चिन्ता वातावरणको

आज विश्वमा नै वातावरण सन्तुलनका लागि चिन्ता गर्न थालिएको छ । केही वर्षदेखि अत्यन्त चर्चामा आएको जलवायु परिवर्तनको अनेपेक्षित तथा अपेक्षित प्रभावले हाम्रो समाजमा वातावरण संरक्षणको लागि चिन्ता, प्रयास तथा विविध छलफल हुँदै आएका छन् ।

जलवायु परिवर्तनको प्रतिकूल असर सबै ठाउँमा देखिएको भए पनि बढी असर चाहिँ हिमाली क्षेत्रमा देखिएको छ । हिमालमा हिँउ पर्ने मात्रा कम हुँदै रेखा माथि माथि सर्दै गएको अवस्था एकातिर छ भने अर्कोतिर परेका हिउँ पनि अत्याधिक रूपमा पग्लँदै जान थालेको छ । हिँउ पर्ने समयमा फेर बदल आएको छ । कतिपय हिमालहरू हिँउ विहीन बन्दै गएका छन् । पानीको मुख्य स्रोतको रूपमा रहेको हिमालमा नै यसरी प्रतिकूल असर पर्दै गएपछि मुलुकमा पानीको अभाव पर्न सक्ने संकेत देखिएको छ ।


हरेक वर्ष मनाइने यस्ता वातावरण दिवस वा वातावरण संरक्षण सम्बन्धि कृयाकलापहरू केबल दिवसमा मात्र सिमित रहनु हुन्न । दिवसमा मात्र हैन प्रत्येक दिन, प्रत्येक क्षण वातावरण सन्तुलनका लागि सोच्ने बेला आएको छ । हामी बाँच्नैका लागि सन्तुलित वातावरण चाहिने र हाम्रा प्रत्येक कृयाकलापका कारण नै वातावरण प्रतिकूल बन्ने भएका कारण पनि यसका विषयमा अत्यन्त गम्भीर हुनु आजको टड्कारो आवश्यकता पनि हो । सर्बप्रथम हाम्रा कस्ता कार्यले वातावरणमा नकरात्मक असर परी वातावरणीय असन्तुलन हुन्छ र हामीले के गर्दा यसमा सन्तुलन कायम गर्न सकिन्छ भन्ने विषमा सोच्ने हो भने वातावरण संरक्षण वा सन्तुलनका निमित्त कुनै पनि ठूला योजना तथा आयोजनाको आवश्यकता पर्दैन ।

हाम्रा दैनिक कृयाकलापबाट उत्पन्न हुने वातावरणीय असन्तुलनको कृयाकलापहरू ठूला पनि हुन्छन् र केही सामान्य पनि हुन्छन् । ठूला कृयाकलापले वातावरण ठूलै खैलाबैला निम्त्याउन सक्छ भने साना कृयाकलापले सानै । तर ठूलो होस् या सानो वातावरणमा असन्तुलन निम्त्याउने कार्य सबैले आआफ्नो स्थानबाट न्यूनीकरण गर्न सक्नु पर्दछ । उदाहरणको लागि हामीले दैनिक प्रयोग गर्ने भान्छाको फोहोर (जैविक तथा अजैविक) लाई व्यवस्थापन गरी पुन प्रयोग गर्ने बानी मात्र गर्न सक्यौं भने पनि जैविक तथा अजैविक फोहोरका कारण निम्तिने वातावरणी ह्रास कम भई वातावरण संरक्षणमा योगदान पु¥याउन सकिन्छ । यसका लागि न त कुनै विदेशी सहायताको आवश्यकता पर्दछ न त नेपाल सरकारका कनै विशिष्ट कार्यक्रम ।

घरभित्र र बाहिर जम्मा हुने जैविक फोहोरलाई मलको रूपमा पुनर्उत्पादन गरेर बालीनालीमा प्रयोग गर्न सकियो भने एक त महंगो र पाउन मुस्किल भइरहेको रासायनिक मलको प्रयोगलाई कम गर्दै क्रमशः जैविक खेतीतर्फ उन्मुख हुन सकिन्छ भने अजैविक फोहोरलाई अन्य उपयोगी सामग्री उत्पादनमा लगाउन सकिन्छ । सानै विषय भए पनि हामीले यति मात्र गर्न सके अहिले चर्चामा आएको वातावरणीय ह्रास वा जलवायु परिवर्तनको समस्या न्यून गर्न सकिन्छ ।

वातावरण प्रतिकूल असर पर्ने कृयाकलापहरू विभिन्न औद्योगिक शहरमा कलकारखाना सञ्चालन, सवारी साधन तथा अन्य कुनै हुन सक्लान्, तर हाम्रो ग्रामीण परिवेशमा दरिद्रय मानसिकताका कारण घाँस काट्न सजिलो बनाउने बाहानामा वस्ती वरपरका जंगलमा आगो लाग्ने गरेको छ । यसबाट उत्पन्न प्रतिकूल असरले हामीलाई नै गाँजिरहेको छ । त्यहाँ रहेका वनस्पति र वन्यजन्तु तथा वासस्थानको पनि विनास हुने, पछिल्लो चरणमा निकै चर्चामा आएको जलविद्युत केन्द्र स्थापना गर्ने तीब्र रहर यस्ता खालका आगलागीका कारण धराशयी बन्दै गएका छन् । जंगलमा आगो लाग्दा त्यहाँको पानीको मूल सुक्ने, प्रदुषणका कारण हिमालमा हिँउ पर्न कम हुन्छ, मानव वस्तीमा विभिन्न रोगव्याधी बढ्दै वातावरणीय प्रलयतर्फ उन्मुख हुन्छ भन्ने कुरा सबैले बुझ्नु जरूरी छ ।

