल भन्नु त हुदैन । तर मैले कसैलाई धन्यवाद भनिन भने म अहंकारी जस्तो देखिन सक्छु । तर जीवनका धेरै मोर्चाहरूमा हारेको छु, जीवनका धेरै मोर्चाहरूमा असफल भएको छु । जीवनका धेरै घुम्तीहरूमा असहजता भेटेको छु । लिखितमा, जाँचमा एक नम्बरमा नाम निकाल्दै अन्तार्वाता फेल हुँदै गरेका मेरा प्रशस्त अनुभवहरू छन् । सायद तर ती हरेश खाने दिनहरूमा पनि, ती अप्ठ्याराका दिनहरूमा पनि, मैले देखिदा हारेको देखिने दिनहरूमा पनि मैले आफूलाई कमजोर बनाइन । निरन्तर पढिरहें, लेखिरहें, कोसिश गरिरहें । मलाई अहिले सम्झेर हेर्दा चाहि मलाई आग्रही जस्तो नठानियोस्, मेरो आफ्नै आत्मविश्वास हो कि भन्ने लाग्छ ।

पत्रकारिता पेशामा विकृति छन् र व्यवसायिक हुन सकेको छैन, व्यवसायिक हुन के चाहिन्छ ? व्यवसायिक हुन कुन् कुन् लक्षण चाहिन्छ, वा असल पत्रकारका गुणहरू के के हुन् ?
पत्रकारिता गम्भीर विषय हो । हो, तपाइँले भनेजस्तो, देशमा सबै क्षेत्रमा केही न केही कमजोरी छन् । सबै क्षेत्रमा केही न केही खराबीहरू छन्, पत्रकारिता पेशा पनि एकदम दुधैले न्वाएको अवस्था छैन । तर हामी सिक्दै, सच्चिदै, माझदै र परिस्कृत हुँदै शुद्ध व्यवसायिक पत्रकारिता गर्ने संघारमा छौं । तर आस्था आफ्नो आफ्नो हो । आफ्नो आफ्नो आस्था अनुकूल गोलबद्ध हुन पाउनु पर्छ, गोलबद्ध हुन दिनुपर्छ । गोलबद्ध भएकै आधारबाट खराब, नजिक र टाढा भनेर हेरिनु हुदैन । तर समाचार लेख्ने बेलामा चाहिँ ऊ निष्पक्ष हुनसक्यो भने, विवेकसम्मत हुनसक्यो भने र उ उसले तटस्थता अपनाएर लेख्न सक्यो भने त्यो मान्छे व्यवसायिक हुन्छ भन्ने लाग्छ । अर्को पाटो, पत्रकारिता गरेरै खान पुग्ने अवस्था जहिले होला पत्रकारहरूको, त्यो दिन नै पत्रकारिता अझ सङ्लो होला ।

नेपालको मानचित्रमा राजधानीबाट रसुवा नजिक छ, दोस्रो पटक रसुवा आउनुभएको छ, पहिला आउँदा र अहिले आउँदा के के विषमता पाउनुभएको छ ?
पहिला म गोसाइँकुण्डसम्म पुगेको थिएँ । त्यतिखेर मेरो बुबा ६५ वर्षो हुनुहुन्थ्यो, झण्डै ६० वर्षहाराहारीको आमा हुनुहुन्थ्यो । बुबाआमासँगै म गोसाइँकुण्ड गएर फर्केको थिएँ । बाटो साह्रै धेरै कच्ची थियो, बसको छतमा बसेर आएको थिएँ, बस ढल्किँदा अब खसियो कि लडियो कि जस्तो लाग्थ्यो । अलिकति बाटोमा सुधार भएछ र धुन्चेको संरचनामा अलिकति सुधार भएछ । तर यति धेरै अध्ययन गर्न भ्याइन, म आजै बिहान आएँ, अहिले तपाइँसँग सम्वाद गरिराछु । तर यति कुरा चाहि सत्य हो, विकास बाहिरबाट आएर हुदैन, विकास स्थानीय रूपमा त्यही ठाउँबाट उठ्नुपर्छ । उठ्नको निम्ति बाहिरबाट वातावरण बनाइदिने हो । तर रसुवामा विकासका वातावरण बनाउन, विकासोन्मूख चेतना फैल्याउन राजधानी वा राजधानी निकट रहेका अरू शहरहरूले कोशिस गरेको चाहि पाइन ।

प्रेस यूनियनको केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ, देशलाई नजिकबाट वा सञ्चारको आँखीझयालबाट नियाल्नु भएको छ, नयाँ संविधानमा प्रेस स्वतन्त्रता वा पत्रकारिताको सुरक्षाको लागि कस्तो प्रयास गरिरहनु भएको छ ?
म प्रेस युनियनको उपाध्यक्ष हुँ, म प्रेस चौतारी र क्रान्तिकारी पत्राकार संघ समेत्लाई पनि र पत्रकार महासंघ सबैसँग, जहाँ हामी आवद्ध भएपनि, प्रेसको मुद्दामा, प्रेस स्वतन्त्रताको मुद्दामा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्राको मुद्दामा र पत्राकारहरूको भौतिक र पेशागत सुरक्षाको मुद्दामा हामी साझा एजेण्डाका साथ एक भएर लाग्नुपर्छ भन्ने मान्यता राख्छु । यद्यपी म प्रेस यूनियनको केन्द्रीय उपाध्यक्ष हुँ, प्रेस यूनियन एउटाले मात्रै, चौतारी वा क्रान्तिकारी एउटाले मात्रै प्रेसको लागि राम्रो बनाउन सक्छ भन्ने मेरो दावा छैन । हामी सबै मिल्नर्ुपर्छ । आस्थाका आधारमा विभाजित हुन पनि पाउनु पर्छ, तर मुद्दामा मिलेर पनि जानर्ुपर्छ । र संविधानको प्रस्तावनामा अपरिवर्तनीय धाराका रूपमा, अपरिवर्तनीय विषयका रूपमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई ग्यारेण्टी गरिनुपर्छ भन्ने मलाई लाग्छ ।

अन्तमा रसुवा खबरमार्फत् रसुवाली स्रष्टा, सञ्चारकर्मी, सञ्चारप्रेमी तथा आम पाठकहरूलाई के भन्न चाहनुहुन्छ ?
म पनि झण्डै रसुवा जस्तै विकट धादिङको ज्यामरुङबाट शहर पसेको हुँ । आज म रेडियो नेपालमा छु, आज म बिबिसीमा छु । आज म विभिन्न राष्ट्रव्यापी संगठनको केन्द्रिय नेतृत्व गरिराछु । तर पनि धादिङको ज्यामरुङमा त्यतिखेरको रातोमाटो मेरो शरिरमा अझै छ, मैले भैसी दोएको अनुभव छ, मैले गाई दोएको अनुभव छ, मैले नाम्लो, दाम्लो बुनेको अनुभव छ , मैले खेत खनेको, बाख्रा गोठालो गएको, गाई गोठालो गएको आली लगाएको, कोदो बारी खनेको, धान झाँटेको, बोरा बोकेको अनुभव छ । म त्यही गाउँको खाँट्टी किसानको छोरा हुँ । गाउँको किसान कर्म, किसान दाजुभाइ, बा आमा, दिदी बहिनी र गाउँ बस्तीप्रति मेरो प्रेम छ, मेरो लगाव छ । त्यसै कारणले मेरो लेखनमा पनि, मेरो उद्घोषणमा पनि गाउँको सुगन्ध आओस् भन्ने चाहन्छु । र म गाउँलाई प्रेम गर्छु, गाउँ रूपान्तरण गर्नका निम्ति मैले के गर्न सक्छु, म सँधै चिन्तित भइरहनेछु, मेरो कोशिस जारी रहनेछ । कही कतै मैले बाटो बिराएँ, म अल्मलिएँ, म फुर्किएँ, म मात्तिएँ भने मलाई सच्याइदिनुहुन पनि अनुरोध गर्छु ।

