Ad Code

Responsive Advertisement

वागमतीको चिठी त्रिशूलीलाई


प्रिय बहिनी त्रिशूली, 
राम रही आरामै चाहन्छु । 

मनभरी पीर र बेदनाका पोका अँगालेर बाँचिरहेको छु । धमिल मनका बीचमा आस्तिकका बीच बैतरणी जस्तो त नास्तिकहरूका बीच फोहर व्यवस्थापन गर्ने केन्द्रबिन्दु बनिरहेको छु । समयको अन्तरसँगै मानव व्यवहारका कारण आफ्नो रूप बिकलाङ्क हुँदा पनि मनमा सन्तोष कैद गर्न विवश छु । आशा छ मेरो जस्तो अवस्थाबाट तिमी निकै दूर छौ ।

आजभोलि तिमीलाई बहिनी भनेर सम्बोधन गर्न पनि निकै अप्ठ्यारो महशुस हुन लागेको छ मलाई । उमेरले मात्र दिदी बहिनी बनायो हामीलाई । पालन, पोषण र रेखदेखका बाबजुद आज म तिम्रो बहिनीको जस्तो रूपमा सिमित हुन पुगेको छु । म आजभोलि मेरो कर्तव्य पुरा गर्न नसकेको कारण आफ्नो जीवनलाई धिक्कारिरहेको छु । मानवको मन र मस्तिष्कलाई पुण्यात्मक बनाउन म चुकेको छु जस्तो लाग्छ मलाई । आजभोलि म प्रतिको मानव वितृष्णा देख्दा आफूलाई जन्मनु र हुर्कनुको कुनै महत्व नभएको महशुस गरिरहेको छु । 

सञ्चारका कारण संसारले फड्को मार्यो तर मेरो दिनानुदिनीमाथि प्रश्न चिन्ह देखा परिरहेको छ । मैले तार्ने गरेको मानव देहलाई आज पुण्य प्रदान गर्न सकेको छैन । म बहनुमा निकै चुनौति छ । मानवले फालेका फोहोरका डङ्गुरलाई मेरो गतिले हुत्याउन सकेको छैन । अझ तिनै फोहोरका गुजुल्टाहरूमा अल्झिएर म आफैं बेपत्ता हुन पुगेको छु । 

सत्ययुगमा महादेवको त्रिशूल प्रहारबाट उत्पत्ति हुँदाको तिम्रो  रूप आज पनि कायमै छ । तर मेरो हालको बहावको अवस्था र परापूर्वकालमा भएको उत्पत्तिको व्यतिरेकी सम्बन्ध छ । जसरी म उत्पत्ति भएँ, त्यसको स्वरूप आज छैन । आज म मानवका सुन्दर महलबाट दूषित भएर बगिरहेको छु । फोहोर व्यवस्थापन वा नालीको रूपमा म परिचित हुन पुगेको तिमीलाई पनि अवगत नै होला । म मात्र नभई उपत्यकाका बहिनी विष्णुमति र शालीनदीको पनि अवस्था त्यस्तै छ ।

आज म कल्पना गर्छु किन मेरो पूर्व रूप हराएर मानव शौचालय तथा सफासुग्घर गरेर बहेको दूषित पानीका रूपमा परिचित हुन पुगें ।' यसको उत्तर सबैसँग छन् । मानव चाप, सवारी चापसँगसँगै प्ल्ाष्टिकजन्य वस्तुको विर्सजनस्थलको रूपमा जहिलेबाट मलाई मानवले प्रयोग गरे, जहिलेबाट मेरा किनारलाई भैंसी बधशालाको रूपमा विकास गरे त्यतिखेरबाट नै मेरो स्वरूपमा घुन पुत्ला लाग्दै आयो । आफ्ना घर सफा राख्ने तर नजिकको वातावरण फोहोर गर्ने मानवको व्यवहारले उनीहरूलाई गिज्याइरहेको छ । बुझेर पनि बुझ पचाउने महले मानवका कारण आज मेरो यो अवस्था भएको छ । 

प्राय दिनहरूमा मेरो वरिपरी नाइल, टिस्टा जस्ता दिदीहरूका देशका नागरिक पनि आउँछन् वागमती हेर्न भनेर । तर नाइल, टिस्टा जसरी सुसाएर मानिसलाई आनन्द दिएको छ, मैले कसैलाई पनि त्यस्तो आनन्दता प्रदान गर्न सकेको छैन । अझ लाजमर्दो यहाँ बनाएका छन् कि मेरो आसपासमा बसेर तिनै विदेशीहरूसँग फोटो खिचाएको निहुँमा पैसा माग्ने गर्दछन् हाम्रा देशका साधुसन्तहरू । पैसा माग्दामा नदिएर धार्नी हात उठाउन पनि पछि पर्दैनन् र उनीहरू नै मेरो आसपासमा फोहोर गर्न खप्पिस छन् । धर्मका कुरा गर्नेले मेरो वरिपरी फोहोर आफैंले गर्दा पाप लागेको महशुस पनि गर्नुपर्ने हो । 

तर जे होस् बहिनी म कुण्ठित भएपनि तिम्रो आफ्नो गति कायम रहेकोमा खुसी व्यक्त गर्दछु । तिमीले आफ्नो शक्तिद्वारा जलविद्युत उत्पादन गरेर जनतालाई अँध्यारोबाट उन्मुक्ति दिएकी छ्यौ । तिम्रो दिदी भएर मैले यस्तो अवसर पाउने सम्भावना यो जुनीमा मैले पाउँदिन होला । लोडसेडिङको समस्याबाट पीडित जनतालाई उज्यालो र्छर्ने मेरो पनि चाहना थियो । तर त्यसको कुनै पनि परिकल्पना गर्न सक्दिन म । तर पनि मैले दिएको योगदान मानव समुदायमा उल्लेखनीय नै छ । फोहोरको डङ्गुर मैले सामना गरेको छु, मेरो वक्षबाट बालुवा निकालेर धेरैका महल ठडिएका छन् । बालुवा व्यापार गरेर कोही सुकुम्वासीले त कोही सुकुम्वासीका नाममा हुकुमवासीले आफ्नो जीवनस्तर परिवर्तन गरेका छन् । मैले दिएको योगदान यस्तै यस्तै हुन् । मेरो पूर्व अवस्थाको त कल्पना पनि गर्न सकिन्न, तर शहरका मान्छेको बुद्धि फिरेमा मेरो रूपमा केही परिवर्तन हुन्छ कि भन्ने आशामा कुरिरहेको छु । पत्र पाउने बित्तिकै मलाई पत्र लेख्न नबिर्सनु। केवल म तिम्रो पत्रको प्रतिक्षामा छु । आउने जानेलाई म त्रि्रो हालखबर सोधिरहन्छु । अहिलेलाई यत्ति नै, भोलिको कुरा भोलि नै, बाँकी अर्को पत्रमा । 

उही दिदी
वागमती




Post a Comment

0 Comments