आजभोलि हाम्रो समुदाय वातावरण संरक्षणमा अग्रसर पनि छ, पछिल्लो समयमा जन्मदिन मनाउन केक काट्नेको साटो विरूवा रोप्ने, प्रणय दिवसमा प्रेमीप्रेमिकाले पनि विरूवा रोपेर मनाउने गरेको हामीले समाचार सुन्न पाएका छौं । वातावरणको निमित्त रूख, सर्वोपरि उपाय हो, रूख पानी र वातावरणका लागि सर्वोपरि उपाय हो, पानी तथा सन्तुलित वातावरण प्राणी जगतका लागि अपरिहार्य हो यही नै चुरो कुरो हो भन्ने नारालाई साकार पार्न ५० जना, १०० जना हैन सिङ्गो समुदायको सबै मान्छे लागे मात्र वातावरण जोगाउन सकिन्छ । 


साना कृयाकलापले पनि वातावरण संरक्षणमा टेवा पु¥याउँछ र सानै कृयाकलापका कारण वातावरणमा प्रतिकूल असर पर्छ भन्ने कुरा सबैले स्वीकार गर्दै सकरात्मक रूपमा संरक्षणका लागि मात्रै अगाडि बढ्न सक्नु पर्दछ । वातावरण संरक्षणको निमित्त सबैभन्दा ठूलो वन र वनस्पति संरक्षण हो भन्ने विषय कहिल्यै भुल्न हुन्न । वन संरक्षणका लागि ठूला ठूला विरूवा रोपेपर मात्र योगदान पु¥याउन सकिन्छ भन्ने मानसिकतालाई हटाउँदै घर वा कौसीमा रहेको गमलामा फूल मात्र रोपे पनि केही योगदान पु¥याउन सकिन्छ । होला ठूला रूखले ठूलो योगदान पु¥याउला, सानो विरूवाले सानै । तर पनि गमलामा मखमली  रोप्ने, खुर्सानी रोप्ने हरियाली हुने केही न केही विरूवा रोप्ने कार्यले केही न केही योगदान पु¥याउँछ भन्ने बुझ्नु वातावरण संरक्षणमा चिन्तन गर्नु हो ।  

घरभित्रको शत्रु

विश्व स्वास्थ्य संगठनका अनुसार विकसित देशको तुलनामा नेपालमा घरेलु वायु प्रदुषण १५ प्रतिशतले बढी हुने गरेको छ । पछिल्लो तथ्याङ्क अनुसार नेपालमा घरभित्रको वायु प्रदुषणका कारण वर्षेनी २२ हजार ८ सय ४१ जनाले अकालमा ज्यान गुमाउने गरेका छन् भने सबैको गरी ७ लाख ४६ हजार ३ सय ८१ वर्ष समय यसका कारण विरामी परेर वा अकालमा मरेर उत्पादनमूलक समय त्यसै खेर गइरहेको प्राक्टिकल एक्शन नेपालको एक प्रतिवेदनमा भनिएको छ ।  यसरी हेर्दा परम्परागत चुल्होमा खाना पकाउँदा निस्कने धुँवा वा परम्परागत इन्धन र चुल्हो मानिसको लागि घरभित्रकै शत्रु बनेको छ । 

तर पनि पुननिर्माणको कार्यक्रममा सरकारकै सहश्राब्दी विकास लक्ष्य अनुरूप सन् २०१७ सम्ममा नेपाललाई घरभित्रको धुँवामुक्त देश बनाउने लक्ष्यलाई समावेश गराउन सकेको छैन । पुननिर्माणसँगै घरलाई स्वच्छ, सफा र उत्तम बनाउन प्रत्येक घरमा स्वच्छ तथा उन्नत प्रविधिको चुल्हो प्रयोग गर्नु अनिवार्य हुन्छ ।



नेपालका प्राय गाउँघरमा खाना बनाउन जैविक ठोस इन्धन जस्तै दाउरा, गुइँठा र कृषिजन्य रहेलपहेलहरूको प्रयोग हुने गरेको छ । नेपालमा ७४ दशमलब ४ प्रतिशत घरधुरीहरूले माथि उल्लेखित ठोस इन्धनको प्रयोग गर्ने गरेका छन् । नेपालका हिमाली तथा उच्च पहाडी भेगमा यस्ता समस्या अधिकतम हुने गरेका छन् । प्राय गरीव मुलुकमा यी इन्धनको प्रयोग गर्नु एउटा बाध्यकारी समस्याको रूपमा रहेको छ । नेपाल जस्तो गरीव, अल्पविकसित वा विकासोन्मुख देशहरूमा प्रयोग हुने यी ठोस इन्धनहरूको प्रयोगमा उन्नत प्रविधिहरू जस्तै सुधारिएको,  दाउरा कम लाग्ने र धुँवा भान्छा बाहिर जाने चुल्होको प्रयोग नहुनु मुख्य समस्या हो । जसका कारण स्वास्थ्य सम्बन्धि विविध समस्या सिर्जना भई उपचारमा धेरै धनराशी खर्च हुने गरेको एकातिर छ भने अर्कोतिर दाउरा संकलनमा भइरहेको समय खर्च, परिश्रम, वन विनाश र विश्व वातावरणमा प्रतिकूल असरलगायतका समस्याहरू विद्यमान छन्  । 