रसुवाको पर्यटन विकासमा बाटोको समस्या छ

बलराम न्यौपाने ,प्रमुख रसुवा ट्रेक एण्ड एक्स्पीडिसन प्रालि, ठमेल
रसुवा खबर वर्ष १, अंक ७, २०६७ मंसिर ११ गते शनिवार

बि सं २०१८ साल माघ १२ मा रसुवाको भोर्ले गाउँ विकास समिति वडा नं १ मा बाबु गुणानिधि र आमा कुष्णकुमारी न्यौपानेको कोखबाट जन्मेका बलराम न्यौपाने लामो समयदेखि पर्यटन व्यवसायमा संलग्न छन् । विपन्न परिवारमा जन्मेका न्यौपाने ग्रामीणवासीको सेवामा समर्पित छन् । कहिले विभिन्न स्वास्थ्यका समस्याले ग्रसीतहरूको उद्धारका लागि विदेशी चिकित्सकहरू ल्याएर गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्न पुग्छन् त कहिले सामूदायिक स्वास्थ्यको विकासमा सहयोग गर्न । अहिले राजधानीको ठमेलमा रसुवा ट्रेक एण्ड एक्सपीडिसन प्रालिका प्रमुखका रूपमा पर्यटन व्यवसाय गर्दै आएका उनी तीन दशकदेखि पर्यटन क्षेत्रमा लागेका हुन् । ज्याला मजदुरीदेखि पर्यटकको झोला बोकेर पोखराबाट यस क्षेत्रमा आकषिर्त भएर लागेका न्यौपानेले संर्घष गरेर सफलता पाईन्छ भन्ने चरितार्थ गरेका छन् । न्यौपानेसँग समग्र पर्यटन क्षेत्रको अवस्थाबारे रसुवा खबर साप्ताहिकले कुराकानी गरेको थियो । प्रस्तुत छ न्यौपाने र रसुवा खबरका लागि हेमनाथ खतिवडाबीच भएको कुराकानीका सार संक्षेप :


र् पर्यटन व्यवसायमा कसरी र कहिलेदेखि प्रवेश गर्नुभयो ?
विगत तीस बर्षेखि म पर्यटन क्षेत्रमा प्रवेश गरेको हुँ ।

दुर्गम जिल्लाका दुःखी, किसान परिवारमा जन्मेकोले गुजारा चलाउनका लागि गाउँका साथीहरूसँग ट्रेकिङ जान थालें । उनीहरूसँग विभिन्न पर्यटकीय स्थलहरूमा भारी बोकेर हिडें, मजदूरीको पनि अनुभव छ । यस क्रममा मैले पोखराको त्यस बेलाको पर्यटन व्यवसाय हेरेर सिक्ने मौका पाँए । पछि पर्यटन व्यवसाय गर्न पुगें ।

रसुवा जस्ता ठाउँहरूमा पर्यटकीय सम्भावनाहरू कत्तिको छ ?
र् पर्यटकीय सम्भावना प्रचुर छ, तर पनि त्यहाँ बाटोको समस्या छ । राजधानीबाट कम दुरी भएर पनि धेरै समय लाग्ने बाटो घुमाउरो छ । राम्चे र मूलखर्कको पहिरोले बषात्मा निकै समस्या उत्पन्न हुने गरेको छ । यसको स्थायी समाधान खोज्नु पर्छ । नेपालको सगरमाथा र अन्नपूर्ण पछि तेस्रो पर्यटकीय गन्तव्य लाङटाङ हो । रसुवामा गोसाइँकुण्ड लगायत थुप्रै पर्यटक आर्कषिर्त हुने स्थलहरू छन्, तर पनि त्यहाँ सोचे जस्तो पर्यटक जान सकेका छैनन् । लाङटाङमा पहिलेको अनुपातमा निकै पर्यटक आउने क्रम बढेको छ । नजिकबाट हिमालमा पुग्ने भएकाले पर्यटकहरू लाङटाङ प्रति आकषिर्त भएका हुन् । छोटो समयमा वा दुई दिनमा लाङटाङ पुग्न सकिन्छ । नेपालमा पदयात्रा गरेर नजिकै छोटो समयमा हिमाल पुगिने अरु ठाउँ छैन । नजिक भएर पनि महंगो भएको पर्यटकहरू गुनासो गर्छन् । यस बाहेक अरु थुप्रै ठाउँ बाटोघाटोको विकास गरेर प्रचार प्रसार गर्न सके अवश्य यहाँको पर्यटन विकास हुन्छ ।

नेपालमा आउने पर्यटकहरूको संख्या कत्तिको बढ्दो छ र कस्ता पर्यटक बढी आउँछन्, यो व्यवसायबाट अर्थतन्त्रमा के फाईदा पुग्छ ?
अहिले नेपालमा आउने पर्यटकको संख्या दिनहुँ बढ्दो छ । नेपालमा आउँने पर्यटक धेरै धनी हुँदैनन् । उनीहरू धेरै रकम खर्च गर्न मात्र आएका हुँदैनन् । उनीहरू विभिन्न तरिकाले नेपालका पर्यटकीय क्षेत्रको भ्रमण गरेर र्फकन्छन् । त्यसैले गाउँ तहदेखि सबै ठाउँमा पर्यटन व्यवसायमा लागेका दाजुभाई दिदी वहिनीहरूमा म लगनशिल भएर ढुक्कले लाग्न आग्रह गर्दछु । उनीहरूलाई राम्रो सुविधा दिनर्ुपर्छ मौसममा राम्रो छ र्।र् इमान्दार र लगनशिल भएर पर्यटन व्यवसाय गरे जीवन चलाउन सकिन्छ, पर्यटन व्यवसायले अर्थतन्त्रको ठूलो भाग लिएको हुन्छ ।

पर्यटन व्यवसायको अझ विकास गर्नका लागि के आवश्यक छ ?
मुख्य कुरा सरसफाई हो । उनीहरूले सफा खोज्छन्, तर हाम्रो मुलुकको राजधानी शहर पनि नमुना सरसफाई युक्त छैन । उनीहरू प्लेनबाट झर्नासाथ दिक्क हुन्छन् । कागजहरू जथाभावी फाल्ने गर्नु भएन । यसले मानव स्वास्थ्यमा पनि असर पार्छ भन्ने वुझनु पर्यो । त्यसमाथि पनि हाम्रोमा सिस्टम् राम्रो छैन । स्वतन्त्र रूपमा पर्यटक आफै ठाउँ रोजेर बस्न पाएका छैनन् । यहाँ तानातान हुन्छ, त्यस्तो हुनु नराम्रो हो । ट्याक्सी डर््राईभरदेखि नै हाम्रो होटलमा जाउँ भनेर बाटोबाटो लैजाने गर्नु भन्दा पनि राम्रो स्वागत सत्कार गर्ने र खानपान वास तथा स्वागत सत्कार राम्रो गर्न सकेमा अझै राम्रो हुन्छ । जसले गर्दा यहाँको प्रचार पर्यटक आफैले गर्छन् ।

