Home » » जनताको पसिनामा लुटेराको रजाई-सूर्य न्यौपाने

जनताको पसिनामा लुटेराको रजाई-सूर्य न्यौपाने


www.rasuwakhabar.com बाट साभार 

प्रत्येक बर्ष वर्षात सुरु भएदेखि असोज महिनासम्मको समय कसैका लागि वरदान हुन्छ त कसैका लागि अभिशाप । यो सत्यता हो रसुवा जिल्लाको कालिकास्थानदेखि राम्चे, ठाडेहुँदै सदरमुकाम धुन्चे जोड्ने सडक खण्डको । यो सडकखण्डमा पर्ने मुख्य त राम्चे, ग्राङ्ग र मूलखर्कमा वषर्याम सुरु भएदेखि नै पहिरो जाने र पहिरोका कारण सडक अवरुद्ध हुनुका साथै पैदल हिड्न समेत जोखिम मोल्नुपर्ने बाध्यता छ । साथै यसै समयमा देशकै महत्वपूर्ण पवित्र धार्मिक तीर्थस्थल  गोसार्ँइकुण्ड महादेवको दर्शन गर्न हजारौं आन्तरिक तथा बाह्य पर्यटक रसुवा भित्रिने गर्छन् । यो सडकखण्ड जम्मा २४ किमी छ जसमा कालिकास्थानदेखि राम्चेसम्म १० किमी, राम्चेदेखि ग्राङ्गसम्म ४ किमी , ग्राङ्गदेखि ठाडेसम्म २ किमी र ठाडेदेखि धुन्चे सम्म ८ किमी पर्दछ । यो खण्डको यात्रा वर्षोनी अत्यन्त अन्यायपूर्ण , अमानवीय र कष्टकर हुने गर्दछ । पहाडी धरातल, साँघुरो सडक,अपरिपक्व चालक,न त गाडीमा बस्ने सिट, न समात्ने ठाउँ न त टेक्ने भरपर्दो भरोसा नै अनि बल र जवानीले मातिएका, स्त्रीजाती देख्नासाथै हामफाल्ने ती सह चालकको रजाईँ । भाडा उठाउने नाममा ठेलमठेल गदै लडाइदिन्छन् के बुढाबुढी, के केटाकेटी र के अपाङ्ग साथीहरूलाई ।

             अब बुझौ पासाङ्गल्हामु बस व्यवसायी समितिले निर्धारण गरेको भाडादर र यस खण्डमा चल्ने बसले असुल्ने रकम । समितिले सामान्य अवस्थामा निर्धारण गरेको कालिकास्थानदेखि धुन्चेसम्मको भाडा ६० रुपैयाँ ९ जसमा विद्यार्थीहरूले कार्ड छुट पाउँछन् । लाग्ने समय १ घण्टा तर अहिले तीन ठाउँमा उक्लने ओर्लने गर्नुपर्छ अनि साढे एक घन्टा हिड्नुपर्छ ।  तर धुन्चे पुग्न ९० रुपैयाँ तिर्नुपर्छ यो कतिसम्म न्याय संगत छ - । अझ अचम्म लाग्ने कुरा त दश किलोको २० रुपैयाँ, ४ किलोको ३० र ८ किलोको ४० रुपैया असुलिन्छ यात्रुहरूसँग यही सडकखण्डमा  । हो पाठकवृन्द यो सत्यता लागू भईरहेकै छ । कालिकास्थानदेखि राम्चेसम्म १० किमी छ जहाँ २० रुपैयाँ भाडा तिर्दा पुग्छ तर राम्चेदेखि ग्राङ्गसम्म जम्मा ४ किमी छ जहाँ ३० रुपैयाँ भाडा तिर्नुपर्छ अनि ठाडेदेखि धुन्चेसम्म ८ किमी छ जहाँ ४० रुपैयाँ तिर्नुपर्छ अब भन्नुहोस् यो कस्तो नियम हो ? कस्तो न्याय हो ? यो त भयो सवारी र यसका नाइकेहरूले मच्चाएको पहिलो लुट ।