घरभित्र खाना बनाउन प्रयोग हुने इन्धन व्यवस्थित वा उन्नत प्रविधिको प्रयोगमा हाम्रो समुदायले बुझेर पनि बुझ पचाएको अवस्था छ । जसका कारण घाँटी खस खसाउने, नाकबाट पानी बग्ने, खोकी लाग्ने, कफ आउने, आँखा बिझाउने, चिलाउने, हेर्न कठिनाई हुने, आँसु आउने, घॉंटी दुख्ने, बच्चालाई निमोनिया हुने जस्ता तत्कालीन रोगहरू देखा पर्दछन् भने लामो समयसम्म दुषित वायु भएको वातावरणमा बस्नेहरूमा दम, दीर्घखोकी, फोक्सोको क्यान्सर, आँखासम्बन्धी रोग जस्तै मोतियाबिन्दु आदि दीर्घकालीन रोगहरू लाग्ने गर्दछन्  । यसको अलावा गर्भवती महिला धेरै समयसम्म धुँवामा बसेको खण्डमा बच्चा समयभन्दा अगाडि जन्मने, कम तौलको बच्चाको जन्म हुने र अत्याधिक प्रदुषणका कारण मृत बच्चाको जन्म हुनसक्ने सम्भावना रहन्छ । घरेलु वायु प्रदुषणका कारण विशेष गरी महिला तथा बालबालिका सबैभन्दा बढी प्रभावित हुने गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालयहरूको प्रतिवेदन हेर्ने हो भने निमोनियाँ वा श्वासप्रश्वास सम्बन्धि समस्याहरू एक नम्बरमा आउने गरेका छन् । फोहोर पानी, दुषित हावा, असुरक्षित यौन सम्पर्क पछि रोग निम्त्याउने चौथो कारक तत्वको रूपमा घरभित्रको धुँवा रहेको पनि स्वास्थ्यविद्हरू बताउँछन् । 

यी विविध समस्या समाधानका लागि मुख्य गरी दुइवटा उपायहरू छन् । दाउरा वा कृषिजन्य रहेलपहेल, गुँइठा, कोइला, त्र्रिकेट आदि प्रयोग गर्दा  भेन्टिलेसन वा हावा राम्रोसँग ओहोर दोहोर हुने कोठामा सुधारिएको वा धुँवा वाहिर जाने प्रविधिहरू जस्तै सुधारिएको चुल्हो, चिम्नीहुड तथा उन्नत स्वच्छ चुल्होको प्रयोग गर्ने एउटा उपाय हो भने गोबरग्याँस, सौर्य उर्जा र विद्युतीय चुल्होको प्रयोग गर्नु अर्को उपाय हो । यसो गर्दा भान्छाको सफाई, स्वास्थ्य सुधार र काममा सहजता भई समाज आर्थिक उन्नति र विकासको पाटोमा अघि बढ्दछ । 

हामी यतिबेला पुननिर्माणको संघारमा छौं । पुननिर्माणको समयमा उल्लेखित समस्यालाई ध्यान दिन सकिएको छैन अर्थात् पुननिर्माणमा घरको डिजाइन गर्दा उन्नत चुल्होलाई अनिवार्य गर्न सकिएको छैन । विनाशकारी भुकम्पका कारण क्षतिग्रस्त संरचनाको पुननिर्माणमा नेपाल सरकारले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै छ । तर पनि पुननिर्माणको कार्यक्रममा सरकारकै सहश्राब्दी विकास लक्ष्य अनुरूप सन् २०१७ सम्ममा नेपाललाई घरभित्रको धुँवामुक्त देश बनाउने लक्ष्यलाई समावेश गराउन सकेको छैन । पुननिर्माणसँगै घरलाई स्वच्छ, सफा र उत्तम बनाउन प्रत्येक घरमा स्वच्छ तथा उन्नत प्रविधिको चुल्हो प्रयोग गर्नु अनिवार्य हुन्छ । नेपाल सरकारको “क्लिन कुकिङ सोलुसन टु अल” को लक्ष्य पुरा गर्न, वन वातावरण जोगाउँदै विश्व वातावरण संरक्षणमा योगदान दिन तथा मानव स्वास्थ्यमा सुधार गरी समृद्ध समाज निर्माणमा स्वच्छ वा उन्नत प्रविधिको चुल्हो प्रयोग गर्नु अपरिहार्य छ ।  




जलविद्युत र गोवरग्यासको सम्बन्ध

एकातिर लोडसडिङको चर्को मार त अर्कातिर ग्रामीण भेगमा खाना बनाउने इन्धनको अभाव अथवा विश्वव्यापी रूपमा बढ्दै गईरहेको जलवायु परिवर्तनको असर, जे भने पनि आखिर यी दुबै समस्याले नेपाल जस्तो विकासोन्मुख देशमा प्रभाव पारिराखेको छ । सो समस्या समाधानका लागि अत्याधुनिक शहरदेखि दुरदराजको ग्रामीण बस्तीसम्म चर्चा परिचर्चा हुन थालेको छ । ग्रामीण वस्तीसम्ममा खाना बनाउन तथा बैकल्पिक उर्जाको रूपमा गोवरग्यास प्रविधिलाई विकास गरी प्रयोग गर्न सकियो भने उर्जा अभाव, जलवायु परिवर्तनको समस्या अनुकूलनमा मात्र नभई सम्भावित जलविद्युत उद्योगमा पनि दिगोपन बनाउन सकिन्छ  ।