बर्षोनी हजारौं विदेशी पर्यटकहरू नेपालको के कुरा प्रति आकषिर्त भएर आउँछन् ?
नेपालमा हाम्रो विभिन्न संस्कृति छ । विभिन्न जातजाती, भाषा, भेषभूषा, फरक फरक हावापानी यहाँको भौगोलिक विषमता, वन, वन्यजन्त, डाडाँकाँडा हरियाली वनपाखा विभिन्न आकर्ष हिमाली दृष्यहरू उनीहरू निकै मन पराउछन् । एक डाडाँबाट अर्को डाडाँ आउछ , त्यस्तै उनीहरू मन पराउँछन् ।

पर्यटक आकषिर्त गर्नका लागि पर्यटन बर्षसन् २०११ को तयारी कसरी भैरहेको छ ?

पर्यटन विकासका लागि नेपाल पर्यटन बोर्ड लगायतका विभिन्न संस्थाहरू विभिन्न नीजि क्षेत्र जस्तै टान, नाटा, नारा जस्ता संस्थाहरूले पनि सक्दो तयारी गरिरहेका छन् । तर हामी सबैले सोच्नु पर्ने बिषय मौसमका बेला होटलहरू यहाँ ठमेल क्षेत्रमा पनि पाईदैन । केहि समय अघि अन्नपूर्ण क्षेत्रमा भिडभाड भयो, लाङटाङमा पनि निकै भिड भएको थियो । त्यसैले बास खाना कसरी व्यवस्थापन गर्ने सोच्नु पर्छ । सरकारले पर्याप्त पूर्वाधारहरूको विकास गर्न सकेको छैन । पर्यटन बर्षघोषणा गर्नुभन्दा अगाडि होटल र रेष्टुरेण्ट पूर्वाधारको विकास गर्नुपर्छ । प्रशस्त तयारी र योजना गर्नु पर्छ । त्यसमा पनि अहिले त्यसै पनि पर्यटक आउने मौसम हो । हामीले राम्रो व्यवस्थापन गर्न सक्नु पर्छ । नत्र राम्रो सन्देश जाँदैन । तर पनि पर्यटन बर्षसन् २०११ राम्ररी सफल हुनेमा म विश्वस्त छु ।

नेपाल सरकारले भर्खर अध्यादेशबाट ल्याएको बजेटले पर्यटन क्षेत्रलाई के कस्तो सम्बोधन गरेको छ ?
पर्यटन क्षेत्रलाई त्यति सम्बोधन गरेको छैन भन्ने गुनासाहरू आएका छन् तर म व्यस्त भएकाले यसमा त्यति अपडेट छैन । नेपाल सरकारले पर्यटनको विकास बिना देशको विकास हुन सक्तैन भन्ने कुरा बुझन आवश्यक छ । पर्यटन व्यवसायीलाई राज्यले राम्रो वातावरण दिन सक्नु पर्छ । अन्यथा नेपालको मुख्य आम्दानीको स्रोत पर्यटन व्यवसाय फस्टाउन सक्तैन ।

सरकारले कस्तो नीति ल्याउन सके पर्यटन व्यवसाय सुध्रिने थियो ?
सरकारले पहिलो कुरा सरसफाईमा ध्यान दिनु पर्यो । देशको पहिलो परिचय हाम्रो राजधानी शहर राम्रो र सफा छैन । यसले गर्दा पर्यटकहरू आउँदैनन् । हप्तौंसम्म राजधानीमा फोहोर उठ्दैन । फोहोरले विभिन्न रोग निम्त्याउँछ सधै नाक नथुनी हिंड्न नसक्ने अवस्था छ । हामीलाई त हाम्रै शहरमा सहजता छैन भने कत्ति विदेशी पर्यटक आउने यो क्रम सधै रही रहन्छ भन्ने छैन । त्यसैले सरसफाईको अलावा सुरक्षा बाटोघाटोको विकास र राम्रो खानपान व्यवस्था राम्रो हुन सकेमा ढुक्क भएर नेपाल आउने विदेशी पर्यटक अहिले भन्दा दोब्बर हुन्छ ।

नेपालमा रहेको राजनीतिक अन्यौलताको बीचमा आयोजना भएको पर्यटन बर्ष२०११ सफल होला त ?
मुख्य कुरा नेपालका सबै राजनीतिक दलहरूले सोचर बन्द हड्ताल गरिदिनु भएन । बन्द हडताल नगर्ने प्रतिबद्धतामा पनि हस्ताक्षर गरेका छन् । त्यसलाई व्यवहारमा उतारेर बन्द हड्ताल भएन भने अवश्य सफल हुन्छ ।

पर्यटन व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा छ, पर्यटकलाई धम्क्याउने कार्य पनि ठाउँ ठाउँमा भैरहेको छ नि ?
पर्यटन व्यवसाय भनेको यस्तो कुरा हो जुन व्यवसायले नछोएको कमै हुन्छन् । विदेशी पर्यटक नेपाल ओर्ले पछि गाडी, भरिया, होटल, लज व्यवसायदेखि कृषिसम्म सबै क्षेत्रमा यसको असर पर्छ । यसबाट सबैलाई फाईदा पुग्छ त्यसैले सबैले गम्भीर रूपमा सोच्नु पर्छ । पर्यटकको स्वागत गर्नर्ुपर्छ । कहिल्यै कसैले धम्क्याउनु हुन्न ।

जीवनमा मेहनत गरेर केही अविष्मरणीय सन्तुष्टि पाउनुभएको छ ?
र्सवप्रथम त म आफू गरिव परिवारबाट संर्घष गरेर यहाँसम्म आएको छु । बेला बेलामा जिल्लाका गाउँमा विदेशी तथा स्वदेशी डाक्टरहरू लिएर स्वास्थ्य शिविरहरू सञ्चालन गर्न पुगेको छु । मेरो सानो प्रयासले गर्दा कयौं ६० /७० बर्षा बा आमाहरूको स्वास्थ्यका समस्याहरू हर्निया, हाईड्रोसिल र पाठेघर खस्ने जस्ता समस्याको शल्यक्रिया समेत् गरेर निको भएको छ । उनीहरूले मलाई तपाई नै पशुपतिनाथ भनेर हर्षा आशु झारेका छन् । त्यो मेरो लागि सन्तुष्टि मात्र होईन, आत्म गौरवको कुरा हो । म झल्झली त्यही सम्झन्छु । अझै यस्ता उद्धारका कार्यहरू गर्न पाएहुन्थ्यो जस्तो लागिरहन्छ ।