                   यस्तै अर्को समस्या भनेको यस क्षेत्रका स्थानीय कहिले पानि पर्ला,पहिरो जाला अनि बषिर्क खर्च जुटाउला भनेर आकाशतिर हेर्दै  वर्षा बोलाउँदै बस्ने गरेका छन् । अब वर्षात  हुने समय भयो पहिरो पक्कै जान्छ भन्दै बाटोको दायाँ बायाँ कतै जस्ताका त कतै पालका टहरा बनाएर खाजा, खाना खुवाउने नाममा अनियमित रूपमा पैसा असुल्न तल्लीन छन् । जहाँ एउटा उसिनेको अण्डाको २५ रुपैया, एक प्लेट आलु चनाको २५ रुपैया र एक कप कालो पानीको १५ रुपैया पर्छ । यो भयो स्थानीयबाट यात्रुहरूमाथि भएको दोश्रो लुट ।

          अर्को तर्फयो सडकखण्डमा यात्रा गर्ने क्रममा पहिरोको बीचमा सामान ओसार पसारका लागि मानवीय जनशक्तीको प्रयोग गर्नुपर्ने हुन्छ, जो निकै महंगो र जोखिमपूर्ण  हुने गरेको छ । जिल्लावासीहरू, कर्मचारीहरू, स्थानीय व्यापारीहरू तथा तीर्थयात्रीहरूले आफुले व्यक्तिगत र व्यापारिक प्रयोजनका लागि ल्याउने सामानको भारी मूल्य तिर्नुपर्ने हुन्छ जसका कारण प्रत्यक्ष रुपमा यात्रीहरू र अप्रत्यक्ष रुपमा स्थानीय ग्राहकहरू महंगीको चपेटामा पर्ने गरेका छन् । यस क्षेत्रमा सामान ओसार पसार गर्दा डेढ घण्टाको बाटोमा प्रति किलो १० देखि १२ रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ भने अर्को तर्फसामान बोक्नेले नै भारीबाट सामान चोर्ने प्रवृत्तिले यात्री तथा व्यापारीहरू झन् मर्कामा पर्ने गरेका छन् । यो हो यस सडकखण्डमा स्थानीय भरीयाले यात्री तथा व्यापारीहरू माथि मच्चाएको तेश्रो लुट ।

              यसरी प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा भईरहेको अन्यायलाई टुलुटुलु हेर्दै बसिरहेको छ यहाँको स्थानीय प्रशासन अनि ती सेवाको नाममका बस व्यवसायी समितिका पदाधिकारीहरू । यति धेरै अन्याय भइरहदा पनि सम्बन्धित निकाय मौन बसेर रमिता हेरिरहेको देख्दा यसभित्र केहि रहस्य नहोला भन्न पनि सकिदैन । आखिर यो मनोमानी किन र कहिलेसम्म ? जनताले कहिलेसम्म लुटिइरहनुपर्ने हो ? एकातिर शारीरिक कष्ट र जोखिम त छँदैछ अर्कातिर यो आर्थिक शोषण के का लागि - यसको समाधानका  लागि सम्बन्धित  निकायले पहल गर्नुपर्छ कि पर्दैन ? कहिले लागू हुने उत्तरदायित्व र जवाफदेहिताको नियम - हामी यात्रीहरू र व्यापारीहरू उल्लेखित प्रश्नको जवाफसँगै समस्याको समाधान चाहान्छौं । गोर्साईकुण्ड महादेवले सबैको रक्षा गरुन् जय गोर्साईकुण्ड महादेव ।
Surya.rasuwali@gmail.com



Followers

साताको चर्चित

Rasuwa Profile

महिनाको चर्चित

Total Visitor

Recent Posts

Prem Prasad Paudel, Rasuwa. Powered by Blogger.
Blogger Template by Basnetg.com