जलविद्युत विकासका सम्भावना भएका ठाउँमा वा पानीको स्रोत वरपरका वस्तीमा गोवरग्यास प्रविधि निर्माण तथा प्रयोग गर्न सकेमा अहिले अत्याधिक प्रयोग भईरहेको दाउराको मात्रालाई कम गर्दै पानीको स्रोत संरक्षणमा सहयोग गर्न सकिन्छ । हालसम्का विभिन्न अध्ययन तथा अनुसन्धानका आधारमा गोवरग्यास प्रयोग भएमा प्रतिघर प्रतिवर्ष २.४४ टन दाउरा वचत  वनजंगलको संरक्षण भई पानीको स्रोत संरक्षण हुन्छ भने  प्रतिघर प्रतिवर्ष  ७ टन कार्वन कम उत्सर्जन भई जलवायु परिवर्तनका समस्या अनुकूलनमा ठूलो टेवा पुग्नेछ  । त्यसैले जलविद्युतको विकासका निमित्त गोवरग्यास प्रविधि तथा प्रयोगको अत्यन्त नजिकको सम्बन्ध रहेको छ । 


गोवरग्यास प्रविधिले माथि उल्लेखित जलविद्युत उद्योगको दिगोपना तथा जलवायु परिवर्तनको समस्या अनुकूलनमा सहयोग पु¥याउनुको साथसाथै कृषि उत्पादनका लागि गुणस्तरीय जैविक मल निर्माण तथा प्रयोगका लागि मार्ग खुल्ला गर्दछ । गाईबस्तुको गोवरमा रहेको मिथेन ग्याँस खेतीपातीका लागि हानीकारक हुन्छ तर गोवरग्यासमा प्रयोग गरी बचेको लेदोमा उक्त ग्याँसरहित हुने र उक्त लेदोलाई अन्य फोहोरसँग मिसाएर जैविक मल बनाउन सके गुणस्तरीय कृषि उत्पादन मात्र नभई महंगो रासायनिक मल किन्नुपर्ने बाध्यता टर्दछ । 

विश्व तापमान बृद्धिको समस्या समाधान गरि जलवायु परिवर्तनको समस्या न्यूनीकरण वा यसमा अनुकूलन गर्नको लागि साँच्चिकै कुरा सँगै काम ९ऋयmष्लन ष्लतय ब्अतष्यल० गर्ने हो भने वा सम्भावित तथा बनिसकेका जलविद्युत केन्द्रको दीगो सञ्चालनको लागि पानीका स्रोत वरपरका बस्तीहरूका भान्छालाई दाउरारहित बनाउन गोवरग्यास प्रविधि निर्माण तथा प्रयोग हुनु जरूरी छ । रूख नरहे पानी र पानी नरहे हामी यस धर्तीमा रहन सक्दैनौं भन्ने कुरालाई आत्मसाथ गर्दै वन प्रयोगको विकल्प खोज्न हामी सबै लामबद्ध हुनै पर्दछ । 

चिलिमे प्रतिभापुञ्ज, २०७० मा प्रकाशित

गोसाइँकुण्ड, रामसार क्षेत्र र संरक्षणका चुनौतिहरू

उच्च हिमाली क्षेत्र तथा अन्य अन्तर्रास्ट्रिय महत्व भएका क्षेत्रहरूलाई रामसार क्षेत्रमा समावेस गर्ने नीति अनुरूप नेपाल सरकारले गोसाइँकुण्ड क्षेत्रलाई २३,सेप्टेम्बर, २००७ मा रामसार क्षेत्रमा  सूचिकृत गरेको छ । राष्ट्रिय सिमसार नीति २०५९ अनुसार गोसाइँकुण्डलगायतका चार क्षेत्रलाई रामसार क्षेत्रमा सूचिकृत गराएको छ । सन् १९७१ मा नेपालले रामसार महासन्धिमा हस्ताक्षर गर्दै रामसार क्षेत्रको व्यवस्थापन वा संरक्षणमा प्रतिबद्धता जनाई सकेको छ । महासन्धिको दफा ३ -१) र निर्देशन सन् १९९६ लाई अँगाल्दै राष्ट्रिय सिमसार नीति २०५९ तर्जुमा भई कार्यान्वयनमा रहेको छ ।

 वि.सं. १९७८ मा स्थापना भएको नेपालकै पहिलो हिमाली राष्ट्रिय निकुञ्जभित्र रामसार क्षेत्र नं. १६९३ मा सूचिकृत गोसाइँकुण्ड तथा त्यसका वरीपरीका क्षेत्रको संरक्षण वा व्यवस्थापनका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, लाङटाङ राष्ट्रिय निकुञ्ज/मध्यवर्ती क्षेत्र सहयोग आयोजना, लाङटाङ राष्ट्रिय निकुञ्ज सहयोग परियोजना/डब्लुडब्लुएफ  र प्राकृतिक स्रोत व्यवस्थापकहरूको मञ्चले 'गोसाइँकुण्ड  तथा वरीपरीका सिमसारहरूको स्थलगत व्यवस्थापन योजना' तयार गरेको छ । नेपालको अनुपम सिमसार परिस्थितिकीय प्रणालीलाई जोगाई राख्नको लागि साझा प्रतिवद्धताका रूपमा उक्त
  'स्थलगत व्यवस्थापन योजना' तयार गरिएको हो ।