अन्तमा रसुवाबाट प्रकाशित पहिलो रसुवा खबर साप्ताहिक मार्फ के सन्देश दिन चाहनुहुन्छ ?
र्सव प्रथम त पत्रपत्रिका ननिस्कने जिल्ला भनेर चिनिएको जिल्लाबाट पनि रसुवा खबर प्रकाशनको थालनी गर्ने टिमलाई धन्यबाद तथा बधाई छ । हाम्रो जिल्लाबाट पनि पत्रिका प्रकाशनको थालनी भएछ । यो पत्रिका मार्फ जिल्लाबासी सबैलाई पर्यटकलाई माया गर्न र पर्यटन व्यवसायीहरूलाई पनि स्वच्छ प्रतिष्पर्धाको भावनाले अघि बढ्न आग्रह गर्दछु । अन्त्यमा रसुवा खबर मार्फ पर्यटन बर्षसन् २०११ को सफलताको कामना गर्दछु । 'र्'पर्यटकलाई सम्मान गरौं, आफ्नो कला संस्कृतिको संरक्षण गरौं, पर्यटकलाई आकषिर्त गर्न रम्य वातावरण तयार गर्नमा बिशेष ध्यान पुर्याऔं ।''
728x90 - Travel Nepal

भजन संरक्षणका लागि नयाँ पुस्ताले सिक्नुपर्छ

कपिलमुनी पौडेल, भजनीय गुरू, भदौरे, रसुवा
रसुवा खबर वर्ष १, अंक ३, २०६७ असोज ३ गते शनिवार

वि.सं १९८५ साल भदौ १४ गते पिता कमलीकान्त र माता पद्मकुमारी पौडेलको कोखबाट रसुवा जिल्ला भोर्ले गाविस वडा नं ९, भदौरेमा जन्मिएका कपिलमुनी पौडेल विगत लामो समयदेखि सांस्कृतिक कृयाकलाप भजन कीर्तन र नाँचगानमा संलग्न रहँदै आउनुभएको छ । प्रस्तुत छ ; कपिलमुनी पौडेलसँग रसुवा खबर साप्ताहिकले गरेको कुराकानीको मुख्य अंश :

तपाइँ भजनीय गुरू भनेर चिनिनु भएको छ , भजनमा कसरी लाग्नुभयो ?
त्यतिखेर गाउँमा रहेका बुढापाकाले भन्ने गरेको सुनेर र आफैमा प्रस्फुरण भएको कला हो । मलाई भजन भन्न खासै कसैले पनि सिकाउनु परेन र्।र् इश्वरको शुभनाम जप्दा मुक्ति पाइन्छ भनेर देवताको नाम स्मरण गर्न हे राम ! हे राम ! भन्नु पर्छ । विशेष गरी जीवन मुक्तिको लागि नै भजन गाइने गरिएको हो ।


पहिलो पटक भजन कहाँ निकाल्नु भयो ?
मैले पहिलो पटक धामीको दुर्गे भन्थे, उनको घरमा सत्यनारायणको पूजा लगाएका थिए । मैले पहिलो पल्ट 'हे राम ! हे राम ! भागिरथीमा ए हेर लौ भागिरथीमा, सुनको तोला रामको घोडा भागिरथीमा' भनेर सुरुको भजन गाएको हुँ । भजन गाउने कला सजिलै कला हो । मनमा जाँगर आउनु पर्छ, भजन सरल तरिकाले नै भन्न सकिन्छ ।

भजन भन्न के के चाहिन्छ ?
भजन भन्न पहिला त रामायण, कृष्ण चरित्र, देवीभागवत, स्वस्थानी जस्ता महात्म्यको कहानी जान्नु पर्छ, दोस्रो भजनीय भाईको स्वर मिल्ने समूह चाहिन्छ । अनि खैजडी, मञ्जिरा, कर्ताल आदि राम्रोसँग बजाउन जानेपछि सबैको मन जित्ने भजनको रन्को सबैतिर सुनिने गरी गाउन सकिन्छ ।

भजन कहिले कहिले गाइन्छ वा नाचिन्छ ?
रसुवा जिल्लामा भजन गाउने र नाँच्ने अवसर समय समयमा मिल्ने गर्छ । हिउँदका समयमा छत्र उठाएर छत्र नाँच्ने पनि गरिन्छ, ठूली एकादशीमा फूलको डोली गंगामा लाने बेलामा, सत्यनारायणको पूजा, सप्ताह लगाउँदा आदि इत्यादि समयमा भजन गाउने र नाँच्ने गरिन्छ । स्वस्थानी साङ्गेमा ब्रत बसेका सम्पर्ूण्ा घरमा पालैपालो स्वस्थानीको भजन गाउँने गरेका थियौं, तर अहिले हाम्रो बल घटेपछि यो हराउँदै जाने अवस्थामा छ ।

तपाइँको विचारमा छत्र नाँच कहाँबाट रसुवामा भित्रिएको होला ?
नढाँटीकन भन्नु पर्छ, हाम्रो यहाँ चाहि नुवाकोटको गेर्खुबाट आएको हो, तर त्यहाँ कहाँबाट आयो म भन्न सक्दिन । छत्रनाँचको भजन हेर्दा त्यहाँ हिन्दी भाषा मिसिएको हुँदा भारतीय संस्कृति हो भन्न सकिन्छ ।

तपाइँका भजन गाउने सहयात्रीहरू को को हुन् ?
मेरा साथीहरू अहिले कोही पनि छैनन् । म मात्र बाँकी छु । जिबजिबेका चुडामणी पौडेल, धुसेनीका विष्णुप्रसाद देवकोटा, गैराघरे न्यौपाने यी आदि साथीहरू मेरा भजन भन्ने, जात्रामात्रामा गीत गाउने साथी हुन् । हामी नुवाकोटको खुर्साने, जिलिङ, दार्मे, गर्ेर्खु र रसुवाकै विभिन्न ठाउँहरूमा गीत पनि भन्यौ र भजन पनि भन्यौ । सिखरबेसी, देवीघाट, नुवाकोटमा हुने जात्रामा गीत भनेर पुरस्कार पनि जितेको थिएँ । विवाह आदिमा सिलोक पनि भनें । सिलोक भन्दा प्रायश ठुवा शैली नै पाइन्थ्यो ।

ठुवाको विषयमा अलिकति जानकारी दिनुस् न ?
ठुवामा हारजितको ठूलो सवाल हुन्थ्यो । कृष्ण चरित्र, रामायण आदिको ठुवा पथ्र्यो । आफैंले सिलोक रचेर भन्न सकेमा जित हुने गथ्र्यो ।

ठुवामा हारजित कसरी हुन्छ ?
एउटाले सुन्दरकाण्डको सिलोक भन्न सुरू गर्यो भने त्यही काण्डको नअड्कीकन पुरा गर्नुपर्ने, अड्किएर अर्को सिलोक भन्न थालेमा उसको हार हुन्छ । अर्कोले कृष्ण चरित्रको सुरु गरेमा त्यसैमा पुरा गर्नु पर्ने हुन्छ, अन्यथा हार भएको मानिन्थ्यो ।