जैविक विविधतामा सम्पन्न गोसाइँकुण्ड क्षेत्र  रैथानीय, दुर्लभ र सङ्कटापन वनस्पति एवं चराचुरुङ्गी र वन्यजन्तुको आश्रमको रूपमा परिचित छ । हिमचितुवा, रातो हाब्रे -रेडपाण्डा), कस्तुरी मृग, हिमाली थारलगायतका लोपोन्मुख वन्यजन्तुको आश्रयस्थल बनेको यस क्षेत्रमा निकुञ्जले संरक्षण प्रदान गरेका ल्यारिक सल्लो, १० भन्दा बढी प्रजातिका लाली गुँरास र सुनाखरीका जातहरू रहेका पाइन्छन् । लाङटाङ राष्ट्रिय निकुञ्जको स्थापनादेखि नै  लोपोन्मुख वन्यजन्तुका वासस्थान जोगाइ राख्ने र ती वनमा आश्रयस्थल बनाएका प्राणीहरूको संरक्षण, त्यहाँ उपस्थित विविध प्राकृतिक, जैविक सम्पदाको संरक्षण,धार्मिक तथा पर्यटकीय स्थलहरूको संरक्षण, स्थानीय जनताको जीवनस्तर उकास्ने क्रममा स्थानीय तहमा अपनाइएको भू उपयोग पद्धतिबाट परिस्थितिकीय प्रणालीमा पर्ने असर घटाउने तथा  निकुञ्ज र आसपासमा रहेको प्राकृतिक स्रोतको मानवीय दोहन घटाएर निकुञ्जको प्राकृतिकपन र सुन्दरता जोगाउने भन्ने लक्ष्यमा आधारित रहेर निकुञ्जले कार्य गर्दै आइरहेको छ ।

यी उल्लेखित विविधतासँग मानव जीवनयापनको महत्वपूर्ण आधार गाँसिएको हुन्छ । जैविक विविधता र मानव जीवन एकअर्काका परिपूरक हुन् । माथि उल्लेखित सम्पदाको संरक्षण विना मानवको जीवन पनि असहज बन्दै जानेछ । उच्च हिमाली भेगमा रहेको गोसाइँकुण्ड तथा वरीपरीका क्षेत्र परिस्थितिकीय प्रणाली वा जलवायु परिवर्तनका समस्याका दृष्टिकोणले जोखिम र संवेदनशील बन्दै गएको विभिन्न वातावरणविद्हरूले बताएका छन् । यस क्षेत्रमा हुने गरेको पर्यटकीय व्यापारका कारण पनि विभिन्न संरक्षण सम्बन्धि समस्या वा चुनौतिहरू थपिदै गएका छन् । मानवले गर्ने गरेको वातावरण प्रतिकुल व्यवहारले यहाँको परिस्थितिकीय प्रणालीमा असर पुर्‍याइराखेको छ । जताततै फालिएका सिसाजन्य, प्लाष्टिकजन्य र विविध जैविक, अजैविक फोहोरका कारण दिनानुदिन यहाँको वातावरण प्रतिकुल बन्दै गएको छ । सामान्यत विचार गर्ने हो भने पनि धार्मिक आस्थाका स्वरूप कुण्डमा चढाइएका नरिवल र अन्य प्रसादजन्य पदार्थले पनि कुण्डलाई प्रदुषित बनाएको हुन्छ । होटल व्यवसायीका लापारवाहीका कारण वा तीथालुलाई लक्षित गरी व्यवस्थित शौचालय बनाउन नसक्दा पनि शौचालय प्रयोग पछि उक्त फोहोरहरू कुण्डमा आउने गरेका छन् । गोसाइँकुण्ड प्रयोगकर्ताहरूले फाल्ने गरेका फोहोरले कुण्डको संरक्षणमा निकै चुनौति दिइरहेको हुन्छ ।

नवीकरणीय उर्जा प्रविधि वा जलविद्युतका अभावका कारण यस क्षेत्रमा खाना बनाउने  र डाइनिङ हल तातो पार्नका लागि दाउराको प्रयोग हुन्छ । जसका कारण वर्षोनी धेरै मात्रामा वन विनास हुने गरेको छ । खाना बनाउन होस् वा कोठा तातो बनाउन दाउराको प्रयोग भनेको बाध्यकारी समस्या हो । दाउराजन्य इन्धनमा कमी ल्याउन वा रोक्नको लागि विद्युतीकरण नहुनु नै यस क्षेत्रमा देखिएको समस्या हो । यसरी इन्धन प्रयोगमा यहाँका जंगल विनास हुँदै जाने हो भने राष्ट्रिय निकुञ्जका माथि उल्लेखित लक्ष्य कहिल्यै पनि कार्यान्वयन हुन सक्दैन न  त  लोपोन्मुख मानिएका वन्यजन्तुको संरक्षण नै हुन्छ ।

यस क्षेत्रमा हुने गरेको चौरी र भेडापालन व्यवसायले पनि यहाँको संरक्षणमा वाधा उत्पन्न गराइरहेको छ । यहाँको झाडीमा चौरी चराउँदा एकातिर वनको विनास हुँदै जानेछ भने अर्कोतिर कुण्डको आसपासमा पाल्तु जनावरले खनी खोस्री गरेको माटो बग्दै आएर कुण्डमा पर्दछ । जसका कारण कुण्ड पुरिदै जाने सम्भावना रहन्छ । यीलगायतका विविध समस्याहरू यहाँको संरक्षणका बाधकका रूपमा रहेका पाइन्छन् । आजको युगका मानवले मानव जीवनयापनको समरूपमा लिने गरेका छन् भने संरक्षणलाई बाधकको रूपमा लिने गरेका छन् । तर संरक्षण विना मानवको जीवनयापन सहज हुँदैन भन्ने बुझनु जरूरी छ ।

गोसाइँकुण्ड क्षेत्रबाट  पर्यटकीय व्यवसायबाट मनग्य आम्दानी लिइराखिएको छ ।  जसबाट धेरै जनसंख्याको आर्थिक उपार्जनको थलो बन्दै गइरहेको छ । यहाँ पर्यटकीय विकास गर्नका  लागि वरीपरीका क्षेत्रको संरक्षण वा व्यवस्थापन हुन सके मात्र वर्षोनी यहाँ आउने पर्यटकको संख्या विस्तार गर्न सकिन्छ ।


-सर्न्दर्भ स्रोत- गोसाइँकुण्ड तथा वरीपरीका सिमसारहरूको स्थलगत व्यवस्थापन योजना २०६५, रसुवा खबर, वर्ष२, अंक ८, २०६८ भाद्र २३ गते शनिबार)

जलविद्युतका लागि वन

चिलिमे प्रतिभापुञ्ज, वर्ष४, अंक ४, २०६८

रसुवा जिल्ला जलविद्युतका लागि सम्भावना भएको जिल्ला हो भनेर सबैको नजर पर्न थालेको छ । हुन पनि रसुवामा जलविद्युत उत्पादनका लागि प्रशस्त सम्भावनाहरू रहेका छन् । रसुवामा हिमाल छ, पानीका मुहानहरू छन् र पानीको लागि जंगलहरू छन् । पानी संरक्षणका लागि प्रशस्त जंगल भएको जिल्लामा जलविद्युत व्यवसाय फस्टाउन सक्छ ।

रसुवा जिल्लामा मात्र नभई देशकै लागि नमुना चिलिमे जलविद्युत केन्द्र छ । २२ मेगावाट क्षमता भएको चिलिमेले हाल रसुवालीलगायत नेपाली नागरिकलाई मालिक बनाएर नमुना प्रदर्शन गरेको छ । तर यसको दीगोपनाको लागि यहाँ आउने पानीका मूलहरू संरक्षण हुनु अपरिहार्य छ । वर्षाका समय प्रतिघण्टा २२ मेगावाट विद्युत उत्पादन गर्ने चिलिमेले हिउँदमा प्रतिघण्टा ८ मेगावाट मात्र उत्पादन गर्न बाध्य छ । यसको कारण पानीको प्रवाहमा कमी भएर हो । यो सबैलाई थाहा छ । देशमै नमुना रहेको चिलिमे जलविद्युत केन्द्रमा चिलिमे आसपासबाट आएको पानी मुख्य शक्तिको रूपमा रहेको छ । चिलिमे वरपरका जंगल, हिमालबाट आएको पानी विद्युतमा परिणत भई रसुवाको मुख्य आम्दानी र आकर्षाको रूपमा रहेको छ । यसरी हेर्दा चिलिमेको भविष्य वा चिलिमे जस्तै अरू सम्भावित विद्युत केन्द्रका भविष्य पानीको स्रोतसँग छ । त्यति मात्र नभई रसुवालीको भविष्य नै पानीको स्रोतहरूसँग छ र स्रोत संरक्षणको आधार जंगल वा रूखसँग छ भन्दा फरक नपर्ला ।


पानी जोगाइ राख्नको लागि यहाँका वनस्पतिको संरक्षणको आवश्यकता पर्दछ । खाना बनाउने इन्धनको रूपमा, घर बनाउने काठको रूपमा वा उद्योग सञ्चालन गर्ने निहुँमा यहाँका धेरै जंगलहरू सकिदै गएका छन् । चिलिमेको नमुना उत्पादन सबैका नजरमा लोकप्रिय भइरहँदा वा चिलिमेले झलमल्ल उज्यालो फ्याँकिरहँदा यहाँका जनताहरू उज्यालोको लागि सल्लाका रूखहरू ताछिरहेका छन् । रसुवाका विकट बस्तीहरूमा पाइला बढाउँदै जाँदा त्यस्तो दृश्य देख्न सकिन्छ । रातको समयमा उज्यालोको विकल्पमा वा आगो सल्काउने स्रोतको रूपमा जनताले सल्लाको चिर्पट (स्थानीय भाषामा 'मेदाङ') प्रयोग गरिरहेका छन् । जसका कारण रूख ठाडै भएपनि ढल्ने तरखरमा छ ।


अर्कातिर खाना बनाउने इन्धनको रूपमा रसुवाका सबैजसो बस्तीमा दाउरा नै प्रयोग हुने गरेको छ । हुन त विकट बस्तीहरूमा पनि नवीन प्रविधिहरूका प्रयोग भइरहेका छन् । तर त्यस्ता प्रविधिमा स्थानीय जनताको पहुँच ज्यादै न्यून रहेको छ । वर्षोनी धेरै जंगलहरू इन्धन प्रयोग गर्ने बाध्यताले विनास हुँदै गइरहेका छन् । वन जंगल र मानव जीवनको सम्बन्ध प्रगाढ हुँदाहुँदै बाध्यकारी समस्याका कारण दिनानुदिन हाम्रा वरपरका जंगलहरू निर्जीव दाउराका रूपमा परिणत भइरहेका छन् । तामाङ समाजमा आवश्यकता भन्दा पनि बढी दाउराको प्रयोग हुने गरेको छ । एकातिर जाडो याममा न्यानो बस्नुपर्ने त अर्कातिर संस्कृति र परम्परा अनुसार जाँड, रक्सी र भोज भतेर बनाउने बाध्यताले वातावरणमा प्रतिकुल असर परिराखेको छ ।