भजन, बालन र ठुवा जस्ता प्राचीन कलाहरू लोप हुँदै गइरहेका छन्, यसको संरक्षणका लागि के गर्न सकिन्छ ?
मैले त यस्ता कलाहरूको संरक्षण हुने माध्यम नै देख्दिन । अहिलेका पुस्ताले भजन, कीर्तन आदिमा कुनै मान्यता राख्दैनन् । हाम्रा पालामा भनिएका भजन भन्यौं या भनेनौं, सत्यताको कुनै आधार छैन । न हामीसँग भजन नाँचेको फोटो मात्र छ, न अब यहाँ कसैले नाँच्छन् । हामीले केटाकेटी कालमा एका देशको कथा हो .. भनेर सुरु गरेको दन्त्य कथा जस्तै यो भजन पनि कुनै देशको कथा बन्नेछ । अहिले कुनै कुनै ठाउँमा टिभीमा देखाउन फिलिम बनाएका छन् रे अबका केटाकेटीले त्यही मात्र हेर्न पाउँछन् । यहाँको पनि त्यस्तै गर्न सके रसुवाली नाँच्ने गरेका थिए भन्ने प्रमाण राख्न सकिन्छ । संरक्षणको उपायका लागि कि फिलिम बनाउने कि अबका मान्छेले सिक्दै सिक्दै नयाँ नयाँ पुस्तालाई सिकाउने हो । अन्यथा यो लोप हुनेछ ।

अन्तमा पत्रिका मार्फत आगामी पुस्तालाई के भन्नु हुन्छ ?
मैले जीवनमा नै नसोचेको काम आज हुँदैछ, मेरो कुरा, हाम्रा भजनका कुरा पत्रिकामा छापिन्छन् भनेर मैले कहिल्यै पनि सोचेको थिइन । मेरो कला थियो भन्ने कुरा पत्रिका च्यातेर नहुराए नाती पनातीले पनि देख्न पाउलान् । म मेरो आगामी पुस्तालाई मेरो र मेरो जस्तै कुरा लेखिएका पत्रिका नच्यात्नु । त्यही नै भोलिका लागि पढ्ने सामग्री बन्न सक्छ । भजन नाँच, बालन नाँच र छत्र नाँचको संरक्षण गर्न कोही कोहीले भने पनि सिक्नु , सिक्न गाह्रो छैन भन्न चाहन्छु ।

घर बनाउनभन्दा पुस्तक छाप्न गाह्रो छ : डा. सत्यराज थपलिया

रसुवा खबर वर्ष१, अंक २, २०६७ असोज २३ गते शनिवार

सत्यराज थपलिया रसुवा र नुवाकोटका लागि नयाँ नाम होईन । साहित्यको विकासका लागि मरिमेट्ने व्यक्ति, उहाँको उमेरको ठूलो हिस्सा रसुवा मै बित्यो । वि.सं २००४ साल बैशाख १४ गते पिता कोशराज र माता लीलावती थपलियाको कोखबाट नुवाकोट जिल्ला थान्सिङ गाविस वडा नं १ मा जन्मिएका डा. सत्यराज थपलिया हाल जिल्ला आयर्ुर्वेद कार्यलय रसुवामा कार्यरत हुनुहुन्छ । विभिन्न जिल्लाको सेवा गर्दै पटक -पटक रसुवामा सेवा गर्दै आउनु भएका थपलिया साहित्य क्षेत्रमा पनि तल्लीन हुनुहुनन्छ । प्रस्तुत छ ; साहित्यकार डा. थपलियासँग यस साप्ताहिकका प्रेमप्रसाद पौडेलले गरेको कुराकानीको मुख्य अंश :


तपाइँ कहिलेदेखि साहित्य सिर्जनामा लाग्नुभयो ?
वि.सं २०१३ सालमा जब म तेह्र वर्षको थिएँ । त्यसैबेलादेखि नै म साहित्यमा रूचि राख्थेँ ।

साहित्य सिर्जनामा लाग्ने प्रेरणा कहाँबाट मिल्यो र कसरी सुरु गर्नुभयो ?
मलाई कौवाको फौजले नै साहित्य सिर्जना गर्ने अवसर मिल्यो । नौ वर्षो उमेरमा नै खेतको मकै कुर्न जाँदा लेकाली कौवाले पारेको हैरानीको परिणाम स्वरूप अन्तर हृदयबाट काव्यको प्रस्फुटन हुनपुग्यो । 'सुन सुन पाँच हो म केही भन्छु, लेकाली कौवाको सवाई कहन्छु' शीर्षकमा एउटा सवाइ लेखेँ । १६/१८ श्लोक भएको उक्त शीर्षकको सवाईबाट नै मेरो साहित्य सिर्जनाको खुड्किला प्ररम्भ भएको हो । तर त्यो अहिले मसँग छैन । मैले त्यतिखेर चण्डी र वेदको अध्ययन प्रारम्भ गरिसकेको थिएँ । वि.सं २०१४ सालमा आमाको आज्ञाबिना भाउजु माईत गएबापत उहाँले भोग्नु परेको पीडालाई स्मरण गर्दै 'कस्तै भए नौनी समान ती, सासु भएपछि वज्र समान भयो नि' भन्ने कको दोस्रो सिर्जना गरेँ । तर त्यो छन्दमा मिलेको भने थिएन । २०२१ सालमा आमा बित्नुभयो । २०२२ साल फागुन महिनाको रात खेतमा लगाउन पानी कुर्नुपर्ने । पानी अर्काले मार्ला भनेर म ननिदाई बसिरहेको थिएँ । टुकी, कापी र बाँसको कलमसँगै राखेर लेख्दै थिएँ । म त्यतिखेर स्वस्थानीलाई नेपालीमा छन्दबद्ध गर्थेँ ।बिबाह ब्रतबन्धमा ठुवा वा सिलोक गाउनु पर्ने , आफूले नै सिर्जना गरेकोलाई कसैले पनि काट्न नसक्ने, जित्न सकिने, त्यसैले मैले स्वस्थानी जस्ता ग्रन्थलाई सिलोक बनाउँथेँ । त्यस दिन पनि मैले स्वस्थानीलाई सिलोक बनाएँ र सुतेँ । बिहान घाम लागिसकेको थियो, म निदाइरहेकै थिएँ । र्स्वर्गवासी आमाले सपनामा नीलो डाएरी दिंदै 'कविता लेख बाबु ' भन्नुभयो त्यसैलाई प्रेरणाको मूल स्रोत मान्दै तेस्रो सिर्जना रूपमा 'मातृवियोग' शीर्षक दिएर केही कविता लेखेँ । २०३४ मा बैतडीकी एक महिलाले आफ्नो पिता बितेको कहानी बताएपछि त्यहाँबाट प्रभावित भई 'पितृवियोग' शीर्षकको अर्को कृति लेखें जुन अप्रकाशित छ । सेवाको सिलसिलामा म अछाममा पुगेपछि 'प्रणय सन्देश' लेख्न थालेँ । हाल जनस्वास्थ्य कार्यलय रसुवाका डा. गोपाल खनाल पनि त्यहीँ हुनुहुन्थ्यो । उहाँ जहिले पनि कविता लेखेर पूरा गर्न प्रेरणा दिनुहुन्थ्यो । 'प्रणय सन्देश' काव्य पूरा हुनुमा उहाँको अविस्मरणीय देन छ । मैले रसुवाकै रामकृष्ण आचार्यलाई अर्का प्रेरकको रूपमा लिएको छु । जतिखेर म लहरेपौवाको आयुर्वेदमा कार्यरत थिएँ त्यसवेला उहाँले मेरो कविता सिर्जनबारे थाहा पाउनु भएछ र मलाई डाक्नुभयो । मैले कविता सुनाएँ । उहाँले भन्नु भयो 'यो त तिम्ले चोरेको कविता रहेछ । एउटा महाभारतको, एउटा देवीभागवतको अनि अर्को कृष्ण चरित्रको, सबैतिरको जोडेर बनाएको रहेछ ' । मैले भनेँ '३६ वटा अक्षर चोरेको शब्द चोरेको तर श्लोक चोरेको छैन , यो तपाइँलाई पुष्ट्याइँ गरिरहनु आवश्यक छैन ।' त्यसपछि उहाँले 'साच्चिकै तिमीले नै रचना गर्न सक्ने भए मेरो फूलबारी र बगैँचा हेरेर कविता बनाई भोलि सवेरै ल्याई सुनाऊ ' भन्नुभयो । मैले भोलिपल्ट उहाँकै बगैंचाको कविता लेखेर सुनाएँ । ३० जना जति अरू मान्छे पनि बोलाएका रहेछन् । मैले कविता सुनाएपछि उहाँ धेरै खुसी हुनु भयो । उहाँले चोरेको भन्ने शब्दले पनि मलाई सही सिर्जना गर्न प्रेरणा जगायो । जागिरमा बस्दा श्रीमतीलाई शार्दूलविक्रीडित छन्दमा नै चिठी पठाउँथेँ ।