खाना बनाउन वा घर बनाउन जति वनको विनास हुने गरेको छ, त्यो त बाध्यकारी प्रयोग हो भनेर पनि भन्न सकिन्छ भने र्व्यर्थको बाहानाले पनि जंगलको साइनो मेटिदै गएको छ । घाँस काट्न सजिलो हुन्छ भन्दै जनताले जंगलमा आगो लगाइदिएका दृश्य एकातिर छ भने अर्कातिर जंगली जनावरको सिकार गर्ने मनासाय वा लालचाले पनि जंगलमा आगलागी हुने गरेको पाइन्छ । पहराबाट एउटा ढुङ्गा खसेर अर्कोमा ढोकिँदा पनि आगलागी हुने गरेको पाइन्छ । जुनसुकै बहानामा भएपनि जंगलमा आगो लाग्दा दुर्दलभ मानिएका वनस्पति र वन्यजन्तुको विनास हुने, पानीका मूल सुक्ने र वातावरणमा खैलाबैला वा प्रदुषण भई मानव जीवन कष्टकर बन्दै गइरहेको छ ।

पानीका मूल संरक्षण हुन सकेन भने जलविद्युत गृहको पनि भविष्य अन्धकार हुनेछ । त्यसैले पानीका मूल संरक्षण गर्नको लागि वनजंगलको संरक्षण हुनु आवश्यक छ । बाध्यकारी समस्याका कारण होस् वा लोभ र लालचाका कारण होस्, यसरी जंगलको विनास हुँदै गएको छ । त्यसलाई रोक्नु नै जनताको समुन्नती हो । लोभ लालचालाई थन्क्याएर र बाध्यकारी इन्धन प्रयोगलाई न्यूनीकरण वा दाउरा प्रयोगको विकल्पको खोजी गरिनु पर्छ । जलविद्युत केन्द्रको भविष्य र जनताको भविष्य पनि एक अर्कामा परिपूरक भएका कारण जनता नै यसका कर्ता हुन् । भौतिक विकास निर्माणलाई प्राथमिकता दिदै आएका जनताले अब संरक्षणका कामहरू गर्नको लागि योजना बनाउनु पर्दछ । दाउरा कम प्रयोग गर्ने प्रविधि वा दाउरा नै प्रयोग नगर्ने उर्जा प्रविधिको विकासका लागि पहिलो प्राथमिकता दिन सक्नु पर्दछ । जसबाट मानव स्वास्थ्य सुधार भई जीवन सुनिश्चित होस्, जलवायु परिवर्तनको समस्या अनुकूलन गर्न सहयोग मिलोस् र वन जंगलको संरक्षण भई पानीको संरक्षण र सदुपयोग होस् । यसैमा हाम्रो जित छ ।

यो लेखलाई Mero Report.Net मा पनि हेर्नुहोस्


तपाईलाई यो लेख कस्तो लाग्छ, सुझाव दिनुहोला फेसबुक मार्फत



728x90 - Travel Nepal

संरक्षणको पर्खाइमा चिलिमेको तातोपानी

रसुवा खबर वर्ष १, अंक ७, २०६७ मंसिर ११ गते शनिवार
सन् २००३ मा हामीहरू बेनीको तातोपानी पुगेका थियौं । त्यस ठाउँले पर्यटकीय महत्व त कायम गरेको छ । त्यसैमाथि लमजुङ हुँदै मनाङ र मुस्ताङका ती धेरै दिनको थकाई, दुःख आदि मेटाउन नेपाली तथा विदेशी पर्यटकहरू तातोपानीमा नुहाउन जाँदा रहेछन् । गत साल जिल्ला घरेलु विकास समितीले हाम्रो जिल्लाको तातोपानीमा पनि अल्लोको धागो कात्ने तालिम राखेको रहेछ । सो कार्यक्रम अर्न्तर्गत नै मलाई पनि तातोपानीसम्म पुग्ने मौका मिल्यो ।


केही वर्षअघि म पुगेको बेनीको तातोपानी भन्दा आफ्नै जिल्लाको तातोपानी विभिन्न दृष्टिकोणले ज्यादै महत्वपर्ूण्ा रहेछ । तातोपानीमा नुहाएपछि क्षणिक आनन्द मात्र नभई रोगव्याधी नियन्त्रण हुने कुरामा बढी विश्वास गरिन्छ । त्यस्तै धेरै विश्वासका साथ तातोपानीमा वर्षोनी देश वा विदेशबाट धेरै मान्छे नुहाउन आउँछन् । भौगोलिक रूपमा बेनीको भन्दा फरक मनोरमतामा हाम्रो तातोपानी छ । विकासको हिशावले पनि बेनीमा भन्दा चौगुणा बढी पर्ूवाधार छ । पानीको मात्रा पनि त्यहाँ भन्दा हाम्रोमा ठूलो छ । बेनीमा तातोपानीमा डुब्नको लागि एउटा मात्र पोखरी थियो तर हाम्रोमा ४ वटा पोखरीहरू छन् ।