साहित्यको परिभाषा कसरी गर्नुहुन्छ ?
म भन्छु साहित्यकारको मन नै साहित्य हो र ऐना पनि हो । मनमा लागेको कुरा उसले लेख्छ र उसको मन कवितामा देखिन्छ । कतै अरूको मनलाई पनि कवितामा उतारिन्छ । यति मात्रै हो कि त्यहाँ अरूकै मन देखिएला , त्यसैले साहित्य भनेको मन हो । मनको ऐना हो । त्यहाँ साहित्यकारको मन र्छलङ्ग देखिन्छ ।

साहित्य सिर्जना गरेर प्रकाशन गर्न कतिको सजिलो छ र यसका फाईदा के के छन् ?
अहिले त कम्प्युटर छ, शुद्धाशुद्धि हेर्न पनि सजिलो छ । तर मैले २०४७ सालमा 'प्रणय सन्देश 'छपाउँदा घर बनाउँनभन्दा बढी गाह्रो भयो । किला मिलाएर लेख्नुपर्ने । असाध्यै गाह्रो थियो । शुद्धाशुद्धि हेर्न साह्रै गाह्रो । मैले तपाइँलाई पनि दिएको थिएँ, हेर्नुभयो होला । पछाडिका केही पानामा शुद्धाशुद्धि गरेको छु । साहित्यिक पुस्तक लेखेर खासै फाईदा छैन । अर्काले लेखेको छपाउँदा रोयल्टी आउने पैसा फाईदा होला तर आफैले लेखेर छपाउँदा त्यत्तिकै बाँड्ने हो । जति लगानी हुन्छ, त्यति विक्री गरेर आम्दानी हुँदैन । तर साहित्य सिर्जना गरेर प्रकाशन गरे पनि नगरे पनि भविष्यमा यसको मूल्याङ्कन अवश्य हुन्छ ।

कुन् कुन् छन्दमा कविता लेख्नुहुन्छ ? र यहाँ मेरो हातमा 'थोत्रो घुम' छ, यसको सिर्जना कसरी भयो ?
म धेरै जसो अनुष्टुप् छन्दमा लेख्छु । शार्दूविक्रीडित र सवाई छन्दमा पनि लेख्ने गरेको छु ।' थोत्रो घुम 'लघुकाव्यको कुरा गर्नुपर्दा यसको सिर्जना २०५१ सालमा मामाको आग्रहमा हिमवत खण्डको ९ दिनसम्म भागवत लगाउन पर्ने भयो । म पण्डित हुँ तर पुरेत हैन । कर्मकाण्ड जान्दिन तर पुराण भन्छु । यज्ञमा बस्दा ज्वरो आयो सिटामोल खाएँ । औषधिका कारण फकर्ँदा लौरो टेकेर फर्केको थिएँ । मेरो अवस्था देखेर घरमा श्रीमतीले यस्तो दुःख गरेर ज्यान फालेर पनि पुराण भन्नु पर्ने भनेर भनेको कुराबाट थोत्रो घुमको सिर्जना भएको हो । यसको मूल मर्म यस्तो छ :

भावी भाव मडारिएर मनमा उठ्दा स्वयं क्वै दिन गर्दै चिन्तन चित्तले मनुजको मालिन्य दर्शाउन । जात्रे जीवनको यथार्थ घटना संझेर थोत्रो घुम लेखेँ यो लघुकाव्य पूर्ण पनि भो ऐले विदा हुन्छु म ।।


घरका मान्छेले भनेको कुराबाट मैले 'म अब काम नलाग्ने थोत्रो घुम भएछु' भन्ने लागेर नै यो कृतिको सिर्जना भएको हो । श्रीमतीले यसो भनी भनेर भन्दै हिड्ने कुरा पनि भएन । मामाले आग्रह गर्दा भागवत नलगाउने कुरा पनि भएन । यसो हुँदा दुःख भो । दुःख परेपछि यो काव्य बनेको हो । प्राय मेरो कृतिहरू दुःखमा नै सिर्जना भएका छन् ।

रसुवाली साहित्य र साहित्यकारको अवस्था कस्तो पाउनु भएको छ ?
यहाँको प्रकृति राम्रो र मनमोहक छ , यसलाई हेरेर साहित्य सिर्जना हुन्छ । साहित्य सिर्जनाको खानी रसुवामा धेरै छ । तर साहित्यकारको संख्या ज्यादै कम छ । धेरै मैले देखेको छैन । अहिले केही फाट्टफुट्ट देखिएका छन् ।

तपाइँलाई मन पर्ने साहित्यकार र कृति कुन् हो ? र तपाईका आफ्नै सबैभन्दा राम्रो लागेको कृति कुन् हो ?
मलाई सबैभन्दा मनपर्ने लेखनाथ पौड्याल हुन् । उनको 'तरूण तपसी, ऋतु विचार ' सबैभन्दा मन पर्छ । बालकृष्ण सम र उनको 'मुटुको व्यथा ' तथा मोदनाथ प्रश्रृतका कृतिहरू ज्यादै मन पर्छ । आफ्ना कृतिहरू मध्ये 'प्रणय सन्देश' बढी मनपर्छ ।