तर फरक कुरा व्यवस्थापन बेनीमा बढी छ, असाध्यै सफा छ । पोखरीमा पस्नुभन्दा पहिला साबुन लगाएर राम्रोसँग पोखरी बाहिरको धारामा नुहाएपछि मात्र पोखरी प्रबेश गर्न दिईन्छ । पानी निर्मल तथा स्वच्छ छ, कतै न कपाल देखिन्छ, न त अन्य फोहोर । पर्ूवाधार बढी भएको हाम्रो चिलिमेमा हामीले त्यसको ठीक उल्टो पायौं । व्यवस्थापन गरिएको छैन, पोखरीभन्दा बाहिरको वातावरण त त्यत्तिकै फोहोर छ, तर पोखरीभित्र पस्नु पूर्व नुहाउनको लागि बाहिरपट्टि धारा बनाइएको भएपनि त्यसको प्रयोग गरिएको छैन । चारवटा पोखरी मध्ये दुईवटा मात्र प्रयोगमा थिए । एउटा पोखरी जेनतेन राम्रै देखिन्थ्यो । तर साँझपख स्थानीय वासिन्दाले राम्रो भनिएको पोखरीभित्र पनि साबुनले नुहाएर फोहोर बनाएको पनि हाम्रा नजरमा पर्यो ।

पोखरी थुन्न र खोल्नको लागि पनि राम्रो व्यवस्था गरिएको रहेछ तर पानी बन्द गर्ने र खोल्ने गेटहरू भाँचिएका थिए । कपडाको झुम्रोद्दारा पानी बन्द गरिएको थियो । हामीले कुरा गर्यौ गरिवी निवारणका लागि ग्रामीण पर्यटन कार्यक्रम -टिआरपीएपी) ले यत्तिको पूर्वाधार बनाइदियो तर यसको दीगो संरक्षण कहाँबाट र कसले गर्ने - तातोपानीमा सेवा लिनेका लागि वा डुब्नेका लागि शुल्क लिएको हामीले थाहा पाएनौं । तर त्यही पाटीमा बस्नेहरूले भने पैसा लिएर पनि व्यवस्थापन नभएकोमा गुनासो गर्दै थिए । तातोपानी कुण्डको वातावरण हेर्दा पूर्वाधार भएको तर संरक्षण र व्यवस्थापन नभएको झल्किन्छ । कसका नजर त्यहाँ ठोक्किएमा समस्या समाधान हुने हो वा कसले ध्यान दिएमा तातोपानीको संरक्षण र व्यवस्थापन हुन्छ तथा तातोपानीले पर्यटकीय विकासमा सहयोग पुर्याउँछ, त्यसको पहिचान हुनु नितान्त आवश्यक छ । उचित व्यवस्थापन र संरक्षणलाई तातोपानीले कुरिरहेको छ ।

हामी वास्तवमै परजिवी भएका छौं । र्सार्वजनिक सम्पत्ति संरक्षणको त के कुरा आफ्नै घर वरपरका वातावरण संरक्षणमा हाम्रो मन जाँदैन, ध्यान जाँदैन । अरुले उपलब्ध गराएका पूर्वाधारधारलाई संरक्षण गर्न सक्दैनौं । तातोपानीमा संरक्षण समिति भए नभएको पत्तो छैन । तातोपानीका मूलबाट होटल होटलमा पाइपद्दारा पानी लगिएका छन् । तर पोखरीको सफाई, संरक्षण र व्यवस्थापनमा कसैको पनि ध्यान नगएको पाईन्छ । त्यहाँको प्राकृतिक सम्पदा वा उपलब्ध सम्पत्तिको उपभोग त त्यहाँको जनताले गर्न पाउनु नै पर्छ तर त्यसको उचित व्यवस्थापन र संरक्षणका लागि पनि उत्तिकै ध्यान जानु जरुरी छ ।

विश्वको ठाउँ ठाउँबाट तातोपानीमा पर्यटक आउँछन् । जिल्लाको अरु पर्यटकीय क्षेत्रको तुलनामा तातोपानीमा पर्यटकहरू लामो समयसम्म रहन्छन् । आजभोली तातोपानी नुहाएर स्वस्थ रहनका लागि धेरै पर्यटक ओइरिन्छन् । पर्यटन वर्ष२०११ आउदै गर्दा नुवाकोट वा अरु जिल्लामा तातोपानी भएको भए र यत्तिका पर्यटक भित्रने ठाउँ भए पर्यटन वर्षलक्षित कार्यक्रम सञ्चालन भइसक्थे । हाम्रो रसुवामा यो प्रकृयाको थालनी कहिले र कसले गर्ने हो - यो प्रश्न प्रश्नमा मात्र सिमित नरही यसको उत्तर आउने वातावरण बन्नर्ुपर्छ । रसुवाका सिर्जनशील युवा, उद्योगी, पर्यटन व्यवसायी, होटल व्यवसायी सबै मिलेर उद्योग वाणिज्य संघ र रसुवालीको विकासको थलो जिल्ला विकास समिती रसुवालाई घच्घच्याइ रहनु पर्छ ।

यसरी विकासका सम्भावना रहेका स्थान वा सम्पदाहरू रसुवामा धेरै छन् । सम्भावना रहेका सम्पदाहरूको उचित व्यवस्थापन र संरक्षण वा लक्षित कार्यक्रम सञ्चालन गर्न सकियो भने आन्तरिक तथा बाहृय पर्यटकहरू भित्र्याउन सकिन्छ । हामीले सोचिराखेको र सम्भावना छ भनीराखेको पर्यटन व्यवसायको विकास गर्नका लागि धार्मिक, पर्यटकीय तथा स्वास्थ्यको दृष्टिकोणले महत्व बोकेको तातोपानी कुण्डजस्तो सम्पदाको विकास, प्रचारप्रसार र उचित व्यवस्थापनमा हामी सबैको ध्यान जानु अपरिहार्य विषयवस्तु हो ।

Followers

साताको चर्चित

Rasuwa Profile

महिनाको चर्चित

Total Visitor

Recent Posts

Prem Prasad Paudel, Rasuwa. Powered by Blogger.
Blogger Template by Basnetg.com