रसुवा खबर मार्फ रसुवाली स्रष्टालाई के भन्नु हुन्छ ?
पुग्छन् हेर हिडीरहेर कमिला हज्जार कोसौं पर पुग्दैनन् गरुडै पनी नउडी ता त्यै पाँच बित्तै पर ।
रसुवाबाट बामे र्सन लागेको पत्रिका मार्फत् पत्रिकालाई पनि बामे र्सर्दै र्सर्दै हज्जारौं कोस टाढा पुग्न र साहित्यिक स्रष्टालाई पनि सिर्जनामा लाग्न अभ्रि्रेरित गर्छु, सम्भावना ज्यादै छ । मिहिनेत गर्नुस् रसुवामा धेरै कुराको संभावना छ । बामे र्सन खोजियो भने कोस पुग्न गाह्रो छैन । हिड्न सकिन्छ । संस्कृति र साहित्य एक अर्काका परिपूरक हुन् । विजया दशमी, दीपावली जस्ता राष्ट्रिय पर्व र साहित्यको असाध्यै सम्बन्ध छ , संस्कृति तथा विविध सम्पदाको साहित्य सिर्जना मार्फ् रसुवाको विकासको इट्टा थप्नुस् । साहित्य सिर्जनाले विकासमा सहयोग पुर्याउँछ । रसुवाको पहिलो पत्रिका रसुवालीको पत्रिका 'रसुवा खबर साप्ताहिक 'मार्फ जिल्लावासी सबैलाई विजया दशमी तथा शुभ दीपावली २०६७ को शुभकामना दिन चाहन्छु ।

व्यवसायिक पत्रकारिता विना विकास सम्भव छैन

(ज्ञानेन्द्रनाथ न्यौपाने , संयोजक पत्रकार महासंघ, जिल्ला तदर्थ कार्य समिति, रसुवा )
रसुवा खबर, वर्ष१, अंक १ असोज १६ २०६७ शनिवार

वि.सं २०१८ साल असार २८ गते पिता लोकनाथ र माता गंगाकुमारी न्यौपाने कोखबाट नुवाकोट जिल्ला गेर्खु गाविस, वडा नं २ छापटारमा जन्मिएका ज्ञानेन्द्रनाथ न्यौपाने अहिले रसुवामा पत्रकारिता पेशा गर्दैछन् । ०३४ मा सरकारी नोकरीको सिलसिलामा रसुवा प्रबेश गरेका न्यौपानेले जिल्लाको पत्रकारिता पेशालाई न्यायोचित र समयानुकुल गर्नमा तल्लीन रहे । हाल उनी पत्रकार महासंघ जिल्ला शाखाको संयोजक पनि भइसकेका छन् । प्रस्तुत छ रसुवाली पत्रकारिता पेशाको सेरोफेरोमा रही पत्रकार महासंघ, जिल्ला शाखा रसुवाका संयोजक तथा त्रिशूली प्रवाह र राससका जिल्ला समाचारदाता ज्ञानेन्द्रनाथ न्यौपाने ( जी. लेकाली ) सँग रसुवा खबर साप्ताहिकका कार्यकारी सम्पादक प्रेमप्रसाद पौडेलले गर्नुभएको कुराकानीको मुख्य अंश ..................


१. रसुवा जिल्लामा कहिले प्रबेश गर्नु भयो ?
 म वि.सं २०३४ साल बैशाख महिनामा रसुवा आएको हुँ ।

रसुवाको प्रबेशको उद्देश्य के के हुन् ?
 म सरकारी नोकरीको सिलसिलामा नै यस जिल्लाको सेवा गर्ने उद्देश्यका साथ आएको हुँ
किन पत्रकारिता पेशामा लाग्नु भयो र कहिलेदेखि, कसरी सेवा दिनुभयो ?

 रसुवा जिल्लामा हुने गरेका घटनाको समाचारको रूपमा पत्रपत्रिकामा आउने कार्यको शुन्यता देखी अन्तर्मनदेखि नै पत्रकारिता गरि यहाँको पुण्यभूमीमा सेवा गर्ने अठोटले यसमा लागेको हँु । म त्येतिखेर जागिरे जिन्दगमिा भएपनि हिमाली जिल्ला रसुवाको गतिविधि अन्य जिल्लामा वा संचार माध्यममा पुर्याउनु पर्छ भन्ने लाग्थ्यो तर राजपत्र अंकित द्धितिय श्रेणीको खरिदार पदमा रहेको र निजामति ऐनले खरिदार स्तरको कर्मचारीलाई सरकारको स्वीकृतिविना अन्य पेशामा आवद्ध हुन मिल्दैन भनिएको थियो । मैले त्यतिखेरका स्थानीय प्रशासक रामेश्वर देवकोटाबाट विकास निर्माणको मात्र समाचार लेखी पठाउने स्वीकृति पाए पछिमात्र यसका लागि ढोका खुल्ला भएको हो । प्राप्त भएका अन्य समाचार संप्रेषण गरिएको भए जागिर नै जाने थियो । जोखिम मोलेरै भएपनि मिश्रित सूचना प्रवाह गर्ने प्रयत्न जारी गर्दै गर्दा मैले लेखेका समाचारहरू राससमार्पmत रेडियोमा र गोरखापत्रमा आउने गथ्र्यो । अन्य राष्ट्रिय दैनिक थिएन, पञ्चायतकालीन समयमा प्रजिअले बोलेपछि पुग्थ्यो । कतै अप्ठेरो परे हात जोडेर विन्ती गर्दा गल्ती पनि मिनाहा हुन्थ्यो । वन कार्यलयको बृक्षारोपणको समाचार पहिलो पटक ०४२ मा संप्रेषण भएको हो । थोर बहुत समाचार आइरहन्थे । त्येतिखेर आकाशवाणी मार्फत अपरेटरको सहायताले दुर सञ्चारबाट समाचार टिपाउनु पथ्र्यो । शुल्क चर्को थियो , प्रति अक्षर पाँच पैसा तिर्नुपथ्र्यो तर मैले पत्रकारिताको पिनकोड प्राप्त गरेकोले प्रतिअक्षर दुई पैसामात्र तिरे पुग्थ्यो । दुर सञ्चारको हाकिम प्रायशः काठमाडौं बस्ने भएकोले म अपरेटर तालिमप्राप्त भएकोले प्रायशः रसुवाको दुर संचार नै मेरो जिम्मामा हुन्थ्यो । म नुवाकोट जिल्लामा जन्मिए पनि प्राय बाल्य अवस्थादेखि नै रसुवाकके भूमिमा नै दिन बित्दथ्यो । यहाँका बुढापाकामा सञ्चार र पत्रकारिताको त्यति महत्व थिएन । राष्ट्रसेवकले राम्रो काम गरेको समाचार आएपछि पुरस्कार पनि पाउँथे । विकास निर्माणको सूचना दिइरहन्थे । ०४६ को बहुदल व्यवस्था भएपछि थुप्रै पत्रपत्रिका निस्के तर मैले राससमा नै रहेर सेवा गरिरहेँ । ०४२ देखि ०५४ सम्म सहयोगी जिल्ला समाचारदाताको रूपमा कार्य गरेँ । ०५५ मा खरिदार पदको अन्त्य गरि पूर्ण पत्रकारिताको बिल्ला लगाउन संचार संस्थाप्रति प्रतिबद्ध रहीरहेँ । साह्रै गर्व लाग्छ, मैले लेखेका समाचारले राष्ट्रिय स्तरमा पनि स्थान पाएको छ । चिया कति पीईयो ? भन्ने प्रश्न जस्तै समाचार कति लेखियो भन्दा हिशाव राख्न सकिएको छैन । २५ वर्षको दौरानमा धेरै समाचार लेखिए । धुन्चे गोसाइँकुण्ड केबलकारको समाचार मैले नै लेखेको थिएँ, त्यही समाचारबाट चर्चामा आएको कुरा अहिले राष्ट्रिय स्तरको योजनाको रूपमा रहेको छ, मलाई यो साह्रै गर्व लाग्छ ।

रसुवाको पत्रकारिताको पृष्ठभूमी कस्तो छ ?
 वि.सं २०४६ को परिवर्तन सँगसँगै पत्रकारिता र सूचना प्रवाहमा पनि परिवर्तन हुँदै गयो । पत्रपत्रिकाको महत्व बढ्दै गयो । क्रमिक रूपमा रसुवाको शैक्षिक अवस्था पनि सुधार हुँदै गएपछि युवापिढीका पत्रकार थपिन थाले । विद्यालयस्तरबाटै पत्रकारिताको पढाई हुन थाल्यो । घटनाहरू पनि गाउँगाउँमा बढ्दै गयो । त्यसका समाचार छापिएपछि गल्ती गर्नेको नाम जोडिएमा धम्क्याउने पनि गर्थे । अझ युद्धकालिन अवस्थामा बढी डर थियो । धेरैजसो व्यक्तिले मेरो नाम आएन भनेर रिसाउँथे र पत्रकार सत्रकार उडाई दिन्छौं भनेर युवाहरू आक्रोश पोख्थे । तर म सबैको ज्ञानु दाई भएकोले नजिक परेर कुरा गर्दा कुरा बुझेर ठण्डा दिमागले फर्कन्थे । कोही भन्छन् समाचार किन आएन ? कोही भन्छन् हाम्रा भावना समेटिएन त कोही भन्छन् तथ्य घटना बाहिर आएन, त कोहीले कार्यक्रममा आएन । तर पत्रकारको आँखाले औल्याएको यथार्थमा आधारित भूल राज्यको निकायबाट छानबिन हुँदैन, यही छ बिडम्बना ।

पत्रकारिता पेशाका चुनौती के के हुन् ?
 व्यवसायिक हुन नसक्नु यसको मुख्य चुनौती हो । यसको अलावा स्थानीय सञ्चार माध्यम नहुनु पनि चुनौतीको रूपमा देखिएको छ । तर पत्रकारिता पेशा मात्र गरेर पत्रकारको पेट भर्न मुश्किल यहाँ पत्रकारिताको विकासमा देखिएका कठिनाइ र चुनौतीहरू हुन् । मैले माथि नै भनिसके पत्रकारितामा उजागर भएको तथ्यलाई कुनै पनि निकायले ध्यान दिदैन ।

पत्रकारिता पेशा व्यवसायिक हुन नसक्नाको कारण के होला ?  पहिला पहिला पत्रकारको संख्या नै उत्पादन भएको थिएन । पहिले शिक्षाको पहुँच १२ % थियो तर अहिले ६० % भन्दा बढी भइसक्यो । पत्रकारहरू पनि बढेका छन् । तर व्यवसायिक हुन सकेको छैन । पत्रकारिता पेशा व्यवसायिक हुने लक्षण भने रसुवामा देखिएको छ । स्थानीय पत्रपत्रिका लगायत सञ्चार गृहको अभाव नै पत्रकारिता पेशा व्यवसायिक हुन नसक्नु हो ।

रसुवामा पत्रकारिता पेशाको भविष्य कस्तो छ ?
 राजधानीबाट नजिकैको दूरीमा रहेर पनि विभिन्न विकासका दृष्टिकोणबाट रसुवा पछाडी नै छ । पत्रकारिताको विकास विना यो सम्भव पनि छैन । रसुवा जिल्ला धार्मिक, पर्यटकीय, भौगोलिक हावापानी, जलसम्पदा, ऐतिहासिक हिशावले धनी भएकोले पत्रकारिता पेशाको व्यवसायिक हुने सम्भावना धेरै छ । समग्र विषयवस्तुको खबरदारी गर्न पत्रकारिताको खाँचो पर्दछ । समाचारको माध्यमबाट बालबालिकाको मनोबल उच्च पार्ने, स्वास्थ्य सम्बन्धि सूचना प्रवाह गर्ने, विकासे पत्रकारिता गर्ने, विभिन्न स्थानमा हुने राजस्व चुहावट रोक्न सहयोग पुग्ने खालका सूचना संप्रेषण, पर्यटकीय विकास, सांस्कृतिक र आर्थिक विकासका लागि पत्रकारिता गर्नुपर्छ । व्यवसायिक र स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट अगाडी बढ्न सके यहाँ धेरै पत्रपत्रिकाले स्थान पाउन सक्छ । पर्यटकीय हिशाबले तेस्रो स्थानमा रहेकोले पनि यहाँ पत्रकारिता लगायतका पेशाको प्रवल सम्भावना रहेको छ । पत्रकारिता पेशा र पत्रकारको भविष्य उज्वल र सुनिश्चित छ । असल पत्रकारमा कुन् कुन् गुण हुनु पर्छ ?

 पत्रकारिता गर्ने मानिसमा गुण र धर्म अनिवार्य चाहिन्छ । धैर्यता, सहनशीलता, नम्रता, व्यवसायिकता, सहिष्णुता, समानता, सामाजिकता, निडरता, पेशा निरन्तरता जस्ता गुणहरू पत्रकारमा हुनु पर्दछ । जस्तोसुकै समाचारलाई पनि विकासमा जोड्ने कला पत्रकारमा चाहिन्छ । राजनीतिक दलबाट टाढा रहेमा मात्र पत्रकारले समाचार पाउँछ, साथसाथै समाचार वा घटनाले नै त्यस्तो पत्रकारको खोजी गर्दछ ।

पत्रिकाको व्यवस्थापनको लागि के गर्नु पर्छ ?
 पत्रिकाको कार्यलय व्यवस्थापन, ग्राहकमा सेवा, सुविधा, पाठक प्रतिकृयाको सम्मान, तथ्य सामग्रीको उजागर र लगनशीलता जस्ता कार्यहरू व्यवस्थापनका निमित्त गर्नु पर्दछ ।

अन्तमा के भन्नुहुन्छ ?
 रसुवाको जेष्ठ पत्रकार, पत्रकार महासंघको संयोजकको हैसियतले यहाँबाट प्रकाशन हुन लागेको रसुवा खबर साप्ताहिकको पूर्ण सफताको कामना गर्दछु । आम रसुवाबासी नागरिकको पत्रिका बनोस् । रसुवाको समग्र विकासका लागि यस पत्रिकाले कार्य गर्न सकोस्, पत्रिका प्रकाशनको पूर्वाद्र्धमा यही शुभकामना दिन चाहन्छु ।



(यो लेख प्रकाशन भएको रसुवा खबरको अंक पाउन तलको लिंकमा क्लिक गर्नुस्)
रसुवा खबर, वर्ष१, अंक १ असोज १६ २०६७ शनिवार

Followers

साताको चर्चित

Rasuwa Profile

महिनाको चर्चित

Total Visitor

Recent Posts

Prem Prasad Paudel, Rasuwa. Powered by Blogger.
Blogger Template by Basnetg.com